भर्खरै :

‘सबै जनताको पार्टी’भित्रको फोहोरी राजनीति

-जगत सुन्दास
एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी ‘सबै जनताको पार्टी’ भएको बताए । के कुनै कम्युनिष्ट पार्टी सबै जनताको पार्टी हुन सक्छ ? स्तालिनको निधन पछि ख्रुश्चेभले सोभियत कम्युनिष्ट पार्टीलाई पनि सबै जनताको पार्टी भनेका थिए । अन्ततः त्यो भनाई सोभियत समाजवाद विघटन गर्ने प्रारम्भिक बिन्दू सावित भयो ।

बरु सिनेमागृहको टिकट पाउन लाइन बस्नु पर्छ, तर एमालेको सदस्यता लिन केही दुःख गर्नुपर्दैन । त्यसकारण आज कालो धनलाई चोख्याउन चाहने मानिसहरुको भीड कहीं छ भने एमालेभित्रै छ ।

कुनै पनि साँचो कम्युनिष्ट पार्टी सबै जनताको पार्टी हुने गर्दैन । कम्युनिष्ट पार्टी कामदार जनताको जुझारु राजनीतिक दस्ता हुने गर्दछ । ‘जनता’ शब्दले कामदार जनतामात्र सङ्केत गर्ने गर्दैन, बरु कामदार जनतामाथि शोषण गरेर मोटाएका शोषक वर्गलाई पनि बुझाउने गर्दछ । कम्युनिष्ट पार्टी मानिसले मानिसमाथि गर्ने शोषण अन्त्यको लागि स्थापना भएको कामदार वर्गको संगठित राजनीतिक दस्ता हो । तसर्थ कम्युनिष्ट पार्टीको मूलभूत लक्ष्य शोषणको अन्त्य हो । तर सबै जनताको पार्टी भन्नुको अर्थ त्यसमा शोषित पीडित कामदार जनतामात्र होइन, शोषक सामन्त र पूँजीपति वर्ग पनि समेटिने अर्थ लाग्छ । ‘सबै जनताको पार्टी’ भन्ने शब्दावली सुन्दा जति सहज लाग्छ, त्यसभित्रको राजनीति गहिरो छ । सबै जनताको पार्टी भन्नुको अर्थ त्यसले वर्ग सङ्घर्षको सिद्धान्तलाई अस्वीकार गर्नु हो । मानिसले मानिसमाथि शोषण गरिरहेको वास्तविकतालाई छायाँमा पार्ने लक्ष्य नै त्यस्तो विचारको जग हो ।
एमालेलाई सबै जनताको पार्टी भन्नुको अर्थ अब एमालेमा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न रातो कार्पेट ओछ्याउने तयारी हो । त्यसो त एमालेले जो कोही मानिसलाई पनि भित्र्याउन थालेको आज होइन । घोर सामन्तदेखि गुण्डानाइके र रक्तचन्दनका अवैध कारोबारीहरुको घुइँचो आज कहीं छ भने त्यो एमालेभित्रै छ । बरु सिनेमागृहको टिकट पाउन लाइन बस्नु पर्छ, तर एमालेको सदस्यता लिन केही दुःख गर्नुपर्दैन । त्यसकारण आज कालो धनलाई चोख्याउन चाहने मानिसहरुको भीड कहीं छ भने एमालेभित्रै छ ।
आज एमाले कम्युनिष्ट पार्टी होइन भन्ने कुरा बोल्ने र बुझ्ने मानिसहरुको अभाव छैन । एमालेलाई दुई दशकअघि भाइकाङ्गे्रस भन्दा जिब्रो टोक्नेहरु धेरै थिए । आज त्यो सत्य सर्वविदित बनिसकेको छ । एमालेका नेताहरु आफूलाई कम्युनिष्ट भन्न लजाइरहेका छन् । दिपक मनाङ्गे, पूर्व राप्रपा नेता गंगा चौधरीलगायत कालो धनका ठेकेदार, गुण्डागर्दीका मसिहाहरुको एमालेगमन पछि पनि एमालेलाई कसैले कम्युनिष्ट भने त कम्युनिष्ट शब्द र नैतिकताको नयाँ व्याख्या गर्नुपर्ने हुन्छ । अब ज्ञानेन्द्र, पारसलगायतको एक बथान मात्र एमालेमा प्रवेश गर्न बाँकी छ, अनि एमाले साँच्चै ‘जनता’को पार्टी बन्नेछ । तर एमालेको परिभाषामा कामदार जनता भने ओझेल पर्दै जानेछ । कामदार जनता ओझेलमा परेको पार्टी नक्कली र खु्रश्चेभको संशोधनवादी पार्टी मात्र हुनसक्छ ।
काङ्ग्रेसको विरोधी सबै कम्युनिष्ट हुने गर्दैन । आज काङ्ग्रेस बन्न नचाहनेहरु सबैलाई एमालेमा हुलेर त्यो पार्टी कम्युनिष्ट रहने गर्दैन । नेपाली जनतालाई अब पनि झुठ र भ्रममा नराख्ने हो भने एमालेले इमान्दारीपूर्वक आफ्नो नामबाट कम्युनिष्ट शब्द निकाल्ने इमान्दारी देखाउनुपर्दछ । बाघ र बाख्रालाई एउटै खोरमा हुलेर सामाजिक न्याय र शोषणबिहीन समाजको कुरा फगत भ्रम र झुठको खेती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *