भर्खरै :

भारतमा प्रजातन्त्रको विसर्जनले पूरा विश्वमा असर पर्नेछ

भारतमा प्रजातन्त्रको विसर्जनले पूरा विश्वमा असर पर्नेछ

(अरून्धती रोयलाई यही सेप्टेम्बर १२ मा प्रकाशित उनको रचनाको फ्रान्सेली अनुवादको अवसर पारेर आजीवन योगदानको कदर गर्दै ४५ औँ युरोपेली निबन्ध पुरस्कार दिइएको छ । उनको निबन्ध सङ्गालोको नाम ‘आजादी : स्वतन्त्रता, फासीवाद, आख्यान’ हो ।)
मलाई युरोपेली निबन्ध पुरस्कार २०२३ ले सम्मानित गर्ने चाल्र्स भेइलन फाउन्डेसनलाई म धन्यवाद दिन्छु । झट्ट हेर्दा मेरो खुसी बाहिर नदेखिन सक्छ । तर, म अत्यन्त खुसी छु । मेरो अपार खुसीको कारण के भने यो पुरस्कार साहित्यको लागि दिइएको हो । यो शान्ति, संस्कृति वा सांस्कृतिक स्वतन्त्रताका लागि दिइएको पुरस्कार होइन । लेखनका लागि दिइएको हो । मैले लेख्ने गरेजस्तो निबन्धका लागि दिइएको पुरस्कार हो । विगत २५ वर्षदेखि मैले एकै धारमा निबन्ध लेखिरहेकी छु ।
तिनीहरूले बहुमतवाद हुँदै पूर्ण फासीवादमा खस्किँदो भारतको स्थितिलाई पाइलापाइला गर्दै रेखाङ्कित गरेका छन् । (यसैलाई कसैले उकासिँदो स्थिति पनि मान्नु अर्को कुरा हो ।) हो, हामीकहाँ अझै चुनाव भइरहेका छन् । संसदीय पदलाई सुनिश्चित गर्न सत्तारुढ भारतीय जनता पार्टीले साढे १ अर्ब जनताबिच अविराम हिन्दू वर्चस्ववादको सन्देश प्रसार गरिरहेको छ । यसकारण, निर्वाचनको समयमा हत्याहिंसा, भिडले गर्ने हत्या र वैमनस्यपूर्ण भाषणबाजीको बिगबिगी हुन्छ । मुसलमान र इसाईलगायत भारतीय अल्पसङ्ख्यकहरूका लागि निर्वाचन सबैभन्दा खतरनाक समय हुने गरेको छ ।
अहिले हामी हाम्रा राजनीतिक नेताहरूसँग मात्र डराएर पुग्दैन, जनताको एउटा समुदायबाट नै डराउनुपर्ने अवस्था छ । हाम्रा सडक, कक्षा कोठा र धेरै सार्वजनिक स्थलहरूमा दुष्टता खुलेआम देखिन्छ । मूलधारका मिडिया र चौबिसै घण्टा चल्ने सयौँ समाचार माध्यमहरूलाई फासीवादी बहुमतवादको उद्देश्य पूर्तिका लागि मुठ्ठीमा राखिएको छ । भारतको संविधान एकातिर थन्काइएको छ । भारतीय दण्डसंहिता पुनःलेखन गरिएको छ । सन् २०२४ मा वर्तमान सत्तारुढ दलले नै बहुमत ल्यायो भने नयाँ संविधान नै बन्ने सम्भावना छ ।
संसदीय क्षेत्रहरूको पुनः सीमाङ्कन हुने धेरै सम्भावना छ । भाजपाको गढ रहेका हिन्दीभाषी उत्तर भारतबाट लोकसभामा धेरै सीट तोकिनेछ । यसले गर्दा दक्षिण भारतमा ठूलो असन्तोष फैलिनेछ र त्यसले भारतमा विखण्डन ल्याउन सक्छ । सन् २०२४ को निर्वाचनमा भाजपाले हार्ने सम्भावना झिनो छ । पराजित नै भयो भने पनि जातिवादी विषले जरा गाडिसकेको स्थिति छ । शक्ति सन्तुलन ल्याउने सबै सार्वजनिक संस्थानहरूमा वर्चस्ववादको विष मिसिसकेको छ । अहिले नै पनि सर्वोच्च अदालत छैन भन्दा हुन्छ । सर्वोच्च अदालत एकदम कमजोर र निरीह बनिसकेको छ ।
