भर्खरै :

हमासका प्रमुख नेताहरू को हुन् ?

हमासका प्रमुख नेताहरू को हुन् ?

हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरायलमा आक्रमण सुरु गरेदेखि ‘अपरेशन अल–अक्सा फ्लड’ नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन् ।
सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरायललाई आश्चर्यचकित तुल्याएको उक्त आक्रमणबारे चासो राख्नेमा अगाडि छन् ।
गाजामा शासन गरिरहेका प्यालेस्टिनी लडाकु समूह हमासका धेरै उच्च श्रेणीका व्यक्तिहरू सञ्चारमाध्यममा मुखौटो लगाएर मात्रै देखिन्छन् ।
यसका अरू नेताहरूले पनि आफ्नो जीवनको धेरै समय इजरायलको हत्या प्रयासबाट जोगिँदै कटाएका छन् ।
मोहम्मद डेफ
उनको पूरा नाम मोहम्मद दैयब एल–मसरी हो । उनले आफ्नो नाम अबु खालिद पनि राखेका छन् जसको बोलाउने नाम अल डेफ हो ।
सन् १९६५ मा गाजामा जन्मिएका उनले हमासको सैन्य सङ्गठन इज्ज अल–दिन अल–कसम ब्रिगेडको नेतृत्व गरिरहेका छन् ।
प्यालेस्टिनीहरूमाझ उनी योजनाकारका रूपमा र इजरायलीहरूमाझ ‘मृत्युका मान्छे’ भनेर चिनिन्छन् ।
उनले गाजाको स्लामिक विश्वविद्यालयबाट जीवविज्ञानमा स्नातक गरेका छन् । नाटक घरमा अभिनयमा रुचि भएका उनले सुरुमा कलाकारहरूको एउटा समूह गठन गरेका थिए ।
त्यहीबाट हमासको स्थापना घोषणा भयो । उनले कुनै आनाकानी बिना यो समूहमा सहभागी हुने निर्णय लिए ।
उनलाई सन् १९८९ मा इजरायली प्रशासनले पक्राउ गरेको थियो । हमासको सेनाका लागि काम गरेको आरोपमा १६ महिना जेलमा बिताएका उनी पछि रिहा भए ।
उनी जेलमा रहेका समयमा इजरायली सैनिकहरूलाई समाउने हमासभन्दा भिन्न अभियान सुरू गर्ने प्रतिबद्धता जनाएका थिए । जसअनुसार उनले अल–कसम ब्रिगेड गठन गरे ।
उनी थुनामुक्त भएपछि इज्ज अल–दिन अल–कसम ब्रिगेड देखाप¥यो र संस्थापकका रूपमा अरू नेताहरूसँगै डेफ देखिए ।
डेफले हमास विद्रोहीहरूका लागि सुरुङहरू बनाउने कामको परिकल्पना गरे जसले उनीहरूलाई गाजाबाट इजरायलमा प्रवेश गर्ने बाटो बनाइदियो ।


इजरायलमा एक साथ ठूलो सङ्ख्यामा रकेट प्रहार गर्ने रणनीतिका पनि उनी पैरवीकर्ता हुन् ।
उनी माथिका सबैभन्दा गम्भीर आरोपहरूमा हमासका एक जना बम निर्माता मारिएपछि चलाइएको बदलाको अभियानमा ५० जना इजरायलीहरू मारिने गरी बम आक्रमण गरेको र तीन जना इजरायली सैनिकलाई नियन्त्रणमा लिएको जस्ता छन् ।
इजरायलले सन् २००० मा उनलाई पक्राउ गरेको थियो । तर, उनी एउटा विद्रोहको मौकामा इजरायलको पञ्जाबाट उम्कन सफल भएपछि उनी कहाँ छन् भन्ने प्रमाण विरलै छोड्ने गरेका छन् ।
उनका जम्मा तीन वटा तस्बिर छन् । एउटामा उनी धेरै बुढो देखिन्छन् । अर्कोमा उनले मुखौटो लगाएका छन् भने तेस्रोमा उनको छायाँतस्बिर मात्रै छ ।
उनी सन् २००२ मा एउटा गम्भीर हत्या प्रयासबाट अचम्म गरी उम्कन सफल भए । त्यसमा उनले एउटा आँखा गुमाए । इजरायलले उनले एउटा हात र खुट्टा पनि गुमाएको बताउँदै आएको छ ।
सन् २०१४ मा इजरायलले गाजामाथि गरेको ५० दिन लामो आक्रमणमा पनि इजरायली सेनाले उनको असफल हत्या प्रयास ग¥यो । उनी उम्किए पनि उनकी श्रीमती र दुई जना बच्चाहरू मारिए ।
उनको नामसँग जोडिएको डेफको अर्थ आफैँमा पाहुना हो । जसको अर्थ पाहुना एक ठाउँमा लामो समयसम्म बसिरहँदैन ।
उनी इजरायलबाट हुनसक्ने आफ्नो हत्याबाट जोगिन हरेक रात नयाँ नयाँ ठाउँमा सुत्ने गरेका छन् ।
मारवान इसा
मारवान इसालाई मोहम्मद डेफको दाहिने हात मानिन्छ । उनी इज्ज अल–दिन अल–कसम ब्रिगेडका उप–कमान्डर–इन–चीफ हुन् र हमास आन्दोलनको राजनीतिक र सैन्य एकाइका सदस्य हुन् ।
इजरायली सुरक्षा बलले उनलाई प्यालेस्टाइनको पहिलो विद्रोहको समयमा पक्राउ गरेको थियो । हमासका गतिविधिमा सक्रिय भएको आरोपमा इजरायलले उनलाई पाँच वर्षसम्म हिरासतमा राखेको थियो । उनी युवावस्थामै हमासमा सामेल भएका हुन् ।
इजरायलले उनी बाँचुञ्जेल हमाससँगको ‘मस्तिष्क युद्ध’ जारी रहने बताएको छ ।
इसा एक प्रतिष्ठित बास्केटबल खेलाडीको रूपमा चर्चा कमाएका व्यक्ति हुन् । तर, खेलकुद उनको पेसा बन्न सकेन किनभने इजरायलले उनलाई हमासमा सामेल भएको आरोपमा १९८७ मा गिरफ्तार ग¥यो । प्यालेस्टिनी प्रशासनले पनि उनलाई सन् १९९७ मा पक्राउ गरेको थियो ।
सन् २००० ‘अल–अक्सा इन्तिफादा’ नामले चिनिने विद्रोह सुरु नभएसम्म उनी रिहा भएनन् । जेलबाट रिहा भएपछि इसाले इज्ज अल–दिन अल–कसम ब्रिगेडहरूमा सैन्य प्रणालीहरू विकास गर्न महत्वपूर्ण भूमिका खेले ।
हमासमा उनको महत्वपूर्ण भूमिकाका कारण इसाको नाम इजरायलले ‘मोस्ट वान्टेड’ भनिने खोजी गरिएका व्यक्तिको सूचीमा राखेको छ ।


सन् २००६ मा इजरायलले इज्ज अल–दिन अल–कसम ब्रिगेडका प्रमुख नेताहरूको बैठक चलिरहेका समयमा डेफसँगै उनको पनि हत्या गर्ने प्रयास ग¥यो ।
उक्त आक्रमणमा उनी घाइते भएका थिए । तर, उनीहरूलाई हत्या गर्ने इजरायली प्रयास सफल भएन ।
इजरायली लडाकु विमानहरूले गाजामा सन् २०१४ मा आक्रमण गर्दा उनको घर ध्वस्त भएको थियो । यसबेला उनका एक जना भाइको मृत्यु भएको थियो ।
सन् २०११ सम्म उनको अनुहार कसैले देखेका थिएनन् । त्यो वर्ष खिचिएको एउटा सामूहिक तस्बिरमा उनी देखिएका छन् । यो तस्बिर इजरायली सिपाहीँ ग्लाड शालितको रिहाइको बदलामा रिहा भएका प्यालेस्टिनी बन्दीहरूको स्वागत गर्ने क्रममा लिइएको थियो ।
उनलाई अबु अल–बारा भनेर पनि चिनिन्छ । घुसपैठको योजनाकारका रूपमा उनलाई इजरायलले खोजिरहेको छ ।
सन् २०१२ को ‘शेल स्टोन्स’ देखि २०२३ को ‘अल–अक्सा फ्लड’ जस्ता हमासका गतिविधिमा उनी संलग्न भएको इजरायली आरोप छ ।
याह्या सिनवार
सिनवार हमासका नेता हुन् । उनी गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख हुन् । सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मजद’ का संस्थापक समेत हुन् ।
माजदले गाजामा आन्तरिक सुरक्षा हेर्छ । यसमा सन्दिग्ध इजरायली एजेन्टहरूको अनुसन्धान गर्नेजस्ता कार्यहरू समावेश छन् । उनी आफैँ पनि इजरायली गुप्तचर र सुरक्षा सेवाका अधिकारीहरूमाथि नजर राख्छन् ।
सिनवार तीनपटक पक्राउ परेका छन् । सन् १९८२ मा इजरायली सुरक्षा बलले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । त्यति बेला उनलाई चार महिना जेलमा राखिएको थियो ।


सिनवार सन् १९८८ मा तेस्रोपटक पक्राउ परेका थिए । यसपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । उनी जेलमै रहेका समयमा हमासको क्षेप्यास्त्रले इजरायली सैनिक ग्लाड शालितको ट्याङ्क ध्वस्त पा¥यो र ती सैनिकलाई हमासले बन्धक बनायो ।
सन् २०११ मा इजरायलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फताहका कैदीहरूलाई रिहा गरेको थियो । जसमा याह्या सिनवार पनि परेका थिए ।
इजरायली कैदबाट मुक्त भएपछि सिनवार हमासमा आफ्नो पुरानो स्थानमा फर्किए । सन् २०१७ मा सिनवार गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख चुनिए ।
अब्दुल्लाह बरगुटी
बरगुटीको जन्म सन् १९७२ मा कुवेतमा भएको थियो । दोस्रो खाडी युद्धपछि सन् १९९० मा उनी जोर्डनमा बस्न गएका थिए ।
उनले दक्षिण कोरियाली विश्वविद्यालयमा तीन वर्षसम्म इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन नसक्दासम्म जोर्डनको नागरिकता लिएका थिए ।
त्यहीँबाट उनले विस्फोटक पदार्थ बनाउन सिके । प्यालेस्टाइनमा प्रवेश गर्ने अनुमति पाएकाले उनले आफ्नो पढाइ पूरा गर्न सकेनन् ।
उनको वरपरका मानिसहरूमध्ये कसैलाई पनि उनको विस्फोटक बनाउने क्षमताको बारेमा थाहा थिएन ।
एक दिन उनले आफ्नो भाइ बिलाल अल बरगुटीलाई पश्चिम तटीय दुर्गम क्षेत्रमा लिएर गए । त्यहाँ उनले आफ्नो सीप देखाए ।
बिलालले आफ्नो सेनापतिलाई आफूले देखेको कुरा बताए । अब्दुल्लाह बरगुटीलाई त्यसपछि इज्ज अल–दिन अल–कसाम ब्रिगेडमा सामेल हुन आमन्त्रित गरियो ।
अब्दुल्लाह बरगुटीले आफ्नो सहरको गोदाममा सैन्य उत्पादनका लागि विशेष कारखाना स्थापना गरेका थिए ।
बरगुटीलाई सन् २००३ मा इजरायली सुरक्षा बलले संयोगवश पक्राउ गरेको थियो । उनलाई तीन महिनासम्म सोधपुछ गरिएको थियो ।


दर्जनौँ इजरायलीको मृत्युको लागि बरगुटीलाई जिम्मेवार मानिन्छ । उनीमाथि दोस्रोपटक मुद्दा चल्दा मृतकका आफन्त पनि सुनुवाइमा उपस्थित थिए ।
उनलाई इजरायलको इतिहासमा सबैभन्दा लामो सजाय सुनाइएको थियो । उनलाई ६७ वर्ष आजीवन कारावास र ५,२०० वर्षको जेल सजाय सुनाइएको थियो ।
उनलाई केही समय एकान्त कारागारमा राखिएको थियो । त्यसको विरोधमा उनले अनशन सुरु गरे । यसपछि उनको एकान्त कारावासको अन्त्य भयो ।
बरगुटीलाई ‘छाया राजकुमार’ पनि भनिन्छ । जेलभित्र लेखिएको सोही नामको किताबबाट उनलाई ‘प्रिन्स अफ द स्याडो’ उपनाम दिइएको हो ।
यस पुस्तकमा उनले आफ्नो जीवन र अन्य कैदीहरूसँग मिलेर चलाएका अभियान बारेमा वर्णन छ ।
इस्माइल हानिया
उनको अर्को नाम अबु अल–अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो । उनी सन् २००६ देखि प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा काम गर्दै आएका छन् ।
सन् १९८९ मा इजरायलले उनलाई तीन वर्ष जेलमा राखेको थियो । यसपछि उनलाई हमासका धेरै नेताहरूसँगै इजरायल र लेबनानबिचको ‘नो–म्यान्स ल्यान्ड’ को रूपमा रहेको मार्ज अल–जुहुरमा निर्वासनमा पठाइयो ।
आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किए । सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए । जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो ।
हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर, त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई आफ्नो पदबाट बर्खास्त गरेका थिए ।


इज्ज अल–दिन अल–कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए । त्यसक्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए ।
हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे । उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताए ।
त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपिल पनि गरिसकेका छन् ।
सन् २०१७ मा हमासको राजनीतिक एकाइ प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो ।
खालिद मशाल
मशालको पूरा नाम ‘अबु अल–वालिद’ हो र उनको जन्म सन् १९५६ मा वेस्ट ब्याङ्क (पश्चिम किनारा) को सिलवाड गाउँमा भएको थियो ।
उनले प्राथमिक शिक्षा त्यहीँ प्राप्त गरे । पछि उनको परिवार कुवेत गयो र त्यहाँ उनले माध्यमिक तहसम्मको शिक्षा पूरा गरे ।
मशाल सन् १९९६ देखि २०१७ सम्म हमासको राजनीतिक एकाइको अध्यक्ष पनि थिए । सन् २००४ मा शेख अहमद यासिनको मृत्युपछि मशाललाई यसको नेता नियुक्त गरिएको थियो ।
इजरायलको गुप्तचर सेवा मोसादले सन् १९९७ मा उनलाई निशाना बनाएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा उनको हत्या गर्ने प्रयास गरिएको थियो । नेतान्याहुले मोसादका प्रमुखलाई मशालको हत्याको योजना बनाउन निर्देशन दिएका थिए ।
मोसादका १० जना एजेन्ट नक्कली क्यानेडेली राहदानीमा जोर्डन प्रवेश गरेका थिए ।
खालेद मशालसँग त्यति बेला जोर्डनको नागरिकता थियो । राजधानी अम्मानको सडकमा हिँड्दै गर्दा उनलाई विषाक्त पदार्थको सुई लगाइएको थियो ।


जोर्डनका अधिकारीहरूले यो हत्या प्रयास पत्ता लगाए । उनीहरूले यसमा संलग्न दुई मोसाद एजेन्टलाई पक्राउ गरेका थिए ।
त्यसबेला जोर्डनका राजा हुसेनले इजरायली प्रधानमन्त्रीसँग मशाललाई दिइएको विषाक्त पदार्थको प्रतिरोधात्मक औषधि मागेका थिए । तर, नेतान्याहुले सुरुमा यो अनुरोध अस्वीकार गरे ।
उनको हत्याको प्रयासले राजनीतिक विवादको रूप लियो । यसमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले हस्तक्षेप गरेका थिए । उनले नेतान्याहुलाई औषधि दिन बाध्य पारे ।
मशालले डिसेम्बर सन् २०१२ मा पहिलोपटक गाजा क्षेत्रको भ्रमण गरेका थिए । उनी ११ वर्षको हुँदा प्यालेस्टाइन छोडेका थिए । त्यसपछि प्यालेस्टिनी क्षेत्रमा उनको यो पहिलो भ्रमण थियो ।
राफा क्रसिङमा प्यालेस्टिनी नेताहरूले उनलाई स्वागत गरेका थिए । गाजा सहरमा पुगेपछि उनलाई स्वागत गर्न प्यालेस्टिनीहरूको भीड सडकमा जम्मा भएको थियो ।
महमूद जहर
जहरको जन्म गाजामा सन् १९४५ मा भएको थियो । उनका बुबा प्यालेस्टिनी र आमा इजिप्सियन थिए । उनको बाल्यकाल इजिप्टको इस्माइलिया सहरमा बित्यो । उनले गाजामा माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका थिए ।
उनले सन् १९७१ मा कायरोको ऐन शम्स विश्वविद्यालयबाट जनरल मेडिसिनमा स्नातक गरे ।
त्यसपछि १९७६ मा जनरल सर्जरीमा स्नातकोत्तर गरे । पढाइ सकेपछि उनले गाजा र खान योनिसको अस्पतालमा डाक्टरको रूपमा काम गरे । उनको राजनीतिक गतिविधिको कारण पछि उनी त्यहाँबाट बर्खास्त भएका थिए ।
जाहर हमासका प्रमुख नेता मानिन्छन् । उनलाई हमास आन्दोलनको राजनीतिक नेतृत्वको सदस्य मानिन्छ । सन् १९८८ मा हमासको स्थापना भएको ६ महिनापछि महमूद जहरलाई ६ महिनासम्म इजरायली जेलमा राखिएको थियो ।


इजरायलले उनलाई सन् १९९२ मा अन्य नेताहरूसँगै उनलाई मार्ज अल–जुहुरमा निर्वासन पठाएको थियो । उनी एक वर्ष त्यहाँ बसे ।
सन् २००५ मा भएको निर्वाचनमा हमासले बहुमत प्राप्त गरेपछि जहरले प्रधानमन्त्री इस्माइल हनियाको सरकारमा विदेशमन्त्रीको रूपमा काम गरे । त्यसपछि राष्ट्रपति महमूद अब्बासले सरकार बर्खास्त गरेपछि प्यालेस्टिनीहरूबिच विभाजन निम्तियो ।
इजरायलले सन २००४ मा जहरको हत्या गर्ने प्रयास गरेको थियो । गाजा सहर नजिकैको रिमालमा रहेको जाहरको घरमा एफ–१६ लडाकू विमानले बम खसालेको थियो । यो बम पाँच क्विन्टलको रहेको बताइएको छ । यस आक्रमणमा उनी सामान्य घाइते भए । तर, उनका जेठा छोरा खालिदको मृत्यु भयो ।
उनका अर्का छोरा होसाम पनि २००८ मा गाजाको पूर्वी क्षेत्रमा इजरेली सेनाको कारबाहीमा मारिएका थिए । यस हमलामा होसामसहित १८ जनाको मृत्यु भएको थियो । होसाम कसम ब्रिगेडका सदस्य पनि थिए ।
जहरले बौद्धिक, राजनीतिक र साहित्यिक कार्यहरू लेखेका छन् । यसमा ‘द प्रब्लम अफ आवर कन्टेम्परेरी सोसाइटी… अ कुरानिक स्टडी’, ‘नो प्लेस अन्डर द सन’ समावेश छन् ।
यी बेन्जामिन नेतान्याहुको पुस्तकको जवाफमा लेखिएका हुन् । उनले ‘अन द पेभमेन्ट’ नामक उपन्यास पनि लेखेका छन् ।
– बीबीसी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *