भर्खरै :

भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर, १ कार्तिक । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रम बुधबार कलेजको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नपाले असोज महिनामा मात्र दुईवटा अन्तर्राष्ट्रिय सम्मेलनहरू सम्पन्न गरिसकेको बताउँदै सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
सम्मेलनले नया नयाँ ज्ञान र अनुभव दिनुका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बन्ध विस्तार गर्न टेवा पु¥याउने धारणा राख्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक पूर्वाधारहरू निर्माण गरिरहेको बताउनुभयो ।
१२ कक्षा उत्तीर्ण हुनासाथ विदेसिने क्रम बढिरहेको चर्चा गर्दै उहाँले सरकारको गलत शिक्षा नीतिका कारण नेपाली युवा विद्यार्थीहरू विदेसिन बाध्य भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापक स्वयम् म्यानपावर कम्पनीसँग मिलेर, विद्यार्थीसँग कमिसन खाएर विद्यार्थीहरूलाई विदेश पठाउन क्रियाशील भइरहेको चर्चा गर्दै देश युवाविहीन हुने अवस्थामा गइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आर्थिकरूपमा स्वतन्त्र नभएको देश राजनीतिकरूपमा पनि स्वतन्त्र हुनसक्दैन । देशका बुद्धिजीवी, प्राध्यापकहरूले देश र समाजको लागि चिन्तन गरी समाजको हितमा काम गर्नु आवश्यक छ ।”
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भूकम्प इन्जिनियरिङसम्बन्धी ख्वपका विद्यार्थी र विदेशी विद्यार्थीहरूबिच अनुभव आदानप्रदान र नयाँ ज्ञान हासिल गर्न अन्तर्राष्ट्रिय सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सम्मेलनका सहभागी र प्रस्तुतकर्ता तथा मुख्य वक्ताहरूमा धन्यवादज्ञापन गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सम्मेलनका विषयहरू नेपालको सन्दर्भमा निकै समय सान्दर्भिक रहेको धारणा राख्दै भूकम्पसम्बन्धी अनुसन्धान र क्षति न्यूनीकरणमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
ख्वप ई. कलेजका उपप्राचार्य सुवेगमान बिजुक्छेँ र ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले सम्मेलन आयोजना गर्नुको उद्देश्य, सम्मेलनका उपलब्धिबारे प्रस्ट पार्दै कलेजको आयोजनामा आगामी दिनहरूमा पनि समयसान्दर्भिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा गर्दै जाने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा सम्मेलनका स्टेरिङ कमिटीका सचिव मन्जिप शाक्य र विदेशी सहभागीले सम्मेलनको उपयोगिता र अनुभवबारे प्रस्ट पार्नुभयो । कार्यक्रममा शिक्षक नवराज बुढाथोकीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *