भर्खरै :

भक्तपुर साकोसमा संस्थापक तथा पूर्व सञ्चालक भेला

भक्तपुर साकोसमा संस्थापक तथा पूर्व सञ्चालक भेला

भक्तपुर, ९ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा संस्थाको २६ औँ वार्षिक साधारणसभाको अवसरमा संस्थापक तथा पूर्व पदाधिकारीहरूको भेला कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले भक्तपुर बचत तथा ऋण सहकारी संस्था स्थापनाकालदेखि आजसम्म संस्थामा आबद्ध सबैले निःस्वार्थरूपमा सेवाभावले संस्थाको हितलाई ध्यानमा राखी काम गरेकाले अहिले एउटा नमुना सहकारीको रूपमा अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले असोज २८ गते हुन लागेको संस्थाको २६ औँ वार्षिक साधारणसभाको बारेमा जानकारी गराउनुभयो ।
संस्थाका उपाध्यक्ष निर्मल प्रजापतिले वित्तीय क्षेत्रमा आएको तरलताको समस्याको असर सबै सङ्घ संस्थामा परेको कारण संस्थाले सदस्यहरूको ऋण मागअनुसार लगानी गर्न नसकेको बताउनुभयो । उहाँले संस्थामा आबद्ध सम्पूर्ण सदस्यले आफ्नो व्यक्तिगत तथा व्यवसायिक कारोबार संस्थाबाट गर्न हुन आग्रह गर्नुभयो ।
संस्थाका सञ्चालक सदस्य जगनाथ प्रजापतिले संस्थाको वित्तीय विवरणअनुसार हालसम्ममा ३६३ करोडभन्दा बढी कुल सम्पत्ति भएको जानकारी गराउनुभयो । उहाँले समुदायमा आधारित सहकारीहरूमा भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले प्राप्त गरेको सफलता संस्था स्थापना गर्ने संस्थापक तथा हालसम्म समिति उपसमितिमा रही काम गर्ने व्यक्तिहरूको साथै संस्थाको हरेक गतिविधिमा निःस्वार्थपूर्वक सेवा र साथ दिने व्यक्तिहरूको सहयोग रहेको बताउनुभयो ।
संस्थाका सल्लाहकार एवं पूर्व लेखा समिति संयोजक कृष्णप्रसाद धन्छा, संस्थापक अध्यक्ष सत्यनारायण प्रजापति, सल्लाहकार एवं पूर्वअध्यक्ष रत्नप्रसाद प्रजापति, संस्थापक उपाध्यक्ष रवीन्द्र प्रजापति तथा संस्थापक केदारमान ज्याख्वले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव लक्ष्मीप्रसाद कुसीले भेलाको उद्देश्यबारे स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *