भर्खरै :

नेका सांसद सुनिल शर्मा शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा पक्राउ

नेका सांसद सुनिल शर्मा शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा पक्राउ

काठमाडौँ, २५ साउन । मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित नेकाका सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीबार पक्राउमा परेका छन् । सांसद शर्माको नक्कली शैक्षिक प्रमाणपत्रबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि अनुसन्धान गरेको थियो ।
सांसद शर्मा नेकाका शेखर कोइराला र माओवादीका वर्षमान पुनको समेत लगानी भएको विराटनगरस्थित नेपाल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक भएको बताइन्छ ।
एक सय केजीको सुन तस्करी सार्वजनिक भएपछि सांसद शर्माले केही दिनअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशरण महतको राजीनामा मागेका थिए ।
यसबारे अर्थमन्त्री महतले स्पष्ट गरे, “सांसद शर्माको अस्पताललाई पनि स्वास्थ्य बीमा रकम पाउनुपर्ने माग सम्बोधन नभएपछि अनेक आरोप आएको हो ।”
सांसद शर्मा पक्राउ परेको जानकारी नेपाल प्रहरीले संसद् सचिवालयलाई दिएको हुँदा साउन २६ गतेको संसद् चालु भए उनी सांसदबाट निलम्बन हुनेछन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको काण्डमा पक्राउ परेका एमालेका सांसद टोपबहादुर रायमाझीको निलम्बनको सूचना पनि संसद् अवरोध हुँदा जानकारी गराइएको छैन । संसद्मा निलम्बनको सूचना जानकारी नगराइएसम्म सांसद पद र सोअनुसारको पारिश्रमिक उपलब्ध हुनेछ ।
कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सांसद शर्माले सुन तस्करीमा ‘भरिया’लाई मात्र पक्राउ गरिए संसद्भित्रै आमरण अनसन बस्ने घोषणा पनि गरेका थिए । सांसद शर्मालाई सीआईबीको लैनचौरस्थित कार्यालयमा राखिएको खबर छ ।
सांसद शर्मा पक्राउबारे नेका सभापति देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दलको कार्य समिति बैठकमा कुराकानी भएको र के मुद्दामा पक्राउ परेको भन्नेबारे यकिन नभएको नेका प्रमुख सचेतक रमेश लेखकको भनाइ सार्वजनिक भयो ।
सांसद शर्मालाई आईएस्सीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीको ‘फोक्स्टोट चार्ली अपरेसन’ अन्तर्गत पक्राउ गरिएको थियो ।
पक्राउलगत्तै सांसद शर्माले ‘उत्तर कोरियाली सरकारद्वारा गिरफ्तार’ जस्ता आधारहीन व्यङ्ग्य गरेका थिए । यसले नेकाका कतिपय नेता–कार्यकर्ताहरूमा नेपालको कूटनीतिक सम्बन्ध भएको देश प्रजग कोरिया (कतिपयले उत्तर कोरिया भन्ने गरेको) को राजनीतिक व्यवस्था, नेता र सरकार कति प्रजातान्त्रिक, सुसंस्कृत, सभ्य र देशभक्त भन्ने भ्रम रहेको थप पुष्टि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *