भर्खरै :

बासु माविमा सूचना प्रविधि विषय निःशुल्क पढ्न सकिने

बासु माविमा सूचना प्रविधि विषय निःशुल्क पढ्न सकिने

भक्तपुर, २७ भदौ । भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयमा यस वर्षदेखि निःशुल्करूपमा प्रि–डिप्लोमा तह सूचना प्रविधि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन हुने भएको छ । बुधबार विद्यालयमा आयोजित सो कार्यक्रममा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवीहरूको छलफलमा विद्यालयले निःशुल्क अध्यापन हुने जानकारी दिएको हो ।
कार्यक्रममा भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयले सञ्चालन गर्न लागेको औद्योगिक प्रशिक्षार्थी कार्यक्रम उत्पादन श्रमसँग जोडिएको शिक्षा भएकोले बढी प्रभावकारी हुने बताउनुभयो । उहाँले उत्पादन श्रमसँग गाँसिने शिक्षाले प्रशिक्षार्थीहरूमा श्रमप्रति माया बढ्ने र हातमा सीप भएको व्यक्ति बेरोजगार भएर बस्न नपर्ने बताउनुभयो । अध्ययनकै क्रममा उद्योगमा काम सँगसँगै आम्दानी पनि गर्नसक्ने हुँदा विशेषगरी काम खोजी रहेका न्यून आर्थिक अवस्थाका विद्यार्थीहरूलाई कार्यक्रमले सहयोग पुग्ने विचार अध्यक्ष बासुकलाको थियो । उहाँले भक्तपुर नगरपालिकाले चाँडै नै युवा उद्यमीहरूलाई ऋणको व्यवस्था गर्ने तयारी गरिरहेको पनि जानकारी गराउनुभयो ।
शिक्षासेवी गणेशप्रसाद सुवालले बासु माविमा नयाँ कार्यक्रम सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले निःशुल्करूपमा अध्ययन गर्न सकिने सो कार्यक्रमलाई कामदार जनतामा पु¥याउन सम्पूर्णले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजमा सूचना तथा सञ्चार विषय अध्यापनरत विद्यालयका पूर्वविद्यार्थी नरेश खत्रीले अहिलेको समय सूचना प्रविधि र कृत्रिम बौद्धिकताको चरणमा प्रवेश गरिसकेको हुँदा सबैजनाले सूचना प्रविधिबारे ज्ञान लिइराख्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक रविलाल प्रधानले सम्पूर्ण सहभागीमा स्वागत गर्नुभएको थियो । प्रि–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रमको विषयमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमका संयोजक रमेश प्रजापतिले जानकारी दिनुभएको थियो ।
औद्योगिक प्रशिक्षार्थी तालिममा एसएलसी उत्तीर्ण वा एसइइ परीक्षामा न्यूनतम ई. ग्रेड प्राप्त विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । प्रशिक्षार्थीहरूले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका प्रतिष्ठित उद्योग/कम्पनीहरूमा २० महिना न्यूनतम तलबसहित काम गर्ने अवसर पाउनेछन् । कार्यक्रममा भर्ना हुन यही असोज २ गते मङ्गलबारसम्म आवेदन दिन सकिने छ भने असोज ६ गते शनिबार लिखित परीक्षा तथा अन्तर्वार्ता हुने विद्यालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *