के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
काठमाडौँ । नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दै छ । वि.सं. २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको छ । पर्वतीय पर्यटनमा संलग्न हिमाल आरोही, विज्ञ र व्यवसायीहरूको संस्था पनि हो यो । हिमाल आरोहण गर्ने साहसिक गतिविधिको लागि नेपाल विश्वमै अब्बल गन्तव्यको रूपमा लिइन्छ । नेपाल विभिन्न विश्व रेकर्ड राख्न सफल नेपाली आरोहीको देश पनि हो । विश्वका १४ वटा ८ हजारभन्दा अग्ला हिमालहरूमध्ये आठ वटा गरी नेपालमा सत्र सय वटाभन्दा बढी हिमालहरू रहेकाले नेपाल विश्वमै पर्वतीय पर्यटनको गन्तव्य स्थल बनेको छ ।
पर्वतीय पर्यटनलाई व्यवस्थित गर्दै हिमाली भेगका संस्कृतिहरूको संवद्र्धनमा टेवा पु¥याउने, आरोहीहरू तथा पर्वतीय पर्यटनमा लागेका जनशक्तिको अभिलेख राख्ने तथा नीतिगत व्यवस्थाका लागि एनएमएले सरकारसँग सहकार्य गर्दै आएको छ । नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुरोको सङ्ख्या चार सय १९ पुगेको छ । आरोहणको लागि खुला गरेका हिमालको सङ्ख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । यसलाई विस्तार गर्दै व्यवस्थितरूपमा नेपालको पर्वतीय पर्यटनलाई अगाडि बढाउनुपर्ने चुनौतीलाई समाधान गर्न एनएमएको भूमिका महत्वपूर्ण रहेको छ । प्रस्तुत छ, एनएमएले ५० वर्षको परिपक्व भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा एनएमएका अध्यक्ष नीमा नुरु शेर्पासँग राससका आलेख शाखा प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :
एनएमएले अहिले कसरी काम गरिरहेको छ ?
हिमाली क्षेत्रका गाउँपालिकाहरूसँग सहकार्य गरी हिमालहरूको संरक्षण, नयाँ चुलीहरू खुला गर्ने र हिमालहरूको प्रोफाइल तयार गर्ने काम भइरहेको छ । पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा नीति नियम बनाउनेदेखि हरेक ठाउँमा मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगायत पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरू तथा निकायहरूसँग सहकार्य गरी यस क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउन हामी क्रियाशील छौँ । एनएमएको मातहतमा पोखराको रातोपैरोमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रहेको छ, जुन पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित भइसकेको छ । मनाङमा रहेको माउन्टेनेरिङ स्कूललाई अझ प्रभावकारीरूपमा सञ्चालन गर्नुपर्नेछ । आरोहणको क्रममा मृत्यु भएका आरोहीहरूको स्मरणमा ककनीमा स्थापना गरिएको अन्तर्राष्ट्रिय पर्वतारोही स्मारक पार्कलाई पनि अझ व्यवस्थित बनाउन खोज्दै छौँ । एनएमएमा रहेको कल्याणकारी कोषमार्फत ती आरोहीका परिवारलाई सहयोग गर्ने काम भइरहेको छ । पर्वतारोहणसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गरी यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य आइरहेका छौँ । नेपाल सरकारले हामीलाई जिम्मा दिएका २७ वटा हिमचुलीहरूको व्यवस्थापकीय कार्यअन्तर्गत आरोहण अनुमति पत्र जारी गर्ने, सङ्घले व्यवस्थापन गरिरहेका हिमचुलीहरूमा फोहोरमैला व्यवस्थापन गर्नेलगायतका कार्यहरू गर्दै आइरहेका छौँ ।
तपाईँ नेतृत्वमा आएपछि कतिवटा हिमाललाई व्यावसायिक आरोहणका लागि खुला गराउनुभयो ?
नेपालमा सत्र सत्न्दा हिमचुलीहरू रहेको भनिएकोमा स्व. हर्क गुरुङले पहिचान गर्नुभएका १३९२ वटा हिमालहरूमध्ये सरकारले आरोहणको लागि जम्मा ४१४ वटालाई मात्र खुला गरेको थियो । मेरो नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि थप पाँच वटा हिमाललाई खुला गर्न सफल भएका छौँ । सिन्धुपाल्चोकमा रहेको जुगल हिमशृङ्खलामा पर्ने पाँच वटा हिमालहरू आरोहणका लागि खुला गरिएको हो । आरोहण खुला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । यी हिमालहरू काठमाडौँबाट नजिक रहेकाले आरोहीको आकर्षण हुने आरोहण व्यवसायीहरू बताउँछन् । गएको वसन्त याममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ । ४१९ वटा चुलीमध्ये ६५०० मिटरभन्दा मुनिका ७२ वटामा अहिलेसम्म आरोहण नै हुन सकेको छैन । अहिले ५८०० मिटरदेखि ६५०० मिटरसम्मका २७ वटा हिमचुलीहरूको मात्रै व्यवस्थापन हामीले गरेका छौँ भने अन्य सबै हिमचुलीहरूको व्यवस्थापन पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले गर्ने गर्दछ । ६५०० मिटरभन्दा मुनिका सबै हिमचुलीहरूको व्यवस्थापनको जिम्मेवारी सरकारले दिएमा हामी प्रचारप्रसार र प्रवद्र्धनको काम गर्नेछौँ ।
यो वर्ष एनएमए स्थापना भएको ५० वर्ष पुग्दै छ, कसरी मनाउँदै हुनुहुन्छ ?
एउटा संस्थाले ५० वर्षको यात्रा गर्नु आफैँमा पनि खुसीको कुरा हो । १ नोभेम्बर, २०२३ मा यस सङ्घ ५० वर्ष पुग्दै छ । यसमा बर्सेनि गरिने नियमित कार्यक्रमहरूको अतिरिक्त राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि महत्व राख्ने खालका केही कार्यक्रमहरूको आयोजना गर्दै छौँ । एसियाली पर्वतारोहण महासङ्घको वार्षिक साधारणसभा यस वर्ष नेपालमा आयोजना हुँदै छ । आगामी अक्टोबर ३१ मा आयोजना हुने सो बैठकमा पर्वतारोहणसँग सम्बन्धित एसियाली महादेशका करिब १५ देशका १९ वटा अल्पाइन क्लवका प्रतिनिधिहरूको सहभागिता रहनेछ । ०१ नोभेम्बर, २०२३ मा आयोजना गरिने सङ्घको ५० औँ वार्षिकोत्सव कार्यक्रममा विश्व पर्वतारोहण महासङ्घ र एसियाली पर्वतारोहण महासङ्घका अध्यक्षहरूसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूसमेत गरी ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । यसले विश्वमा नेपालको पर्वतीय पर्यटनको सम्भावना र अवसरको बारेमा प्रचारप्रसार गर्न सहयोग पुग्नेछ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रको विकास गर्न तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालका कुराहरू राख्नका लागि महत्वपूर्ण अवसर हुनेछ । नेपाल पर्वतारोहण सङ्घ एक मात्र राष्ट्रिय ‘अल्पाइन क्लव नेपाल’ को रूपमा रही नेपाल सरकारसँग मिलेर काम गर्ने संस्था हो । संसारको विश्व पर्वतारोहण महासङ्घ, एसियाली पर्वतारोहण महासङ्घलगायत सबैमा सक्रिय सदस्यको रूपमा एनएमएले काम गर्दै आएको छ ।
विश्वका पर्वतारोही र पर्वतीय पर्यटनमा क्रियाशील सङ्घसंस्थाहरूको नेपालप्रतिको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
विश्वभरमा नेपालको पर्वतीय पर्यटनप्रति निकै सकारात्मक रहेको देखिन्छ । नेपाल साहसिक पर्यटनको मुख्य गन्तव्य मुलुक भएकोले यसलाई हबको रूपमा लैजान सकिन्छ । पर्वतीय पर्यटनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सके नेपाल माउन्टेनेयरिङ र क्लाम्बिङको हेडक्वाटर नै बन्नसक्छ भन्ने उनीहरूको बुझाइ छ तर यसका लागि हामीले उपयुक्त वातावरण तयार गर्नुपर्छ । नेपाल आउने पर्वतारोहीमध्ये झन्डै ५० प्रतिशत दोहो¥याएर आउने भएकाले सधैँ केही पिकहरूमात्र बेचेर हुँदैन, नयाँ नयाँ पिकहरू खुला गर्दै त्यसको प्रचारप्रसार र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ ।
राज्यसँग तपाईँहरूको अपेक्षा के छ नि ?
म भर्खरै कोरियाको भ्रमणमा जाँदा त्यहाँका राजनीतिज्ञ, बुद्धिजीवीदेखि कर्मचारीतन्त्र सबैको ध्यान साहसिक पर्यटनमा केन्द्रित भएको पाएँ, तर हामीले नेपालमा यो आरोहण क्षेत्रमा संलग्न सीमित व्यक्तिहरूको मात्रै हो भन्ने दृष्टिकोण रहेको छ । नेपालको समृद्धिको एउटा मुख्य आधार साहसिक पर्यटन हो भन्ने भन्ने बुझ्न आवश्यक छ । पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि राज्यले विशेष महत्व दिनुपर्नेछ । नयाँ पिकहरू खुला गर्दै जाने, खुला गरिएका पिकहरूको प्रचारप्रसारमा जोड दिने र यसमा संलग्न व्यवसायीहरूलाई प्रोत्साहन गर्न आवश्यक छ । तीन हजार मिटरमाथि होटल, लज सञ्चालन गर्ने व्यवसायीहरूलाई राज्यले कर छुट दिन सकेमा उनीहरू उत्साही भएर व्यवसाय सञ्चालन गर्न सक्नेछन् । पर्वतीय पर्यटनसँग सम्बन्धित कतिपय एने कानुनहरू धेरै वर्षअघि तर्जुमा गरिएका छन्, तिनको समयानुकूल परिमार्जन गर्नुपर्छ । पर्यटनसँग सम्बन्धित कामलाई एकद्वार प्रणालीअनुसार गराउन आवश्यक छ । पर्यटन मन्त्रालयबाटै हुनुपर्ने कामलाई कम्तीमा पाँचवटा मन्त्रालय र विभिन्न निकायहरूमा धाउनुपर्ने अवस्था छ ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर देखा परिसकेको सन्दर्भमा आगामी दिनमा यसलाई कसरी सुरक्षित राख्नुपर्ने देख्नुहुन्छ ?
हिमाललाई सफा राख्नुपर्छ, प्रदूषण हुन दिनुहुँदैन भनेर जनचेतना अभिवृद्धि गर्ने आरोहणमा जाने आरोही, भरिया वा अन्य व्यवसायीहरूलाई यससम्बन्धी जनचेतना, सुरक्षासम्बन्धी तालिम प्रदान गर्ने काम भइरहेको छ । नेपाली सेनासँग मिलेर हिमाल सफाइ कार्यक्रम सञ्चालन भइरहेको छ । आरोहीलाई अरू हिमालमा पनि आकर्षित गरेर सगरमाथासहितका हिमालको चाप घटाउनुपर्ने जलवायुविज्ञहरूको राय छ । जलवायु परिवर्तनका कारण जसरी हिमालयहरूमा हिउँ पर्ने क्रम कम हुँदै जानु र तीव्रगतिमा पग्लने क्रमले भोलि हिमाल आरोहणको सट्टा रक क्लाम्बिङ भन्नुपर्ने अवस्था आउन नदिन हामीले अहिलेदेखि नै उच्च सावधानी अपनजाउनु आवश्यक छ । यद्यपि, यो समस्या नेपालले सिर्जना गरेको नभई विश्वव्यापी समस्या भएकोले समयमै विश्व समुदायको ध्यानाकर्षण गराउन सक्नुपर्छ ।
अहिलेसम्म कतिजनाले एनएमएबाट तालिम प्राप्त गरेका छन् ?
हाम्रो मुख्य काम भनेको दक्ष जनशक्ति उत्पादन गर्नु हो । सङ्घले प्रदान गरेको तालिमबाट नै प्रत्यक्षरूपमा २० हजारभन्दा बढी व्यक्ति पर्वतीय पर्यटन क्षेत्रमा सक्षम भएका छन् । पिक क्लाइमिङदेखि सगरमाथा क्लाइम्बिङसम्म सफल भएका व्यक्तिहरूले ९५ प्रतिशतले एनएमएसँग तालिम लिएका हुन्छन् ।
अन्त्यमा, नेपालको समग्र पर्यटन विकासका लागि एनएमएको भूमिकालाई कसरी बढाउने सोच बनाउनुभएको छ ?
नेपालको आर्थिक विकासको मुख्य आधार भनेकै पर्यटन हो । सरकारले पर्यटन क्षेत्रको विकासको लागि भनेअनुसार प्राथमिकता दिएको छैन । यस क्षेत्रमा संलग्न व्यवसायीहरूले पनि आआफ्नो व्यावसायिकताको रूपमा मात्र बुझ्ने गरेका छन् । समग्र राष्ट्रकै एउटै सोच, लक्ष्य र भावी कार्यक्रम नबनेसम्म पर्यटन विकासको कुरा नारामै सीमित रहन्छ । प्रकृतिले नै हामीलाई हिमाल, पहाड र तराई दिएको छ भने सामाजिक विविधता पनि महत्वपूर्ण सम्पदा छ । विश्वका यतिधेरै अवसर कमै मुलुकले पाएका छन् । तर, हामीले पहिलो योजनादेखि नै पर्यटनका कुरा गर्दै आज १६ औँ योजनासम्म आइपुग्दा त्यही पुरानै कुरा दोहो¥याइरहेका छौँ, यसले हामीलाई समृद्धिमा पु¥याउँदैन । एनएमएजस्ता संस्थाहरूलाई राज्यले साथमा लिएर सामूहिक ढङ्गबाट अगाडि बढ्ने हो भने एउटा आवधिक योजनामै हामीले पर्यटनको क्षेत्रमा ठूलै फड्को मार्न सकिन्छ ।
(लेखक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष हुनुहुन्छ ।)
रासस
Leave a Reply