भर्खरै :

पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासन समाज परिवर्तनको लागि अपरिहार्य

पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासन समाज परिवर्तनको लागि अपरिहार्य

भक्तपुर, ६ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टी नेपालको व्यवस्थित र अनुशासित राजनीतिक पार्टीको रूपमा विकास भइरहेको बताउँदै राजनीतिक पार्टी एउटा निश्चित दर्शन, विचार र सिद्धान्तको आधारमा चल्नुपर्र्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको स्थानीय पथ प्रदर्शकको लागि पुनःतार्जगी कार्यक्रम २०२३ मा बोल्दै उहाँले देशको सबभन्दा फोहोर र शिक्षामा पछाडि परेको भक्तपुर आज शैक्षिक गन्तव्यस्थलको रूपमा विकास हुनुमा राजनीतिक नेतृत्वको दूरदर्शिता, इमानदारिता र कर्तव्यनिष्ट भावनाले धेरै ठूलो भूमिका खेलेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई आधार बनाई भक्तपुर नपाले काम गर्दै आएको बताउँदै प्रमुख अतिथि प्रजापतिले भक्तपुरको शैक्षिक विकास सँगसँगै ‘एक घर एक स्नातक’ ले छलाङ मारिसकेको बताउनुभयो ।
प्रमुख प्रजापतिले पर्यटक पथ प्रदर्शकहरूले हरेक पर्यटकलाई भक्तपुरको बारे सही तथ्य र सूचना दिने, आफ्नो असल व्यवहारबाट प्रभावित र खुसी पार्ने, नेपालबारे सकारात्मक सन्देश विश्वमा फैलाउन मद्दत गर्ने र आफ्नो व्यक्तिगत आचरण र व्यवहारमा सुधार गर्नुपर्नेबारे सचेत पार्नुभयो ।
‘पुरानो नभत्केसम्म नयाँ निर्माण नहुने’ बताउँदै उहाँले २०७२ सालको भूकम्पलाई भक्तपुर सहरको पुनःनिर्माण गर्ने अवसरको रूपमा बदल्ने कोसिस गरेको बताउँदै प्रमुख प्रजापतिले पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासन समाज परिवर्तनको लागि अपरिहार्य विषय भएको बताउनुभयो ।
नेपालमा पनि विदेशी संस्कृतिको प्रभाव बढ्दै गइरहेकोतर्फ चिन्ता व्यक्त गर्दै उहाँले यहाँको मौलिकता, संस्कृति, सम्पदाबारे बुझाउन विद्यालय र कलेजहरूमा स्थानीय पाठ्यक्रम लागू गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्यलाई जोड दिँदै आएको छ ।”
पर्यटक प्रहरी कृष्ण थापा, प्रशासकीय अधिकृत दामोदर सुवालले पनि बोल्नुभएको उक्त कार्यक्रममा पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले कार्यक्रमको औचित्यतामाथि प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *