मङ्गलबार, अक्टोबर ३, २०२३ का दिन, भारतीय प्रहरीले समाचार वेबसाइट न्यूजक्लिकको कार्यालयमा छापा मा¥यो र उक्त वेबसाइटमाथि कथितरूपमा चीनबाट कोष प्राप्त गरेको आरोपमा अनुसन्धान भइरहेको छ । साथै यस वेबसाइटका धेरै पत्रकारहरूको घरमा पनि छापा मारिए, जसलाई भारतका केही बाँकी स्वतन्त्र समाचार आउटलेटहरू र आलोचकहरूले एउटा आक्रमणको रूपमा वर्णन गरेका छन् ।
दिल्ली पुलिसले मङ्गलबार समाचार मिडिया कम्पनी न्यूजक्लिकको कार्यालयमा छापा मारेको छ । उक्त न्यूज मिडिया हाउसले चीनबाट रकम लिएको आरोपमा अनुसन्धान भइरहेको छ ।
न्यूजक्लिक, एक समाचार सङ्गठन
न्यूजक्लिक वेबपोर्टल २००९ मा स्थापना भएको थियो । पोर्टलले एक दुर्लभ भारतीय समाचार आउटलेटको रूपमा प्रतिष्ठा आर्जन गरेको छ । यसले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको राजनीतिको ब्रान्डको आलोचना गर्न हिच्किचाउँदैन ।
कथितरूपमा, मोदीको हिन्दू राष्ट्रवादी सरकारले आर्थिक अनियमितताको बहानामा अन्य धेरै समाचार संस्थाहरूको अनुसन्धान गरिएको छ । यसलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले ‘भारतमा प्रेस स्वतन्त्रता खस्कँदैछ ।’ भनी चेतावनी दिएका छन् ।
न्युजक्लिकमाथि दिल्ली प्रहरीद्वारा दमन
दिल्ली पुलिसले मङ्गलबार बिहानै प्रवर्तन निर्देशनालय (ईडी)ले दिएको सूचनाका आधारमा कारबाही गरी राष्ट्रिय राजधानीका ३० स्थानमा छापा मारेको थियो । मोबाइल फोन, ल्यापटपजस्ता इलेक्ट्रोनिक उपकरण बरामद गरी पाँचजना पत्रकारलाई थप सोधपुछका लागि हिरासतमा राखिएको छ । उर्मिलेश र अभिशार शर्मालगायत केही पत्रकारलाई सोधपुछका लागि लोधी रोड स्पेशल सेलको कार्यालयमा लगिएको थियो ।
“दिल्ली पुलिस एकाएक मेरो घरमा अवतरण ग¥यो र मेरो ल्यापटप र फोन खोस्यो,“ पत्रकार अभिसार शर्माले पहिले ट्विटर भनेर चिनिने प्लेटफम एक्समा लेख्नुभयो ।
अर्का पत्रकार भाषा सिंहले एक्समा लेखेकी छिन्, ‘अन्ततः यो फोनबाट अन्तिम ट्वीट । दिल्ली पुलिसद्वारा मेरो फोन जफत ।’
छापा मारिएका पत्रकारहरूमा इतिहासकार सोहेल हाशमी पनि रहनुभएको छ ।उहाँकी बहिनी शबनम हाशमीले एक्समा पोस्ट गरेकी छिन्, ‘बिहीबार बिहान ६ बजे दिल्ली पुलिसको विशेष सेलले सोहेल हाशमीको घरमा छापा मारेको हो । घर र सुत्ने कोठामा ६ जना पुलिस घुसे ।’
न्यूजक्लिकमा दिल्ली पुलिसको छापाको विवरण
दिल्ली पुलिसले न्यूजक्लिक अफिस र पत्रकारहरूमाथि छापा मारेको दिल्ली, नोयडा, गाजियाबाद, गुरुग्राम र मुम्बईका १०० भन्दा बढी ठाउँहरूमा बिहान ६ बजेदेखि सुरु गरेको थियो । यस छापामा ५०० पुलिससहित दिल्ली पुलिस स्पेशल सेलको सबै दायराहरूको टोली तैनाथ गरिएको थियो ।
पीटीआईले समाचार छ कि दिल्ली पुलिसले न्यूजक्लिक पत्रकारहरूका अगाडि २५ प्रश्नहरूको सूची राखेको छ ।
एनडीटीभीले रिपोर्ट गरेको छ, दिल्ली पुलिसले न्यूजक्लिकका पत्रकारहरूलाई मोदी सरकारको ‘कालो’ कृषि कानुनविरूद्धको किसानहरूले गरेको विरोध र नागरिकता कानुनविरूद्ध दिल्लीको शाहीन बागमा भएको विरोधमा समाचार लेखन र प्रचारप्रसारको बारेमा प्रश्न गरेको छ । न्यूजक्लिकका संस्थापक र प्रधानसम्पादक प्रवीर पुरकायस्थलाई न्यूजक्लिक दक्षिण दिल्लीको कार्यालयमा लगिएको थियो । फोरेन्सिक टोली न्यूजक्लिकको दक्षिण दिल्ली कार्यालयमा पनि छ । पुरकायस्थ पछि कार्यालयबाट निस्किएको देखिएका थिए ।
न्यूजक्लिकविरुद्ध मुद्दा
न्यूयोर्क टाइम्सको रिपोर्टले एक अमेरिकी करोडपतिबाट न्यूजक्लिकले रकम प्राप्त गरेको आरोप लगाएर लेख लेखेको हप्तौँपछि भारतका अनुसन्धान अधिकारीहरूले न्यूजक्लिक वेबसाइट र यसका पत्रकारहरूविरुद्ध अगस्ट १७ का दिन मुद्दा दर्ता गरेका थिए । न्युयोर्क टाइम्सको रिपोर्टले ती अमेरिकी करोडपतिलाई ‘चीनको प्रचारप्रसारलाई आर्थिक सहयोग गर्ने व्यापारी’ भनी चित्रण गरेको थियो ।
न्यूजक्लिकले दिल्ली पुलिसको उक्त आरोपलाई अस्वीकार गरेको छ ।
यो मुद्दा एक कठोर कानुन –गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत दायर गरिएको थियो । यो ऐन आतङ्कवादविरोधी कानुन हो जसले “राष्ट्रविरोधी गतिविधिहरू’ को आरोप र अनुसन्धानलाई अनुमति दिन्छ र अहिले वामपन्थी र प्रजातन्त्र पक्षधर कार्यकताहरू, पत्रकारहरू र मोदीका आलोचकहरूविरुद्ध प्रयोग गरिएको छ । तीमध्ये कतिपयले मुद्दाको सुनुवाइ हुनुअघि नै वर्षौँ जेलमा बिताइसकेका छन् ।
मन्थली रिभ्युका एक लेखकसमेत रहनुभएका प्रविर पुरकायस्थ पक्राउ पर्नुभएको छ ।
न्यूजक्लिकमा छापाविरुद्ध भारतभर विरोध प्रदर्शन
विपक्षी ब्लक इन्डियाले न्यूजक्लिक पत्रकारहरूसँग जोडिएको छापामारीको कडा निन्दा गरेको छ र आरोप लगाएको छ कि भाजपा सरकारको ‘जबरदस्ती’ कार्यहरू केवल सत्ताको गलत कदमविरुद्ध सत्य बोल्नेहरूका विरुद्ध निर्देशित छ र घृणा तथा विभाजन फैलाउनेहरूविरुद्ध होइन । इन्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसिभ एलायन्स (इंडिया) ले एक विज्ञप्ति जारी गर्दै सरकारले मिडियालाई आफ्नो पक्षपातपूर्ण र वैचारिक स्वार्थका लागि आफ्नो मुखपत्रमा परिणत गरी मिडिया संस्थाहरूलाई एकाधिकार पूँजीपतिहरूको कब्जामा ल्याउने प्रयास गरिरहेको बिताएको छ ।
इन्डियन नेशनल काङ्ग्रेस, आम आदमी पार्टी, भाकपा (माक्र्सवादी), भाकपा र समाजवादी पार्टीका साथै प्रेस क्लब अफ इन्डियाले छापामारी र गिरफ्तारीप्रति प्रतिक्रिया जनाउँदै सरकारको कारबाहीको आलोचना गरेका छन् ।
(सायंतानी विश्वास समाचार पोर्टल ‘मिन्ट’की लेखिका हुन् ।)
अनुवाद : प्रकाश
Leave a Reply