भर्खरै :

भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठ र प्रहरी उपरीक्षक वेद बिष्टलाई स्वागत

भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठ र प्रहरी उपरीक्षक वेद बिष्टलाई स्वागत

भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक वेद बिष्टको स्वागत तथा परिचयात्मक कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
नगर प्रमुख प्रजापतिले प्रजिअ श्रेष्ठ र प्र.उ. बिष्टलाई पुष्प गुच्छा र खादाले स्वागत गर्दै उहाँहरूको कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले जनतासँग मिलेर पारदर्शी ढङ्गले काम गरेकै कारण नगरपालिकाका हरेक गतिविधिमा जनस्तरबाट साथ र सहयोग प्राप्त भएको विचार राख्नुभयो ।
भक्तपुरका विभिन्न प्रमुख जिल्ला अधिकारीको कार्यकालमा भएका उपलब्धिमूलक कार्यहरूको स्मरण गर्दै उहाँले जनप्रतिनिधि स्थानीय जनता र साथ र सहयोगले शक्तिकै कारण भक्तपुर नपाले जनताको हितमा काम गर्न सम्भव भएको बताउनुभयो ।
सभ्य र सुसंस्कृत समाज निर्माणमा भक्तपुरका जनता आफै स्वतःस्फूर्त रूपमा लागेको बताउँदै उहाँले साहसिक काम गर्ने मान्छेलाई समाजमा सधँै सम्झिरहने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाका हरेक काममा जिल्ला प्रशासन कार्यालयबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै भक्तपुरको शान्ति सुरक्षा कायम गर्ने विषयमा सधैँ समन्वयकारी भूमिकाबाट काम हुने बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारी श्रेष्ठले भक्तपुरको शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापन, सुशासनलगायत क्षेत्रमा समन्वयकारी र साझेदारीपूर्ण ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरी उपरीक्षक बिष्टले सांस्कृतिक नगरी भक्तपुरको शान्ति सुरक्षाको सवालमा आफ्नो तर्फबाट समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले स्वागत मन्तव्य राख्नुभयो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभयो । नगर प्रमुख प्रजापतिले प्रजिअ श्रेष्ठलाई भक्तपुर नगरपालिकाको प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *