अमेरिकी विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
- आश्विन ३०, २०८३
(बेलायती विदेशमन्त्री जेम्स क्लेभर्लीलाई जेरी ग्रेको खुला पत्र)
क्लेभर्लीज्यू,
तपार्इँको चीन भ्रमण राम्रो भएकोमा खुसी भएको थिएँ । तर, तपार्इँको बिदाइ अभिव्यक्तिले म दुःखी छु । म बेलायतले नराम्रो प्रदर्शन गरेको देख्न सक्दिन । त्यहाँ मेरा धेरै इस्टमित्र छन् । तीमध्ये केहीले चुनावमा तपार्इँलाई मत पनि दिएका होलान् ।
तपार्इँले चीनसँग व्यापार गर्नुका चुनौतीहरू बताउनुभयो । म तपार्इँलाई केही यस्ता सूचना दिन्छु जसले तपार्इँलाई तनाव दिनसक्छन् । किनभने, यी सूचना तपार्इँले पाएको सूचनासँग बाझिन्छन् ।
चीनस्थित बेलायती दूतावास वा बेलायतको कन्सुलेटको एकजना प्रतिनिधि पनि अहिलेसम्म सिन्चियाङ प्रान्त घुमेको छैन । त्यसैले तपार्इँले त्यसबारे भुइँतहको रिपोर्ट पाउनुभएको छैन । यसले दुइटा कुरा देखाउँछ जस्तो लाग्छ । एक, तपार्इँको मन्त्रालयले त्यहाँ जातिसंहार भएको मान्छ र त्यहाँ जेसुकै होस्, त्यसमा चासो लिन्न । यो कुरा विश्वास गर्न गा¥हो छ । दुई, तपार्इँको मन्त्रालयलाई त्यहाँ जातिसंहार नै भएको छैन भन्ने थाहा छ र प्रतिकूल सत्य स्वीकार्न चाहन्न । तपार्इँलाई कसैले गलत सूचना दिएको हो र जानाजान तपार्इँ छलछाममा भाग लिनुहुनेछैन भन्ने आशा छ ।
तपार्इँ मलाई चिन्नुहुन्न । यसबारे मलाई कुनै भ्रम छैन । त्यसैले अलिकति परिचय दिन्छ । मेरो नाम जेरी ग्रे हो । म बेलायतमा जन्मेको अस्ट्रेलियाको नागरिक हुँ । २० वर्षदेखि म चीनको ग्याङदोङ प्रान्तको चोङशान सहरमा बस्दै आएको छु ।
सन् १९७७ देखि १९८७ सम्म मैले बेलायती प्रहरी काम गरेको थिएँ । पहिले म मेट. ८८४ ‘ए’ डिभिजनमा थिएँ । त्यसपछि म एजेक्समा सरेको थिएँ । मसँग त्यसको परिचय पत्र पनि छ । बेलायती प्रहरीमा छँदा मैले बकिङघम राजदरबारमा काम गर्ने मौका पनि पाएको थिएँ । मैले धेरैचोटि दिवङ्गत महारानी र राजा चाल्र्सलाई भेटेको छु । लेडी डायना स्पेन्सर राजकुमारी हुनुभन्दा अगाडि म उनको मित्र थिएँ ।
यति भनेपछि १८–२८ वर्षको उमेरमा म भरपर्दो अङ्ग्रेज थिएँ भन्नु नपर्ला । मेरा हजुरबुबाले आजीवन साउथ शिल्ड कोइला खानीमा काम गर्नुभएको थियो । खानी मजदुरहरूले हडताल गरेपछि मलाई प्रहरी बनिरहन असहज लाग्यो । त्यसैले केही हप्ता त्यो हडतालमा खटिएपछि म अस्ट्रेलिया सरेँ । हडतालकर्ताहरूलाई दबाउन प्रहरीको रूपमा तैनाथ हुँदा मेरो विचारमा हुन्डरी मच्चियो । हायलकायल भएपछि मैले जीवनको अर्कै बाटो रोजेँ ।
जीवनभर म राजनीतिबाट टाढै बसेँ । सन् २०२० मा आएर मात्र मैले राजनीतिमा ध्यान दिन थालेँ । भर्खर अवकाश लिएको थिएँ । कोभिड–१९ को लकडाउन सुरु भएको थियो । ट्वीटरमा आफ्नो चीन भ्रमणको फोटो र विवरण पोस्ट गर्दागर्दा वाक्क भएपछि मैले राजनीतिमा ध्यान दिएँ । यसले गर्दा मेरो जीवन १८० डिग्रीले फेरियो । मैले चीनमा आफूले देखेभोगेको आधारमा इन्टरनेटमा जे बोल्थेँ वा लेख्थेँ त्यसको त्यहाँबाट आलोचना हुन्थ्यो । चीनको विषयमा तपार्इँले गर्नुभएको आलोचनासँग मेरो अनुभव बाझिन्थ्यो । यसले मेरो सोचाइमा आनको तान फरक आयो ।
आफ्नो प्रत्यक्ष भोगाइको बचाउका लागि लेख लेख्नु र त्यसलाई संसारभरि छपाउनु मेरो लागि दालभात जस्तै बन्न गयो । मैले जोन मेनाड्युको अस्ट्रेलियाली जर्नल पल्र्स एन्ड इरिटेसन्समा धेरै लेख छपाएको छु । लाग्छ, जोनलाई मेरा शब्दहरूमा विश्वास छ । उनी पूर्वकूटनीतिज्ञ हुन् र धेरैचोटि प्रधानमन्त्रीको सल्लाहकार पनि बनिसकेका छन् । तपार्इँलाई जोन मेनाड्युको योगदान थाहै होला । थाहा छैन भने तपार्इँका सल्लाहकारहरूले तपार्इँलाई अँध्यारोमा राखेका छन् ।
म चीनमा बस्ने अन्य विदेशीहरूभन्दा भिन्न छु । मैले चीनका प्रायः सबै प्रान्त घुमेको छु । कुरा यत्तिमै सीमित छैन । मैले साइकल चढेरै चीनका हिमाल, पहाड र मरुभूमिहरू पार गरेको छु । सडकमै मात्र मैले ३० हजार किलोमिटर यात्रा गरेको छु । यो मैले छिचोलेको प्रान्तीय सडकको दूरी हो । राजमार्गको हिसाब लगाएको छैन ।
यस यात्राको क्रममा म र मेरी पत्नीले अपाङ्गहरूका लागि यहाँ बसोबास गर्ने विदेशी समुदायबाट धेरै चन्दा उठाएका छौँ । त्यसैले हाम्रो जोडी चीनमा परिचित पनि छ । हामीबारे अनेक वृत्तचित्र पनि बनेका छन् । पछिल्लोचोटि सीजीटीएन युरोपले पनि यस्तै वृत्तचित्र बनायो । त्यो भन्दा महत्वपूर्ण कुरा हामी गएको २० वर्षमा चीनले आफ्ना गाउँ, नगर र ग्रामीण सहरमा गरेको प्रगतिका हामी प्रत्यक्षदर्शी हौँ । ग्रामीण चीनमा आएको व्यापक परिवर्तनलाई हामीले जस्तो जोकोहीले महसुस गरेको छैन ।
चीनमा बसोबास गर्ने विदेशी समुदात्न्दा म यसकारण बेग्लै छु र म चीन र यहाँको कम्युनिस्ट पार्टीको बलियो पक्षधर पनि हुँ ।
म आफूलाई समाजवादी मान्दिन । कम्युनिस्ट त मान्दै मान्दिन । तर मैले यहाँजति सहभागितामूलक र सरसल्लाहमा आधारित शासन कहीँ देखेको थिइन । यहाँको शासन प्रणालीमा मतदाताहरूलाई कति धेरै समाहित गरिन्छ र लाभ दिइन्छ भने पश्चिमी प्रजातन्त्रमा यसको अड्कल लगाउन पनि असम्भव छ । मान्छेहरू मलाई प्रश्न गर्छन् – के तपार्इँ चिनियाँ कम्युनिस्ट पार्टीको पक्षधर हो ? म हुँ भन्छु । इतिहासको यो मोडमा तिनले जे गरेको देख्दै छु, यसका आधारमा म चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा छु । विगतको कुरा मलाई थाहा छैन । भविष्यमा के होला, म त्यसको अनुमान लगाएर बस्दिन । सी चिनफिङको नेतृत्वमा चीन साढे १ अर्ब जनता बस्न उपयुक्त स्थान बनेको छ । चीन म बसेका र मैले घुमेका कुनै पनि ठाउँभन्दा गतिलो छ । सन् २००४ भन्दा अहिले गतिलो छ ।
हचुवा तालमा मलाई पश्चिमी मिडियामा अवकाशप्राप्त सुरक्षाकर्मी, चीनको साइकलयात्री, पेइचिङपक्षधर र अन्य नानाथरी नामले सम्बोधन गरिन्छ । भन्नेले जेसुकै भनून्, म आफ्नो अध्ययन र अनुभवको आधारमा मात्र बोल्ने व्यक्ति हुँ । मलाई एउटै पछुतो छ । मैले दुइचोटि सिन्चियाङ भ्रमण गरेँ तर दुवै भ्रमण मोटरसाइकलमा गरेँ । मलाई राजनीतिमा रुचि थिएन । त्यसैले तपार्इँले भनेको कुरा गलत हुन् भनी साबित गर्न कुनै भिडियो वा फोटो खिचिनँ । तपार्इँले भनेको कुरा सत्य होइन, म निर्धक्क भन्नसक्छु ।
सिन्चियाङ आसपास म पहिले पनि धेरैचोटि गएको थिएँ । तर, सिन्चियाङमा म बाइक चढेर सन् २०१४ मा गएँ । गान्सुको सीमाबाट छिङ छिङ छ्या (तारे गल्छी) हुँदै मैले १५०० किलोमिटर लामो यात्रा गरेँ र कजाखस्तानको सीमामा पर्ने खोर्गास सहर पुगेँ । उरुम्की पुगेपछि मैले बाइक छोडेँ र कार लिएँ । ड्रात्रले मलाई सिन्चियाङका विभिन्न स्थल घुमायो । त्यहाँ ठूलो घाँसे मैदान र हिउँले ढाकिएका पहाड (तियान शान) रहेछन् । त्यो भ्रमणमा हामीले जनतामाथि कुनै किसिमको दमन देखेनौँ । हामीले दिनदिनैजसो उइगुर, कजाख, मङ्गोल, ताजिक र किर्गिज जातिका धेरै व्यक्तिसँग हेलमेल बढायौँ र भलाकुसारी ग¥यौँ । उनीहरू सामान्य जीवन बिताइरहेका छन् ।
सन् २०१९ मा म र मेरी पत्नी जहाज चढेर उरुम्वी गयौँ । जहाजमा हामीले बाइक पनि लगेका थियौँ । त्यहाँ पुगेपछि बाइकमै चढेर हामीले त्यहाँका विभिन्न भूभाग घुमघाम ग¥यौँ । हामीले ताक्लामाकान मरुभूमि छिचोल्यौँ र तारिम जलाधार क्षेत्र घुम्यौँ । यो भूगोलको कक्षा होइन । ५००० किलोमिटरको दूरी पार गरेर हामी सिन्चियाङ उइगुर स्वायत्त प्रान्त पुग्यौँ भन्न खोजेको मात्र हुँ । यति घुम्दा पनि मैले कहीँकतै दमन, हत्या वा जातीय सफायाजस्तो केही पनि देखिन । बरु उल्टो दृश्य देखेँ ।
समस्या कहीँँकतै देखिएन, म यस्तो त भन्दिन । ठाउँठाउँमा सुरक्षा चौकी छन् । नियमित चेकजाँच हुन्छ । तर, प्रहरीहरू नम्र छन् । धेरै ठाउँमा त उनीहरू दयालु र सहयोगी नै पाएँ । तिनले हामीलाई पिउने पानी र फलफूल दिए । हाम्रो यात्राबारे जिज्ञासा राखे । मेरी पत्नी चिनियाँ चेली हुन् । उनलाई धेरै ठाउँमा केही सोधिएन । विदेशी हुनाले मलाई सोध्नु स्वाभाविक थियो । महत्वपूर्ण कुरा के भने धेरै व्यक्तिलाई परिचय पत्र स्क्यान गरेर जाँचकीले सजिलै जान दिएको देखेँ । व्यक्तिलाई जाँच्नुभन्दा पनि परिचय पत्र दर्ता गर्नुलाई प्रहरीहरूले बढी ध्यान दिँदा रहेछन् । सिन्चियाङका हजारौँ बासिन्दाहरू व्यवस्थामा यी कामकारबाहीलाई भरपर्दो र सुरक्षित ठान्दा रहेछन् । यिनीहरूसँग कुराकानी गर्दा मैले कहीँ पनि हिंसा वा दमनजस्ता कुनै पनि घटना नभएको पाएँ ।
म पश्चिमा हुँ । व्यक्तिगतरूपमा मलाई यस्ता जाँचबुझ उति मन पर्दैन । तर, त्यहाँका रैथाने चिनियाँहरू यसलाई आफ्नो दैनिकी मान्दा रहेछन् । यसमा उनीहरूलाई कति पनि अप्ठेरो नलाग्दो रहेछ । हामी पश्चिमाहरूको गलत बुझाइ यहीँबाट जन्मेको हो भन्ने लाग्छ ।
हामी पश्चिमाहरू आफ्नो व्यक्तिवादी सोचलाई सामूहिक भावना भएको समाजमा थोपर्ने गर्छौँ । त्यसपछि हामीले अर्कै अनुमान लगाउन पुग्छौँ । हामीलाई चित्त बुझ्दैन तर तिनलाई बुझ्छ । ती समाजका आशा र आकाङ्क्षा नै बेग्लै हुन्छन् । मानव अधिकार संस्था वाच, एमनेस्टी इन्टरनेसनल, अमेरिकी विदेश मन्त्रालयजस्ता अनेक सङ्घसंस्थाहरू हाम्रा पश्चिमी मूल्यमान्यतालाई अरूमाथि थोपर्दा अप्ठेरो मान्दैनन् । रैथाने समुदायको विचार के छ भन्नेमा उनीहरूलाई वास्ता हुन्न । माथि नाम लिइएका कुनै पनि सङ्घसंस्थाले एकचोटि पनि सिन्चियाङको भ्रमण गरेको छैन । सुरक्षाबारे त्यहाँका जनता के सोच्छन् भन्ने विषयमा उनीहरूसँग प्रत्यक्ष कुराकानी गरेको छैन । तर, मैले भ्रमण र कुराकानी दुवै गरेको छु ।
यस क्षेत्रमा कुनै आतङ्ककारी घटना घटेको छैन । यिनै चौकीका कारण समग्र चीन नै आतङ्कवादबाट टाढा छ । चीन सरकार मात्र होइन, यी जाँचबुझमा सहभागी हुने सम्पूर्ण जनताको लागि यो ठूलो गौरवको कुरा हो । यस्तो बन्दोबस्तबाट चिनियाँ जनतालाई (पश्चिमाहरूले भनेजस्तो) ‘जोगाउन’ आवश्यक छैन ।
केही मानिसहरू मलाई भोलाराम भन्छन् । ममाथि चीनलाई सप्तरङ्गी चस्माले हेर्ने गरेको आरोप छ मूलधारका मिडियाको । तर म उनीहरूले भनेजस्तो छुइन । उनीहरूले भनेजस्तो म ‘बाइक चढ्ने अवकाशप्राप्त पाले’ होइन । म एउटा बेलायती कम्पनी ‘चब सिक्योरिटी’ को अस्ट्रेलिया शाखाको जनरल म्यानेजर थिएँ । कामको सिलसिलामा मैले धेरै सरकारी भवनहरूको सुरक्षा, सीसीटीभी, नियन्त्रण प्रणाली र सुरक्षा व्यवस्थाको जाँचबुझ गरेको छु । कामकै दौरान मैले बेलायत र अस्ट्रेलियाको क्विन्जल्यान्डका प्रत्येकजसो कैदखाना पुगेको छु । त्यसैले कारागार र दमन कस्तो हुन्छ, मलाई थाहा छ ।
म प्रहरी छँदा म ब्रिक्सटन हुलदङ्गाको अग्रमोर्चामा तैनाथ थिएँ । राष्ट्रिय अभियान हुँदा म लेविशाम नगरमा खटिएको थिएँ । दङ्गाकारीहरूसँग मुठभेडमा जाने बेलायती मूलभूमिका पहिलो लटका अफिसरहरूमध्ये म एक थिएँ । खानीका हडतालीहरूले प्रहार गर्दा म अघिल्लो लहरमा बीचमा थिएँ । त्यस क्रममा मैले उत्तर र उत्तर–पश्चिम बेलायतका कोइला खानीहरूमा हप्तौँ बिताएको थिएँ । त्यसबेला मैले प्रहरीको अत्याचार र दमन कस्तो हुन्छ राम्ररी बुझेँ ।
मैले आइरेली बमबारी पनि देखेको छु । त्यसमा परेर वेस्टमिनिस्टरको हाम्रै दरबारमा आइरी निएभ मारिए । उनीजस्तै तपार्इँ पनि बेलायती हुनुहुन्छ । त्यसैले हामीकहाँ आतङ्कवादको कस्तो बिजोग छ भन्ने कुरा तपार्इँलाई थाहै होला । आतङ्कवादको असर कस्तो हुन्छ, मलाई थाहा छ ।
यी सबै कुरा भोगेको हुनाले सिन्चियाङ क्षेत्र घुम्ने साधारण पर्यटकभन्दा मैले धेरै कुरा पहिल्याउन सक्छु ।

जेम्स क्लेभर्ली र जेरी ग्रे
खोजबिन गर्नु मेरो बानी नै हो । मैले सिन्चियाङमा कुनै दमन र अत्याचार भेटिन किनभने त्यहाँ त्यस्तो केही पनि छैन । सिन्चियाङको बारेमा मैले जति पनि नकारात्मक कुरा पढेँ, तिनलाई तर्कसङ्गत उत्तर दिन सकिन्छ । उदाहरणको लागि अस्ट्रेलियाको रणनीति संस्थान (एएसपीआइ) खिचेको भूउपग्रहबाट खिचेको तस्बिरको कुरा गरिन्छ । २० वर्षको अधकल्चो र अर्धशिक्षित युवकले तस्बिरलाई चिनियाँ कारागार भन्यो । उसले कारागार भनेका भवनहरू वास्तवमा स्थानीय पाठशाला र कारखाना हुन् । उसले गलत बोल्नु स्वभाविक छ । उसले कहिल्यै चीन टेकेको छैन । यहाँ पाठशाला र कारखाना कसरी निर्माण गरिन्छ, उसलाई जानकारी नै छैन । चिनियाँ कामदारहरू विभिन्न ठाउँहरू घुमिरहने हुनाले टाढाटाढाबाट आउने कामदारका लागि कारखानामै आवासको प्रबन्ध हुन्छ । यिनै आवासलाई ‘एएसपीआइ’ ले कैदखाना भन्यो । लामो समयसम्म गरिबी र आतङ्कवाद झेलेको हुनाले चीनमा सुरक्षामा विशेष ध्यान दिइएको छ । त्यसैले यहाँ पर्खाल र काँडे तार लाउनु, ठाउँठाउँमा सुरक्षाकर्मी राख्नु स्वभाविक छ । चीनका प्रत्येकजसो भवनका झ्यालमा ग्रिलहरू हुन्छन् । मैले किन्नुअघि नै म बस्ने घरको झ्यालमा ग्रिल हालिएको थियो ।
चीनमा विद्यार्थी र कारखानाका कामदारहरूले पोशाक लगाउँछन् । यिनलाई देखाउँदै ‘एएसपीआइ’ ले यी स्थान कारागार नै हुन् भनेर ठोकुवा ग¥यो । स्टाफहरू पोशाक लगाएर यताउता गरिरहेको उसको तर्क थियो । तर, यहाँको परिस्थिति राम्ररी बुझेको जानकार र अनुभवी व्यक्तिले त्यसो भन्दैन ।
चीनका प्रत्येक विद्यालय र शिशुशालाको गेटमा विद्यार्थी भित्र पस्दा र बाहिर निस्किँदा दुईजना पोशाक नलगाएका प्रहरी अधिकारी बस्छन् । केही वर्षअघि एकजना बौलाहाले धारिलो चक्कुले विद्यालयमा पसेर केही बालबच्चासहित शिक्षकलाई मारेको घटना तपार्इँलाई सम्झना होला । त्यसपछि नै यो नयाँ बस्दोबस्त गरिएको हो । गेटमा प्रहरी देख्दा बालबालिकाहरू डराउँदैनन् । बरु उनीहरूलाई सलाम गर्ने, उनीहरूसँग हात मिलाउने गर्छन् । अथवा कम्तीमा ‘सन्चै हुनुहुन्छ’ सम्म सोध्न भ्याउँछन् । सिन्चियाङको विषयमा भ्रामक सूचना छर्ने अर्को व्यक्ति एड्रियन जेन्ज हुन् । उनी धार्मिक कट्टरपन्थी हुन् । उनले धेरै पुस्तक लेखेका छन् रे । चीनको कम्युनिस्ट पार्टी नष्ट गर्ने मिसनमा आफूलाई देवताले नै पठाएको दाबी गर्दै हिँड्छन् रे ।
भ्रामक सूचना फैलाउने अर्को समूह प्रवासमा बस्ने सिन्चियाङबासी हुन् । यिनलाई संरा अमेरिकाको गुप्तचर विभागसँग जोडिएका विभिन्न सङ्घसंस्थाले प्रशस्त खर्चपानी र बस्ने बस्दोबस्त मिलाएको देखिन्छ । विभिन्न सञ्चार माध्यममार्फत हामीलाई यिनले आफ्ना कथा सुनाउँदै आएका छन् । कहिलेकाहीँ त यिनले आफूले पहिले भनेका कथाभन्दा एकदम भिन्दै कथा पनि सुनाउँछन् । यिनीहरूलाई कहिल्यै पनि कुनै किसिमको सपथ खुवाइएको छैन । यिनलाई कसैले छड्के जाँच पनि गरेको छैन । यिनीहरूले पासपोर्ट र भिजा लिएर कसरी चीन छोडे भन्ने कुरा मैले चाहेर पनि बुझ्न सकेको छैन । किनभने, सिन्चियाङको सिमानामा कहीँकतै पनि शरणार्थी शिविर छैनन् ।
पत्र टुङ्ग्याउँदै गर्दा म तपार्इँलाई एउटा कुरामा आश्वस्त तुल्याउन चाहन्छु । बाहिरफेर चीनको विषयमा सकारात्मकभन्दा धेरै नकारात्मक सूचना पाइन्छ । सामुयल क्लेमेन्सको भनाइ अनुसार चीनको अन्त्यको दाबी अतिरञ्जना मात्र हो ।
चीनले सबैखाले पूर्वाधार निर्माण गरेको छ । अस्पताल, विद्यालय, विश्वविद्यालय र सिपमूलक कलेजहरू सर्वत्र छन् । संसारको जुनसुकै देशमा भन्दा बढी पुलपुलेसा, सडक र बन्दरगाहहरू छन्, सबैभन्दा तीव्र गतिमा गुड्ने रेल र लगातार चलिरहने सुस्त गतिका रेल छन् ।
५–जी सेवाको इन्टरनेट चीनको प्रत्येक कुनामा उपलब्ध छ । संसारको अर्को कुनै देशले जनतालाई यस्तो सुविधा दिन सकेको छैन । हालै मात्र म युनान, हुनान, सिचुआन र ग्वाङछी च्वाङ स्वशासित क्षेत्रका गरिबी उन्मूलन भएका गाउँहरूमा गएको थिएँ । एक ठाउँमा पनि इन्टरनेटको समस्या भोग्नुपरेन । कहीँकतै पनि मलाई सुरक्षाको कमी महसुस भएन । हुवावेले ५.५–जी सेवा जारी गर्दै छ । उसले ६–जी ल्याउन अध्ययन गर्दै छ । चीनमा साढे १ अर्ब जनता छन् । त्यसमा ५६ जाति समेटिएका छन् । गएका ४० वर्षमा उसले आधा जनतालाई कठोर गरिबीको स्थितिबाट माथि उकास्यो ।
देशैभरिलाई जोड्दा चीनमा अझै पनि २०० भाषा छन्, तर सम्पर्क भाषा एउटै छ । विभिन्न जाति वा भेगका जनताले दैनिक जीवनमा आफ्नै भाषा बोल्छन् । सार्वजनिक स्थलमा हुने घोषणा, ट्राफिक चिन्ह र अन्य धेरै सूचनाबाट यो कुरा झल्किन्छ । चिनियाँ मुद्राबाट पनि यो कुरा पत्ता लगाउन सकिन्छ ।
हाम्रो जीवनकालमै चीन विश्वको गरिब मुलुकबाट माथि उक्लिएको छ । साक्षरता दर ९९ प्रतिशतभन्दा माथि छ भने उच्च शिक्षा लिनेहरू ६० प्रतिशत छन् । एक पुस्तापछिको कल्पना गरौँ । त्यसबेला चीनका आधा अर्ब जनताले उच्च शिक्षा लिएका हुनेछन् । चीनको औसत आयु विकसित मुलुकको भन्दा कम छैन । औसत आयुमा चीनले संरा अमेरिकालाई पनि उछिनेको छ ।
चीनले तेस्रो विश्वका धेरै देशलाई ऋण दिएको छ । कोभिड महामारीमा करोडौँ पृथ्वीबासीलाई खोप, स्वास्थ्य सामग्री र मेडिकल टोलीहरू पठायो । यसमा उसलाई संसारको कुनै पनि देशले पछि पार्न सकेन ।
चीनलाई लगभग अपराधमुक्त देश भन्दा हुन्छ । बाँच्न, बालबच्चा हुर्काउन र अरूसमान जीवनयापन गर्नका लागि चीन संसारकै सबैभन्दा सुरक्षित देश हो । हालै ३२ देशमा गरिएको खुसीयाली मापनमा चीनका जनता विश्वकै खुसी जनता साबित भए । मलाई यसमा आश्चर्य लागेको छैन । छोटकरीमा भन्नुपर्दा तपार्इँले चिनियाँ खतराबारे जेजति सुन्नुभएको छ, त्यो झूटो हो । यहाँ भनिएका सम्पूर्ण तथ्य सत्य हुन् । यिनलाई जाँचले पुस्टि गर्न सकिन्छ । तपार्इँका सल्लाहकारहरू मेरो कुरामा सहमत नहोलान् । तर, तीमध्ये एकजनाले पनि मैले भनेका कुरा असत्य साबित गर्न सक्दैनन् । तिनीहरूले मेरो ज्ञान वा अनुभव फरक हो भन्न मात्र सक्लान् । तिनले म भोलाराम हुँ र मलाई सबथोकको जानकारी छैन भन्लान् । मलाई गलत सूचना दिइएको छ भन्लान् । अथवा, मैले कसैको पैसा खाएर यी विचार सुनाएको हुनाले यसबारे सोच्नुपर्दैन भन्न सक्छन् ।
अलि ध्यान दिएर हेर्ने हो भने तपार्इँलाई यस्तो सल्लाह दिएकोमा पैसा लिने तिनीहरू नै हुन् । मैले कसैको पैसा खाएको छैन । तिनीहरूको सूचना अध्ययन र विश्लेषणबाट निस्केको हो भने मैले भ्रमण र अनुभव गरेर यो ज्ञान पाएको हुँ ।
कसले पैसा पाएर बोल्यो, त्यो महत्वपूर्ण कुरा होइन । बरु बोल्ने व्यक्तिसँग आफूले बोलेको कुरा सत्य साबित गराउने अनुभव, ज्ञान र प्रमाण छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । त्यस्तो आधार छैन भने तिनले दुष्प्रचार बेचिरहेको अर्थ लाग्छ । त्यस्तो आधार छ भने हामीलाई नमीठो लागे पनि त्यो सूचना हामीले स्वीकार्नैपर्छ । एकदम पूर्वाग्रहीले मात्र प्रमाणसहितको सूचना अस्वीकार गर्न सक्छ ।
चीनको विषयमा हामी यही बिन्दुमा छौँ । ‘विज्ञहरू’ सँग आधुनिक चीनको विषयमा अधिकारपूर्वक बोल्नसक्ने अनुभव वा ज्ञान छैन । धेरै पत्रकारहरू कहिल्यै चीन गएका हुँदैनन् । कोही गइहाले पनि आफ्नो कार्यकाल ‘कोठे बैठक’ मा कटाउँछन् । चीनबारे अधिकारपूर्ण ढङ्गले बोल्न तिनीहरूसँग वास्तविक चीनको अनुभव हुन्न ।
सत्य बोल्ने केही मुखर बुद्धिजीवीलाई मिडिया र संसदभित्र आलोचना गरिएको छ । चीनबारे अल्पज्ञानी, अनुभवहीन र नैतिकरूपमा पतीत व्यक्तिहरूले यस्तो आलोचना गर्दै आएको देखिन्छ ।
ताइवानको सम्भावित कब्जा, हङकङको स्वतन्त्रतामाथि अङ्कुश, तिब्बतमा मानव अधिकार समस्या र सिन्चियाङको कथा सबै झूटा साबित भएका छन् । यति थाहा पाएपछि पनि कसैलाई चीनबाट केको खतरा हुनु ?
चीन तपार्इँको शत्रु होइन, चीन तपार्इँको शत्रु हो भन्नेहरू नै तपार्इँका शत्रु हुन् ।
चीनको यो चोङशान सहरबाट शुभकामनासहित पत्र अन्त्य गर्छु । तपार्इँ वा तपार्इँको कार्यालयले जवाफ दिनेछ भन्ने आशा छ ।
(जेरी ग्रे बेलायतका पूर्व अधिकारी हुन् । उनी अस्ट्रेलियामा रहेको एक बहुराष्ट्रिय सुरक्षा कम्पनीमा १७ वर्ष जनरल म्यानेजर थिए । उनले दुई दशकसम्म चीनमा बसेर काम गरेका छन्, चीनमा बाक्लै घुमघाम गरेका छन् । उनले अन्तर सांस्कृतिक परिवर्तन व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । जेरी ग्रे एक स्वतन्त्र पत्रकार हुन् । हाल उनी दक्षिण चीनको क्वाङतोङ प्रान्तमा बस्छन् ।)
स्रोत : शेनझेन डेली
Leave a Reply