यो प्रतिष्ठित पुरस्कारका लागि यहाँहरूलाई पुनः धन्यवाद । मेरो कार्यको सराहना गर्नुभएकोमा धन्यवाद । यद्यपि, मैले भन्नैपर्छ । यो लाइफटाइम अचिभमेन्ट पुरस्कार थाप्दा व्यक्तिले आफू वृद्ध भएको महसुस गर्छ । मैले म बुढी भएकी छैन भनेर स्वाङ पार्न अब मिल्ने छैन । हामी जता जाँदै छौँ, त्यसबारेमा मैले लगातार २५ वर्षसम्म लेखेँ र यसबापत अहिले म यो पुरस्कार थाप्दै छु । यो विरोधाभाषपूर्ण पनि छ । मैले जुन चेतावनी दिँदै आएकी थिएँ, त्यो कुरा लुकेको थिएन । उदारवादीहरू प्रायः मेरो लेखनीलाई उपहास र आलोचना गर्थे । केही कथित ‘प्रगतिशीलहरू’ को रवैया पनि त्यस्तै थियो ।
अब त चेतावनीको समय पनि टुङ्गिएको छ । हामी इतिहासको अर्कै चरणमा छौँ । लेखकको रूपमा मलाई लाग्छ, मेरो लेखनी मेरो देशको जीवनमा आउँदै गरेको अन्धयुगको साक्षी बन्नेछ । आशा छ, मजस्तै अन्य लेखकका कार्यहरू पनि जीवित रहनेछन् । यद्यपि, तत्कालीन स्थितिबारे हामी सबैजना पूर्ण सहमत थिएनौँ ।
निबन्ध लेखकको रूपमा मेरो जीवन योजनाबद्ध थिएन । लेख्दालेख्दै निबन्ध लेखक हुन पुगेँ ।
मेरो पहिलो पुस्तक ‘द गड अफ स्मल थिङ्ग्स’ सन् १९९७ मा प्रकाशित भयो । बेलायती उपनिवेशवादबाट भारत मुक्त भएको ५० औँ वर्षको अवसरमा त्यो उपन्यास छापिएको थियो । शीतयुद्ध टुङ्गिएको आठ वर्ष भएको थियो । सोभियत समाजवाद अफगान युद्धको खण्डहरमा पुरिएको थियो । अमेरिकाको दबदबा रहेको एकध्रुवीय विश्वको ढोका खुल्दै थियो । पुँजीवादको कुनै प्रतिस्पर्धी बाँकी थिएन । भारत संरा अमेरिकातिर ढल्कियो र आफ्नो बजारको ढोका कर्पोरेट पुँजीको लागि खुला ग¥यो ।
निजीकरण र संरचनात्मक समायोजन खुला बजारका आधारभूत सर्त थिए । भारतले अन्तर्राष्ट्रिय मञ्च पाइरहेको थियो । त्यति नै बेला सन् १९९८ मा भाजपा नेतृत्वको हिन्दू राष्ट्रवादी सरकार सत्तासीन भयो । त्यसको पहिलो काम लगातार आणविक परीक्षण गर्नु थियो । त्यसलाई लेखक, कलाकार र पत्रकारलगायत धेरै मानिसहरूले स्वागत गरे । उग्र र अन्धराष्ट्रवादी स्वरमा आणविक परीक्षणको गुणगान गाइयो । सार्वजनिक बहसको विषय मोडियो ।
मेरो पहिलो उपन्यासले बुकर पुरस्कार प्राप्त गरेपछि मलाई यो आक्रामक नयाँ भारतको सांस्कृतिक दूतको रूपमा चित्रित गरियो । म प्रमुख पत्रिकाहरूको आवरणमा छापिएँ । मैले केही भनिनँ भने म यी सबै कुरामा सहमत छु भन्ने ठानिने थियो । बोल्नु र चुप रहनु दुवैको राजनीतिक अर्थ हुन्छ भन्ने मैले बुझेकी थिएँ । फेरि म बोलेँ भने साहित्यिक संसारकी राजकुमारीको मेरो करियरको अन्त्य हुनेछ भन्ने पनि मलाई हेक्का थियो । त्यो भन्दा पनि परिणामको वास्ता नगरी मैले आफ्नो बुझाइ लेखिन भनेँ म आफ्नै ठूलो शत्रु बन्नेछु र फेरि कहिल्यै लेख्न बस्नेछुइन भन्ने मैले बुझेकी थिएँ ।
त्यसैले आफ्नै लेखकत्व जोगाउन मैले लेखेँ । मेरो पहिलो निबन्ध ‘द इन्ड अफ इम्याजिनेसन’ आउटलुक र फ्रन्टलाइनजस्ता धेरै ग्राहक सङ्ख्या भएको पत्रिकामा एकैचोटि प्रकाशित भयो । लगत्तै त्यसलाई विश्वासघाती र राष्ट्रविरोधी करार गरियो । बुकर पुरस्कारजत्तिकै उचाइबाट त्यसले घृणा पायो । यसले मलाई लेखनीको एउटा लामो यात्रामा हिँडायो । बाँध, नदी, विस्थापन, जातपात, खानी, गृहयुद्धबारे लेखायो । यो यात्राले मेरो बुझाइ झन् गहिरियो । मेरो आख्यान र गैरआख्यान एकआपसमा कसरी गाँसिए भने अब तिनलाई एकअर्काबाट छुट्याउन सकिन्न ।
मेरो पुस्तक ‘आजादी’ को एउटा निबन्धबाट एउटा छोटो अंश पढ्छु । निबन्धको शीर्षक छ ‘साहित्यको भाषा’ ।
“निबन्धहरू पहिलोचोटि प्रकाशित हुँदा (सुरुमा पत्रिकामा, त्यसपछि इन्टरनेटमा र अन्त्यमा पुस्तकाकारमा) तिनलाई कम्तीमा केही वृत्तमा घातक शङ्काको दृष्टिले हेरियो । विद्यमान राजनीतिमा सहमत नहुनुले पनि त्यसरी नै हेर्दै थिए । साहित्यलाई परम्परागतरूपमा जसरी हेरिन्थ्यो, लेखनीले त्यसमा केही कोण लिएर बस्यो । न्वारन गर्नमा झुकाव राख्नेहरूले घातक दृष्टिले हेर्नु जायज थियो किनभने तिनीहरूले यो पर्चा हो वा व्यङ्गय, बौद्धिक लेखन हो वा पत्रकारी लेख, यात्रा संस्मरण वा कुनै सादा साहित्यिक दुस्साहस हो, छुट्याउन सकिरहेका थिएनन् ।
केहीका लागि यो लेखन नै थिएन । “ए किन लेख्न छोडेको ? हामी तिम्रो अर्को पुस्तक पर्खिरहेका छौँ ?” कसैको लागि म पैसाका लागि लेख्ने कलम थिएँ । मसामु सबैखाले प्रस्तावहरू आए, “तिमीले बाँधको विषयमा लेखेको लेख मलाई मन प¥यो प्यारी । के मेरो लागि तिमी बाल दूराचारबारे लेखिदिन सक्छ्यौ ?” (मैले लेखेँ पनि ।) विशेषतः ठूला जातका पुरुषहरूले मलाई कसरी लेख्ने भन्ने विषयमा लेक्चर दिए । मैले केको विषयमा लेख्ने र कस्तो लयमा लेख्ने उनीहरूले कठोरतापूर्वक मेरो कक्षा लिए ।
तर, अन्य ठाउँमा यसलाई राजमार्गभन्दा बाहिर भन्न मिल्छ, त्यहाँ मेरा निबन्धहरू भारतका अन्य भाषामा उल्था भए, पर्चाका रूपमा छापिए, वनजङ्गल र नदी तथा उपत्यकाहरूमा सित्तैमा वितरण भए । सेनाको हमलामा परेका गाउँहरूमा मेरा निबन्धहरू पुगे । झूटा कुरा सिक्दासिक्दा वाक्क भएका विश्वविद्यालयका विद्यार्थीहरूबिच मेरा निबन्ध पुगे । आगोले डामेका यी अग्रमोर्चाका पाठकहरूको राय अर्कै थियो । साहित्य के हो र कस्तो हुनुपर्छ यिनलाई थाहा थियो ।
यो कुरा राख्नुको पछाडि मेरो तात्पर्य के भने साहित्यको स्थान लेखक र पाठकले तय गर्छन् । केही हदसम्म यो कच्चा छ, तर निश्चिय नै अविनाशी छ । भत्कियो नै भने पनि यसको पुनः निर्माण गरिन्छ । किनभने, हामीलाई बास चाहिन्छ । साहित्य आवश्यकताअनुसार हुनुपर्छ भन्ने विचार मलाई निकै मन पर्छ । बास दिने साहित्य । सबै खालको बास दिने साहित्य ।”
आज भारतका कुनै पनि मूलधारका मिडिया घरानाले त्यसप्रकारका निबन्धहरू छाप्लान् भन्नु कल्पनाबाहिरको कुरा हो । यी सबै मिडिया कर्पोरेट विज्ञापनले चल्छन् । बितेका २० वर्षमा खुला बजार, फासीवाद र कथित स्वतन्त्र प्रेस मिलेर एउटै लयमा नाचे र भारतलाई यस्तो ठाउँमा पु¥याए जसलाई कसै गरे पनि लोकतन्त्र भन्न मिल्दैन ।
यो वर्ष जनवरीमा दुइटा घटना भए । यी घटना अर्को तरिकाले हुनै सक्थेनन् । बीबीसीले दुई भागमा ‘इन्डियाः द मोदी क्वेस्चन’ नामक वृत्तचित्र प्रसारण ग¥यो । त्यसको केही दिनपछि एउटा सानो अमेरिकी अनुसन्धान संस्था हिन्डेनबर्ग रिसर्चले हिन्डेनबर्ग रिपोर्ट प्रकाशित ग¥यो । यो अनुसन्धान संस्थाले विशेषगरी सुरक्षा मामिला हेर्छ । हिन्डेनबर्ग रिपोर्टले भारतको सबैभन्दा ठूलो कर्पोरेट अडानी समूहको रन्थनाउने कर्तुतको सविस्तार खुलासा गरेको थियो ।
बिबिसी—हिन्डेनबर्ग घटनालाई भारतीय मिडियाले यसरी चित्रण गरे मानौँ भारतका ट्वीन टावर प्रम मोदी र भारतका सबैभन्दा ठूला पुँजीपति गौतम अडानीमाथि हमला भएको हो । केही समयअघि अडानी विश्वका तेस्रो ठूलो धनकुवेर थिए । भारतका ट्वीन टावरमाथि लागेको आरोप सानोतिनो थिएन । बिबिसीको वृत्तचित्रमा मोदीलाई नरसंहारकको रूपमा चित्रित ग¥यो । हिन्डेनबर्ग रिपोर्टले अडानीलाई ‘कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो ठग’ को तहमा आरोप लगायो । अगस्ट ३० तारिखमा ‘द गार्जियन’ र ‘फाइनान्सियल टाइम्स’ ले ‘सङ्गठित अपराध र भ्रष्टाचार रिपोर्टिङ परियोजना’ नामक सङ्गठनले जारी गरेका प्रमाणिक दस्तावेजहरूको आधारमा केही लेखहरू प्रकाशित गरे । यी लेखले पनि हिन्डेनबर्ग रिपोर्टले नै लगाएका आरोप पुष्टि गरे ।
भारतका अनुसन्धान संस्था र धेरैजसो भारतीय मिडियाहरू यस्ता सामग्रीहरू खोजतलास गर्ने वा प्रकाशित गर्ने स्थितिमा छैनन् । विदेशी मिडियाले त्यो काम गर्दा अहिलेको लुकेको अति राष्ट्रवादी माहोलमा त्यसलाई भारतीय सार्वभौमिकतामाथिको हमला भयो भनी चित्रण गर्न सजिलो छ ।
बिबिसीको वृत्तचित्र ‘द मोदी कोइस्चन’ को पहिलो भागमा सन् २००२ को मुसलमानविरोधी नरसंहार देखाइएको छ । ५९ जना हिन्दू तीर्थयात्रीहरूलाई रेलको डिब्बामा जिउँदै जलाएको आरोपमा गुजरातका मुसलमानहरूलाई मारिएको थियो । त्यो हत्याकाण्ड हुनुभन्दा केही महिनाअघि मात्र मोदी गुजरातको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी निर्वाचित मुख्यमन्त्री थिएनन् । वृत्तचित्रमा खालि हत्याहिंसाको मात्र चर्चा छैन, बरु केही पीडितहरूको २० वर्ष लामो कानुनी सङ्घर्ष पनि देखाइएको छ । आस्था बचाउँदै, न्याय र राजनीतिक जवाफदेहिताको आशामा तिनीहरू २० वर्षसम्म भारतको जञ्जालपूर्ण कानुन व्यवस्थासँग हेलिएका थिए ।
वृत्तचित्रमा घटनाका प्रत्यक्षदर्शी इम्तियाज पठानको मार्मिक बयान छ । उनले ‘गुलबर्ग सोसाइटी हत्याकाण्ड’ मा १० जना परिवारजन गुमाएका थिए । एउटा भिडले त्यहाँ ६० जना मानिसलाई एकै चिहान बनाएको थियो । त्यसमा पूर्वसांसद एहसान जाफरीलाई काटेर जिउँदै जलाइएको थियो । उनी मोदीका राजनीतिक प्रतिस्पर्धी थिए । हत्याकाण्ड हुनुभन्दा केही महिनाअघिको चुनावी प्रचारप्रसारको क्रममा उनले मोदीविरुद्ध राजनीतिक अभियान चलाएका थिए । तिनताका गुजरातमा धेरै मारकाट भएका थिए । ‘गुलबर्ग सोसाइटी हत्याकाण्ड’ तिनै दारुण नरसंहारमध्ये एक थियो ।
वृत्तचित्रमा नदेखाइएको अर्को हत्याकाण्ड १९ वर्षीया बिल्किस बानोको सामूहिक बलात्कार थियो । बलात्कारीहरूले उनको परिवारका १४ सदस्यलाई मारेका थिए । त्यसमा उनकी ३ वर्षीय छोरी पनि मारिएकी थिइन् । गत अगस्टमा भारतको स्वतन्त्रता दिवसको अवसरमा मोदीले राष्ट्रको नाममा सम्बोधन गरे । सम्बोधनमा उनले महिला अधिकारको महत्वबारे बोले । तर, सोही दिन उनको सरकारले बिल्किस बानो र उनको परिवारका बलात्कारी र हत्याराहरूलाई आममाफी दियो । ती दोषीहरूले यसअघि आजीवन काराबासको सजाय झेलिरहेका थिए । काराबास सजायको धेरै समय तिनीहरूले जरिवाना तिरेर जेलबाहिरै कटाएका थिए । अहिले तिनीहरू मुक्त भएका छन् । तिनीहरूलाई कारागारबाहिर फूलमालाले स्वागत गरियो । तिनीहरू अहिले समाजका सम्मानित व्यक्ति बनेका छन् र सार्वजनिक कार्यक्रमहरूमा तिनीहरू भाजपाका नेताहरूबिच बसेका भेटिन्छन् ।
बिबिसीको वृत्तचित्रमा बेलायती परराष्ट्र मन्त्रालयले २००२ अप्रिलमा जारी गरेको आन्तरिक प्रतिवेदन सार्वजनिक ग¥यो । प्रतिवेदनमा ‘कम्तीमा २ हजार’ मानिस मारिएको अनुमान गरिएको थियो । प्रतिवेदनले गुजरात दङ्गालाई योजनाबद्ध नरसंहार करार गरेको थियो । त्यसमा ‘जातीय सफायाका सम्पूर्ण लक्षण’ रहेको प्रतिवेदनको ठहर थियो । प्रहरीलाई केही नगरी बस्न आदेश आएको थियो भनी प्रतिवेदनले उच्च स्रोतको हवाला दिएको थियो । प्रतिवेदनले सिधै मोदीलाई यसको दोष दिएको छ । गुजरात नरसंहारपछि संरा अमेरिकाले मोदीलाई भिजा दिन अस्वीकार ग¥यो । मोदीले लगातार तीनवटा निर्वाचन जिते र सन् २०१४ सम्म गुजरातका मुख्यमन्त्री बनिरहे । उनी प्रधानमन्त्री बनेपछि संरा अमेरिकाले उनीमाथि लगाएको प्रतिबन्ध हटायो ।
मोदी सरकारले बिबिसीको वृत्तचित्रमाथि प्रतिबन्ध लगायो । सामाजिक सञ्जालका प्रत्येक मञ्चमा सो वृत्तचित्रमाथि प्रतिबन्ध लगाइएको छ भने त्यसको लिङ्क र चर्चासमेत हटाइएको छ । वृत्तचित्र सार्वजनिक भएको हप्तादिनभित्रै बिबिसीको कार्यालयलाई प्रहरीले घेराबन्दी ग¥यो र कर कार्यालयका अधिकारीहरूले खानतलासी लिए ।
…बाँकी भोलिको अङ्कमा
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *