अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपाल सांस्कृतिक तथा भौगोलकरूपले धनी राष्ट्र हो । नेपाल सानो राष्ट्र भए तापनि भूगोलमा विविधताको कारण फरक वातावरणअनुसार यहाँको संस्कृतिमा विविधता पाइन्छ । यसरी नेपाल एक बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र हो । सबै जातजाति तथा धर्म संस्कृतिको सम्मान गर्नु हाम्रो मौलिक कर्तव्य हो ।
अहिलेको समयमा विशेषगरी रेडियो, टेलिभिजन र सामाजिक सञ्जालजस्ता सार्वजनिक सूचनाको माध्यममा फरकफरक जातजातिको संस्कृति र परम्पराबारे बोल्दा बढी सचेत हुनैपर्छ । थाहा नपाएको वा नबुझेको कुरोमा बढी जान्ने बन्नु हुन्न । हरेक जातजाति अनि हरेक टोल गाउँमा भिन्नाभिन्नै रीतिरिवाज हुन्छ । यी तथ्यलाई नबुझी बोल्दा समाजमा द्वन्द्व निम्त्याउँछ । मानिसहरू आफ्नो संस्कृति र परम्परालाई लिएर अत्यन्त संवेदनशील हुन्छन् ।
सन्दर्भ, अधिवक्ता भगवती पाण्डेले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबिच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । विवाहको कुराभन्दा पनि तत् समुदायका मान्छे बढी आपराधिक प्रवृत्तिका हुन्छन् भनेर तर्क दिएकी थिइन् । धर्म र समुदायप्रतिको पूर्वाग्रही हुनु सुहाउँदैन । ती अधिवक्तालाई सार्वजनिकरूपमा द्वेष फैलाउने अभिव्यक्ति दिएको अभियोगमा हालै उनलाई प्रहरीले हिरासमा लिएको थियो तर पछि रिहा गरियो । अहिले रिहा गरिएको विरोधमा उक्त जनजातिका मान्छेहरू आन्दोलित छन् । कसैले माफी दिनुपर्छ भनिरहेका छन् भने कसैले माफीले झन् अरूलाई यस्तै द्वेष फैलाउने अभिव्यक्ति दिन उत्प्रेरित गर्छ । अन्ततः भयावह परिणाम आउँछ भनिरहेका छन् । एक व्यक्तिको मानमर्दन भयो भने त कानुनी उपचारको विषय बन्छ भने सिङ्गो समुदायको मानमर्दन गरेर सामाजिक सद्भाव बिथोलेर द्वन्द्व श्रृजना गर्ने कुरालाई टीभी कार्यक्रममा बोलेको कुरा भनेर सामान्यीकरण गर्न सुहाउँदैन । अधिवक्ताजस्तो प्रतिष्ठित पदमा रहेका व्यक्तिको अभिव्यक्तिले सम्बन्धित व्यक्तिहरू झनै उत्तेजित भएको देखिन्छ ।
सांस्कृतिक विवधता भएपछि संस्कृति एकअर्कासँग भिन्न हुनु स्वाभाविक हो । यस्तोमा अरूको संस्कृति र परम्परा अनौठो लाग्नु पनि स्वाभाविक नै हुन्छ । एउटै कार्य पनि विभिन्न समुदायका मानिसहरूले भिन्नभिन्न प्रकारले गर्ने गर्दछन् । हामीले गर्ने कर्म काण्ड पनि गाउँपिच्छे, समुदायअनुसार फरक छन् । आफन्तजनको मृत्यु हुँदा समुदायअनुसार काजक्रिया गर्ने तरिका फरकफरक हुन्छ । कुनै जातिमा मृत्यु भएकै दिन दागबत्ती दिन छोराले शिर मुण्डन गर्छन् भने कसैको दस दिनमा गर्छ । कुनै समुदायले त मुण्डन नै गर्दैन । कसैको लास गाड्ने चलन हुन्छ त कसैको दागबत्ती दिएर जलाउने चलन छ । हिमाली भेगको एउटा जातमा जोखना हेरेर काजक्रिया हुन्छ । कसैले तेह्र दिनसम्म नुन बार्छन् भने कसैकोमा घाट टाढा हुनुको कारण मलामीले घाटमै खाजा खानुपर्ने चलन भएका समुदायहरू पनि छन् । सबैको परम्परा र संस्कार एक अर्कासँग मिल्दैन तर आफ्नो जस्तो अर्काको देखिएन भन्दैमा त्यहाँकाले जानेनन् भनेर अरूको संस्कृति र परम्पराको अवहेलना गर्न कदापि स्वीकार्य हुँदैन । यो एक प्रकारको अपराध हो जुन कानुनबमोजिम दण्डनीय हुन्छ ।
नेपालको संविधानले मौलिक हकको रूपमा धारा १७ अन्तर्गत स्वतन्त्रताको हक उल्लेख गरिएको छ जसमा विचार र अभिव्यक्ति स्वतन्त्रता उल्लेख छ । तर, उक्त स्वतन्त्रता भए ता पनि कसैको जातजाति, धर्म, सम्प्रदायको अवहेलना हुने कार्य गर्न नहुने कुरा पनि उक्त धारामा उल्लेख गरिएको छ । यसप्रकार सार्वजनिक शान्तिमा खलल पारेमा उक्त व्यक्तिलाई नेपालको कानुनबमोजिम सजाय दिइने प्रबन्ध नेपालको कानुनमा उल्लेख छ ।
अरूको परम्परा या संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्दैमा सबै पुराना परम्परा र रीति रिवाजहरू राम्रा नै हुन्छन् भन्ने पनि होइन । आवाज उठाएर नै कुप्रथाको अन्त्य गरेका उदाहरणहरू पनि प्रशस्तै छन् । तर, कुप्रथाको विरोध गर्नु र कसैको संस्कृतिबारे नबुझी तिनको अवहेलना गर्नुमा ठूलो अन्तर हुन्छ । यदि कुनै कुप्रथा समाजमा भने त्यसलाई हटाउन वा सुधार गर्न सकिन्छ । तर, कुनै पनि समुदायको परम्परा र तिनको महत्वबारे नबुझी ती समुदायका मानिसको भावनालाई ठेस पु¥याउनु कदाचित ठीक होइन ।
अतः सबैले एकअर्काको संस्कृति र परम्पराको सम्मान गर्नुपर्छ । अरूको परम्परा र संस्कृति अनौठो लाग्यो भन्दैमा ती संस्कृतिको अवहेलना गर्ने र ती समुदायका मानिसको विश्वास तथा स्वाभिमानमा ठेस पुग्ने विचार अभिव्यक्त गर्नु अपराध हो । खासगरी टेलिभिजन र सामाजिक सञ्जालजस्ता सार्वजनिक सूचनाको माध्यममा कुनै पनि समुदायको संस्कृतिबारे बोल्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । आ–आफ्नो संस्कृति र परम्परालाई लिएर सबै समुदायका मानिसहरू अत्यन्त संवेदनशील हुन्छन् । कुनै पनि समुदायका मानिसले अन्य समुदायको विश्वास तथा भावनालाई चोट पुग्ने प्रकारले बोल्नु ती समुदायको मात्र अवहेलना होइन त्यो कानुनको पनि अवहेलना हो । जब कसैको अभिव्यक्तिले लगातार एक व्यक्ति वा एक विशेष समूहलाई कष्ट, डर हुन्छ वा बिना कुनै उद्देश्य कसैको अभिव्यक्तिको कारणले कुनै समुदायको बेइज्जत वा अवहेलना हुने हो भने यसले अभिव्यक्तिको स्वतन्त्रताको सीमा पार गरी मौखिक दुव्र्यवहारमा परिणत भएको मान्न सकिन्छ ।
यहाँ केही समयअगाडि हास्य कलाकार अपूर्व क्षितिज सिंहसँग जोडिएको घटनालाई उल्लेख गर्नु सान्दर्भिक हुन्छ । उनले गरेको व्यङ्गले नेवार जातिको अपमान भएको ठानेर धेरै नेवारहरूले उनको विरुद्ध कानुनी उपचार पनि गरेका थिए । तर, उनका समर्थक वा केही गैर नेवार जातिले वाक् स्वतन्त्रताको हवाला दिँदै उक्त व्यङ्गले कसैलाई अपहेलना नगरेको जिकीर ग¥यो । यसरी वाक् स्वतन्त्रता कुन हदसम्म गएपछि गाली बेइज्जती हुन जान्छ भन्ने विषयमा अझै जनमानसमा अन्योल छ । वाक् स्वतन्त्रता र गाली बेइज्जतीलाई आफ्नो अनुकूलअनुसार व्याख्या गरिएको छ । हाम्रोजस्तो बहुभाषिक र बहुजात भएको देशमा आगामी दिनमा अझै यस्तो घटना बढ्दै जाने निश्चित भएकोले समस्यालाई समाधान गर्न कानुनका विज्ञहरूले कानुन संशोधन गर्न धेरै अभ्यास गर्नु जरुरत देखिन्छ ।
(लेखकः ख्वप माध्यमिक विद्यालयकी कानुन विषयका विद्यार्थी हुन् ।)
Leave a Reply