भर्खरै :

स्वास्थ्यको लागि प्लास्टिक बोटलको मोटाइको महत्व

स्वास्थ्यको लागि प्लास्टिक बोटलको मोटाइको महत्व

प्लास्टिक आजको औद्योगिक संसारमा सबैभन्दा बढी प्रयोग हुने सामग्रीमध्ये एक हो । यसले प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले वातावरण र उपभोक्ता स्वास्थ्यको लागि गम्भीर खतरा उत्पन्न गरिरहेको छ । प्लास्टिकले धेरै दैनिक मानव गतिविधिहरूलाई सहज बनाए पनि तिनीहरूको प्रशस्तता र मानव स्वास्थ्य जोखिमहरूको बारेमा व्यापक चिन्ता फैलिएको छ । हामीले मिनरल वाटर भनेर पिउने पानीको बोटल एकल–प्रयोगको निम्ति बनाइएको हुन्छ । त्यही बोटलमा पटक–पटक पानी भर्दै पिउँदा पानी रासायनिक दूषित र विषाक्त हुन सक्छ । घाम र तातोको सम्पर्कले पनि प्लास्टिकबाट पानीमा विषाक्त रसायनहरू निस्कन सक्छ । यसको मतलब पानीको बोटल खुला ठाउँमा छोड्दा तात्छ र पानी पिउनको लागि असुरक्षित हुन्छ । धेरै शोधकर्ताहरूले लामो समयसम्म तातो मौसममा बोटल छोड्दा माइक्रोप्लास्टिक प्रदूषित भएको पायो । बोटलको बाक्लोपन लगभग २००–३०० (माइक्रोमिटर) को हुन्छ । तर, हामीले उक्त बोटल बारम्बार प्रयोग गर्दा माइक्रोप्लास्टिक निस्किँदै जान्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । बहु–प्रयोग (पुनः प्रयोज्य) प्लास्टिक बोटलको मोटाइ लगभग ४००–८०० माइक्रोमिटर हुनुपर्छ ताकि त्यसबाट माइक्रोप्लास्टिक नआओस् । हामीले मिनरल वाटर भनेर दैनिक प्रयोग गर्ने प्लास्टिकको बोटल एक पटकमात्र प्रयोग गर्न मिल्ने मात्राको बाक्लोपन हुन्छ ।
प्लास्टिक पोलिमर अनियन्त्रित भई प्लास्टिकका टुक्राहरू वातावरणमा फैलिनु नै माइक्रोप्लास्टिक हो । विभिन्न प्रकारका प्लास्टिकजन्य सामग्रीको व्यावसायिक उत्पादनको परिणामस्वरूप माइक्रोप्लास्टिक (सूक्ष्म प्लास्टिक कण) वातावरणमा देखा परेको हो । माइक्रोप्लास्टिक वातावरण र पशु स्वास्थ्यको लागि हानिकारक हुन्छ । तसर्थ, माइक्रोप्लास्टिकको दैनिक सेवनले गर्दा मानव स्वास्थ्यमा रहने जोखिमको कारण सार्वजनिक स्वास्थ्यको लागि यो महत्वपूर्ण विषय भएको छ । विभिन्न प्राकृतिक बासस्थानमा र धेरै प्रजातिहरूको पाचन प्रक्रियामा माइक्रोप्लास्टिक फेला पारेको छ । व्यावसायिकरूपमा उपलब्ध समुद्री खाना, नुन वा बोतलको पानीमा यी कणहरू प्रदूषकको रूपमा पनि भेटिएको छ । त्यसैले मानव स्वास्थ्यमा तिनीहरूबाट हुन सक्ने प्रभावहरू अध्ययन आवश्यक हुन जान्छ ।
माइक्रोप्लास्टिकले स्वास्थ्यमा पार्ने प्रभाव
माइक्रोप्लास्टिक सूक्ष्म–तह (Micro) देखि अति सूक्ष्म–तह (Nano) सम्मका विभिन्न आकारमा रहेका हुन्छन् । तिनीहरू वातावरणमा फैलिएपछि हटाउन असम्भव हुन्छ । यी विशेषताहरूको कारणले गर्दा माइक्रोप्लास्टिक्सले मानव र वातावरणको निम्ति खतरा निम्त्याउँछ । माइक्रोप्लास्टिक्सले निम्त्याउने जोखिमको प्रतिनिधि उदाहरणको रूपमा गल्तीले माइक्रोप्लास्टिक्स खाँदा समुद्री जीवहरूलाई आन्तरिक अङ्गहरूमा असामान्यत भौतिक हानि पु¥याउँछ । माइक्रोप्लास्टिकको कारणले गर्दा हुने क्षतिका विभिन्न उदाहरणहरू छन् । उदाहरणको लागि समुद्री र जलीय जीवहरूको शरीरमा माइक्रोप्लास्टिकको सञ्चयले कुपोषण निम्त्याउने, प्रजनन क्षमतामा कमी गराउने र मृत्युदर बढाउँछ । हामीले खाने वस्तुमा माइक्रोप्लास्टिक कण रहेमा भारी धातुहरू र पोलीसाइक्लिक सुगन्धित हाइड्रोकार्बनजस्ता विषाक्त पदार्थहरू पाचन नलीबाट मानिसको शरीरमा प्रवेश गर्दा वाकवाकी, बान्ता र पेट दुख्नेजस्ता विभिन्न लक्षणहरू देखापर्दछ ।
मानव जीवनबाट अविभाज्य भइसकेको प्लास्टिकले मानव जाति लाभान्वित भए पनि प्राकृतिक वा कृत्रिमरूपमा विभिन्न आकारमा विभाजित भई इकोसिस्टम प्रणालीलाई असर गरिरहेको छ । जब प्लास्टिक सूक्ष्म आकारमा परिवर्तन हुन्छ माइक्रोप्लास्टिक बन्छन् जसले छाला, पाचन प्रणाली वा फोक्सोमार्फत मानव शरीरमा अवशोषित गर्न, सास फेर्न गा¥हो बनाउँछ । यी माइक्रोप्लास्टिकले आन्द्राको झिल्लीलाई नोक्सान पु¥याएर पाचन प्रणालीलाई अवरुद्ध गर्छ । त्यसैगरी माइक्रोप्लास्टिकको आकार १ माइक्रोमिटरभन्दा कम भएपछि नानोप्लास्टिक बन्छ । अन्ततः शरीरको तन्तुहरूलाई अवरोध पार्ने अल्ट्राफाइन प्लास्टिक बन्छ र रगतको माध्यमबाट कोशिका रक्तनलीमा प्रवेश गरेर शरीरभरि फैलिन्छ ।
माइक्रोप्लास्टिक यति साना हुन्छन् कि एक पटक तिनीहरू वातावरणमा फैलिएपछि पुनः प्राप्ति गर्न लगभग असम्भव हुन्छन् । यही कारणले गर्दा विश्वभरका देशहरूले प्लास्टिक कतिसम्मको बाक्लो हुुनुपर्ने भन्नेबारे कडा कानुन बनाउँदै छन् । उदाहरणको लागि युरोपियन युनियनले प्लास्टिकलाई पुनः प्रयोग गर्न बायोडिग्रेडेबल प्लास्टिकको विकास गर्न, प्लास्टिकमा हानिकारक पदार्थहरू छुट्याउन र समुद्री फोहोर उत्पादन रोक्न विभिन्न उपायहरू गरिरहेको छ ।
प्लास्टिकको पानीको बोतलको विकल्प के हुन सक्छ ?
आफ्नो स्वास्थ्य र वातावरण दुवैको लागि गम्भीर भएकाहरूले पानी बोक्नका लागि प्लास्टिकको रिसेप्टेकलको विकल्प खोजिरहेका छन् । सौभाग्यवस अब धेरै विकल्पहरू उपलब्ध भएका छन् ।
काँचका बोतलहरू
प्लास्टिकमा क्रान्ति आउनुअघि पानी, दूध, बियरलगायत कुनै पनि अन्य पेय पदार्थ भण्डारण गर्न काँचको प्रयोग गरिन्थ्यो । यो असीमितरूपमा पुनः प्रयोग गर्न मिल्ने, बलियो, सफा र टिकाउ हुन्छ । यद्यपि, चरम तापक्रम भएमा काँचको बोटल चकनाचुर हुने सम्भावना हुन्छ । तर, यसबाट पानीमा हानिकारक विषाक्त पदार्थहरू निस्कने सम्भावना हुँदैन ।
कार्डबोर्ड कार्टुनहरू
हालका वर्षहरूमा पानी, नरिवलको पानी, आइस कफी र अन्य पेय पदार्थहरूको टेट्राहेड्रन प्याकेजहरू सुपरमार्केटमा देख्नु सामान्य भएको छ । यस प्रकारको रिसेप्टेकलले १०० प्रतिशत पुनः प्रयोग गर्न मिल्ने फाइदा हुन्छ । यद्यपि, धेरै ब्रान्डहरूमा प्लास्टिकको ढक्कन हुन्छ जसलाई वातावरण दूषित नहोस् भनेर छुट्टै डिस्पोज गर्नुपर्छ ।
स्टेनलेस स्टीलका बोटलहरू
पुनः प्रयोज्य पानीको बोटलको लागि उत्कृष्ट विकल्प, स्टेनलेस स्टीलका भाँडाहरू यहाँ उल्लेख गरिएका अन्य विकल्पहरूभन्दा थोरै ग¥हुँगो हुन्छन् । यद्यपि, यसले तिनीहरूको पोर्टेबिलिटीमा प्रभाव पार्र्दैन र यो लामो समयसम्म टिकाउपूर्ण पनि हुन्छ । ती वस्तुमा उत्कृष्ट लचिलोपन भएकोले तिनीहरूलाई बारम्बार प्रयोग गरिरहन सकिन्छ ।
एल्युमिनियम क्यान
पानी पनि क्यानमा भन्ने सुन्दा जो कोही आश्चर्यमा पर्छन् । एल्युमिनियम अर्को धातु हो जसले समयको साथ आफ्नो गुणहरू गुमाउँदैन । त्यसैले यसलाई अनन्तमा पुनः प्रयोग गर्न सकिन्छ । पुनः प्रयोग गर्न मिल्ने, पूर्णरूपमा एल्युमिनियमबाट बनेको एकल–प्रयोग क्यानका साथै प्लास्टिकको ढक्कन भएको क्यानका विकल्पहरू छन् जुन लामो यात्राको समयमा धेरैपटक प्रयोग र ढुवानी गर्न सकिन्छ । सामाजिक सञ्जालमा पनि उनीहरूको आकर्षणक गुणको प्रशंसा भइरहेको छ ।
वनस्पतिमा आधारित बोतलहरू
हालका वर्षहरूमा प्लास्टिकको विकल्पको रूपमा मकै, उखु वा भाङ्गजस्ता वनस्पतिमा आधारित जैविक पदार्थबाट बोटल बनेका छन् । यी सामग्रीहरू बायोडिग्रेडेबल भएकाले केही दिनभित्रै कुहिन्छ । त्यसैले कुहिन ५ सय वर्षभन्दा धेरै समय लाग्ने प्लास्टिकभन्दा माथि उल्लेखित सामग्री धेरै उपयुक्त हुनेछ ।
सङ्क्षेपमा भन्नुपर्दा घर बाहिर प्लास्टिकको बोटल प्रयोग गरे पनि सकेसम्म घरभित्र प्लास्टिकको बोटलको प्रयोगलाई निषेध गर्ने प्रयास गरियो भने धेरै हदसम्म यसबाट स्वास्थ्यमा पार्ने हानिलाई कम गर्न सकिन्छ ।
(लेखक ख्वप कलेजमा वातावरण विषय अध्यापन गर्नुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *