भर्खरै :

संरा अमेरिका र नेटोले १२ वर्षअघि लिबियामा जे गरे, त्यो बिर्सन सकिन्न

संरा अमेरिका र नेटोले १२ वर्षअघि लिबियामा जे गरे, त्यो बिर्सन सकिन्न

स्टर्म डानियल नामको आँधीका कारण आएको बाढीले लिबिया अहिले ध्वस्त छ । सरकारी अधिकारीहरूका अनुसार ११ हजार ३ सय लिबियालीहरू आँधीमा परेर मरिसकेका छन् । अन्तर्राष्ट्रिय जगतले लिबियामा अहिले मानवीय सङ्कट आइरहेको बताउँदै छन् । यो सत्य हो । धेरै पर्यवेक्षकहरूले त्यहाँ जलवायु परिवर्तनको अत्यन्त घातक असर देखिएको र त्यसको निवारणको लागि तत्काल पाइला चालिहाल्नुपर्ने खाँचो औँल्याएका छन् । तर, यसबिच एउटा महत्वपूर्ण पाटोबारे छलफल भइरहेको छैन । १२ वर्षअघि लिबियामा नेटोले जे गरेको थियो त्यस विषयमा त्यति चर्चा भएको छैन ।
मार्चमा संरा अमेरिकाले राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लिबियाविरुद्ध उडान निषेधित क्षेत्र घोषणा गर्न आग्रह गरेको थियो । उसले लिबियाको मुअमर गद्दाफी सरकारले आफ्ना जनताविरुद्ध कथित मानव अधिकार हनन गरेको भन्ने आरोपमा त्यो आग्रह गरेको थियो । चीन, भारत, ब्राजिल, रुस र जर्मनीले सुरक्षा परिषद्को त्यो बैठकमा भाग लिएनन् । तर, रुसलगायत केही देशले सङ्कटको प्रयोग गर्दै सत्ता परिवर्तनको खेल नखेल्न वासिङ्टनलाई चेतावनी दिएका थिए ।
आलोचकहरूले सही आकलन गरेका थिए । आठ महिनासम्म नेटो सेनाले उजाड हुने गरी लिबियामाथि बमबारी ग¥यो । यसले लिबियाली जनजीवनलाई तहसनहस पा¥यो । लिबिया गरिबी र राजनीतिक अस्थिरताको दलदलमा फस्यो । सन् २०१५ मा इकोलोजिस्ट पत्रिकामा एक पत्रकार नाफीज अहमदले एउटा रिपोर्ट लेखे । रिपोर्टमा उनले नेटो सेनाले त्यो अफ्रिकी मुलुकको खानेपानी आपूर्ति प्रणालीमाथि बमबारी गरेर जानाजान ध्वस्त पारेको उल्लेख गरे । पानी अभाव हुँदा सिँचाइमा कमी नआओस् भनेर दशकौँअघि लिबियामा सावधानीपूर्वक निर्माण गरिएको लिबियाको राष्ट्रिय सिँचाइ प्रणाली पनि नेटोको नियोजित बमबारीमा परेर नष्ट भएको पत्रकार अहमदले लेखेका थिए ।
अहमदको रिपोर्टअनुसार खानेपानीलगायत लिबियाका भौतिक पूर्वाधारहरू ध्वस्त पारिएको थियो । रिपोर्टमा बाढीसँग सम्बन्धित बाँधजस्ता पूर्वाधारको विस्तृत चर्चा छैन । रिपोर्टमा त्यो कुरा नपर्नु स्वाभाविक पनि थियो किनभने बाढी त्यसबेला लिबियाजस्तो मरुभूमिको देशका लागि त्यति गम्भीर समस्या थिएन । सन् २०११ म नेटो हमलाका कारण लिबियामा भएको क्षतिको विषयमा पुनः अनुसन्धान गर्नुपर्छ र क्षतिपूर्तितिर लाग्नुपर्छ ।
इतिहासमा यसप्रकारको अनुसन्धान र क्षतिपूर्तिको नजीर पनि छ । सन् १९८६ मा संरा अमेरिकाले निकारागुआको विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हा¥यो । अदालतले मध्य अमेरिकी देश निकारागुआविरुद्ध संरा अमेरिकाले ‘अवैध बल प्रयोग गरेको’ ठहर ग¥यो । निकारागुआका भौतिक पूर्वाधार र जहाजहरूमा हमला गरेको, देशका बन्दरगाहहरूमा माइनहरू बिछ्याएको, मानागुआ विमानस्थल ध्वस्त पारेको र निकारागुआ सरकारविरुद्ध लड्ने कोन्ट्रा नामक छापामार दस्तालाई सहयोग गरेको पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय अदालतको फैसला अनुसार आज पनि संरा अमेरिकाले त्यो देशलाई क्षतिपूर्ति गर्नुपर्छ । तर, उसले क्षतिपूर्ति दिन आनाकानी गर्दै आएको छ । उसले अन्तर्राष्ट्रिय अदालतको त्यो फैसलालाई टेरपुच्छर लगाएको छैन ।
