भर्खरै :

धानबाली क्षतिबारे किसान संघको ध्यानाकर्षण

भक्तपुर, १५ कात्र्तिक । नेपाल क्रान्तिकारी किसान संघले गएको कात्र्तिक ११ गते साँझ परेको असिना पानीले भक्तपुर जिल्लाका भक्तपुर नपा, चाँगुनारायण नपा र मध्यपुर नपाका किसानले लगाएको धानबाली र तरकारी बालीमा बढी क्षति भएकाले तत्काल पीडित किसानहरुलाई राहतको व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।
नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेको टोलीले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाएको पत्रमा नेपालमै रसायनिक मल कारखाना सञ्चालन नहुँदा रसायनिक मलको अभाव भएको, विदेशबाट झिकाएको मलमा ५ देखि १० किलो तौल नपुगेको र ढिक्का परेको भन्दै त्यसको लागि अनुगमन गरी दोषीलाई कार्बाही गर्न र रसायनिक मलको तत्काल बन्दोबस्त गर्न माग गरिएको छ ।
साथै भूकम्प पीडितले २०७५ जेठ महिनाभित्र तीनै चरणमा अनुदान लिई सक्नुपर्ने प्रावधान भूकम्प पीडितको हितमा नभएको भन्दै ध्यानाकर्षणपत्रमा मोहियानी जग्गा, दर्ता बाँकी जग्गा र गुठी जग्गामा बसेका भूकम्प पीडित तथा नापी नभई लालपुर्जा नपाएका भुकम्प पीडितले अनुदान पाउन नसकेकोमा पनि ध्यानाकर्षण बुझाएको छ । भूकम्प पीडित जनतालाई एकमुष्ठ चार चार लाख अनुदान दिन र पुग्दो ऋणको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *