भर्खरै :

इसानको फुटसल च्याम्पियनसिप सुरु

इसानको फुटसल च्याम्पियनसिप सुरु

भक्तपुर, २५ भदौ । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजनामा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको लगानी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सोमबार फुटसल च्याम्पियनसिप कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरका २३ वटा ठाउँमा खुला व्यायामशाला स्थापना गरेको र त्यसबाट धेरै नगरवासीहरू लाभान्वित भएको बताउनुभयो ।
उहाँले छात्राहरूलाई आत्मरक्षाको तालिम सञ्चालन गर्नुको साथै वडागतरूपमा छिकोङ शारीरिक अभ्यास सुचारु रहेको बताउँदै प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई नैतिकता र अनुशासनलाई ध्यानमा राखी खेलमा सहभागी हुन मार्गनिर्देश गर्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपमार्फत बौद्धिक क्षमता अभिवृद्धि गर्दै शारीरिकरूपमा तन्दुरुस्त हुन आवश्यक भएको बताउँदै स्वस्थ शरीरमा स्वस्थ दिमागले काम गर्ने बताउनुभयो ।
सूर्यदीप स्कूलका प्रधानाध्यापक लक्ष्मीप्रसाद प्रजापतिले फुटसल प्रतियोगिताको महत्वबारे प्रस्ट पार्दै विद्यार्थीहरूमा प्रतिस्पर्धाका साथै मित्रता र अनुशासनको लागि खेलकुद आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासुले इसानको आयोजनामा भएको खेलकुदमा कक्षा ५ देखि ७ का १६ वटा विद्यालयका १६० जना खेलाडीबिच प्रतिस्पर्धा हुने बताउनुभयो ।
प्रमुख अतिथि जोशीले रेफ्री पासाङ तामाङलाई फूटबल र सिठी हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *