नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
-करभिका
नेपाली साहित्यले अझै पनि अनुवाद साहित्यमा उल्लेख्य प्रगति गर्न सकेको छैन । मुस्किलले वर्षमा एक दर्जन राम्रा विदेशी भाषाका साहित्य नेपाली भाषामा अनुवाद हुने गरेको छ । विश्वमा उत्कृष्ट मानिएका धेरै कृतिहरु अझै नेपाली भाषामा अनुवाद भएका छैनन् । औंसीपूर्णे जस्तै आउने अनुवाद साहित्यमध्ये केहीका अनुवाद त दुःखदायक हुने गरेका छन् भने केहीको अनुवाद भने प्रशंसायोग्य पनि छन् । पछिल्लो समय अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा अनुदित मलायालम भाषाको उपन्यास ‘खबुज’को नेपाली अनुवाद उच्च कोटीको अनुवाद हो ।
हालै पुस्तक बजारमा एउटा अर्को पठनीय अनुवाद साहित्य आएको छ–जमिला । किर्गिस्तानका सोभियत साहित्यकार चिनगिज आइतमातोभको लघुउपन्यास ‘जामिला’को नेपाली उल्था युवराज भट्टराईले गरेका छन् । आइतामातोभको अर्को उपन्यास ‘प्रथम गुरु’को नेपाली अनुवाद केही समय अघि प्रकाशित भएको थियो । ‘प्रथम गुरु’को अनुवाद साहित्यकार खगेन्द्र संग्रौलाले गरेका थिए । ‘जमिला’को कथन शैली पनि ‘प्रथम गुरु’को शैलीसँग मिल्दोजुल्दो छ । दुवै उपन्यास फ्ल्यासब्याक शैलीमा प्रस्तुत गरिएका छन् ।
‘जमिला’ दोस्रो विश्वयुद्धको समयमा तात्कालीन सोभियत समाजको चित्रण गरिएको उपन्यास हो । युद्धले समाजको भित्री तहमा पारेको प्रभाव चित्रणमा आइतमातोभ सफल छन् । त्यसो त आइतमातोभको लेखन शैलीको विशेषता नै समाजको भित्री पत्रमा पसेर कलम चलाउनु हो । साधारण मानिसहरुको समाजका सामान्य घटनाबारे चर्चा गर्दै उनले केही गम्भीर प्रश्न र विचारयोग्य विषय पाठकको दिमागमा छोड्ने गरेका छन् । त्यस्ता प्रश्नको राजनीतिक र सामाजिक महत्व हुने गर्दछ ।
‘जमिलामा आइतमातोभ’ले जुन कुरालाई युद्धको प्रभावको रुपमा चित्रण गरेका छन्, आजको नेपाली समाजको सन्दर्भमा युद्धको ठाउँमा वैदेशिक रोजगारीलाई राख्ने हो भने यो उपन्यास धेरै अर्थमा समकालीन नेपाली समाजको चित्रण समेत बन्न जानेछ । ‘जमिला’ उपन्यासमा जामिला पात्रले जस्तो मनोभाव सामना गरेकी छिन्, झण्डै उस्तै मनोभाव आफ्ना श्रीमान वैदेशिक रोजगारीमा गएका आजका नेपाली महिलाहरुले गर्नुपरेको छ ।
आफ्नो श्रीमान युद्धबाट फर्कनुअघि नै दानियारसँग पोइलो गएकी जमिलाको नैतिकताको विषयमा प्रश्न उठाउने कोणहरु धेरै छन् । अझ विशेषतः नेपाली मनोविज्ञानले यसमा प्रश्नमात्र होइन, भत्र्सना गर्ने कोण पनि धेरै छन् । यो उपन्यासमा चित्रित सामाजिक यर्थाथवादभित्र महिला मनोविज्ञानको बहुआयाममाथि बहस पनि गर्न सकिन्छ । यद्यपि युद्धले गाँजेको कठिन समयमा मानिसले खोज्ने पारिवारिक सामिप्यता र त्यसको अभावमा खोज्ने विकल्पलाई आइतमातोभले यो उपन्यासमा सफल चित्रण गरेका छन् ।
यो उपन्यासलाई अङ्ग्रेजी उपन्यासकार नाथेनियन हार्थोनको ‘द स्याकरेट लेटर’ र रुसी उपन्यासकार निकोलाई लेसकोभको उपन्यास ‘लेडी म्याकवेथ अफ मित्सेन्स्क’सँग तुलनायोग्य छ ।
यो उपन्यासको सबभन्दा शक्तिशाली पक्ष युद्धको विरोध हो । जामिलाले प्रेम विवाह गरेका श्रीमानलाई छोडेर निकै मिठो गीत गाउने रुपमा नराम्रो दानियारसँग भाग्नु युद्धको विरोध र कला–सङ्गीतको पक्षधरता हो । दानियारले गीत गाउँदा जामिलालाई आफ्नो जीवन गाएजस्तो लाग्नु र युद्धबाट आउने श्रीमानको पत्रलाई मन नपराउनुको अर्थ युद्धबाट आजीत समाजका महिलामा युद्धप्रतिको घृणा हो । उपन्यासका मुलपात्र स्वंय कलाका विद्यार्थी हुन् । जामिला नाताले उनकी भाउजू भएर पनि उनले दानियारसँगको विवाहलाई समर्थन गर्नु आफैमा पनि युद्धको भत्र्सनाभाव हो ।
जामिलाको अनुवाद खबुज जत्तिको त शक्तिशाली लागेन । तर ‘प्रथम गुरु’ र मार्खेजको ‘अभागी कर्नेल’(श्यामलद्वारा अनुदित) भन्दा भने राम्रो छ । उपन्यासको भूमिकामा आइतमातोभ र उनको साहित्य शैलीबारे थप कुरा उल्लेख हुँदो हो त पाठकलाई लेखक चिन्न अझ सजिलो हुने थियो ।
जम्मा १२२ पृष्ठको गोजी आकारको यो उपन्यास फुर्सदिलो एकै बसाईमा पढ्न भ्याइने खालको छ । उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको छ ।
Leave a Reply