भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
बौद्ध धर्म, संस्कृतिमा आफ्नै मौलिक परम्पराको रूपमा रहेको विभिन्न जीवन्त सांस्कृतिक पर्वहरूमा पञ्चदान पर्व पनि एक हो । बुद्ध धर्ममा दानको अत्यन्त महत्वपूर्ण स्थान रहेको छ । बौद्धहरूले पालन गर्नुपर्ने दशपारिमिताअन्तर्गत दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, बल, उपाय, प्रणिधि र ज्ञानमा पहिलो पारमिता नै दान पारमिता हो । बुद्ध धर्ममा सम्यक दान, भिक्षादान, भोजन दान, कल्पबृक्षदान, चीवर दान, दीक्षा/शिक्षादान आदि प्रचलनमा रहेको दानका विभिन्न स्वरूपहरू हुन् । यहि विविध दानहरूमा प्रत्येक वर्ष मनाइने दान पर्व पञ्चदान पर्व हो । बुद्ध धर्मावलम्बीहरूले मनाउने पञ्चदान पर्वमा दानको छुट्टै परम्परा रहेको छ । बुद्धधर्मका विभिन्न बौद्ध जातक ग्रन्थहरूमा बोधिसत्वहरू महासत्व राजकुमारले आफ्नो शरीरको रगत मासु, मणिचुड राजाले मणि, धनसम्पत्ति गरगहना, वस्त्र, विश्वन्तर राजकुमारले सन्तान र श्रीमतीसमेत दान गरेको उल्लेख छ । हाम्रो सामाजिक जीवनमा मानवको जन्मदेखि मृत्यु संस्कारमा दान गर्नुपर्ने परम्परा रहेको छ ।
नेपालमा पञ्चदानको परम्परा लिच्छविकालदेखि नै सुरू भएको मानिन्छ । लिच्छविकालीन राजाहरू वृष देवका पालामा आर्य भिक्षुसङ्घलाई भोजन दान गरेको र शिव देवले आफ्ना पूर्वजहरू शंकरदेव, धर्मदेव र मानदेवले बुद्धधर्मप्रति आस्था राखेजस्तै आफूले पनि नन्दीशाला विहार बनाए र विभिन्न बौद्ध विहार वही, चैत्यहरू निर्माण गर्न लगाई आर्य भिक्षुसंघ, बज्राचार्य गुरू, बुद्धाचार्य, शाक्यजनहरूको सङ्घलाई आमन्त्रण गरी भोजन दान दिएको इतिहासका अभिलेखहरूमा उल्लेख गरेको पाइन्छ । इतिहासकारहरूको भनाइअनुसार तत्कालीन समयमा चीन, तिब्बतका विभिन्न बौद्ध भिक्षु, विद्वानहरू बुद्ध धर्म दर्शनको अध्ययन गर्न भारतको प्रसिद्ध बौद्ध शिक्षाको केन्द्र नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहार, तक्षशील महाविहारमा अध्ययन पूरा गरी ल्हासातर्फ फर्किने क्रममा काठमाडौँ उपत्यकामा रहेको स्वयम्भु महाचैत्य, बौद्ध महाचैत्यको दर्शन गर्न नेपाल आएका र यहाँ रहेको विभिन्न विहार वहीहरूमा रहेको बौद्ध मूर्ति र ग्रन्थहरूको दर्शन, अध्ययन अनुसन्धान गरी तिब्बत फर्किंदा नेपाल उपत्यकामा बसोवास गर्दा बुद्ध शिक्षाअनुसार शील पालन गरी दान परम्परालाई प्रवद्र्धन गरेका थिए । यसै क्रममा दीपङ्कर श्रीज्ञान, आचार्य अतिशालगायतका बौद्ध भिक्षुहरूले नेपालका गृहस्थ भिक्षुहरू बज्राचार्य, बुद्धाचार्य, शाक्य संघका सदस्यहरूलाई दानमा सहभागी गराउने र भिक्षाटन गर्न पञ्चदान पर्व सुरू गर्न लगाएको भन्ने गरिन्छ । सोही अवधारणा अनुसार पञ्चदान पर्वमा दीपंकर तथागतको प्रतिमा प्रदर्शन गर्ने, शोभायात्रा गर्ने, पूजा गरे पश्चातमात्र पञ्चदान दिने र भिक्षा ग्रहण गर्ने प्रचलन रहन गएको देखिन्छ ।
