भर्खरै :

भारतीय एकाधिकार पुँजी र विस्तारवादको विरोध गर्नु जरुरी

विदेशी हस्तक्षेप, विदेशी आक्रमण, सीमा अतिक्रमणको कुनै पनि देशले विरोध र निन्दा गर्नु स्वाभाविक हो । नेपालमा भारत र अमेरिकाको हस्तक्षेप बढ्दो छ । यसकारण, भारतीय एकाधिकार पुँजी, भारतीय विस्तारवादी थिचोमिचो र अमेरिकी साम्राज्यवादको नेपाल र नेपाली जनताले सङ्घर्ष नगरी हुन्न । नेमकिपाले भारतीय एकाधिकार पुँजी र विस्तारवादको विरोध गरिरहेको यथार्थ हो । तर, नेमकिपा भारतीय कामदारवर्ग र श्रमजीवी जनताले गर्ने आन्दोलनको समर्थन गर्छ । यसकारण, नेमकिपा भारतविरोधी होइन, भारतीय जनताविरोधी होइन । नेमकिपाले अफगानिस्तान, इराक, लिबिया, सिरियाजस्ता देशहरूमा भइरहेको आक्रमण र विदेशी हस्तक्षेपको पनि विरोध एवम् निन्दा गरिरहेको हो । एसिया, अफ्रिका, ल्याटिन अमेरिका र संसारका विभिन्न स्थानमा भएको हस्तक्षेप, आक्रमणको विरोध र जनताको न्यायपूर्ण आन्दोलनको समर्थन नेमकिपाले गरिरहेको स्पष्ट छ । यसरी नेमकिपाले अन्तर्राष्ट्रिय भूमिका निर्वाह गरिरहेको छ ।
नेमकिपाले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थतिको सही व्याख्या, विश्लेषण र अध्ययन गरेर आफ्नो दृष्टिकोण बेलाबखत सार्वजनिक गर्दै आएको हो । तर, आफूलाई कम्युनिस्ट भनिने सरकार गएका ठूला दलका नेताहरूको भूमिका स्पष्ट छैन । उनीहरूको वर्ग विश्लेष्ण सही ठाउँमा छैन । वर्गशत्रुको पछि लाग्ने, वर्गशत्रुको पक्षपोषण गर्ने र वर्गशत्रुलाई खुसी पार्ने कुनै पनि दल देशभक्त हुनेछैन । सत्ता नै सबथोक ठानेको कारण प्रजातन्त्रवादी र समाजवादी भनिने दलका नेताहरू शत्रुको पञ्जामा फसेका छन्, विदेशी शक्ति राष्ट्रको भुलभुलैमा फसेका छन् । उनीहरूले देशभन्दा दललाई ठूलो सम्झे† देश र जनताभन्दा सत्ता ठूलो सम्झे । ठूलठूला उद्योगपति, ठूलठूला व्यापारी, विदेशी दलाल, ठेकेदारलाई खुसी पारेर पैसा बटुल्ने मेसो बनाउने काममा उनीहरू लागे । के यो सत्तासीन दलहरूको कमजोरी होइन ? के यो कम्युनिस्ट भनिने ठूला र सत्ताधारी दलहरूको बेवास्ता होइन ?
कति विदेशी शक्ति राष्ट्रका प्रमुखहरू ठान्छन्– नेपालको राजनीतिक परिवर्तनमा हाम्रो पनि भूमिका छ । तर, नेपालको राजनीतिक परिवर्तन र सङ्क्रमणको बेला सहयोग र समर्थन गर्नुको मतलब नेपाललाई कुनै देशको कठपुतली बनाउन पाउँछ भन्नु होइन । नेपाललाई कुनै देशको ‘अधीनस्थ’ राज्यको रूपमा व्यवहार गर्नु राजनैतिक र नैतिकरूपले अशोभनीय छ । सत्ताधारी कम्युनिस्टहरू किन विदेशी शक्तिसामु लत्रन्छन् ? विदेशी शक्ति राष्ट्रलाई खुसी पारेर, उनीहरूको पक्षपोषण गरेर नेपाल र नेपालीलाई आर्थिक सङ्कट निम्त्याउने काम किन सत्ताधारी दलका नेताहरू गर्छन् ? देशको स्वतन्त्रता र सार्वभौमिकताबारे उनीहरू किन ख्याल गर्दैनन् ? सत्ताधारी कम्युनिस्टहरूले वर्गीय शत्रु चिन्न नसक्दा र चिनेर राजनीतिक विश्लेषण नगर्दा जनता अन्योलमा परेका हुन् ।
कुनै पनि समाजवादी गणतन्त्रका पक्षधर दलका नेताहरू विदेशी हस्तक्षेप स्वीकार्दैनन्† स्वाधीन देशमा तैनाथ सेनाको समर्थन गर्दैनन् । अमेरिकी सेना अन्य दर्जनौँ देशमा पसे, पसिरहेका छन् । एमसीसी सम्झौताको कारण अमेरिकी सेना नेपालमा पस्ने बाटो सत्ताधारी दलहरूले खोले । अमेरिकी सेना नेपाल पसे । विकास योजनाको सुरक्षाको नाउँमा अब नेपालमा पनि गुप्तचर र अमेरिकी सेना तैनाथ गरिनेछ । कुनै पनि देशको शान्ति बिथोल्ने काम अमेरिकी सेनाले गरिरहेको छ । यसकारण, जुन जुन देशमा सशस्त्र अमेरिकी सेना तैनाथ गरिएको छ तत्तत् स्थानका अमेरिकी सेना विनासर्त फर्कनुपर्छ । तैनाथ गरिएको अमेरिकी सेना आफ्नै देशमा फर्काउन संसारका कम्युनिस्ट सरकारले आवाज बुलन्द गर्नुपर्छ, थिचोमिचो र आक्रमणको विरोध गर्नुपर्छ । संसारलाई तर्साउने संयुक्त राज्य अमेरिकालाई ठाउँमा ल्याउनुपर्छ । यसको निम्ति विश्वका देशभक्त जनता र कम्युनिस्टहरू एकगठ हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *