भर्खरै :

डिग्रोथ : एक अहम् पुनःजागरण

डिग्रोथ : एक अहम् पुनःजागरण

मानिसहरू डिग्रोथमा रुचि लिँदै छन् । जलवायु परिवर्तनको रणनीतिक विकल्पको रूपमा धेरै समयदेखि डिग्रोथबारे चर्चा हुँदै आएको छ । वामपन्थी खेमाबाट मात्र यसबारे कुरा आएको होइन । विश्व तापमान लगातार बढिरहँदा र जलवायुमा ठूलो उत्पात मच्चिरहेको बेला छ । यतिखेर डिग्रोथमा पुनःजागरण हुँदै छ ।
यो वर्षको मे महिनामा युरोपमा भएको तीनदिने सम्मेलनको मूल विषय डिग्रोथ नै थियो । सम्मेलनको शीर्षक ‘ग्रोथभन्दा पर २०२३’ राखिएको थियो । सहभागीहरूमा धेरै युवा र जाँगरिला व्यक्तिहरू थिए । उनीहरूको हुलले युरोपेली संसद् भवन भरिएको थियो । सो संसद्का २० जना वामपन्थी सांसद्हरूको आयोजनामा सो सम्मेलन भएको थियो । त्यसको उद्घाटन युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले गरेकी थिइन् ।
‘इकोनोमिस्ट’ पत्रिकामा प्रकाशित रिपोर्टअनुसार सम्मेलनमा सामाजिक पतन रोक्न कुनै न कुनै रूपमा डिग्रोथ अत्यावश्यक हुने कुरा उठेपछि युवा सहभागीहरूले करतल ध्वनिले स्वागत गरेका थिए ।
यो वर्ष जुलाई महिनामा बिल म्याकिब्बेनले ‘न्युयोर्कर’ मा एउटा लेख लेखे । उनी वातावरण अभियन्ता, ‘३५० डट अर्ग’ का संस्थापक तथा सुपरिचित लेखक हुन् । लेखमा उनले ऐतिहासिक कोणबाट पनि डिग्रोथ अनिवार्य भएको बेजोड तर्क राखे ।
पछिल्लोपल्ट डिग्रोथको पक्षमा असङ्ख्य पुस्तक प्रकाशित भएका छन् । सबैले कुनै न कुनै हदमा यो अवधारणालाई मलजल गरेका छन् । वामपन्थी खेमाबाट ज्योर्जस कालिसको ‘द केस फर डिग्रोथ’, जेसन हिकेलको ‘हाउ डिग्रोथ विल सेभ द वल्र्ड’, कोहेइ साइतोको ‘टुवाड्र्स द आइडिया अफ डिग्रोथ कम्युनिज्म’ र म्याथियस शमेल्जारको ‘द फ्युचर इज डिग्रोथ’ प्रकाशित छन् ।
हालैमात्र लेखक म्याड हुबरको पुस्तक ‘क्लाइमेट चेन्ज एज क्लास वार’ मा डिग्रोथको विरोध गरियो । मेरो विचारमा यो अति वामपन्थी विचार हो । पछिल्लो एक लेखमा उनले आफैले आफ्नो पुस्तकको समीक्षा गरेका थिए ।
डिग्रोथ वातावरणीय सङ्कटपछाडि एउटा उत्प्रेरक बन्दै छ । बितेका ६० वर्षमा विश्व अर्थतन्त्रको वृद्धिदर प्रतिवर्ष ३ प्रतिशत रह्यो । यो वृद्धिदर दिगो छैन । जोन बेलामी फोस्टरले औँल्याएअनुसार ३ प्रतिशतको वृद्धिदरले विश्व अर्थतन्त्रलाई अबका दुई शताब्दीमा २५० गुना बढाइदिनेछ । सोही अवधिमा मानव जनसङ्ख्या साढे ३ अर्ब (सन् १९७०) बाट बढेर ८ अर्ब (सन् २०२२) पुग्यो ।
पृथ्वीको प्राकृतिक सीमाले यस्तो वृद्धिदर थेग्न सक्दैन । त्यसैले, यो समस्या सम्बोधन नगरे वातावरणीय सङ्कट समाधान गर्न थालिने कुनै पनि प्रयासको अर्थ रहनेछैन ।
यस विषयमा सन् १९७० बाट विश्लेषण सुरु भएको थियो । डोनेला मिडोज र उनका युवा वैज्ञानिक साथीहरूको समूहले ‘म्यासाचुसेट्स प्राविधिक संस्थान’ मा यससम्बन्धी अनुसन्धान गरेका थिए । सोही क्रममा सन् १९७२ मा ‘लिमिटस टु ग्रोथ रिपोर्ट’ प्रकाशित भएको थियो । त्यसलाई ‘मिडोज प्रतिवेदन’ पनि भनिन्छ ।
मिडोज प्रतिवेदनको निष्कर्ष कोशेढुङ्गा साबित भयो । प्रतिवेदनको निष्कर्ष यस्तो थियो – ‘विश्व जनसङ्ख्या, औद्योगीकरण, प्रदूषण, अन्न उत्पादन र प्राकृतिक संसाधनको दोहनमा हेरफेर आएन भने २१ औँ शताब्दीको आधाआधीसम्ममा पृथ्वीमा आर्थिक वृद्धिको सीमा टुङ्गिनेछ । धेरै सम्भव यसको परिणाम के हुनेछ भने ‘जनसङ्ख्या र औद्योगिक क्षमतामा आकस्मिक र अनियन्त्रित स्खलन आउनेछ ।’
मिडोज प्रतिवेदनका १ करोड २० लाख प्रति बिके । यसलाई ३७ भाषामा उल्था गरियो । वातावरणीय विषयमा लेखिएका पुस्तकमध्ये यो पुस्तक अझै सर्वाधिक बिक्री हुने सूचीमा पर्छ । सन् १९७० को दशकमा पर्यावरणीय वा हरित आन्दोलनमा उभार आयो । यो पुस्तक त्यस आन्दोलनको उत्प्रेरक थियो । साथै यो पुस्तक डिग्रोथ आन्दोलनको पनि प्रमुख उत्प्रेरक बन्दै छ ।
बिल म्याकिब्बेनको विचार सटिक थियो । उनको निष्कर्षले आज हामी कहाँ छौँ, त्यसको सङ्केत दिन्छ । अहिले हामी पर्यावरणसँग जोडिएका बढ्दो सामाजिक विघटनबिच छौँ । यो विघटन छिट्टै आम हुनसक्छ । म्याकिब्बेनले आफ्नो लेखमा उर्सुला भोन डेर लेयनले ब्रसेल्समा दिएको आफ्नो मन्तव्यको आरम्भमा सिधै ‘मिडोज प्रतिवेदन’ उद्धृत गरेकी थिइन् । उनले भनिन् ः
‘हाम्रा अग्रजले पुरानै (आर्थिक) उछालमा टाँसिन चाहे र कहिल्यै त्यसबाट पर हट्ने सोचेनन् । तिनीहरूले तेलमा आधारित आर्थिक वृद्धि वरिपरि घुम्ने दृष्टिकोण बदलेनन् । त्यसले गर्दा पछिल्लो पुस्ताले त्यसको मूल्य चुकाउनुप¥यो ।’
मिडोज प्रतिवेदनलाई समाजवादी खेमाले बेवास्ता ग¥यो । केही अपवाद भने थिए । टोनी बेनले सन् १९८० को दशकमा ‘अल्टर्नेटिभ इकोनमिक स्ट्राटेजी’ नामक पुस्तक प्रकाशित गरे । त्यसमा तीव्र आर्थिक वृद्धिलाई मूलमन्त्र बनाइएको थियो । आज पनि बेलायतको लेबर पार्टी र त्यससम्बद्ध ट्रेड युनियनहरूमा सोही आर्थिक वृद्धि र उच्च उत्पादकत्वको धङधङी छ । किन ? किनभने त्यो विचारलाई वामपन्थीहरूले कहिल्यै चुनौती दिएनन् ।
विलियम मोरिस १९ औँ शताब्दीका जल्दाबल्दा वातावरण अभियन्ता थिए । निरर्थक र अनावश्यक उत्पादनले उनी आक्रोशित थिए । धेरैले उनको कुरामा ध्यान दिएनन् । सन् १८८४ डिसेम्बरमा ह्यामरस्मीथमा उनले एउटा मन्तव्य दिए । त्यसको शीर्षक थियो, ‘हामी कसरी बाँच्यौँ र कसरी बाँच्न सक्छौँ’ । आफ्नो मन्तव्यमा उनले अति उत्पादन हुने मालसामानबेगर उपभोक्तावादी नबनी कसरी गौरवपूर्ण र सन्तुष्टिपूर्ण जीवन बाँच्ने भन्ने विषय उठाएका थिए । मन्तव्यमा उनले यस्तो जीवन कस्तो समाजमा सम्भव होला भनी आफ्नो विचार राखेका थिए ।
डिग्रोथले फरकफरक आर्थिक परिवेशमा रहेर आर्थिक क्रियाकलापलाई कसरी योजनाबद्ध रूपमा घटाउने भनी देखाउँछ । सुरुमा यस्तो धटौती विश्वका धनी देशहरूमा गर्नुपर्ने डिग्रोथको मान्यता हो । आफ्नो पुस्तक ‘द केस अफर डिग्रोथ’ मा ज्योर्जस कालिसले यसबारे लेख्छन् ः
“मानव जाति र पृथ्वीको बन्दोबस्तमा हुने हानीलाई घटाउने उद्देश्यका साथ योजनाबद्ध रूपमा सबैथोकमा सुस्तता ल्याउनु नै डिग्रोथको लक्ष्य हो ।”
जेसन हिकेलले आफ्नो पुस्तक ‘लेस इन मोर’ मा हामीलाई डिग्रोथबारे यसो भन्छन्, ‘अर्थतन्त्रलाई जीव जगतसँग पुनः सन्तुलनमा ल्याउन सुनियोजितरूपमा ऊर्जा र स्रोतसाधनको अति प्रयोगलाई सुरक्षित र समान रूपमा घटाउनु नै डिग्रोथ हो ।’
यस्तो विचार अङ्गीकार गर्न मानिसहरूको ठूलो आन्दोलन आवश्यक हुन्छ । प्रगतिशील जगमा रहेर पृथ्वीलाई जोगाउने लडाइँ लड्न तयार सबैजना यसमा लाग्नुपर्छ । वातावरणीय आन्दोलन, आदिवासी आन्दोलन, किसान आन्दोलन, ट्रेड युनियनहरू तथा सम्पूर्ण प्रगतिशील राजनीतिक दलहरूले हातेमालो गर्न जरुरी छ । धेरै प्रदूषण गर्नेहरूलाई तिनले गर्ने क्षतिको मूल्य चुकाउन लगाउनुपर्छ । यही नै त्यो आन्दोलनको माग हुनुपर्छ । यसको अर्थ जीवाष्म इन्धनको प्रयोगमा ठूलो कर लगाउनुपर्छ । यसरी मात्र हानिकारक ग्यासको उत्सर्जन घटाउन सकिन्छ । प्रदूषण गर्नेहरूलाई नै नवीकरणीय ऊर्जामा सङ्क्रमण गर्न लाग्ने लागत तिराउनुपर्छ । यसलाई जीवाष्म इन्धनबाट बाहिरिने रणनीति बनाउन जरुरी छ । यसबाट हामीले धनीहरूको अकुत धनलाई गरिबहरूबिच पुनः वितरण गर्न सकिनेछ । यसले गर्दा सर्वसाधारण पनि यो आन्दोलनमा जोडिन सम्भव हुन जानेछ ।
पर्यावरणमैत्री समाजवाद वा सोसम्बद्ध रणनीतिमा माथिको दृष्टिकोण कोशेढुङ्गा बन्नुपर्छ । यसरी पर्यावरणीय विनासबाट पृथ्वीलाई जोगाउन सकिनेछ र भविष्यका लागि एउटा उत्तर–पुँजीवादी र पर्यावरणीय रूपमा दिगो समाजको स्थापना गर्न सकिनेछ ।
(एमआर अनलाइनबाट)
अनुवाद : गणेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *