अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कुनै विचार र सिद्धान्तबाट निर्देशित नभएको दिशाविहीन सरकारले देशको दिशानिर्देश गर्दैन । दिशाविहीन र सिद्धान्तविहीन सरकारको निश्चित लक्ष्य हुँदैन । निश्चित लक्ष्य नभएको सरकारले आफ्नो शासन कालमा देशलाई कहाँ पु¥याउने भन्ने कुरा यकिन हुँदैन । नेका सम्मिलित माओवादी केन्द्रको नेतृत्वमा बनेको दाहाल सरकार यसैको दृष्टान्त हो । आ–आफ्नो दलको अस्तित्व कायम राख्न बनेको यो भागबन्डाको सरकार देश र जनताको पक्षमा केही काम गर्नुभन्दा आफ्नो भाग पाउनमै केन्द्रित छ । दलगत स्वार्थ पूरा गर्न केन्द्रित यो सरकार कुन बेला ढल्ने हो, निश्चित छैन । सत्तारूढ दलभित्र स–साना कुरामा मतभेद भएर या विचार नमिल्ने बित्तिकै कुनै दल सत्ता बाहिर जानसक्ने सम्भावना पनि त्यतिकै छ । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले यो सरकारमा बसिरहन जरूरी नभएको बताए । गौर हत्याकाण्डको सन्दर्भमा जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारको ध्यानाकर्षण गर्दै माग सम्बोधन नभए कुनै दिन सरकार छोड्न सक्ने चेतावनी दिए । गठबन्धन सरकारको महत्वपूर्ण घटक नेकाका संस्थापन इत्तर पक्षले सरकारप्रति असन्तुष्ट जनाउँदै नेपाल अन्तर्राष्ट्रिय अपराधीहरूको चलखेल गर्ने मैदान बनिरहेको बताएको छ । ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई बदनाम गर्न सरकार नै लागिपरेको नेकपा एसको आरोप आदिले वर्तमान सरकारको स्थिति कहाँ छ, कस्तो छ भन्ने कुरा अड्कल गर्न सकिन्छ ।
देशमा भइरहेको जति पनि आपराधिक घटना, भ्रष्टाचार र कमिसनका खेलहरू छन्, त्यसमा सरकारमा गएका दलका नेता, मन्त्री र सांसदहरूको संलग्नता रहेकै हुन्छ । त्यस्ता दलका प्रतिनिधिहरूको मिलेमतोमा बनेको यो सरकारले साँच्चै भ्रष्टाचारी, अनियमितता गर्ने र कमिसनखोरहरूलाई कारबाही गर्ला । सत्तारूढ दलका कुनै न कुनै नेता, मन्त्री र सांसदहरू या आफ्नो पक्षका ठेकेदारहरू यस्ता प्रकरणमा संलग्न हुने हुँदा सरकार दृढ भएर अपराधीहरूलाई कारबाही गर्न अघि सर्दैन । राजनीतिक नेतृत्वको यस्तै खोटो, सङ्कीर्ण विचार र दलगत स्वार्थले देश समृद्ध बन्दैन, नेपाली जनता सुखी हुँदैनन् । नेतृत्वको सोच र व्यवहारमा परिवर्तन नभएसम्म देशको भविष्य सुन्दर हुनेछैन ।
कुनै दललाई चिन्ने र विश्लेषण गर्ने आधार विचार र सिद्धान्त हो । विचार र सिद्धान्त छोड्यो या त्यसलाई व्यवहारमा लागु गरिएन भने त्यो दर्शन पनि देखाउने दाँत हुन्छ । आफूलाई कम्युनिस्ट भनिने माओवादी केन्द्र र एमालेले आत्मसात गरेको सिद्धान्त पनि व्यवहारतः देखाउने दाँत भएको छ । राजनीतिक नेतृत्वको कार्यशैली विचारसम्मत भएन, आम जनताको प्रतिनिधित्व भएन भने त्यो नेतृत्वप्रतिको विश्वासमा स्खलन हुनु स्वाभाविक हो । यसकारण, हरेक सरकारको काम सिद्धान्त र विचारको आधारमा हुनुपर्छ । सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नुपर्छ । सिद्धान्त र विचारमा अडिग नरहनु र त्यसलाई व्यवहारमा लागु गर्ने प्रयास नगर्नु दुवै खोटो विचार हो । खोटो विचारको विरोध गर्नैपर्छ ।
Leave a Reply