भर्खरै :

फास्ट ट्राय्क योजना खोकना र बुङ्गमतीमा लागु नगर्न स्थानीयको जोड

फास्ट ट्राय्क योजना खोकना र बुङ्गमतीमा लागु नगर्न स्थानीयको जोड

ललितपुर, ७ भदौ । काठमाडौँ–तराई द्रुतमार्गको समस्या समाधानको निम्ति स्थानीय बासिन्दाहरूको राय–सुझाव लिन बिहीबार एक अन्तरक्रिया कार्यक्रम भयो ।
खोकना र बुङ्गमतीको संयुक्त रूपमा राय–सुझाव लिने क्रममा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय किसानहरूको सल्लाह र सुझावको आधारमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले खोकना र बुङ्गमतीको लागि फास्ट ट्राय्क आवश्यक नभएको विचारसहित रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिमा पठाउने विश्वास दिलाउनुभयो ।
यसअघि २०८०/०१/०५ गते बसेको मन्त्रिपरिषद्को बैठकले फास्ट ट्राय्कको विवाद समाधान गर्न स्थानीय बासिन्दाहरूको रायसहित रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिमा जवाफ पठाउन अनुरोध गर्दै महानगरपालिकालाई पत्र पठाएको थियो ।
अन्तरक्रिया कार्यक्रममा खोकना जनसरोकार समितिका संयोजक नेपाल डंगोलले नेपाल सरकारले राष्ट्रिय गौरवको नाउँमा ल्याइएको फास्ट ट्राय्क सम्बन्धित सरोकारवालासँग कुनै छलफल नगरी, डीपीआरसमेत तयार नगरी सम्पदास्थलको बस्ती समाप्त पार्ने उद्देश्यले ल्याएको हुँदा फास्ट ट्राय्क परियोजना नस्वीकार्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “योजना लागु भएपछि गुठी जग्गा हुँदैन । गुठी जग्गाको कारण जात्रा–पर्व चल्दै आएको हो । गुठी जग्गा रहेन भने सम्पदा र जात्रा पर्व समाप्त हुन्छ ।”
बुङ्गमती जनसरोकार समितिका संयोजक अष्टबहादुर महर्जनले फास्ट ट्राय्क योजना ल्याइएको खण्डमा स्थानीय बासिन्दाहरू विस्थापित हुने हुँदा यो योजना अन्यत्र सार्नुपर्ने बताउनुभयो ।
खोकनाका कृष्णभक्त डंगोलले २०६५ सालदेखि खोकना र बुङ्गमतीमा द्रुतमार्ग आवश्यक नभएको उल्लेख गर्दैै विभिन्न निकायमा ज्ञापनपत्र बुझाई सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ तराई द्रुतमार्गसँगै बाहिरी चक्रपथ पनि आउँछ । स्मार्ट सिटी, १३२ केभीको हाइटेसन, रेलवे, वाग्मती करिडोर, पेट्रोलियम पाइप लाइन, पेट्रोलियम भण्डारण, वाग्मती फोहर उपचार योजना लागु हुँदा हाम्रो संस्कृति, सम्पदा र बस्ती हुँदैन । यसकारण द्रुतमार्ग योजना खोकना र बुङ्गमतीमा लागु गर्नु हुँदैन ।
पशुपति तुलाधरले आन्दोलनमा अन्तर्राष्ट्रिय निकायले पनि समर्थन गरिरहेको बताउनुभयो भने नरेश महर्जनले व्यापार गर्ने उद्देश्यले ल्याइएको दु्रतमार्ग योजना स्थानीय जनताको हितमा नभएको बताउनुभयो ।
कार्यक्रममा महेन्द्र ब्रह्माचार्य, अष्टेन्द्र महर्जन, अर्जुन महर्जन, तेजमाया डंगोल, तुयु महर्जन, महन्त महर्जन, दिलमाया श्रेष्ठ, दुर्गाराम महर्जन, अशोककुमार महर्जन, बुद्धिरत्न डंगोललगायतले आ–आफ्नो समस्या बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *