के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, ३ भदौ । जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबाली र तरकारी बालीमा रोग लागेर क्षति भइरहेको सन्दर्भमा कृषकहरूले गुनासो गरेपछि भक्तपुर नगरपालिकाले रोगको पहिचान गरी व्यवस्थापन गर्न आइतबार दत्तात्रय चोकमा बाली उपचार शिविरको आयोजना ग¥यो ।
किसान नेता गोविन्द दुवालले किसान समस्या देशको समस्या हो, काम गरी खाने वर्गको हितमा काम गर्नु नेमकिपाको उद्देश्य हो भन्नुभयो ।
देशका शासकहरूले देश र जनताको चिन्ताभन्दा भ्रष्टाचारीहरू जोगाउने र विदेशीलाई खुसी पार्ने काम गरेर देशलाई परनिर्भर बनाइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले देश र जनताको पक्षमा आवाज उठाउँदा, सङ्घर्ष गर्दा नेता तथा कार्यकर्ताहरूलाई शासकहरूले अनेक शारीरिक र मानसिक यातना, जेलनेल र राजकाजको मुद्दा लगाएको बताउनुभयो ।
देशका नदीनाला भारतलाई सुम्पिने, कलकारखाना निजीकरण गर्ने र कौडीको मूल्यमा बेच्ने कार्यको विरोध गर्दै उहाँले माओवादी केन्द्रले माओवादीको नाउँमा माओ त्सेतुङ विचारको बदनाम गरिरहेको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कम जग्गामा बढी उत्पादन गर्ने प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै पढ्नको निम्ति विदेश गएर पढेर, सिकेर, अनुभव लिएर आफ्नो श्रम, समय र सिप आफ्नै देशको निम्ति उपयोग गर्नुपर्ने बताउनुभयो ।
शिविर सञ्चालन गर्नुअघि आयोजित सचेतना कार्यक्रममा भनपाको कृषि समितिका संयोजक राजकृष्ण गोराले मौसम बदलेसँगै अनेक रोग देखापरेको चर्चा गर्दै बालीनालीमा लागेको रोगको पहिचान गरी उपचार गर्न शिविरको आयोजना गरिएको बताउनुभयो ।
रोगको पहिचान नगरी रोगको व्यवस्थापन गर्दा थप क्षति हुने विचार व्यक्त गर्दै उहाँले शत्रु कीरा र मित्र कीराको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राकृतिक प्रकोप या रोगको कारण उत्पादन कम हुँदा सबैको लागि समस्या हुने र उत्पादन घटेर महँगो हुने हुँदा हरेक समस्याको समाधान समयमै हुनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय उत्पादन बढाउन सके देशकै निम्ति फाइदा हुन्छ भन्नुभयो ।
सरकारले कृषिप्रधान देशमा कृषि बजेट बढाउनुको सट्टा घटाउँदै लगेकोमा चिन्ता व्यक्त गर्दै उहाँले कृषि बजारको व्यवस्था नभएकोले बिचौलियाहरूले फाइदा लिइरहेको बताउनुभयो ।
देशका कृषि विज्ञहरूलाई गाउँ–गाउँमा खटाई कृषकहरूलाई बाली, रोग, माटो आदिबारे सुसूचित पार्नुपर्ने विचार व्यक्त गर्दै देशमा मल हाहाकार हुन नदिन भारतबाहेक बङ्गलादेश, पाकिस्तान, जापान, चीनबाट पनि रासायनिक मल ल्याउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
सभामा भनपा वडा नं. ९ का वडा सदस्य इन्द्रबहादुर प्याथ, कृषि प्राविधिक प्रवीण सिन्ताकल र किसान कार्यकर्ता गङ्गाराम ज्याख्वले पनि बोल्नुभएको थियो ।
सभापछि शिविर सञ्चालन गरिएको थियो । दर्जनभन्दा बढी कृषि बाली विज्ञानका विद्यार्थी र कृषि प्राविधिकहरूले धानबाली, तरकारी, फलफुल र फूलमा लागेको रोगको परीक्षण गरेका थिए ।
शिविरमा राधाकृष्ण गोसाई, बुद्धलक्ष्मी सुजखू, दिलबहादुर कासिछ्वा, कृष्णलक्ष्मी ज्याख्व, राम माकजू, बलराम लवजू, शमशेर ज्याख्व, कृष्णबेटी बोहजु, कृष्णगोपाल लाखेमरु, भैरवबहादुर लवजुलगायत दर्जनौँ किसानहरूले रोग लागेको धान, फूल, तरकारी आदिको बोट परीक्षण गराउनुभएको थियो ।
बाली स्वास्थ्य उपचार शिविरको दोस्रो दिनको कार्यक्रममा कुल ८४ वटा नमुना सङ्कलन भएको थियो । त्यसमा तरकारी बालीका २२ वटा, फलफूल बालीका ८ वटा, फूल बालीका ८ वटा र धान बालीका ४६ वटा नमुना रहेको थियो । सङ्कलित धानबालीका नमुनाहरूमा अधिकांश गवारो, डढुवा, मरुवा र फेद कुहिने रोग देखिएको थियो ।
Leave a Reply