बुद्धधर्ममा मनाइने ऐतिहासिक दानपर्वहरूमध्ये सम्यक दानपर्व काठमाडौँमा १२ वर्षमा एकपटक, ललितपुरमा ५ वर्षमा एकपटक र भक्तपुरमा वर्षै पिच्छे माघे सक्रान्तिको दिन मनाइन्छ भने पञ्चदान पर्व प्रत्येक वर्ष ललितपुरमा श्रावण शुक्ल अष्टमी (गुँलाथ्व अष्टमी/पञ्जराँष्टमी) का दिन र भक्तपुर, काठमाडौँ, बनेपा, थिमि आदि क्षेत्रहरूमा भाद्र कृष्ण त्रयोदशी (गुँलागा त्रयोदशी) का दिन मनाइन्छ । यो दिन बौद्धहरूले विभिन्न विहार, बही, चोक, घरमा दानशाला बनाई भगवान बुद्ध, दीपङ्कर तथागत, बोधिसत्व, करूणामय लोकेश्वर, मञ्जुश्री, तारा, बसुन्धारा आदिको मूर्ति तथा ऐतिहासिक पौभा चित्रहरूको प्रदर्शनी गरी दान प्रदान गरिन्छ । भगवान बुद्धका पशष्यहरूको रूपमा बुद्ध धर्ममा प्रवज्जित भइसकेका बज्राचार्य, बुद्धाचार्य, शाक्य परिवारका गृहस्थ भिक्षुहरू बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर दानगाथा वाचन गरी भिक्षाटन गर्ने र भिक्षाटनमा सहभागीहरूलाई विभिन्न प्रकारका अन्न जस्तै धान चामल, गहुँ, मकै भटमास, पैसा, फलपूmल, धागो, सियो, औषधी आदि दान प्रदान गर्नु पञ्चदान पर्वको प्रमुख विशेषता हो । यसरी दान लिन शाक्य बुद्धाचार्य बज्राचार्य परिवारका कुलपुत्रहरू भिक्षाटनमा सहभागी भई दानको प्रशंसा गरी दानगाथा वाचन गर्ने विभिन्न समुदायका उपासक उपासिकाहरूले आफ्नो गच्छे र क्षमताअनुसार दान प्रदान गरिरहने वातावरण एउटा छुट्टै धार्मिक माहौल तयार भएको महसुश गर्न सकिन्छ । कतिपय ठाउँहरूमा पञ्चदान पर्वको ब्यवस्थापन गर्न गुठी, सङ्घमार्फत जग्गा, अक्षय कोषको ब्यवस्था गरी दानका लागि श्रोत सुनिश्चित गरिएको हुन्छ । पञ्चदान पर्वमा भिक्षाटनमा सहभागी हुने कुलपुत्रहरूले बिहानै नुहाई स्वच्छ सफा भई पञ्चशील पालन गरी सो दिन क्षीर, दूध, फलपूmल आदि मात्र भोजन गरी भिक्षाटन लिन जान्छन् । बज्राचार्य, बुद्धाचार्य, शाक्य परिवारका कुलपुत्रहरूले प्रवज्जित हुँदा कम्तीमा ४ दिन भिक्षु भई विहारमा बसी शिक्षा दीक्षा लिने र ७ घरमा भिक्षाटन गर्ने परम्परालाई निरन्तरताको रूपमा प्रत्येक वर्ष एक पटक भिक्षाटन गर्नुपर्ने मान्यता रहेको छ ।
भक्तपुरको ऐतिहासिक तथा पुरातात्विक महत्वका विहारहरू क्वाठण्डौँको प्रसन्नशील महाविहारस्थित मूल दीपङ्कर तथागत, गोल्मढीको मङ्गलधर्म दीप विहार, झौर वहीस्थित दीपङ्कर तथागत, साकोथाको चतुब्र्रम्ह महाविहारस्थित दीपङ्कर तथागत, इटाछेँको थथुवही (जयकीर्ति विहार) स्थित दीपङ्कर तथागत र भार्वाचोको कुथुवही (बौद्ध समकृत विहार) स्थित दीपङ्कर तथागत गरी पाँच दीपङ्कर तथागतहरूलाई वर्षको २ पटक विहारबाट चक्रमण (बाह्यगमन) गर्ने प्रचलनअनुसार पञ्चदान पर्वको दिन भक्तपुर नगरमा शोभा यात्रा गर्नुपर्ने परम्परा रहेको छ । मूल दीपङ्कर तथागत रहेको प्रसन्नशील महाविहार मूल दीपंकर विहार सङ्घका मूल चक्रेश्वर स्थविर (थाय्पाजू) सहित दश स्थविर आजुहरूले पञ्चदान सुरू हुन चार दिन अगाडि चर्तुब्रम्ह महाविहार, तधिछेँ बहाः खलः सङ्घलगायत मङ्गलधर्म दीप महाविहार, जयकिर्ति महाविहार र बौद्ध समकृत महाविहार सङ्घलाई पञ्चदानको तयारीको पूर्व सूचना दिने परम्परा अनुरूप फूल चढाउनु (स्वाँ छायेगु) पर्ने प्रचलन रहेको छ र सोही समयमा नासमनामा पनि नकर्मी समुदायलाई जानकारी दिनुपर्ने चलन रहेको छ । पञ्चदान पर्वको अघिल्लो दिन ती विहारहरूमा दीपङ्कर तथागतहरूलाई सरसफाइ गर्ने, विभिन्न गहनाहरूको सरसफाई, मर्मत गरिसकेपछि सधैँ विराज रहने स्थान भन्दा बाहिर दर्शनको लागि राखिएको हुन्छ । सोही दिन विभिन्न विहार सङ्घ, पञ्चदान गुठीका प्रतिनिधिहरू एवं इन्द्रवर्त महाविहारको गुँलाबाजं टोलीले बेलुका पञ्चदानको लागि निमन्त्रणास्वरूप दीप प्रज्वलन गर्न जाने परम्पराले भक्तपुरका जनताहरूलाई पञ्चदान पर्वको अग्रीम सूचना दिने परम्पराको रूपमा चल्दै आएको छ ।
पञ्चदान पर्वमा यी पाँचै जना दीपङ्कर तथागतहरू नगरको पूर्व सूर्यमढी टोलको दबुमा विराजमान गराइन्छ र त्यहाँको आदिपद्म महाविहार (त्वं बहाः)मा पूजा प्रारम्भ गरेपछि पञ्चदान पर्व प्रारम्भ हुन्छ । भक्तपुर नगरका विभिन्न टोल, चोकहरूमा पाँच दीपङ्कर तथागतलाई विराजमान गराई ठाउँ विशेषमा जल, फूल, सुगन्ध, अक्षेताले मन्त्रोचरण गरी स्वागत गर्ने, पूजा गर्ने, दान गरेपछि मात्र दानशालामा पञ्चदान प्रारम्भ गरिन्छ । यसै क्रममा दीपङ्कर तथागतहरू विभिन्न चोकमा पोँगा बाजाको धुनमा देशना गर्ने र नगरको पश्चिम भार्वाचो, थथुवहीसम्म गरी विभिन्न करीव ५४ स्थानहरूमा पूजा सम्पन्न भएपछि बाजागाजासहित दीपङ्कर तथागतलाई चक्रमण (परिक्रमा) गराई टौमढीस्थित ङातापोलँ मन्दिरको अगाडि पश्चिम दबलीमा विराजमान गराइन्छ । दबलीमा विराजमान गराएका दीपङ्कर तथागतलाई भक्तजनहरूबाट पूजा सम्पन्न