भर्खरै :

राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण/रिपब्लिकन पार्टीका उम्मेदवार (तेस्रो भाग) – २

राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण/रिपब्लिकन पार्टीका उम्मेदवार (तेस्रो भाग) – २

“हाम्रा घाइतेहरूको सूची लामो हुँदै जाँदा बढ्दै गएको दुःखलाई लुकाउन सबै युद्धक विमान चालकहरूलाई झैँ हामीलाई मृत्युप्रति बेवास्ता गर्न सिकाइएको थियो ।”
“अर्को पटक बमबारी गर्न जाँदा सकेसम्म बढीभन्दा बढी क्षति गराउने सङ्कल्पसहित हामी निस्कन्थ्यौँ ।”
“मेरो विमानको खतराको आवाज आउँदा म बम खसाल्न तयार थिएँ । विमानमा क्षेप्यास्त्र लागेको मैले चाल पाएँ । ५५० माइल प्रतिघण्टाको गतिमा उडिरहेको मेरो A–4 विमान डरलाग्दो किसिमले चक्कर खाँदै जमिनमा खस्न थाल्यो । विमानमा प्रहार हुनेबित्तिकै हेर्दा मैले आफ्नो पखेटा ध्वस्त भएको देखेँ । “ममाथि प्रहार भयो, मैले रेडियोबाट खबर पठाएँ र विमानबाट निस्कन ‘इजेक्सन सीट ह्यान्डल’ (Ejection Seat Handle) ताने । तर त्यसबेला विमानको भित्र ठोक्किएर मेरो दायाँ–बायाँ हात तीन ठाउँमा र दायाँ घुँडा भाँचियो । विमानबाट हुत्तिँदाको बलले मैले होस गुमाएँ । प्रत्यक्षदर्शीहरूका अनुसार टु«क ब्याक तालको (Truc Back Lake) पानीमा खस्ने बेला मेरो प्यारासुट पनि राम्ररी खुलेको थिएन । म मध्य दिनमा, मध्य सहरमा तालको मध्य भागमा खस्न पुगेँ ।”
“मेरा पितालाई आधातयारीका साथ लडाइँमा जान मनपर्दैनथ्यो । उहाँको विचारमा धैर्यता मान्छेको प्रशंसायोग्य गुण भए पनि युद्धको बेला चाँडो र सफल विजय पाउन आवश्यक सबै कदमहरू चाल्नुपर्ने उहाँ ठान्नुहुन्थ्यो । भियतनाम युद्ध न चाँडो सिद्धियो न सफलतापूर्वक नै । यसले गर्दा उहाँ निकै निराश हुनुभएको कुरा मलाई थाहा छ ।”
“अवकाश पाएपछि एक ठाउँमा बोल्दै उहाँले भियतनाममा संरा अमेरिका असफल बन्नुको कारण ‘दुईवटा खराब निर्णयहरू’ हो भन्नुभयो । पहिलो निर्णय, अमेरिकी सेनालाई उत्तरी भियतनाम जानबाट रोक्नु थियो । यसले गर्दा दुश्मनलाई उसकै ठाउँमा हराउने मौका अमेरिकाले गुमायो । दोस्रो निर्णय, लडाइँ सिद्धिनु दुई हप्ताअघि आएर हनोई र हाइफोङमाथि बमबारी गर्न नदिनु ।”
“यी दुई निर्णयले गर्दा आफू अनुकूल रणनीति बनाउन हनोइले छुट पायो । त्यस रणनीतिको जवाफमा कुनै प्रत्याक्रमण र जवाफी हमला नहुने हनोइले थाहा पायो ।”
“१९७१ डिसेम्बरमा उत्तरी भियतनामले निर्णायक हमला सुरु गर्दा भियतनाममा अमेरिकी सेनाको सङ्ख्या घटेर ६९ हजार पुगेको थियो । त्यसपछि राष्ट्रपति निक्सनले मेरा पितालाई हाइफोङ र अरू बन्दरगाह सहरहरूमा व्यापक बमबारी गर्न आदेश दिए । जोन्सन प्रशासनलाई निकै अफठ्यारो पारेको लडाइँका झिना मसिना व्यवस्थापन तरिकाहरूलाई निक्सन प्रशासनले त्यागिसकेको थियो । ती व्यवस्थापन तरिकाहरूमध्ये अमेरिकी बमवर्षक विमान चालकहरूलाई लक्ष्य भेदनमा लगाइएको रोक पनि एक हो । आफ्नो निर्दिष्ट लक्ष्यबाट यता–उता बम बर्साउन नदिने यो तरिका निकै अर्थहीन थियो ।”

जोन म्याक्केन आफ्ना बुबाका साथ

“राष्ट्रपति निक्सन र रक्षामन्त्री मेल्भिन लेर्ड (Melvin Laird) ले सत्ता सम्हालेपछि भने सैनिक कमान्डरहरू र गैरसैनिक उच्चपदस्थ अधिकारीहरूबिचको सम्बन्धमा सुधार आयो । युद्ध सञ्चालन गरिरहेका उच्च सैन्य अधिकारीहरूको विचारहरूप्रति नयाँ प्रशासन सकारात्मक र सहयोगी थियो । निक्सन, लेर्ड र राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिञ्जर (Henry Kissinger) सँग बुबाको राम्रो सम्बन्ध थियो ।”
बमबारीबाट घाइते भएकाहरूबारे लेख्दा म्याक्केनले आफ्ना भावनाहरूलाई लुकाएका छैनन् । उनले निकै घृणाको भाव अभिव्यक्त गरेका छन् ।
“अप्रिल १९७२ मा उत्तरी भियतनाममाथि बमबर्षा गर्न राष्ट्रपति निक्सनले आदेश दिएपछि १९६८ मार्च यता पहिलोपटक बुबाको आदेशानुसार हनोइमाथि हवाई हमला गरियो र हाम्रो रणनीतिक स्थितिमा केही सुधार भयो । ‘अपरेसन लाइनब्याकर’ (Oparation Line Backer) नाम दिइएको सो कारबाहीमा धेरै बम बोक्न सक्ने B–52 विमानहरूको पनि उपयोग भएको थियो ।”
“युद्धलाई छोटो र सफल बनाउन चाल्नुपर्ने कदमहरू चाल्न अमेरिका अझै तयार नभएको भनी हिच्किचाउनुले नै १९७२ अघिको हाम्रो असफलतामा बल पुगेको थियो । युद्ध समाप्त हुने दिनसम्म हामीले भोलिको बारे सोच्नै सकेनौँ । युद्धको पक्षमा होस् वा विपक्षमा कसैले पनि जोन्सन प्रशासनले सञ्चालन गरेको युद्ध रणनीति ठीक छ भनी विश्वास गर्दैनन् । धेरै युद्धबन्दीहरू युद्धको विपक्षमा रहेको मैले पाएँ ।”
“B–52 विमानहरूले ११ रातसम्म हनोईलाई आतङ्कित बनाइरहे । समुन्द्रको छाल जस्तै एकपछि अर्को गरी बम वर्षा गरिरहे । दिउँसो इन्धन र बम भर्न ती विमानहरू रोकिँदा अरू विमानहरूले आक्रमण जारी राखे । भियतनामीहरूले कुरो बुझे ।”
“युद्ध अन्त्य हुने थाहा पाएर सहमतिमा हस्ताक्षर हुँदा हामीलाई भावनात्मक नबन्न वरिष्ठ अधिकारीहरूले भनेका थिए ।”
भियतनामीहरूप्रति उनले घृणा देखाएका छन् । तिनीहरू सबैलाई पूरै सखाप पार्न उनी तयार थिए ।
“पेरिसमा शान्ति सम्झौता भई युद्ध समाप्त हुञ्जेलसम्म बुबाले अवकाश पाइसक्नुभएको थियो ।” गैरसैनिक अधिकारीहरूप्रति जवाफदेही हुने बाध्यात्मक पदबाट हटेपछि उहाँले सो सम्झौताको विरोध गर्नुभयो । उहाँले भन्नुभयो, “युद्धबाट भाग्ने हतारोमा हामीले निकै खराब सम्झौतामा हस्ताक्षर ग¥यौँ ।”
यी अनुच्छेदहरूमा म्याक्केनका निकै व्यक्तिगत विचारहरू प्रतिबिम्बित भएका छन् । अमेरिकाले युद्धको विरोधमा बोल्ने निर्णय उनले गरेपछि, उनको मनमा निकै कुरा खेलेको थियो । त्यही कुरा उनले पुस्तकमा उल्लेख गरेका छन् ।
“निकै सम्पादित एक युद्धविरोधी प्रचार सामग्रीमा भएको आवाज र मैले एक फ्रान्सेली पत्रकारलाई दिएको अन्तर्वार्ताको आवाज जाँच गर्दा एउटै भएको प्रतिवेदन मेरा पितासमक्ष पुगेको रहेछ । युद्धविरुद्ध बोलिसकेपछि मैले बिताएका ती छटपटीपूर्ण दिनमा मलाई यही कुराको डर थियो ।”
“म युद्धबाट फर्केपछि मेरो त्यो युद्धविरोधी स्वीकारोक्तिबारे थाहा भइसकेको भनी उहाँले कहिल्यै भन्नुभएन । बरु मैले त्यसबारे उहाँलाई भने पनि बढी विस्तृतरूपमा कुरा गर्न मैले चाहिनँ । म जेलमा हुँदा मैले त्यो टेप बजाइएको सपना देखेको थिएँ । तर, हालै आएर मलाई थाहा भयो, त्यो सपना नभई साँचो रहेछ र त्यसलाई जेलमा मात्र नभई बाहिर पनि बजाइएको थियो । त्यसैबेला बुबाले त्यो टेपको बारे थाहा पाउनुभएको रहेछ ।”
“मेरो युद्धविरोधी बयानको बारे मेरो बुबालाई जानकारी भएको भनी मैले त्यो बेला नै थाहा पाएको भए त्यो क्षण मेरो लागि निकै पीडादायी हुन्थ्यो । त्यो पीडाबाट मुक्ति पाउन मलाई निकै समय लाग्थ्यो होला । तर, वर्षहरू बित्दै जाँदा बुबा र म आफैप्रति मेरो धारणा परिपक्क हुँदै गएको थियो । बलियो चरित्रबारे अझ राम्ररी बुझेको छु ।”
“आफ्ना आदर्श वीरहरूको गुण आत्मसात गर्न नसकेको र क्षमताको अन्तिम बिन्दुसम्म पुगेको महसुस गर्ने छोराको मनस्थितिलाई नराम्रो रूपले नलिएका मेरा पिता बलियो इच्छाशक्तिका व्यक्ति हुनुहुन्थ्यो ।”
म उनको आलोचना गर्दिनँ । यसो गर्नु अमानवीय हुनेछ । त्यो मेरो उद्देश्य पनि होइन । हामीले यस्तो नीतिलाई उदाङ्गो पार्नुपर्छ, जुन एक जनाको होइन, धेरैले अङ्गालेका छन् । वस्तुगत सत्य बुझ्न सधैँ कठीन हुन्छ । त्यसैले त्यसलाई उदाङ्गो पार्नु आवश्यक छ ।
म्याक्केनले आफूलाई राखिएको सानो खोरलाई घृणा गर्छु भनी लेखेका छन् । अमेरिकामा त्यस्तै खोरमा थुनिएका पाँच क्युवाली आतङ्कवादविरोधी वीरहरूका बारे के म्याक्केनले कहिल्यै सोचेका छन् ? आफूले नगरेको अपराधका ‘सानो हवाना’को अदालतमा उपस्थित गराएर सजाय दिलाइएका ती पाँच वीरहरूका बारे उनले कहिल्यै सोचेका छन् ? ती पाँचमध्ये तीन जनालाई दोहोरो आजन्म कारावास र बाँकीलाई १९ र १५ वर्षको कारावासको सजाय सुनाइएको छ ।
आतङ्कवादीहरूद्वारा भएका अमेरिकी नागरिकहरूको आमहत्याबारे अमेरिकी प्रशासनले पूर्व जानकारी पाएको र चाहेको भए त्यो रोक्न सकिन्थ्यो भनी के म्याक्केनलाई थाहा छ ?


७३ जना यात्रुको ज्यान जाने गरी क्युवाली विमानलाई आकाशमै विस्फोट गराउने पोजादा क्यारिलेस (Posada Carriles) र ओर्लान्डो बोस्चको (Orlando Borch) गतिविधिहरूबारे के म्याक्केनलाई जानकारी छ ?
आनापोलिसका (Annapolis) सैन्य प्रशिक्षार्थीहरूसँग किन उनी यसबारे कुरा गर्दैनन् ?
क्युवाली वीरहरू आफ्नो कारावासको १० वर्ष पूरा गर्दै छन् । उनीहरूले न त कहिल्यै कसैको हत्या गरे न कसैलाई यातना नै दिए । अब आएर क्युवालीहरूले भियतनाममा अमेरिकी बन्दीहरूलाई यातना दिएका थिए भनेर आक्षेप नलगाऊ ।
म्याक्केन महोदय, तपाईँले सैन्य तालिम पाएको तालिम केन्द्रमा गरेका घोषणाहरू म जान्दछु । मलाई यसबारे जवाफ दिएर मेरो उचाइ बढाउन नचाहने तपाईँको राम्रो सोचको म प्रशंसा गर्छु । तर, एउटै कुरा यहाँ खट्केको छ । म तपाईँले लगाउनुभएको आरोपहरूको सम्बन्धमा प्रमाण चाहन्छु । मेरा संस्मरण छाप्ने समाचार संस्थाहरूको त्यो उद्देश्य नहोला, तर म प्रमाण चाहन्छु । हुँदै नभएको घटनाको प्रमाण तपाईँ जुटाउनै सक्नुहुन्न । मैले नैतिकताको कुरो उठाएको हुँ ।
मेरो संस्मरण जारी रहनेछ ।
Fidel Castro Ruz

फेबु्रवरी : १२, २००८
साँझ ७ः२६ बजे ।
अनुवाद : सुवेग

Leave a Reply

Your email address will not be published. Required fields are marked *