भर्खरै :

पत्रकारिता पनि वर्गमा विभाजित

पत्रकारिता पनि वर्गमा विभाजित

वर्गमा विभाजित समाजमा पत्रकारिता क्षेत्र पनि वर्गमा विभाजित हुनु स्वाभाविक छ । नेपालको सन्दर्भमा एक थरी पत्रकारिताले सामन्त, पुँजीपति, जमिनदार र सङ्कीर्णवादी पक्षको वकालत गरिरहेको छ भने अर्को थरी पत्रिकाले प्रगतिशील, वामपन्थी या समाजवादी पक्ष लिइरहेको देखिन्छ । पुँजीवादी पक्षधर पत्रिकाका सञ्चारकर्मी, सञ्चालकहरू यथास्थितिवादलाई जोड दिन्छन् भने समाजवादी पक्षका सञ्चारकर्मीहरू पुँजीवादी व्यवस्थालाई उल्टाएर समाज परिवर्तन गर्न चाहन्छन् र त्यस्तो समाज परिवर्तन गर्न आ– आफ्नो कलम तिखार्छन् । यस्तो वर्ग विभाजन यो पुँजीवादी व्यवस्थामा मात्र होइन पञ्चायती व्यवस्थामा पनि थियो । त्यतिबेला सङ्गठन खोल्न पाउने अधिकार थिएन । पञ्चायत सरकारको विरोध गर्न पाइँदैनथ्यो† विरोध भएमा तुरुन्तै पक्राउ पथ्र्यो या कारबाही हुन्थ्यो । कम्युनिस्ट भनेपछि त पञ्चायती शासकहरूको निम्ति तारो नै बन्थ्यो ।
वर्गीय समाजमा अहिले पनि पत्रकार या सञ्चारकर्मीहरू स्वतन्त्र हुनुपर्ने दाबी गर्छन् । वास्तवमा पत्रकारिता र सञ्चारकर्मी स्वतन्त्र हुनुपर्छ भन्नु पनि राजनीति हो । राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुने यो समयमा, निर्वाचनबाट राजनीतिक नेता कार्यकर्ता निर्वाचित हुने प्रजातान्त्रिक समयमा पनि पत्रकार स्वतन्त्र हुनुपर्छ, पत्रकारहरू राजनीतिमा लाग्नु हुँदैन भन्नु के पञ्चायती मानसिकता होइन ? प्रत्यक्ष या अप्रत्यक्षरूपमा जसले जति स्वतन्त्रको बखान गरे पनि मानिस राजनीतिबाट अलग हुनसक्दैन । निर्वाचनमा हरेक मतदाताले मतदान गर्छन्, त्यो मतदान राजनीतिक दलका उम्मेदवारहरूलाई नै गर्ने हो । पत्रकारहरू पनि आफ्नो अधिकार प्रयोग गरी आफूलाई मनपरेको दलका उम्मेदवारलाई मतदान गर्छन् । के त्यो मतदान गर्नु राजनीति होइन ? स्वतन्त्र भने पनि हरेक पत्रिका र सञ्चारकर्मीहरूले देशको जल्दोबल्दो समस्याबारे कुरा उठाएकै हुन्छन् । त्यसमा राजनीतिको गन्ध रहेकै हुन्छ ।
राष्ट्रपति, प्रधानमन्त्री सबै कुनै न कुनै दल या विचारबाट निर्देशित या प्रभावित भएका हुन्छन् । कुनै पनि दलमा सदस्य नभएका, प्रत्यक्षतः दलमा सहभागी नभएका र सरकारी पदमा रहेका व्यक्तिहरू स्वतन्त्रको हैसियतले देशको सङ्कटको बेला स्वतन्त्र व्यक्तिहरू कुनै पद या राष्ट्र प्रमुख बन्न सक्छन् – अर्को व्यवस्था नभएसम्म । केही समय र केही क्षणको लागि त्यो व्यवस्था उचित भए पनि अन्ततः निर्वाचित, मनोनीत या नियुक्त भएका राष्ट्रपति र प्रधानमन्त्रीले देशको नेतृत्व गर्छन् । पत्रिका निष्पक्ष हुनुपर्छ, विश्वसनीय हुनुपर्छ, देश र जनताप्रति समर्पित हुनुपर्छ, यो आफ्नो ठाउँमा छ । तर, पत्रकारिता या सञ्चारकर्मीलाई राजनीतिबाट अलग्ग गर्न सकिँदैन । पत्रकारहरू कुनै न कुनै पार्टीमा आबद्ध होऊन् या नहोऊन् प्रत्यक्ष या अप्रत्यक्षरूपमा उनीहरूले कुनै न कुनै पक्ष या वर्गको सेवा गरिरहेका हुन्छन् । सरकारको कुनै काम कारबाहीको कुरा उठाउने बित्तिकै त्यहाँ राजनीतिक गन्ध रहेकै हुन्छ । सरकारले पास गरेको एमसीसी सम्झौताको विरोध गरे पनि समर्थन गरे पनि त्यो राजनीति नै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *