गुणस्तर तथा सुनिश्चितता प्रत्यायन प्रक्रियाको लागि गुणस्तर परीक्षण कार्यक्रम
- माघ २१, २०८२
काठमाडौँ, ७ भदौ । भदौ ४ गते इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकद्वारा प्रकाशित शुल्क वृद्धिको सूचनाप्रति नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ पुल्चोक क्याम्पस समिति र थापाथली क्याम्पस एकाइ समितिले गम्भीर ध्यानाकर्षण भएको जनाई बिहीबार प्रेस विज्ञप्ति निकालेका छन् ।
नेक्राविसङ्घ पुल्चोक एकाइ समितिका संयोजक रमेश तामाङ र थापाथली क्याम्पस एकाइ समितिका अध्यक्ष समित तमखूको हस्ताक्षरमा उक्त विज्ञप्ति प्रकाशित गरिएको थियो ।
नेक्राविसङ्घ पुल्चोक एकाइ समितिद्वारा प्रकाशित विज्ञप्ति पाठकहरुमा जानकारीको लागि प्रस्तुत छ –
“त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानद्वारा इन्जिनियरिङ शिक्षालाई सीमित वर्गको मात्र पहुँच पुग्ने गरी, मजदुर र किसान परिवारको ढाड सेकिने गरी गरिएको शुल्क वृद्धिको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ घोर विरोध गर्दछ । देशको शिक्षा प्रणालीलाई ध्वस्त पारी नेपाली विद्यार्थी, युवा र बौद्धिक व्यक्तित्वहरूलाई विदेश पलायन गरी देशलाई खोक्रो र परनिर्भर बनाउन खोज्ने विदेशी पुँजीका दलालहरूविरूद्ध सङ्घर्ष गर्न आवश्यक छ ।
शिक्षाजस्तो सेवामूलक क्षेत्रमा राज्यको लगानी घटाएर शासक दलहरूले बहुराष्ट्रिय कम्पनीको सेवा गर्दै छन् । सरकारमा गएका दल तथा तिनका नेताले कमिसनको लोभमा सस्तो ज्यामी तयार गरेर वैदेशिक रोजगारीको नाउँमा नेपाली जनता बेच्दै छन् । त्रिवि र अन्य विश्वविद्यालयका सरकारी क्याम्पसलाई ध्वस्त बनाई निजीकरणलाई बढावा दिनु नवउदारवादी शिक्षा नीतिकै परिणाम हो । सरकारी लगानीका सम्पूर्ण शैक्षिक संस्थाहरूलाई भद्रगोल बनाई निजीलाई प्राथमिकता दिएर सरकार आफ्नो दायित्वबाट पन्छिन खोज्दै छ ।
त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान तथा नेपाल सरकारको गैरजिम्मेवार कदमको नेक्राविसङ्घ घोर विरोध गर्दै तत्काल शुल्क वृद्धि खारेजीको माग गर्दछ । नेक्राविसङ्घ सदैव निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको पक्षमा छ । नेक्राविसङ्घले कामदार जनताका छोराछोरीको पक्षमा निरन्तर सङ्घर्ष गर्दै समाजवादी व्यवस्थाको निम्ति आवाज बुलन्द गर्दै आइरहेको छ । समाजवादी व्यवस्थामा मात्र कामदार जनताको समस्या समाधान हुन्छ । सङ्घर्षबिना कुनै विकल्प नरहेकोले नेक्राविसङ्घमा आबद्ध हुन सम्पूर्ण विद्यार्थीहरूमा आह्वान गर्दछौँ । त्रिभुवन विश्वविद्यालयमा भइरहेको शैक्षिक अराजकता तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न नेक्राविसङ्घ जोडदार माग गर्दछ ।”
प्रेज्ञ विज्ञप्तिको बोधार्थ इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालय, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको थियो ।
Leave a Reply