भर्खरै :

भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गर्ने दल र नेताहरू नेपाली जनताको हुन नसक्ने

भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गर्ने दल र नेताहरू नेपाली जनताको हुन नसक्ने

जुम्ला, २५ असोज । नेपाल मजदुर किसान पार्टी सिँजा गाउँपालिका जुम्लाको आयोजनामा ‘श्रमिक’ साप्ताहिक तथा अन्य पुस्तकहरूको अन्तरक्रिया कार्यक्रम बिहीबार सिँजामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेपालको नदीनाला भारतीय एकाधिकार पुँजीलाई दिने, एमसीसी सम्झौता गर्ने, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सवा गर्ने शासक दलहरू र तिनका नेताहरू नेपाली जनताको हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी र बेलायती साम्राज्यवादले प्यालेस्टाइनी भूभागलाई इजरायल, गाजा र पश्चिम किनार क्षेत्र विभाजन गरे र प्यालेस्टाइनी जनतालाई राज्यविहीन बनायो । यसैको विरोधमा प्यालेस्टाइनी जनता सन् १९६४ मा प्यालेस्टाइन मुक्ति सङ्गठन (पीएलओ) र सन् १९८७ मा हमास स्थापना गरी सङ्घर्ष गर्दै छन् ।
सचिव सुवालले बेलायती साम्राज्यवादले सन् १९१७ मा प्यालेस्टिनी क्षेत्रमा यहुदी बसोबास गराएको र सन् १९४८ मे १४ मा अमेरिकी र बेलायती साम्राज्यवादले यूएनलाई दबाब दिएर राजदूत स्थापना गरिएको थियो भन्नुभयो ।
उहाँले यो संवेदनशील अवस्थालाई बेवास्ता गरी सरकारमा गएका दलहरूले कृषि विषयमा स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई सिक्ने र कमाउने कार्यक्रम बनाई इजरायल पठाएको र अन्य नेपाली युवालाई पनि इजरायलमै कामदार बनाएर पठाउनु देशघाती र जनद्रोही काम हो भन्नुभयो । उहाँले नेपाली युवा र विद्यार्थीलाई इजरायल पठाउने सरकारी नेता र अधिकारीमाथि कारबाही हुनु आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले संविधान निर्माणको बेला विद्यालय शिक्षा १२ सम्म निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वास्थ्य उपचार निःशुल्क, युवालाई स्वदेशमा रोजगारीको व्यवस्थालगायत राखिएको संशोधन प्रस्तावलाई शासक दलहरूले अस्वीकार गरेका थिए । यसकारण, नेपाली जनतालाई दुःख भएको हो ।”
सचिव सुवालले सरकारले कर्णाली प्रदेशलाई अर्गानिक तरकारी खेती बनाउने वाचा ग¥यो तर भारतको दाल, तरकारी, चामल किन्न बाध्य पा¥यो, कर्णाली राजमार्गलाई मृत्यु मार्ग बनायो, कर्णाली प्रदेशको स्याउ, ओखर, अङ्गुर, जडीबुटी, आलु, सीमीलगायत जल सम्पदाको विकासमा ध्यान दिएन भन्नुभयो । उहाँले सांसद, मन्त्री तथा सरकारका उच्च अधिकारीहरू आफ्नो निर्वाचन क्षेत्रमा बसोबास गरी देशको सन्तुलित विकास गर्न र त्यसको लागि आवश्यक बजेट केन्द्रले पठाउने व्यवस्था हुनु जरुरी छ भन्नुभयो ।
उहाँले पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियाले पार्टी कार्यकर्ताहरूको राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउन मद्दत गर्ने उल्लेख गर्दै राजा वा राजतन्त्रले सामन्तवर्गको प्रतिनिधित्व गर्छ भने अहिले राजा फर्काउने तर्क गर्नु केटाकेटीको लुगा ठूलो हुँदा ठीक नहुनेजस्तै हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले संसारमा अशान्ति मच्चाउन हतियारको व्यापार गर्ने अमेरिकी साम्राज्यवाद, नेपालको सीमा मिच्ने भारतीय विस्तारवाद र शोषक पुँजीपतिवर्गविरूद्ध नेमकिपाले सङ्घर्ष गरिरहेको बताउँदै कामदार जनताले संसारका अन्यायीहरूलाई हराएरै छाड्ने दाबी गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले लोभमा फसाउन नसकेर कार्यकर्ताहरूलाई झूटा मुद्दा लगाएर भए पनि दबाउन खोजेको बताउँदै नेमकिपाका कार्यकर्ताहरू अन्याय र अत्याचारविरुद्ध लडिरहेका छन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले मजदुर, किसान र कामदार जनताको सुख नखोज्ने शासक दलहरूकै कारण कर्णाली राजमार्ग मृत्युमार्ग बनिरहेको चर्चा गर्दै जुम्लाजस्तो जडिबुटीको खानीबाट व्यापारी र भारतीय एकाधिकार पुँजीले मात्र फाइदा लिएको छ भन्नुभयो ।
‘श्रमिक’ साप्ताहिक तथा पार्टी प्रकाशनहरूको अन्तरक्रिया कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासी, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य दीर्घबहादुर शाही, नेक्राशिसङ्घका जुम्ला जिल्ला अध्यक्ष नरबहादुर बुढा, नेमकिपा स्थानीय समितिका कालीबहादुर बुढाले आ–आफ्नो टिप्पणी प्रस्तुत गर्नुभयो ।
नेमकिपा सिँजा वडा नं ६ समितिका अध्यक्ष विष्णुभक्त बुढाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिँजा गापा वडा नं ६ मा नेमकिपाबाट निर्वाचित वडाध्यक्ष लालबहादुर बुढाले पनि बोल्नुभएको थियो । कार्यक्रममा कलाकारहरूले देउडा गीत प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *