ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
कुनै नेताहरू देशलाई कसरी विकास गर्ने र जनतालाई कसरी सुखी बनाउने भन्नेबारे सोच्छन् भने कुनै नेताहरू जसरी भए पनि निर्वाचनमा जित्ने, पदमा बस्ने र अकुत सम्पत्ति कमाउनेतर्फ केन्द्रित हुन्छन् । कुनै नेताहरू पुँजीपति तथा सामन्तवर्गको प्रतिनिधित्व गर्छन् भने कुनै शोषितपीडित जनताको प्रतिनिधित्व गर्छन् । त्यसैको आधारमा नेताहरूले कुनै न कुनै दलको प्रतिनिधित्व गरिरहेका हुन्छन् । कुनै नेताहरू दूरदर्शी र देशभक्त हुन्छन् भने कुनै नेताहरू देशविरोधी र अदूरदर्शी हुन्छन् । कुनै नेताहरू शक्ति र धनका लागि राजनीति गर्छन् भने कुनै नेताहरू आफ्नो पद र दलको निम्ति सक्रिय हुन्छन् । दलको सिद्धान्त र विचार छोडेर राजनीति गर्ने दलका नेताहरू र पद तथा पैसाको वास्ता नगरी सिद्धान्त र विचारको राजनीति गरी समाज परिवर्तनको निम्ति लाग्ने नेताहरू पनि यहाँ नभएका होइनन् ।
राजनीतिक लाभ या सत्ता प्राप्तिको लागि सिद्धान्त र विचार छोड्ने नेताहरूको राजरहेसम्म देशले दुर्गतिबाहेक राम्रो देख्न पाउने छैन । शासक दलका नेताहरू अवसरवादी भएकाले पनि देशले प्रगतिमा कोल्टो फेर्न नसकेको हो । सत्तासीन दलका नेताहरूको योजना हुनैपर्छ । कमसेकम सत्तारुढ दलका नेताहरूको ५ वर्षको कार्यकालमा देशलाई कहाँसम्म पु¥याउने भन्ने योजना या उद्देश्य हुनुपर्छ । पार्टीको त देशलाई कुन बिन्दुमा पु¥याउने हो सोको भावी योजना हुनुपर्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेखेका थिए । सोही पुस्तकमा ५० वर्षपछिको नेपालको पनि परिकल्पना गरिएको छ । भक्तपुर नगरपालिकाले त्यही पुस्तकलाई मार्गनिर्देशक मानेर यहाँको कला, संस्कृति र सम्पदाको संरक्षण गरिरहेको छ । भनपा शिशुशाला केन्द्रदेखि विश्वविद्यालय खोलेर देश र जनताको सेवा गर्ने अभिलाषा लिएर अघि बढिरहेको छ ।
भनपाले जनतालाई स्वास्थ्य सेवा दिन ख्वप अस्पताल सञ्चालन गरेको छ । नर्सको घरदैलो सेवा भइरहेको छ । त्यस्तै, सरसफाइ र विकासमा पनि उत्तिकै ध्यान दिइरहेको छ । देशका अन्य स्थानीय तहले पनि यसरी नै विकास गरे या काम गरे नेपाल हरेक पक्षमा अगाडि बढ्नेछ र देशको विकास भई जनताको सेवा हुनेछ । लेखक सञ्जीव ग्वंगले साउन ३२ गते प्रकाशित ‘राजनेता र राजनीतिका नेता’ शीर्षकको लेखमा राजनीतिक नेताहरूको आचरणबारे वर्णन गरेका छन् । नेमकिपा अध्यक्ष रोहितले २० वर्षभन्दा अघि लेखेको सो पुस्तकबारे लेखक ग्वंगले लेखे, “एक नेताले सय वर्षपछिको परिकल्पना गरी आफ्नो देशलाई विकासको मार्गदर्शन दिन सक्नु उनको प्रभावशाली र दूरदर्शी नेतृत्वको प्रतिबिम्ब हो । उहाँको त्यो पुस्तक पढ्ने जोसुकैले उहाँको दूरदर्शिताबाट प्रभावित भएकै हुनुपर्छ । भक्तपुर सहरका पुरातात्विक सम्पदाहरूको जगेर्ना गर्न, कला संस्कृतिको समुचित संरक्षण गर्न, विज्ञान र प्रविधिलाई महत्व दिएर विकासको गतिमा प्रतिस्पर्धी क्षमता बढाउँदै अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धानको केन्द्रको रूपमा स्थापित गर्ने र अन्तर्राष्ट्रियरूपमा पर्यटनको आकर्षक केन्द्र बनाउने सोच जनतामा सिञ्चन गर्ने सामथ्र्य पुस्तकमा छ ।”
हो, देशको विकास गर्न, जनतालाई राहत दिन अध्यक्ष रोहितजस्ता नेताहरूको देशमा धेरै खाँचो छ । यसरी देशमा निःस्वार्थ, इमानदारीपूर्वक देश र जनताप्रति समर्पित भएर देश र जनताको सेवा गर्ने नेताहरूको खाँचो छ ।
Leave a Reply