भर्खरै :

चीनको जनवादी क्रान्तिबारे प्रवचन कार्यक्रम

चीनको जनवादी क्रान्तिबारे प्रवचन कार्यक्रम

भक्तपुर, १३ असोज । जनवादी गणतन्त्र चीन घोषणा भएको ७४ औँ वर्ष पुगेको अवसरमा नेपाल मजदुर किसान पार्टी इनाचो – चोर्चा एकाइ समितिको आयोजनामा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले अध्यक्ष माओको नेतृत्वमा भएको चिनियाँ जनवादी क्रान्तिले संसारलाई नयाँ सन्देश दिएको बताउनुभयो ।
किसानहरूको नेतृत्वमा पनि जनवादी र समाजवादी क्रान्ति सफल हुनसक्छ भन्ने उदाहरण चिनियाँ जनवादी क्रान्ति भएको चर्चा गर्दै माओ त्सेतुङ विचारधाराबारे जानकारी दिनुभयो ।
अहिलेको चीनको निर्माणमा अध्यक्ष माओको योगदान महत्वपूर्ण रहेको धारणा राख्दै हरेक कार्यकर्ताले माओका सङ्कलित रचनाहरू अध्ययन गरी आफूलाई जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले चीनले गरेको गरिबी उन्मूलन अभियान संसारको लागि अनुकरणीय सन्देश भएको बताउनुभयो ।
चीनको विकासले बहुधु्रवीय विश्वलाई नेतृत्व गर्न सफल भएको र संरा अमेरिकाको पतनका दिन सुरु भएको उहाँले उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा विष्णुराम दुमरु र रुद्रनारायण लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *