विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
नेपाल क्रान्तिकारी किसान सङ्घद्वारा प्रकाशित ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकले युक्रेनमा साम्राज्यवादी गुप्तचरहरूको घुसपैठ र षड्यन्त्र छर्लङ्ग पार्दछ । किसानहरूको बाहुल्य रहेको युक्रेनमा सन् १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिपश्चात् ‘जसको जोत उसको पोत’ नीतिले युक्रेनी किसानहरूलाई खुसी तुल्यायो । युक्रेनी जमिनदारहरू आत्तिएर सोभियत सङ्घका शत्रुहरूलाई युक्रेनमा आश्रय दिए । केही सैन्य सङ्गठनहरूले सोभियत लालसेनाको बर्दी लगाएर कम्युनिस्ट समर्थकहरूको हत्या गरे । ती सैन्य सङ्गठनबाट फासीवादी सङ्गठनको जन्म भएको पुस्तकमा उल्लेख गरिएको छ ।
सोभियत सङ्घको विघटनपछि युक्रेनलाई रूसविरूद्ध प्रयोग गर्न सन् २००४ र २०१४ मा ‘रङ्गीन विद्रोह’ गराए । युक्रेनलाई साम्राज्यवादी सैन्य सङ्गठन नेटोमा आबद्ध गराएर रूसविरूद्ध हमला गराउनु पश्चिमाहरूको उद्देश्य रहेको बुझेर नै रूसले २०२२ फेब्रुअरी २४ मा प्रतिरोध गरेको पुस्तकमा प्रस्ट पारिएको छ ।
युक्रेनलाई नेटोमा भित्याउन साम्राज्यवादीहरू रातदिनको षड्यन्त्रको तानाबाना बुनेझैँ अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजी नेपालविरूद्ध उत्तिकै छन् । नेपाली शासकहरूले देशको सार्वभौमिकता नै दाउमा राख्ने गरी एमसीसी र एसपीपीजस्ता देशघाती सम्झौता गरे । साम्राज्यवादीहरूलाई खुसी पार्न राष्ट्रसङ्घको महासभामा तत्कालीन देउवा सरकारले रूसविरुद्ध युक्रेनको पक्ष लियो । युक्रेनको पक्ष लिनु अमेरिकी साम्राज्यवादको पक्ष लिनु हो । असंलग्न विदेश नीति अङ्गीकार गरेको नेपालले युक्रेनलाई पनि त्यही पाठ सिकाउनुपर्ने थियो । तर, सन् २०१४ मा युक्रेनमा ‘युरोमैदान विद्रोह’ को निर्देशन गर्ने भिक्टोरिया नुल्यान्डले हालैमात्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटिन् । यो सक्रियता खतराको सङ्केत हो भनी बुझ्न प्रस्तुत पुस्तकले सघाउने अपेक्षा राखेको छ ।
पुस्तकमा पाँच खण्ड छन् । खण्ड १ को ‘युक्रेनमा नवनाजीवाद’ शीर्षकमा युक्रेनी फासीवादको नालीबेली, ‘स्वतन्त्र’ युक्रेनमा फासीवाद, नर्सरीदेखि नाजीसम्म, युक्रेनमा सीआईए र एनजीओ, फासीवादी ब्युताउँदै युक्रेनी शासकहरू, युक्रेनी नाजीवादलाई चिनौँ उपशीर्षकका विषय उल्लेख गरिएको छ । यसले युक्रेनी नाजीवादको विशेषता बताउँछ ।
खण्ड २ को युद्धको सेरोफेरो शीर्षकमा रूस र भूगोलको श्राप, अमेरिकी युद्ध उत्तेजक प्रचार, नेटो समस्या हो, समाधान होइन, शीतयुद्धपछिको विश्व र युक्रेन द्वन्द्व, रूसलाई घृणा गर्ने ब्रेजिन्स्की खानदान, कति भ्रष्ट छन् राष्ट्रपति जेलेन्स्की ?, भोलोदिमिर जेलेन्स्की को हुन् ?, मैदान विद्रोहपछि के भयो ?, युक्रेन युद्ध कहिले सुरु भयो ?, किन हमला गर्ने निधोमा पुगे पुटिन ?, मुद्राकोषको भूमिका, चपेटामा विकासशील देशहरू, दक्षिणी गोलाद्र्धबाट हेर्दा, युक्रेन युद्धले फेरिएको युरोप, संरा अमेरिकाका सात पाप, अकुत सम्पत्ति थुपार्दै अमेरिका, युक्रेनबाट कसको अन्न बेच्न लगिँदै छ ?, घ,मा.. निख्लो पेट, बाहिरफेर सेठ, चीनको मध्यस्थता प्रयास र अमेरिका, प्रिगोजिन काण्डमा कसले जित्यो ? उपशीर्षकका विषय समावेश छन् । यी लेखहरूमा युक्रेनको मुद्दालाई ऐतिहासिक, सामरिक, आर्थिक र राजनीतिक कोणबाट केलाइएको छ ।
खण्ड ३ को विज्ञको विचार शीर्षकमा रूस–युक्रेन सङ्कट र समाधान, तीन दिग्गजका अभिव्यक्ति, युक्रेन–रूस युद्धको परिणाम ¤, युक्रेनमा अमेरिकी छद्म युद्ध, ‘नेटो अमेरिकी आदेशमा चल्ने प्रहरी हो’, वासिङ्टनलाई युद्ध कहिल्यै टुङ्गिएन उपशीर्षकका लेखहरू समावेश छन् । यसमा केही कहलिएका विद्वानहरूको विचार समावेश छ ।
खण्ड ४ को युक्रेनी जनजीवन शीर्षकमा सोभियत छाप मेटाउन नाजीहरूलाई ल्याइएको हो, एउटा मधुर सपनाको शोकगीत, वर्ग र राष्ट्रको द्वन्द्व, युक्रेनभित्र वर्गसङ्घर्ष, एक अमेरिकीको क्रिमिया भ्रमण, युक्रेनमा असन्तोष, बुचामा नियोजित नरसंहार, उदाङ्गिएको एमनेस्टी इन्टरनेसनल, गुप्त कालकोठरीमा तीन महिना, पूर्वी युक्रेनका बन्दीसँगको कुराकानी, अमेरिकीहरूलाई एक बालाको पत्र, रूसी पुस्तकमाथि प्रतिबन्ध, कस्तो युक्रेनको पक्ष लिने ? उपशीर्षकका लेखहरू समावेश छन् । यसमा युक्रेन र डोनबासका जनताको भोगाइ समेट्ने प्रयास गरिएको छ ।
खण्ड ५ को हाम्रो विचार शीर्षकमा रुसविरोधी अमेरिकी छद्म युद्ध उपशीर्षकको लेख समावेश छ । यसमा नेपाल मजदुर किसान पार्टीले सडकदेखि सदनसम्म युक्रेनबारे व्यक्त गरेका विचारहरू साभार गरिएको छ ।
पुस्तकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (का. रोहित) द्वारा समय–समयमा विभिन्न उपनाममा अभिव्यक्त गर्नुभएका विचारहरू मन्तव्यको रूपमा समावेश गरिएको छ ।
सन् २०१३ डिसेम्बरमा युक्रेनमा फासीवादीहरूले सर्वहारावर्गका महान् नेता भी.आई. लेनिनको सालिक ढालेका थिए । त्यसैबेला साद युसुफ आहानी, डेभिड रोमपोर्टल र जर्ज टुमाओब कालाओरले संयुक्तरूपमा रचेको कवितामा भनिएको छ –
भत्काऊन् तिनले सालिकहरू
हामी लाखौँपटक उठ्नेछौँ
त्यो चोखो दिनको नाममा
क्रान्तिको नाममा
लाखौँ लाखौँपटक उठ्नेछौँ !
पुस्तकमा भएको नक्सा, तस्बिर र कार्टुनहरूले विषयवस्तु प्रस्ट पार्न सहज बनाएको छ । त्यसैगरी, ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकामा विभिन्न समयमा प्रकाशित प्रतिनिधिमूलक लेखहरूको सिलसिलाबद्ध प्रस्तुति रूसविरोधी अमेरिकी छद्म युद्ध प्रस्ट पारेको छ । समग्रमा, पुस्तक ३५२ पृष्ठको छ । आकर्षक गातामा रातो र कालो रङ युक्रेनी फासीवादीहरूको चिह्न छ । पुस्तकको पृष्ठ र स्तरअनुसार मूल्य रु. ४०० अनुचित छैन । विषयवस्तुमा गहकिलो मन्तव्यका लागि नेमकिपाका अध्यक्ष श्रद्धेय नारायणमान बिजुक्छेँ एवम् प्रकाशक नेपाल क्रान्तिकारी किसान सङ्घ र पुस्तक प्रकाशनमा जुट्नुभएका सम्पूर्ण सहयोगीहरूमा एकमुष्ट अभिवादन ।
Leave a Reply