भर्खरै :

सङ्घीयताविरोधी विद्यालय शिक्षा विधेयकविरुद्ध भक्तपुरमा जुलुस र सभा

सङ्घीयताविरोधी विद्यालय शिक्षा विधेयकविरुद्ध भक्तपुरमा जुलुस र सभा

भक्तपुर, ४ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा सरकारद्वारा संसद्मा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा रहेका सङ्घीयताविरोधी दफा र शिक्षक हकहितविरोधी दफाहरूका विरुद्ध बिहीबार शिक्षक ¥याली भयो । स्थानीय च्याह्मासिंहबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी दरबार स्क्वायरमा पुगी सभामा परिणत भयो ।
सभाअघि आयोजक सङ्घको केन्द्रीय समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाइएको थियो । बिहीबारमात्रै पदबहालमा रहनुभएका प्रजिअ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरमा स्वागत गर्दै सफल कार्यकालको शुभकामनासहित सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी शिक्षकहरू पनि राजनीतिक प्राणी हौँ । हामी विद्यार्थीलाई राजनीति पढाउँछौ; टोल–समाजमा राजनीति बुझाउँछौ तर प्रस्तुत विधेयकले हाम्रो राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेको छ । देशको सीमा मिचिँदा हामीले भारतीय विस्तारवाद किन भन्न नपाउनू ? हामीले अमेरिकी कानुन लागु गर्ने एमसीसीको विरोधमा देशभक्तिको भावना किन व्यक्त गर्न नपाउनु ? त्यसकारण, विधेयकको विरोधमा प्रजिअले पनि हामीलाई साथ दिनुहुने विश्वास छ ।”
उहाँले थप भन्नुभयो, “हामी सामाजिक प्राणी पनि हौँ, समाजमा हुने अनेक अमान्य अत्याचारको विरोधमा हामी बोल्न सक्छौँ, लेख्न सक्छौँ । तर, प्रस्तुत विधेयकले हाम्रो वाक् स्वतन्त्रता हनन गर्न खोजेको छ । यस्ता अप्रजातान्त्रिक दफाहरू खारेज होस् भनेर हामी ज्ञापनपत्र बुझाउन आएका हौँ ।”
प्रजिअ श्रेष्ठले ज्ञापनपत्र तत्काल नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय र शिक्षा तथा प्रविधि मन्त्रालयमा पठाइदिने वचन दिनुभयो ।
ज्ञापनपत्र बुझाइसकेपछि भएको विरोधसभामा अध्यक्ष प्रजापतिले ¥यालीमा सहभागी शिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्दै हामी कक्षा पनि सञ्चालन गर्छौँ, आन्दोलन पनि अगाडि बढाउँछौँ भन्नुभयो ।
विगतमा दुईपटकसम्म अनिश्चितकालीन विद्यालय बन्द आह्वान असफल भएको चर्चा गर्दै उहाँले आन्दोलन लामो समयसम्म जानसक्ने हुँदा हामी त्यहीअनुसार तयारीमा छौँ भन्नुभयो ।
हामी मावि तहसम्म संविधानअनुसार स्थानीय पालिकालाई सबल र सक्षम बनाउनुपर्ने पक्षमा छौँ भन्दै उहाँले कक्षा १२ सम्म पूर्ण निःशुल्क गर्न आवश्यक सम्पूर्ण दायित्व राज्यले बहन गर्नुपर्छ भन्नुभयो ।
शिक्षक एकताको बेला कसैलाई धम्की नदिन सचेत पार्दै उहाँले शिक्षक एकता शासक दलहरूकै कारण टुक्रिएको इतिहास प्रस्ट्याउनुभयो ।
सभामा सङ्घका केन्द्रीय सदस्य अम्बिका न्याइच्यार्यले पूर्व प्रावि तहमा कार्यरत जनशक्तिलाई विधेयकमा शिक्षकको दर्जा नै नदिइएकोमा आपत्ति जनाउँदै शिक्षकको मानमर्दन नगर्न चेतावनी दिनुभयो ।
सभामा नेक्राशिसङ्घ सूर्यविनायक नगर समितिका सदस्य हरिप्रसाद ढकाल, चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणप्रसाद दुलाल, भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसा र सदस्य राकेश सुकुपायोले पनि बोल्नुभएको थियो ।
¥यालीमा ‘देश र जनताको हितमा राजनीति गर्न पाउनैपर्छ, कक्षा १२ सम्मको शिक्षा निःशुल्क र अनिवार्य गर, शिक्षामा लगानी २४ प्रतिशत पु¥याउनैपर्छ, राष्ट्रिय स्तरको एसईई कायम गर, राहत शिक्षकहरूलाई शतप्रतिशतको कोटा कायम गर, विद्यालय कर्मचारी दरबन्दी सिर्जना गर’ लगायतका नाराहरू लगाइएका थिए ।
¥याली सुरु हुनुअघि च्याम्हासिंहमा आयोजक जिल्ला समितिका सदस्य घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *