भर्खरै :

युद्धपिपासु पश्चिमा शासकहरू

युद्धपिपासु पश्चिमा शासकहरू

हमासको अचानकको सक्रियतापछि हमासविरुद्ध इजरायलको युद्ध घोषणा र गाजामाथि विध्वंसक हवाई बम हमला नवौँ दिनमा पुगेको छ । आज विश्वभरबाट इजरायल र हमासबिचको असमान युद्ध रोकिनुपर्ने र निर्दोष तथा निहत्था नागरिकहरूको जीवनरक्षा हुनुपर्ने माग उठिरहेको छ । यसै ससिलसिलामा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्मा मानवीय आधारमा इजरायल र हमासबिच युद्धविराम गर्ने रुसी प्रस्तावलाई असफल बनाइएको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन नदिनमा पश्चिमा शासकहरूले भूमिका खेलेका थिए । यसले उनीहरूको युद्धपिपासु अनुहार पुनः एक पटक विश्वसामु उदाङ्गो भएको छ ।
रुसले परिषद्मा गाजामा मानवीय आधारमा युद्धविराम गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावको पक्षमा चीन, ग्याबोन, मोजाम्बिक, रुस र संयुक्त अरब इमिरेट्सले समर्थन गरेका थिए । सोमबार भएको मतदानमा संयुक्त अधिराज्य (बेलायत), संरा अमेरिका, फ्रान्स र जापानले विपक्षमा मतदान गरेका थिए । तीबाहेक सुरक्षा परिषद्का ६ अस्थायी सदस्य देशहरू अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्विट्रल्यान्डले मतदानमा भाग लिएनन् । रुसी प्रस्ताव अघि बढ्नका लागि उक्त प्रस्तावको पक्षमा नौ मत आवश्यक थियो ।
रुसले इजरायलमाथि हमासको आक्रमणलाई उपेक्षा गरेको र पीडितहरूको अपमान गरेको र हमासको आलोचना नगरेर रुसले आतङ्कवादी समूहलाई आश्रय दिइरहेको पश्चिमाहरूको आरोप रहेको छ । तर, इजरायलले ओस्लो सम्झौता र दुई राज्य समाधानको सिद्धान्तलाई मिल्काएर निरन्तर प्यालेस्टाइनी भूमिमाथि जबरजस्ती कब्जा, यहुदी बस्ती विस्तार र गाजापट्टीमाथि अमानवीय र क्रुर घेराबन्दीको बारेमा भने तिनीहरू एक शब्द बोल्न चाहँदैनन् । हमासको हिंसा अत्याचार पीडितहरूको आक्रोश मात्र हो । हिंसा चाहे जुनसुकै पक्षले गरेको किन नहोस् हिंसाको परिणाम सुखद हुने गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *