भर्खरै :

राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण – अमेरिकी रिपब्लिकन पार्टीको उम्मेदवार (३)

राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण – अमेरिकी रिपब्लिकन पार्टीको उम्मेदवार (३)

पुस्तकमा म्याक्केनले सैन्य तालिममा छँदाका घटनाहरू उल्लेख गरेका छन् । तर, तिनलाई यहाँ उल्लेख गर्दा मेरा विश्लेषणभन्दा कुरा निकै अन्त मोडिन्छ । मेरो विश्लेषण उनको व्यक्तित्व विषयहरूसँग सम्बन्धित छैन ।
जनवरी २८ मा अमेरिकी प्रतिनिधिसभामा बुशले दिएको अन्तिम भाषणको बेला म्याक्केन त्यहाँ थिएनन् । आफ्ना नीतिहरूका कारण अन्तै अल्झिनुपरेको प्रस्ट छ । उनी मियामिमा लिटिल हवाना (Little Havana) स्थित भर्सेसल्स (Versailles) रेष्टुरेन्टमा क्युवाली प्रवासीहरूको सम्मान ग्रहण गर्दै थिए । त्यहाँ उपस्थित विभिन्न व्यक्तिहरूको पृष्ठभूमि यहाँ नकेलाउनु नै उपयुक्त होला ।
म्याक्केन इराक युद्धको समर्थन गर्दछन् । अफगानिस्तान, इरान र उत्तर कोरियाको डर र रुस र चीनको बढ्दो शक्तिले गर्दा संरा अमेरिका आफ्नो आक्रमक शक्ति वृद्धि गर्न बाध्य छ भन्ने उनको विश्वास छ । इस्लामिक उग्रवादीहरूमाथि आफ्नो देशलाई बचाउन अरू देशसँग मिलेर जान उनी तयार छन् र निश्चित जीत प्राप्त नभएसम्म इराक युद्ध जारी राख्न चाहन्छन् ।
मेक्सिको र अरू ल्याटिन अमेरिकी देशहरूसित राम्रो सम्बन्ध बनाई राख्नुपर्ने आवश्यकताबारे उनी जानकार छन् र क्युवाविरुद्धको अहिलेको आक्रामक नीतिको निरन्तरताको पक्षमा पनि छन् ।
संरा अमेरिकाको सिमानामा सुरक्षा कडा गर्ने र देशबाट आउने–जाने व्यक्तिहरू मात्र होइनन् । देश भित्रिने सामानमा समेत कडा निगरानी हुनुपर्ने उनको सोच छ । अमेरिका भित्रिने आप्रवासीहरूले अङ्ग्रेजी भाषा र संरा अमेरिकाको इतिहास र संस्कृतिबारे जानकारी राख्नैपर्ने उनको मत छ ।
उनलाई ल्याटिन अमेरिकी आप्रवासीहरूको मतको खाँचो छ । तर, दुर्भाग्यवस तिनीहरूमध्ये धेरै मत खसाल्दैनन् वा बिरलै मत दिन्छन् । आफ्नो देशमा जबरजस्ती फर्काइने, बालबालिका लगिने र जागिर खोसिने डर उनीहरूमा सधैँ हुन्छ । टेक्सास सीमामा मात्रै बर्सेनि ५०० जनाले ज्यान गुमाउँछन् । ‘अमेरिकी सपना’ (American Dream) को पछाडि कुद्नेहरूका लागि उनले कुनै पनि किसिमको ‘व्यवस्थापन ऐन’ (Adjustment Act) ल्याउने बाचा गरेका छैनन् ।
बुशको ‘कुनै बालबालिका नछुट्ने ऐन’ (The No Child Left Behind Act) को उनी समर्थक हुन् । कम ब्याजदरमा शैक्षिक ऋण र विश्वविद्यालय अनुदानका लागि सङ्घीय खर्च बढाउनुपर्ने पक्षमा उनी छन् ।

जोन म्याक्केन

क्युवामा हामी सबैलाई पूर्ण ज्ञान, राम्रो शिक्षा र विश्वविद्यालयबाट पढाइ पूरा गर्ने अवसर पूर्णतया उपलब्ध गराउँछौँ । सुन्न क्षमता नभएका ५० हजारभन्दा बढी बालबालिकाहरूले राज्यबाट विशेष शिक्षा र सुविधा पाउँछन् । कम्प्युटर शिक्षा जुनसुकै ठाउँमा पनि जसलाई पनि दिइन्छ । यी कार्यहरू गर्न लाखौँ सक्षम जनता खटिएका छन् । तर, यस्तो डरलाग्दो अत्याचारबाट मुक्त गर्न क्युवालाई नाकाबन्दी लगाउनु त जरुरी नै छ ।
अरू उम्मेदवारहरूको जस्तै उनको पनि सत्ता सञ्चालनसम्बन्धी वाचाहरू छन् । विदेशी ऊर्जामा भइरहेको निर्भरता घटाउने उनले वाचा गरेका छन् । भन्न सजिलो छ, तर आजको युगमा यो काम गर्न गा¥हो छ ।
इथानोल (Ethanol) उत्पादनमा सहुलियत दिने कुराको उनी विरोधी छन् । अचम्म, मकै र अरू अन्नबाट इथानोल उत्पादन गर्न ती अन्नमा अमेरिकाले दिँदै आएको कृषि सहुलियत बन्द गर्न माग गर्नुस् भनी मैले ब्राजिली राष्ट्रपति लुला दा सिल्भा (Lula Da Silva) लाई सुझाव दिएको थिएँ । तर, अमेरिकामा ठीक उल्टो प्रस्ताव अघि ल्याइयो : ब्राजिली इथानोलसँग प्रतिस्पर्धा गर्न अमेरिकी इथानोल निर्यात गर्ने । तर, उखुबाट उत्पादित ब्राजिली इथानोलसँग मकैबाट उत्पादित अमेरिकी इथानोलले मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन भन्ने लुला र उनका सहयोगीहरूलाई मात्र थाहा छ । अमेरिकाले राष्ट्रिय सहुलियत, व्यापार नियन्त्रणजस्ता विभिन्न तगाराहरू नलाइदिएको भए ब्राजिली इथानोल उत्पादक मजदुरहरूले अझ धेरै फाइदा लिन सक्ने थिए ।
अहिले आएर संरा अमेरिकाले विभिन्न ल्याटिन अमेरिकी देशहरूलाई उखुबाट इथानोल उत्पादन गर्नेतिर लगाएको छ । ऊर्जामा परनिर्भरता घटाउने नयाँ निर्णय अमेरिकाले ग¥यो भने ती ल्याटिन अमेरिकी देशहरूले के गर्लान् ?
हावा र पानीको गुणस्तर सुधार्ने, हरित क्षेत्रहरूको सदुपयोग गर्ने र राष्ट्रिय निकुञ्जहरूको संरक्षण गर्ने उनका वाचाहरू पनि छुटाउनुहुँदैन । व्यापार बजारका बढ्दा नियमहरूका कारण कुनै बेला देशको प्राकृतिक धरोहर यी राष्ट्रिय निकुञ्जहरू सम्झनामात्रै बन्ने क्रममा छन् । तर, जे नै भए पनि क्योटो अभिसन्धिमा फेरि पनि अमेरिकाले हस्ताक्षर गर्ने छैन ।
यी सबै आँधीका बिच हराएको एक्लो मानिसको सपनाझैँ मात्र लाग्छन् ।
उनले मध्यम वर्गीय परिवारहरूको करमा कटौती गर्नेछन् । स्थायी कर घटाउने र ब्याजदर यथावत राख्ने कुराको नीतिलाई उनले पनि निरन्तरता दिनेछन् ।
स्वास्थ्योपचार र ओखतीमूलोको मूल्य निर्धारणमा उनी बढी नियन्त्रण चाहन्छन् । स्वास्थ्य सेवाको रकमको मालिक परिवार स्वयम् हुनुपर्छ भन्ने उनको मान्यता छ । उपचार र रोग रोकथामका कार्यक्रमहरू सञ्चालन गरिने उनले बाचा गरेका छन् । सामाजिक सुरक्षा कर कोषबाट मजदुरहरूले व्यक्तिगत अवकाश कोषमा रकम स्थानान्तरण गर्न वर्तमान राष्ट्रपतिको योजनाको उनी समर्थक हुन् ।
सामाजिक सुरक्षा कार्यक्रमको हविगत पनि अब रोयर बजारको जस्तै हुनेछ ।
उनी मृत्युदण्डका पक्षमा छन्; सशस्त्र सैन्य बलको विकास र वृद्धिका पक्षपाती हुन् ।

लुला दा सिल्भा

म्याक्केनका केही भनाइहरू सुनौँ :
– “स्थिति अफ्ठ्यारो छ तर सन् २००० मा भन्दा अहिले स्थिति राम्रो थियो ।” (जनवरी २००८)
– “मेरो अर्थशास्त्रको ज्ञान राम्रो छ, म रेगन क्रान्तिको समयमा त्यहाँ संलग्न थिएँ ।” (जनवरी २००८)
– “आर्थिक मन्दी रोक्न, लापरबाही खर्च रोकौँ ।” (जनवरी २००८)
– “आर्थिक शक्तिमा ¥हास आएमा सैन्य शक्ति कमजोर हुन्छ ।” (डिसेम्बर २००७)
– “रिपब्लिकनहरूले खर्चमा नियन्त्रण गर्न बिर्सिसके ।” (नोभेम्बर २००७)
– “पहिले सीमाना सुरक्षित भएको निश्चित गरौँ, अनिमात्रै विदेशी कामदार भित्याऊँ ।” (जनवरी २००८)
– “२००३ को श्रमदानको अर्थ गैरकानुनी व्यवहारलाई प्रोत्साहन गर्नु होइन ।” (जनवरी २००८)
– “अपराध गर्ने २० लाख आप्रवासीहरूलाई एकत्रित पारौँर उनीहरूकै देशमा फर्काइदियौँ ।” (जनवरी २००८)
– “सबै आप्रवासीलाई अङ्ग्रेजी सिक्न लगाउन मबाट सम्भव सबै प्रयासहरू हुनेछन् ।” (डिसेम्बर २००७)
– “आधिकारिक भाषा अङ्ग्रेजी होइन† रैथाने अमेरिकीहरूले आफ्नै भाषा प्रयोग गर्न पाउनेछन् ।” (जनवरी २००७)
– “राष्ट्रिय सुरक्षाका लागि आप्रवासी कानुनमा सुधार आवश्यक छ ।” (जुलाई २००७)
– “दुई पार्टीको राजनीतिले राष्ट्रपति पदको लागि तयारी देखाउँछ ।” (मे २००७)
– “क्युवामाथि नाकाबन्दी जारी राख, क्याष्ट्रोमाथि मुद्दा चलाऊ ।” (डिसेम्बर २००७)
– “क्युवासँग कुनै कूटनीतिक र व्यापारिक सम्बन्ध हुनेछैन । (जुलाई १९९८)
– “आणविक हतियारको सम्भावनाप्रति सूचनाविहीन हुनु, पाकिस्तानमाथि आक्रमण थाहा नहुनु हुन्छ ।” (अगष्ट २००७)
– “इराक युद्धबाट हामीले हाम्रो गोलाद्र्धबाट ध्यान अन्त मोड्यौँ र अहिले त्यसैको मूल्य चुकाउँदै छौँ ।” (मार्च २००७)

सुकरात

उनले अमेरिकी महादेशका आफ्ना सम्पत्तिहरूमा भ्रमण गर्ने वाचा पनि गरेका छन् । २००८ मा राष्ट्रपति (White House) निर्वाचित भएलगत्तै “हाम्रो गोलाद्र्धप्रतिको वचन पूरा गर्न र यहाँ हामीबिचको सम्बन्ध प्रगाढ पार्न” उनको पहिलो भ्रमण मेक्सिको क्यानाडा र ल्याटिन अमेरिका हुनेछ ।
उनको पुस्तकमा ‘मेरा सम्झनाहरू’ पाठमा उनले आफू इतिहासमा राम्रो भएको उल्लेख गरेका छन् । तर सन् १९९७ जुलाई ४ मा भएको ते¥ह उपनिवेशहरूको स्वतन्त्रताको घोषणालाई प्रभाव पार्ने राजनैतिक दार्शनिकहरूमध्ये सो पुस्तकमा एक जनाको पनि कहीँकतै उल्लेख छैन । आजबाट ४ महिना २३ दिनपछि त्यसले २३२ औँ वार्षिक दिवस मनाउनेछ ।
शिक्षापद सिकाइ तरिकाका प्रख्यात र आफ्नो विचार लागि सहिद भएका ग्रीक दार्शनिक सुकरातले २४०० वर्ष अगाडि मानव ज्ञानको सीमालाई बुझ्दै भनेका थिए, “मलाई थाहा भएको एउटै मात्र कुरा हो– मलाई केही पनि थाहा छैन ।” आज रिपब्लिकन पार्टीका उम्मेदवार म्याक्केन जनताको अगाडि घोषणा गर्छन्, “मलाई थाहा भएको एउटै मात्र कुरा हो – मलाई सबै कुरा थाहा छ ।” म लेख्दै जानेछु ।
फिडेल क्याष्ट्रो रुज
फेब्रवरी ११, २००८
साँझ ५ः३५ बजे ।
अनुवाद : सुवेग

Leave a Reply

Your email address will not be published. Required fields are marked *