भर्खरै :

नेपालीहरूको पहिचान भनेकै यहाँको कला र संस्कृति हो : अध्यक्ष बिजुक्छेँ

नेपालीहरूको पहिचान भनेकै यहाँको कला र संस्कृति हो : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा गुुन्हीपुन्ही–सापारु २०८० मा प्रदर्शन भएका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरूहरूको सम्मान तथा पर्यटन सम्बद्व सङ्घ संस्था, व्यवसायी र सहयोगीहरूलाई सम्मान कार्यक्रम बुधबार भक्तपुरको दरबार क्षेत्रमा एक समारोहबिच सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी भनपाद्वारा आयोजित उक्त समारोहको उद्घाटन गर्नुभएको थियो ।
समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुरको संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्कृतिकर्मीहरूको सम्मान कार्यक्रमलाई नगरपालिकाले निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपालीहरूको पहिचान भनेकै यहाँको कला र संस्कृति हो भन्नुभयो ।
स्थानीय तहले जनताको हितमा राम्रो काम गरे देशकै लागि फाइदा पुग्ने धारणा राख्दै विदेशीको भरमा विकास निर्माण गर्छु भन्ने भावनाबाट जनप्रतिनिधिहरू टाढा रहनुपर्ने बताउनुभयो ।
सहकारी संस्था तथा अन्य सङ्घ संस्थाहरूले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी आदर निकेतनहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले अशक्त र असहाय नागरिकहरूलाई अब समाजले नै हेर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभयो ।
युवाहरूलाई आफ्नै देशको सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्दै जानुपर्ने सुझाव दिँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरले नयाँ नयाँ क्षेत्रमा नमुना कार्यहरू गरी देशकै लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रहरूमा लगानी नगर्दा आज जनताको पैसा सहकारीहरूले डुबाइरहेको उल्ल्ेख गर्दै उहाँले व्यापक जनताको हित हुने गरी सहकारीहरूले समाज निर्माण पक्षमा ध्यान दिई स–साना कारखानाहरू खोल्नेतर्फ विशेष जोड दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “राहत र बाल शिक्षा विकासका शिक्षकहरू नेपाल शिक्षक महासङ्घबाट धोका भएको विषय उठाउँदै बानेश्वर–माइतीघर मण्डला सडकमा विरोध प्रदर्शनमा छन् । नेपाल शिक्षक महासङ्घले शिक्षकहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने माध्यमिक शिक्षा विधेयकको प्रावधान खारेजीको आवाज उठाएन । राष्ट्रियस्तरको एसईई परीक्षा व्यवस्था र विद्यालय शिक्षाको जिम्मेवारी जिल्ला शिक्षा कार्यालयमा फिर्ता होइन स्थानीय तहकै जिम्मेवारीमा यथावत राख्ने विषय पनि महासङ्घले नउठाएकोमा कतिपय शिक्षकहरूको असन्तुष्टि छ ।”
अस्पतालमा बिरामीको मृत्यु हुनासाथ डाक्टर र नर्सहरूले कुटाई खानुपर्ने स्थिति बढिरहेको विरोधमा स्वास्थ्यकर्मीहरू पनि सडकमा ओर्लिएको, सरकारले बीस वर्षयता चिकित्सकहरूको नयाँ दरबन्दी थप्ने काम नगरेको, अधिकांश चिकित्सक र नर्सहरू विदेशमा गएको उल्लेख गर्दै उहाँले नेपालमा रहेका डाक्टर र नर्सलाई पनि विदेश लखेट्ने षड्यन्त्र भइरहेकोमा डाक्टरहरूले चिन्ता व्यक्त गरेको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सरकारको नेपाल औषधि व्यवस्था विभागले गुणस्तरीय औषधि स्वदेशमा उत्पादन गर्न नसकेको र विदेशबाट पनि व्यवस्था नगरेको हुँदा क्यान्सर, किड्नी र मुटु रोगलगायतका बिरामीहरूको अकाल मृत्यु भइरहेको छ ।”
सांसद सुवालले भन्नुभयो, “सरकारले भक्तपुर नगरपालिकाअन्तर्गतको ख्वप अस्पताललाई स्वास्थ्य बीमाको रु. १० करोड २८ लाख भुक्तानी नगरेको र देशभरिका अस्पताललाई अर्बौँ रुपैया स्वास्थ्य बीमाको रकम भुक्तानी नगर्दा बिरामी उपचारमा बाधा भइरहेको छ ।”
सम्पत्ति शुद्धीकरणको लागि नेपालीको सम्पत्ति विदेशमा राख्न नपाउने, सम्पत्तिको सीमाङ्कन गर्ने र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने कानुनी प्रावधान आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालका १० वटा विदेशी लगानीसमेत भएको निजी बैङ्कका कतिपय सञ्चालकहरूसँग दुई देशको नागरिकता भएको समाचार छ । आर्थिक अपराधीहरू शासक दलहरूमा बसेर सांसद र मन्त्री बनिरहेको जनताको गुनासो छ ।”
“ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गराउनेहरूले देशको ठाउँ ठाउँको सार्वजनिक कमलपोखरी र पर्ती जग्गा निजी गराएका छन् । काठमाडौँ थँ बहीको कमलपोखरीसमेत २६.५ रोपनी चन्द्रशमशेरका छोरा केशरशमशेर र नाति केयुरशमशेरले कब्जा गरेको विरोधमा केही दिनअघि जनताको प्रदर्शन भएको थियो । झापा बिर्तामोडको गिरीबन्धु चिया बगानको घटना पनि यस्तै हो ।” उहाँले स्पष्ट पार्नुभयो ।
समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रामा प्रस्तुत भएका घिन्ताङघिसी, अन्य परम्परागत र आधुनिक सांस्कृतिक विधाको अलग्ग अलग्ग मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गर्नु आफैमा संस्कृतिको संरक्षण र अझ व्यवस्थित प्रस्तुतिको लागि वातावरण तयार गर्न खोजिएको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरको पुरानो सहर आफैमा एउटा सम्पदा सहर हो । २०७२ सालको भूकम्पबाट भत्केका कैयौँ सम्पदाहरू भक्तपुर नपाले विदेशीको सहयोगविना नै स्थानीय जनताको साथ र सहयोगमा सम्पदा पुनःनिर्माण गर्नु सबै भक्तपुरवासीहरूको लागि गौरवको विषय हो ।”
कला–संस्कृतिको संरक्षण, ऐतिहासिक र सांस्कृतिक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगरको रूपमा विकसित भक्तपुर नपाले अग्रजहरूले गर्नुभएको कामलाई निरन्तरता दिँदै समयअनुसार नयाँ नयाँ अध्ययन, अनुसन्धान र उत्खननका कार्यहरू गर्दै भक्तपुरलाई समृद्ध बनाउने कार्यमा निरन्तर लागिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नाचगानको राजधानी भक्तपुर अहिले जनताको साहित्य र जनताको संस्कृतिले मूर्त रूप लिँदै गरेको जीवन्त सहरको रूपमा विकास भइरहेको उल्लेख गर्दै भक्तपुरको बेजोड मौलिक शैलीको नाचगान र नृत्य हाम्रो अमूल्य सम्पत्ति भएकोले यसलाई निरन्तर संरक्षण गर्दै जानुपर्ने सुझाव दिनुभयो ।
जनताले रूचाएका सांस्कृतिक नाचगानहरूको संरक्षणले जनताका अभिव्यक्ति व्यापक जनतामाझ प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै उहाँले हाम्रा अग्रजहरूले मानव जीवनको निम्ति हित हुने खालको इतिहास निर्माण गरेको बताउनुभयो ।
भक्तपुरमा कला संस्कृति संरक्षण, नाचगानसँगसँगै देश र अन्तर्राष्ट्रिय विषयमा ऐक्यबद्धता जनाएको इतिहास ताजा रहेको चर्चा गर्दै प्रदेश सांसद गोसाईंले भक्तपुरका सांस्कृतिक गतिविधिहरूमा युवाहरूको सहभागिता उत्साहजनक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सांस्कृतिक नाचगानमार्फत अमेरिकी साम्राज्यवादको विरोध, सीमा अतिक्रमण, नेपालमा भइरहेको विभिन्न काण्डबारे भक्तपुरका युवाहरूले सशक्तरूपमा विरोध गरिरहेको सराहनीय कदम हो । अन्याय र निरङ्कुशताको विरोध गर्ने जनताको नैसर्गिक अधिकार हो ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सांस्कृतिक धरोहरलाई विश्वसामु उजागर गर्न विश्व पर्यटन दिवसको अवसरमा संस्कृतिकर्मी सम्मान कार्यक्रम आयोजना गरी पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई व्यवहारिकरूपमा रूपान्तरण गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र्र निरौलाले ऐतिहासिक नगरी भक्तपुर सबै क्षेत्रमा अग्रणी रहेको बताउँदै आगामी दिनहरूमा पनि जिप्रका र स्थानीय तहबिच समन्वयकारी भूमिका निर्वाह गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख अरूणा नकर्मीले अमूर्त सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने संस्कृतिकर्मी सम्मान कार्यक्रम सराहनीय कदम हो भन्नुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले प्राचीनकालदेखि प्रचलनमा आएको गुन्हीपुन्ही र सापारू भक्तपुरको महत्वपूर्ण पर्व भएको बताउनुभयो ।
पर्यटन प्रवद्र्धनमा भक्तपुरले फड्को मारेको चर्चा गर्दै प्रा.डा. श्रेष्ठले भक्तपुर पर्यटन प्रवद्र्धनको लागि धेरै सम्भावना भएको ठाउँ हो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्याङ्कनको समीक्षा गर्नुभएको थियो भने भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले २२ जना सांस्कृतिक गुरूहरूलाई दोसल्ला ओढाई नगद रू.२०,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
उहाँले उत्कृष्ट कलाकारहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै अतिथि बिजुक्छेँले पर्यटन सम्बद्ध सङ्घ संस्था र ट्राभल एजेन्सीहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।
त्यस्तै अर्का अतिथि सुवालले आधुनिक विधा र परम्परागत विधाका विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो भने अतिथि प्रदेश सांसद गोसाईंले घिन्ताङघिसी, माक प्याखंका विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमका सभापति एवम् नगर प्रमुख प्रजापतिले मूल्याङ्कनकर्ताहरूलाई मायाको चिनो र पर्यटन सम्बद्ध पथ प्रदर्शक, व्यवसायी र सहयोगीहरूलाई कदरपत्र प्रदान गर्नुभएको थियो भने उपप्रमुख जोशीले प्रतियोगिताका सहयोगीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल यापी भैरव भजन मण्डलको माक प्याखँ, साइनिङ ग्रुपको फाकंदली प्याखं, खर्बुजा देवी प्याखं समूहको देवी प्याखं देखाइएको थियो ।
बुधबार सम्मानित हुने सांस्कृतिक गुरूहरू भ.न.पा. वडा नं १ बाट बुद्धिभक्त सिन्ताकल र दिपानन्द बज्राचार्य, वडा नं २ बाट हरिभक्त खुसु र पुण्यराम कोजु, वडा नं ३ बाट बिसलाल स्वंगमिखा र रामभक्त कर्माचार्य, वडा नं ४ बाट नारायणप्रसाद सुवाल र कृष्णभक्त नागाजु, वडा नं ५ बाट कृष्णभक्त तमखु र कृष्णगोपाल माक, वडा नं ६ बाट न्हुछेकुमार अवाल र न्हुछेबहादुर त्यात, वडा नं ७ बाट कृष्णभक्त दुमरू र तुल्सीभक्त तजले, वडा नं ८ बाट दश साँयजु र कान्छा गोसाईं, वडा नं ९ बाट पूर्णबहादुर प्रजापति, धनबहादुर मानन्धर, वडा नं १० बाट कृष्णभक्त माकजु र पुष्परत्न शाक्य हुनुहुन्छ । त्यस्तै कला र सांस्कृतिक सम्पदा जगेर्नाको लागि नवदुर्गाको मुकुण्डो बनाउँदै आउनुभएका पूर्णबहादुर चित्रकार र नायोखिं बाजा प्रशिक्षक श्याम शाहीलाई विशेष सम्मान पुरस्कारको रूपमा पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *