भर्खरै :

नेमकिपा स्थापनाकालदेखि साम्राज्यवाद र विस्तारवादको विरोधमा

नेमकिपा स्थापनाकालदेखि साम्राज्यवाद र विस्तारवादको विरोधमा

भक्तपुर १८, भदौ । “कार्ल माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरी मजदुर वर्गलाई सचेत पार्नुभयो । यसकारण पुँजीपति वर्गले उहाँलाई विश्वविद्यालयमा शिक्षक र पत्रिकाको सम्पादकसमेत हुन दिएन  । मजदुरहरूलाई सङ्गठित गर्न लाग्नु भएपछि उहाँलाई पुँजीपति वर्गले देश निकाला ग¥यो । प्रतिकृयावादीहरूले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने संसारका कम्युनिस्टहरूविरूद्ध षड्यन्त्र गरेका छन् ।”
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले पार्टी चाँगुनारायण ९, वडा एकाइ समितिको आयोजनामा सौडोलमा सोमबार सम्पन्न पञ्चायती राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्ड (२०४५ भदौ ९) कालो दिनको विरोध तथा भत्र्सना कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरूद्ध सङ्घर्ष गरेको चर्चा गर्दै भियतनाममाथि अमेरिकी साम्राज्यवादको आक्रमण र सुस्तामाथि भारतीय विस्तारवादको अतिक्रमणविरूद्ध भक्तपुरमा विरोध प्रदर्शन भएको उल्लेख गर्नुभयो ।
नेमकिपाले मजदुर किसानको हितमा बाली काट्ने आन्दोलन, भपाई आन्दोलन, भ्रष्टाचारविरूद्धको आन्दोलन गरेको र पञ्चायती चुनावलाई उपयोग गरेर देश र जनताको इमानदारीपूर्वक सेवा गरेको देख्न नचाहेको पञ्चायती सरकारले नेमकिपाविरूद्ध भक्तपुर काण्डको षडयन्त्र गरेको बताउनुभयो ।
जर्मनीको प्रतिक्रियावादी सरकारले आफ्नै मान्छे लगाएर राइखस्टाग संसद् भवन जलाएको र त्यसको आरोप कम्युनिस्टमाथि लगाई दमन गरेको उल्लेख गर्दै सांसद सुवालले चीनमा पनि कोमिनटाङ नामको पुँजीवादी पार्टीले साम्राज्यवादीहरूसँग मिलेर कम्युनिस्टहरूलाई दबाएको बताउनुभयोे ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दता गर्ने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा बिक्री गराउने, सुन तस्करीलगायत ठूूला भ्रष्टाचार काण्डहरूमा उच्च सरकारी संयन्त्र नै संलग्न भएको उल्लेख गर्दै सांसद सुवालले त्यस्ता शासक पार्टीका नेताहरूबाट राम्रा कार्यकर्ताको आशा गर्ने ठाउँ नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै देश र जनताको सेवा गर्दै शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको चर्चा गर्नुभयो ।
शासक दलका नेता कार्यकर्ताहरूकै कारण चाँगुनारायण नगरपालिकामा भ्रष्टाचार, अनियमिततालगायतका बेथिति बढिरहेकोले नेमकिपाका कार्यकर्ताहरूले यसको निगरानी गर्नु जरूरी रहेको आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सचिव पाण्डव सुवालले प्रतिकृयावादी शक्तिहरूले देश र जनताको पक्षमा निःस्वार्थ रूपले सेवा गर्दै आएका नेमकिपाका कार्यकर्ताविरूद्ध फेरि फेरि पनि षड्यन्त्र गर्न सक्ने भएकोले कार्यकर्ता सचेत हुनु आवश्यक छ भन्नुभयो ।
नेमकिपा चाँगुनारायण ९ वडा एकाइ समितिका अध्यक्ष नारायणभक्त न्हेमाफूकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर बाटा, वडाअध्यक्ष गणेश त्यात र घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *