के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
अहिले पुँजीवाद र समाजवाद पक्षधरहरूको वैचारिक द्वन्द्व छ । यहाँ राजतन्त्रको छहारीमुनि बस्ने प्रतिक्रियावादी शक्तिहरू पनि नभएका होइनन् । नेका त पुरानै पुँजीवादी पार्टी भयो । यसबाहेक क्षेत्रीय पार्टीहरू पनि देखिएका छन् । सामन्तवादले सामन्तहरूको र पुँजीवादले पुँजीपतिको सेवा खोजेजस्तै क्षेत्रीय पार्टीहरूले जातीय नारा भजाएर साम्प्रदायिक भावना फैलाउँदै छन् । जातीय द्वन्द्व निम्त्याएर देश विखण्डन गर्ने समूहहरू पनि यहाँ क्रियाशील नभएका होइनन् । यसकारण, अहिले देशको भविष्य निर्माण गर्ने, देशको रक्षा गर्ने, जनविरोधी र देशघातीहरूसँग लड्ने समाजवादी सिद्धान्त बोकेका युवा कम्युनिस्टहरूको खाँचो छ । यसको लागि विचारधारात्मक क्रान्ति आवश्यक छ ।
विचारधारात्मक क्रान्ति एकैबाजी हुने होइन । कसैले चाहँदैमा र माग्दैमा हुने होइन । न त बन्दुक भिरेर नै हुन्छ न त पुँजीवादी बन्दोबस्तको सरकारमा सामेल भएर नै हुन्छ । जनताको विचारमा परिवर्तन ल्याउनुपर्छ, जनतालाई सिद्धान्त र विचारबाट सुसज्जित पार्नुपर्छ । यो हरेक कम्युनिस्ट पार्टीको जिम्मेवारी पनि हो । जनता सिद्धान्त र विचारबाट सुसज्जित नभएसम्म क्रान्ति असम्भव छ । भए पनि त्यो क्षणिक हुन्छ । अहिलेको आवश्यकता समाजवादी सिद्धान्तको प्रचार हो । समाजवादी समाज निर्माणको निम्ति त्यो प्रचार अपरिहार्य छ । त्यही भएर नेमकिपाले पुँजीवादी गणतन्त्र र समाजवादी गणतन्त्रको भेदबारे प्रस्ट्याउँदै देशभर समाजवादी गणतन्त्रको प्रचार अभियान फैलाएको हो । त्यो अभियान अहिले पनि चालू छ । देशमा आमूल परिवर्तन गर्ने हो भने नेमकिपाझैँ अरू कम्युनिस्ट पार्टीहरू समाजवादी सिद्धान्तको प्रचारमा लाग्नुपथ्र्यो र जुट्नुपथ्र्यो । तर, यहाँ आमूल परिवर्तनको बाटोमा लाग्ने कम्युनिस्टहरू सत्तामुखी राजनीतिमा केन्द्रित छन् । सत्ता गिराउन र टिकाउन तिनीहरू आन्दोलित छन् । ठूलो र बलिया दलको निहुँ खोजेर सत्ताका निम्ति तिनीहरू कहिले नागरिक सर्वोच्चता त कहिले देशको स्वाधीनताको बहानाबाजी गर्छन् ।
यहीबेला आमूल परिवर्तनका बाधक केही समूहहरू जातीय नारा दिँदै छन् । जातीय नारा दिएर साम्प्रदायिक दङ्गा मच्चाउन क्रियाशील छन् । नेपाली नेपाली जुधाउन मन्त्रयुद्ध गर्दै छन् । यो दशको निम्ति खतराको सङ्केत हो । यो सार्वभौम नेपाललाई विखण्डन गर्ने पूर्वाभ्यास हो । यसरी देशमा द्वन्द्व निम्त्याएर विखण्डनको वातावरण तयार गर्ने देशघातीहरूको विचार उदाङ्गयाउन सच्चा कम्युनिस्टहरूको खाँचो छ । समाजवादी विचारका युवाहरूको सक्रियता आवश्यक छ । एकातिर मुलुकको अनुहार फेर्न, समाजवादी समाज निर्माण गर्न युवा दस्ताको खाँचो छ भने अर्कोतिर मुलुकलाई विखण्डनको बाटोमा पु¥याएर नेपालको अस्तित्व नै नामेट पार्ने खालको विचार अघि सार्ने देशविरोधीहरूसँग जुध्नुपर्ने बेला छ । यो जिम्मेवारी समाजवादी समाज निर्माण गर्ने युवाहरूको काँधमा छ । यसको निम्ति युवाहरू समाजवादी सिद्धान्त र विचारको पक्षपाती हुनुपर्छ ।
युवाहरू क्रान्तिका उत्तराधिकारी हुन्, देशका रक्षक हुन् । क्रान्तिको निम्ति र समाजवादी समाज निर्माणपछि रक्षाको निम्ति पनि युवाहरूको जुझारु एकता आवश्यक छ । युवाहरू पार्टीको सही नेतृत्वमुनि गोलबन्द हुनुपर्छ । युवाहरू क्रान्तिको संवाहक भएको हुँदा युवाहरूमा कान्तिकारी भावना चाहिन्छ । यो परिवेशमा युवाहरूको दायित्व बढेको छ । अतः युवाहरू सिद्धान्तनिष्ठ, कर्तव्यनिष्ठ र अनुशासित हुनुपर्छ । अन्धपरम्परा, कुरीति र सामाजिक विकृति र विसङ्गतिविरुद्ध उच्च मनोबलका साथ अघि बढ्ने जोश र जाँगरको आवश्यकता छ । परिवर्तनको निम्ति जनता कम्युनिस्ट पार्टीप्रति आबद्ध हुनुपर्छ । जनतालाई सङ्गठित र सचेत बनाइनुपर्छ । सारमा, यहाँ विचारधारात्मक क्रान्तिको आवश्यकता छ, प्राविधिक र सांस्कृतिक क्रान्तिको आवश्यकता छ । अनि मात्रै देशमा आमूल परिवर्तन हुनेछ र देशको मुहार फेर्नेछ ।
Leave a Reply