भएपछि चतुब्र्रम्ह महाविहारका सङ्घ प्रतिनिधिहरूले दीप प्रज्वलनसहित स्तोत्रवाचन सँगै बिदाइ गराएपछि भैरव मन्दिर अगाडि पाँचै जना दीपङ्कर तथागतलाई पोँगाबाजाको धुनमा सामूहिक देशनानृत्य र स्तोत्र वाचन गर्ने समूहले दीपङ्कर तथागतको परिक्रमापछि पञ्चदान पर्व समापन हुन्छ । यी पाँच दीपङ्कर तथागतहरूमध्ये मूल दीपङ्कर तथागतसहित अन्य २ तथागत नगरको पूर्वी क्षेत्रमा र ३ जना नगरको मध्य र पश्चिम क्षेत्रको विहारमा विराजमान गराइने भएकोले टौमढीको समापन कार्यक्रम पश्चात साकोथाको चोकमा चतुर्ब्रम्ह महाविहार, तधिछेँ बहाः खलः सङ्घका थकाली जेष्ठ छोरीले बिदाइस्वरूप दीप प्रज्वलन पूजा गर्ने सो खलःका सम्पूर्ण परिवारले पूजा चढाई बिदा दिइन्छ । यी सबै दीपङ्कर तथागतलाई आ–आफ्नो विहार वहीमा पुगेपछि सम्बन्धित विहारका सङ्घ सदस्यले विहारको मूलढोकाको पिखालखुमा पूजा गरी स्वागत गरी यथास्थानमा विराजमान गराइन्छ । टौमढीमा पाँच दीपङ्कर तथागतहरूको विराजमान गरिएको समयावधिमा गुँलाबाजं, न्यकुबाजं, दाफा भजन, धिमे बाजंलगायतका सांस्कृतिक टोलीहरूले भजन सङ्गीत प्रस्तुति र ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन उपासक उपासिकाहरूको उपस्थितिले भक्तपुरको केन्द्रबिन्दु टौमढी परिसर गुञ्जायमान र एउटा छुट्टै सांस्कृतिक सम्पदाको लागि गौरवान्वित हुने वातावरण कायम रहेको अनुभव गर्न सकिन्छ ।
भक्तपुरमा पञ्चदान पर्वमा पाँच दीपङ्कर तथागतको चक्रमणको क्रममा यी दीपङ्कर तथागत सँगसँगै शाक्य, बुद्धाचार्य, बज्राचार्य समुदायका कुलपुत्रहरू पिण्डपात्र (गुलुपा), क्वतः, झोला लिई दान ग्रहण गर्न पंक्तिबद्ध भएर दानको प्रशंसा गर्दै दानगाथा वाचन गर्ने चलन रहेको छ । यस्तै शाक्य बुद्धाचार्य, बज्राचार्य समुदायले विहार वही, टोल, घर, चोकहरूमा दानशाला बनाई दान दिइन्छ भने यसको अतिरिक्त स्थान, टोल विशेष क्षेत्रहरूमा अन्य समुदायका उपासक उपासिकाहरूको गुठीको ब्यवस्था नै रहेको तथा ब्यक्तिगत रूपमा पनि दीपङ्कर बुद्धलाई पूजा चढाएपछि पञ्चदान गरिन्छ । जस्तै सूर्यमढी, तौलाछेँ, क्वाठण्डौ, गछेँ क्षेत्रमा प्रजापति, बोहजुु, लवजु, गोसाईँ, सुवाल, दुवाल, शिल्पकार, सैंजुलगायत विभिन्न किसान समुदायका उपासक उपासिकाहरू, साकुलान, गोल्मढी, लोकेश्वर क्षेत्रमा मानन्धर समुदाय, तचपाल, थालाछेँ क्षेत्रमा चित्रकार, रञ्जितकार समुदाय, इनाचोमा बैद्य समुदाय, सुकुलध्वाखा क्षेत्रमा हलुवाई, कर्माचार्य समुदाय, चोछेँ तुछिमला क्षेत्रमा अवाल समुदाय, खिछेँमा अमात्य परिवार, टिबुक्छेँ क्षेत्रमा प्रधानाङ्ग, चासुखेल क्षेत्रमा ताम्राकार समुदाय, नासमना क्षेत्रमा नकर्मी समुदाय, तालाक्वः क्षेत्रमा प्रजापति समुदायका भक्तजनहरूले गच्छेअनुसार दानशाला बनाई वा लहरै बाटो लामबद्ध भई दान दिने चलन अद्यापि छ । त्यसमध्ये थालाछेँ टोलको बेखालमा रहेको सुवर्ण चैत्य विहारमा पञ्चदानमा सहभागी कुलपुत्र प्रत्येकलाई पञ्चदान दाता सङ्घ परिवारका सदस्यले मूलद्वारमा बसी पैतालामा फूल, दुबोयुक्त जल, सुगन्ध, फूल अक्षेता राखी ढोगी स्वागत गर्ने (नेपाल भाषामा तुति लि चायकेगु भनिन्छ), फूल, धागो विशेष ‘जजंका’, टीका लगाई पूजा गर्ने र क्षीर भोजन, फलफुल, सर्वत दान गर्ने ब्यवस्था भक्तपुरको पञ्चदान पर्वको एउटा उदाहरणीय सांस्कृतिक परम्परा कायम रहेको छ । भक्तपुरमामनाइने पञ्चदानको यी परम्परा र प्रचलनहरू अन्य क्षेत्रहरूमा मनाइने पञ्चदान पर्वभन्दा छुट्टै विशेषता र विशेष आकर्षण रहेको छ ।
बौद्धहरूले आफू बौद्ध भएको कारणले आफ्नो जीवनमा आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र प्रवजित भइसकेको कारणले बौद्ध आचरणअनुसार शील पालना गरी दान लिन जानु वा भिक्षाटनमा सहभागी हुनु हाम्रो मौलिक बौद्ध परम्परा हो । यसरी बौद्धहरूले आफ्नो पहिचानअनुसार गच्छे र क्षमताअनुसार दान प्रदान गर्दै आएको देखिन्छ । तर विगत केही वर्षहरूदेखि प्रचार प्रसारको कमी,स्थानीय सरकार, केन्द्रीय सरकार, सरकारी प्रशासनको असहयोग र अज्ञानता, हाम्रो सामाजिक ब्यवहार, रहनसहन, संस्कार, सांस्कृतिक अतिक्रमण, देखासिकी संस्कृतिको अनुसरण आदि कारणहरूले गर्दा भिक्षाटनमा सहभागी हुनेहरूको सङ्ख्या क्रमशः ¥हास हुनु बौद्ध सम्पदा संस्कृतिको क्षेत्रमा चिन्ताको विषय बनेको छ । हाल पञ्चदान पर्वलाई ब्यवस्थित बनाउन काठमाण्डौ, ललितपुर, भक्तपुर, थिमि, बनेपामा टोल, विहार वहीहरूमा सामुहिक रूपमा दानशालाहरूको निर्माण गरी दान दिने र समूह समूहमा पञ्चदान ग्रहण गर्ने सुरूवातले यो पर्वको महत्व बढाउन सहयोग पुग्ने गरी सकारात्मक प्रयास भएको मान्न सकिन्छ । पञ्चदान पर्वको महत्व, यसको ऐतिहासिकतालाई हृदयगमन गरी विभिन्न बौद्ध सङ्घ संस्थाहरूले यसको प्रचार प्रसार गर्न, पञ्चदानमा सहभागि हुन गराउन अझ सक्रिय हुनु पर्ने देखिन्छ भने अर्कोतर्फ स्थानीय सरकार, सङ्घीय सरकार, प्रदेश सरकारका विभिन्न निकायहरूलाई पनि पञ्चदान पर्वको सम्बन्धमा जानकारी एवं ध्यानाकर्षण गराउने, यसको संरक्षण, सम्बद्र्धनमा सहयोग र सहभागिताका लागि निरन्तर प्रयास हुनु जरूरी छ ।
Leave a Reply