संरा अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूले त्यतिबेला लिबियामाथि आर्थिक प्रतिबन्ध लगाए । त्यसले गर्दा लिबियाको सामाजिक र आर्थिक पुनः निर्माणले गति लिन सकेन । आज पनि आर्थिक प्रतिबन्धले लिबियाको अर्थतन्त्रमा विकराल समस्या ल्याइरहेको छ । पुनः निर्माणको प्रक्रिया कछुवा चालले अघि बढ्दै छ । संरा अमेरिका र पश्चिमा देशहरूले लिबियालाई नैतिक र भौतिक सहयोग गर्ने भने पनि व्यवहारमा सिन्को भाँचिएको छैन । त्यसैले आफ्नै स्रोतसाधनको भरमा पुनः निर्माण गर्न लिबियालाई गाह्रो पर्दै छ ।
लिबियाको भद्रगोल स्थितिका लागि संरा अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा देशहरू दोषी छन् । तिनीहरूले बाहिरबाट लिबियामाथि द्वन्द्व लादे । यद्यपि उनीहरूले लिबियाली जनतालाई सहयोग गर्नुपर्ने आफ्नो कर्तव्य र दायित्व पूरा गरेका छैनन् । उदाहरणको लागि लिबियामा विपद् आएपछि लिबियाको सङ्कटको लागि जिम्मेवार सबैभन्दा ठूला शक्ति संरा अमेरिका र युरोपेली देशहरूले राहत दिने सवालमा कन्जुसी गरेका छन् । संरा अमेरिकाले खालि १० लाख डलरको मानवीय सहयोग दियो । संरा अमेरिकाले १० लाख युरो बराबरको सहयोग दिने घोषणा ग¥यो । पश्चिमी देशहरूले दिएको सहयोग हात्तीको मुखमा जिरासरह हो ।
यहाँ एउटा कुरा भन्नैपर्छ । हालैमात्र अमेरिकीहरू आफ्नो देशमाथि भएको सेप्टेम्बर ११ को हमलाको स्मृति मनाउन भेला भएका थिए । त्यति नै बेला लिबियामा बाढी आयो । सेप्टेम्बर ११ मा आतङ्ककारी सङ्गठन अलकायदाले जति अमेरिकीहरूको हत्या गरेको थियो, बाढीले त्योभन्दा ठूलो सङ्ख्यामा लिबियाहरूको ज्यान लियो ।
मिडिया यसबारे तैँ चुप मै चुप छ । यसबाट मानव जीवनलाई कति कम महत्व दिइन्छ र फरक ठाउँका मान्छेलाई कति फरक नजरले हेरिन्छ भन्ने कुरा देखाउँछ । यसबाट पश्चिमाहरूको खतरनाक राष्ट्रिय अहङ्कार पनि उजागर हुन्छ । आफ्ना देशवासीहरूको मृत्युमा अमेरिकी समाजले शोक मनाइरहेको बेला अमेरिकी साम्राज्यवादको शिकार बनेका जनताको पीडाप्रति त्यही समाज कति उदासीन देखिन्छ । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम युद्ध लडेका र ‘एजेन्ट ओरेन्ज’ जस्ता घातक गोलाबारुदको सिकार बनेका अमेरिकी पूर्वलडाकुहरूलाई नयाँ चरणको सहयोग गर्ने घोषणा गरे । तर, भियतनाम भ्रमणमा निस्किने बेला उनले ती गोलाबारुदका कारण अङ्गभङ्ग भएका र जन्मौटे खोट लिएर जन्मेका त्यो एसियाली मुलुकका बासिन्दाको विषयमा एक शब्द बोलेनन् । अमेरिकी साम्राज्यवाद पाखण्डै पाखण्डको जगमा उभिएको छ । ऊ आफ्ना कथित मूल्यमान्यताको धक्कु लगाउँछ तर आफूलाई अमिल्दो भए तिनै मूल्यमान्यतालाई लत्याउँछ । यो पाखण्डको पराकाष्ठा हो । संरा अमेरिकाले आत्मसमीक्षा गर्नैपर्छ । उसले पछि फर्केर आफ्ना अपराधहरूलाई हेर्नुपर्छ र समझदारीले काम गर्नुपर्छ ।
(लेखक प्रागमा बस्ने अमेरिकी पत्रकार एवम् राजनीतिक विश्लेषक हुन् ।)
स्रोत : ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *