भर्खरै :

परिपक्व प्रौढताको कदर

परिपक्व प्रौढताको कदर

विश्व ब्रह्माण्डले आफ्नो नियमितता किन बिर्सन्थ्यो र ? पृथ्वीले एकपल्ट फेरि सूर्यलाई पूरै परिक्रमा गरिसकेछ । ३६५ दिनको एक वर्ष बितिसकेछ । अघिल्लो वर्ष ९५ औँ भनेर मनाएको हाम्रा बा (भैरव रिसाल) को ९६ औँ जन्मदिन आइसकेछ । सबैभन्दा पहिले त उहाँलाई ९५ वसन्त, गृष्म, हिउँद, वर्षा पार गरी ९६ औँ वर्षमा प्रवेश गरेको अवसरमा हृदत्रिको बधाई अनि लामो आयुको कामना ।
मानिसको आयुको हिसाबले ९५ वर्ष थोरै मात्र कम, शतप्रतिशत हो जुन जहानपरिवारको लागि महानतम् उपलब्धि हो । यो दीर्घ जीवनको रहस्य के होला ? के के तत्वको सही संयोजनले जीवनको यति लामो दूरी नाप्न सहयोग पुग्यो होला ? उत्तर सजिलो छैन किनभने यो प्रश्नको सार्वभौम सिद्धान्त नै छैन । सबैको जीवन उही परिभाषा, उही शैली, उही नियम, उही सिद्धान्तमा चलेको हुँदैन । सृष्टि र संहारमात्र शाश्वत र सार्वभौम सत्य हुन् बाँकी प्रश्नका उत्तर व्यक्तिपिच्छे फरकफरक हुन्छन् ।
एक व्यक्ति र अर्को व्यक्तिबिच हुने तात्विक भिन्नता सबैले देख्ने कुरा हो । तर, एउटै व्यक्ति पनि समय, परिवेश, परिस्थिति, उमेरअनुसार भिन्नभिन्न आयाममा बाँचेको हुन्छ । कसैको पनि बाल्यावस्था, यौवन, प्रौढता र वृद्धावस्था समान प्रकृतिका हुँदैनन् । एउटै उमेरमा पनि व्यक्तिको बाहिरी र भित्री पक्ष बेग्लाबेग्लै हुन्छन् । आपूmमात्र, दम्पतीबिच, घरपरिवारसँग, समाजमा, कार्यक्षेत्रमा, राष्ट्रको प्रश्नमा, विश्वभरिकै दृष्टिकोणमा व्यवहार फरक हुन्छन्, प्रस्तुति र भूमिका फरक हुन्छ । सामान्यतः यो सिद्धान्त सबैमाथि लागू हुन्छ । समाजमा परिचय बनिसकेका व्यक्तिहरूको हकमा त यो सिद्धान्त झन् बढी लागू हुन्छ किनभने त्यस्ता व्यक्तिको जीवनका हरेक आयाममाथि सार्वजनिक चासो रहन्छ ।
सामाजिक परिधि फराकिलै भइसकेका हाम्रा बाको जीवनका तीन पक्ष : छोटो बाल्यावस्था, सुदीर्घ ऊर्जाशील युवावस्था र परिपक्व प्रौढावस्थामध्ये बिचको पक्ष उल्लेखनीय रह्यो । उहाँको बाल्यावस्था देखिएन तर ‘त्यो त्यति सुखद थिएन’ भन्ने अनुमान लगाउन गा¥हो पर्दैन । समय, परिस्थितिले उहाँलाई बेलैमा युवा बनायो । उमेरले प्रौढ बनिसक्दा पनि त्यसको लक्षणले प्रवेश गर्ने हिम्मत नगरेको कारण उहाँको युवावस्था निकै लामो र अत्यन्त ऊर्जाशील रह्यो । अहिले उहाँमा प्रौढताले तीव्रगतिले कब्जा जमाउने प्रयास गरिरहेको छ ।
उहाँको सुदीर्घ ऊर्जाशील जीवनका पनि तीन आयाम छन् । पहिलो, सरल र अनुशासित पारिवारिक जीवन; दोस्रो, गम्भीर र नियमित कार्यकारी जीवन; तेस्रो, मिलनसार र ठट्यौलो सामाजिक जीवन ।


अपवादबाहेक उहाँले अनुशासित ‘सरल जीवन उच्च विचार’ को आदर्शमा बाँच्ने प्रयास गर्नुभयो । यात्रा भ्रमणमा जाँदाबाहेक घरमा उहाँको उठ्नेदेखि सुत्नेसम्मको दैनिकी घडीको इसारामा चल्थ्यो । ब्रह्म मुहुर्तमा उठ्ने, चिसो पानी पिउने, चिसै पानीले (बाहुन नुहाइ – थोरै पानीले खल्ल नुहाउने) नुहाउने, कसरत गर्ने, स्टिलको डल्लोडल्लो गिलासभरी कडा रङ्ग, बाक्लो दूध र च्वास्स चिनी भएको चिया पिउने, सात बजे रेडियो नेपालको समाचार सुन्ने, पत्रिका पढ्ने, खाना खाने, काममा जाने, कामबाट फर्केपछि खाजा खाने, फेरि समाचार सुन्ने, लेख्नु छ भने लेख्ने अनि घडीले १० हान्यो कि सुत्न जाने र तुरुन्तै घुर्न थाल्ने । यसमा आकस्मिकता बिरलै देखियो ।
परिवारलाई उहाँले जहिल्यै सरल र अनुशासित भएर बाँच्न पे्ररित गर्नुभयो । तर, अधिकांश आदर्शवादी व्यक्तिका परिवारझैँ उहाँको परिवार हामीले उहाँको आदर्शको प्रशंसामा धेरै शब्द खर्च ग¥यौँ, उहाँको सिद्धान्तलाई पुज्यौँ, उहाँमाथि गर्व ग¥यौँ, गर्दै छौँ, गरिरहन्छौँ । तर, त्यसलाई अपनाउने मामलामा कमजोर रह्यौँ । मान्छे आडम्बरी जात हो, राम्रो कुराको प्रशंसा गर्नमा उसलाई कसैले जित्न सक्दैन तर अनुकरण गर्दै छ । यो सत्य स्वीकार्ने हिम्मत पनि मलाई ‘सकेसम्म नढाँटी बाँच्ने’ सिद्धान्तका अनुयायी भैरव रिसालकी छोरी भएकीले नै आएको हो ।
उहाँको जीवनको अर्को पाटो कार्यकारी/कामकाजी पाटो हो । यसको व्याख्या परिवारले भन्दा बाहिरी व्यक्तिले गर्नु उपयुक्त हुन्छ । तर, कामप्रति उहाँ हदैसम्म गम्भीर र समर्पित हुनुहुन्थ्यो भन्न हिचकिचाउन पर्दैन । जहिले पनि आफ्नो जिम्मेवारी उहाँको उच्च प्राथमिकतामा प¥यो । अल्छी मानेको, ‘आज भइगो भोलि गरौैँला’ भनेर मुल्तबीमा राखेको, ‘आ होस्’ भनेको कहिल्यै देखिएन । झमझम परेको पानी होस् कि मुटु जम्ने जाडो वा तालु चर्काउने गर्मी अथवा चुक घोप्ट्याएजस्तो अँध्यारो, हिँड्न परोस् कि गुड्न वा उड्न उहाँलाई केही फरक पर्दैनथ्यो । प्रतिकूलताले उहाँको ऊर्जामा, उत्साहमा, जाँगरमा कहिल्यै रत्तिभर पनि कमी आएन ।
उहाँको सामाजिक जीवन हँसिलो, रसिलो र ठट्यौलो थियो । पूर्व–पश्चिम, उत्तर–दक्षिण, सुविधा–असुविधा, स्वदेश–विदेश, गाउँ–सहर, हिमाल, पहाड, तराई जुनसुकै परिवेशमा पनि घुलमिल हुनसक्ने, जुन समाजसँग सङ्गत गर्नु छ । त्यसकै अङ्ग बन्न सक्ने विशेष गुणले उहाँ लोकप्रिय हुनुभयो । स्थानीयसँग भेट्दा ‘यहाँ के फल्छ ?’, ‘के खाने चलन छ ?’, ‘व्यवहार कसरी धानिन्छ ?’, ‘आर्थिक विकासका के के सम्भावना छन् ?’, ‘के गर्न सकिन्छ, मिलेर गरौँ’ जस्ता तिनका सरोकारका कुरा गर्ने स्वभावले उहाँलाई समाजमा स्थापित गरायो । समाजले होचोहेलो गरेका, शारीरिक वा मानसिकरूपले फरक क्षमता भएका व्यक्तिहरूले आत्मीय व्यवहारका कारण उहाँलाई आफ्नो हितैषी ठान्थे । जोसँग पनि बोल्ने, ठट्टा गर्ने, रमाइला प्रसङ्ग झिकेर केटाकेटीसँग केटाकेटीकै पारामा, युवासँग जोशिलो पारामा, बुढाबुढीसँग पारामा प्रस्तुत हुने उहाँलाई सबैले आफ्नो घनिष्ठ मित्र देखे ।


दुर्गम स्थानको भ्रमणपछि उहाँले त्यो ठाउँलाई फाइदा हुने केही न केही काम गर्ने प्रयास गर्नुभयो । भलै त्यसमा कहिले सफलता प्राप्त भयो, कहिले भएन । हुम्ला भ्रमणमा जाँदा त्यहाँको विद्यालयमा इतिहास पढाइरहेका शिक्षकले भन्दा आपूmले जानेका कुरा उपयोगी छन् भन्ने लागेर ती शिक्षकलाई आफ्नो खाना पकाइदिन अनुरोध गर्दै आपूmले उनको कक्षा लिइदिनु तत्काल हाँसोको विषय बने पनि वास्तवमा त्यो समाजलाई बुझेर सोहीअनुसार व्यवहार गर्ने उहाँको विशेष सिप थियो । हुम्ला पुग्दा हुम्ली भइदिनुभयो, डोटी जाँदा डोट्टेली, इलाम जाँदा इलामे, टुुङ्गुन पुग्दा टुङ्गुने भई दिनुभयो । जहाँ जे पाइन्छ त्यही खाने, उनीहरूकै जीवन शैली अपनाइदिने, ठट्यौलो पारामा स्वास्थ्य, सरसफाइसम्बन्धी शिक्षा पनि दिने गर्नाले उहाँसँगको मित्रतामा फाइदा छ भन्ने बुझ्न स्थानीयलाई गा¥हो भएन ।
आज उहाँको कसैसँग वैमनस्य देखिँदैन, कसैसँग रीसराग छैन, उहाँलाई न कसैसँग फाइदा लिनु छ, न उहाँबाट कसैलाई नोक्सान पुग्छ । जीवनको उत्तराद्र्धमा उहाँ अजात शत्रु बन्नुभएको छ । तर, कुनै समय उहाँका कट्टर समर्थक र घोरविरोधी दुवै बराबर मात्रामा थिए । आफ्नो गाउँ दधिकोटको विकास निर्माणमा उहाँले नेतृत्व लिएको पटक्कै मन नपरेर केही व्यक्तिको समूहबाट हरेक काममा बाधा, अवरोध र विरोध हुन थाल्यो । यस्तोमा सामान्यतःमान्छे निराश भएर ‘राम्रो गर्न खोज्दा पनि गर्न दिँदैनन्’ भन्दै पछि हट्छ । पलायन मान्छेको सबैभन्दा सुविधाजनक बहाना हो तर उहाँले पलायन नभई, विचलित नभई डटेरै सामना गर्नुभयो । पछि विरोधीले ‘मिलेरै जाऊँ’ भन्दै मित्रताको हात बढाएपछि पो बुझियो त्यो जुँगाको लडाइँ रहेछ । ‘हामी छँदा छँदै अरूले काम गर्ने, नेतृत्व लिने, जस पाउने ?’ भनेर विरोध भएको रहेछ ।
दधिकोटमा एक समय आएको विकासको लहरका कारण त्यसलाई ‘नमुना गाउँ’ भनिन्थ्यो जसमा उहाँको प्रमुख भूमिका र योगदान रह्यो । त्यही कारण दधिकोटले अन्य गाउँभन्दा चालीस वर्षअघि फड्को मार्न सक्यो । रोचक त के छ भने उहाँ कहिल्यै नीति निर्माण गर्ने, बजेट विनियोजन गर्ने स्थानमा, पदमा पुग्नुभएको होइन । अरूलाई भनेर काम गराउने सिमानामा बाँधिएको मान्छेले गर्न सम्भव भएभन्दा निकै बढी उहाँले गराउन सक्नुभयो । उहाँको मनमा आफू, परिवारभन्दा ‘समाजलाई के दिन सकिन्छ र के गर्न सकिन्छ ?’ भन्ने कुरा नै खेलिरहने भएकोले आपूmमा निहित अत्यधिक ऊर्जाशीलताको सही प्रयोग गर्न सफल हुनुभयो । यिनै कारणले उहाँलाई घरपरिवारको घेरा नाघेर सामाजिक बनायो, समाजको सम्पत्ति बनायो । भैरव रिसालबाट ‘भैरव सर’, ‘भैरव दाइ’ बनायो ।


उहाँको जीवनको ८० प्रतिशत खण्ड ऊर्जाशील रह्यो । अहिले प्रौढता परिपक्क बनिसक्दा पनि बिनाचस्मा पढ्नु, पूरा निद्रा, आवश्यक भोजनमा रुचि, पत्रिकामा नियमित लेखन, रेडियोमा प्रस्तुति तथा केही व्यक्तिगत काम आफैँ सम्पन्न गर्न सक्नुमा सन्तोष मान्नै पर्छ । बाबुको बाल्यावस्था सन्तानले देखेका हुँदैनन्, त्यसबारे के भन्नु र ? तर, जहिल्यै ऊर्जाशील, तेजस्वी रहेका बाबुलाई त्यही रूपमा हेर्न खोज्नु, उहाँको प्रौढता, प्रस्ट भनौँ बुढ्यौली स्वीकार गर्न गा¥हो हुनु मानवीय कमजोरी त होला नि । हिँडेर नथाक्ने ज्यानलाई गनोटका पाइला चाल्न सकस भएको, ७७ जिल्ला टेकेका गोडाले तातीसरहका कदम चालेको देख्दा कता कता चस्स बिझ्दो रहेछ । जसको शब्दकोशमा ‘थकाइ’ शब्द थिएन, ‘थाकेजस्तो भएको छ’ वाक्य पचाउन सजिलो हुँदो रहेनछ तथापि यही यथार्थ हो, यही प्रकृतिको नियम हो ।
कुनै दिन तर्जनी औँलो समाउन लगाई नानी तातीदेखि लगभग कुदेसरह हिँड्न सिकाएका मेरा बालाई आज मैले हात समाएर तातीसरह हिँडाउनु हर्षको विषय हो कि बिस्मात्को ? हर्ष यसकारण, सेवा गर्न पाइएको छ, बिस्मात् यसकारण यो स्वीकार्न गा¥हो छ । त्यो ओज, त्यो तेज, त्यो सामाथ्र्य, त्यो हौसला, त्यो जाँगर निर्दोष, निर्मल, अबोध बाल्यावस्थामा परिणत हुँदै गएको साक्षी बन्नुपर्दा समयसामु मानिस कति निरूपाय छ भन्ने बोध भए पनि यो यथार्थलाई स्वीकार गर्नुको विकल्प छैन ।
अग्रज, ज्येष्ठ सदस्य, ठूल्दाइ, दाइ, बा, बाबा, अक्कोबाबा परिवारको आत्मा हुनुहुन्छ, मियो हुनुहुन्छ, सम्पत्ति हुनुहुन्छ । हामी सधैँ उहाँको छत्रछाया खोज्छौँ । उहाँको हेरविचार, औषधोपचार, आहारविहार र सुखसुविधा जुटाउनु परिवारको दायित्व हो, कर्तव्य हो र क्षमताले भ्याएसम्म प्रयास पनि भएको छ ।


‘लिम्पियाधुरासम्म नेपाल हो’ भन्ने कुराको ज्युँदो प्रमाण, नलेखिएको इतिहासका साक्षी भैरव रिसाल परिवारका मात्र सम्पत्ति नभएर सार्वजनिक सम्पदा पनि हुनुहुन्छ । अभैm मुलुकलाई उहाँजस्तो निर्भिक अकाट्य ज्युँदो प्रमाणको आवश्यकता छ । साथै उहाँको कदर गर्ने, उहाँलाई श्रद्धा र स्नेह गर्ने सदय सामाजिक पनि उल्लेख्य मात्रामा हुनुहुन्छ । तर, उहाँको कदर गर्दा, श्रद्धा गर्दा उहाँमाथि न्याय भएको छ त ? सोच्नुपर्ने समय आएको छ । लामो सार्वजनिक समारोहमा सहभागी गराउँदा कार्यक्रमको गरिमा त बढ्ला तर उहाँलाई सहज भएको छ त ? यो पक्षमाथि पनि विचार गर्नुपर्ने बेला भएको छ ।


दीर्घायु अत्यन्त हर्षको विषय हो । तर, यसमा सतर्क हुनुपर्ने पनि उत्तिकै आवश्यकता रहेछ किनभने मानिस फर्किएर त्यहीँ पुग्दो रहेछ जहाँबाट आरम्भ भएको थियो । प्रौढता पनि परिपक्व हुँदै गएपछि मानिस बाल्यावस्थामै पुग्दो रहेछ । बालखहरू मनपर्ने क्रिडा गर्न पाए, चाहेजस्तो खेलौना पाए खुसी हुन्छन् नि । त्यस्तै बालख बनिसकेका परिपक्व प्रौढलाई पनि मानिसको उपस्थिति, आवागमन, सरसङ्गत मनोरम क्रिडा बन्दो रहेछ अन्यथा आपूm किनारा लागेको, उपेक्षित बन्दै गएको महसुस हुँदो रहेछ ।
अतः परिपक्व पौढता पनि नाघेर बाल्यावस्थाउन्मुख हाम्रा बाको जीवन सन्ध्यालाई कसरी सरल, सहज र सुखद बनाउने भनेर गम्भीरतापूर्वक सोच्दा अब आमन्त्रण गर्न होइन आमन्त्रित ठान्दै उहाँ समीप जानु, केही समय व्यतीत गर्नु सर्वोत्तम प्रयोग हुनेछ । सही अर्थमा उहाँको कदर हुनेछ ।

सुषमा रिसाल सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *