भर्खरै :

शारीरिक व्यायाम स्वास्थ्यका लागि अत्यावश्यक

शारीरिक व्यायाम स्वास्थ्यका लागि अत्यावश्यक

भक्तपुर, १ कार्तिक । भनपा ४ नं वडा कार्यालय छिकोङ (व्यायाम) प्रशिक्षण व्यवस्थापक समूहको आयोजनामा उक्त व्यायामको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सृजना सैंजूले चिनियाँ महिलाहरू समूहमा मिलेर फुर्सद पाएपछि व्यायाम गर्ने, नाच्ने गर्नाले शारीरिक तथा मानसिकरूपमा पनि स्वस्थ हुने बताउनुभयो । उहाँले खाद्य पदार्थमा विषादी र तेलमा मिसावटले गर्दा मानिसहरूको स्वास्थ्यमा समस्या आएको चर्चा गर्नुभयो ।
उहाँले आफ्नो जमिन, स्वतन्त्रता, स्वाधीनताको लागि प्यालेस्टाइनी जनताले युद्ध गरिरहेको चर्चा गर्दै सुदूरपश्चिमका कृषि विद्यार्थीहरूलाई युद्धग्रस्त देशमा पठाउने सरकारको गलत नीतिले नेपालीहरूले दुःख पाइरहेको बताउनुभयो । अमेरिकी साम्राज्यवाद चीनको बीआरआइलाई रोक्न उद्यत रहेको उल्लेख गर्दै इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा हमला गर्दा सबै मूकदर्शक भएर बस्न नहुने बताउनुभयो । गाजामा नाकाबन्दी, बत्ती, पानीको अभाव, बेरोजगारी समस्या रहेको जानकारी गराउँदै उहाँले मिडियामा आएको सबै कुरो सत्य नहुने भएकोले सत्य कुरो उजागर गर्दै जनतालाई सचेत पार्ने काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले निरोगी जीवन जिउन शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने बताउँदै जाँड रक्सी पिउनुभन्दा अन्य झोल पदार्थ सेवन गर्नु राम्रो हुने उल्लेख गर्नुभयो । भनपाले दिँदै आइरहेको तालिमले सक्षम तथा योग्य नागरिक तयार हुने विचार उहाँले व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले अन्तर्राष्ट्रिय परिस्थितिले देशको विभिन्न क्षेत्रमा प्रभाव पार्ने भएकोले समसामयिक विषयबारे बुझ्न समय–समयमा छलफल र अन्तरक्रिया गर्नुपर्ने आवश्यकताबारे प्रकाश पार्नुभयो ।
नेमकिपा ४ वडा एकाइ समितिका अध्यक्ष पशुपति प्रजापतिले रोग लाग्न नदिन व्यायाम गर्नुपर्नेमा जोड दिनुभयो ।
छिकोङ व्यायाम प्रशिक्षक गीता कोण्डाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं. ४ छिकोङ व्यवस्थापन समिति सदस्य कृष्णलक्ष्मी दुवाल, एच.एस. सुवाल, छिकोङ व्यायाम प्रशिक्षक मुना बासुकला, रविना सुवाल, रञ्जना सुवाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *