भर्खरै :

तः मुंज्या बहुआयामिक मञ्च

तः मुंज्या बहुआयामिक मञ्च
वर्षा र हेमन्त ऋतुको बिचमा रहेको शरद् ऋतु मन चहकिलो हुने समय हो । न यो बेला हावाहुरी चल्छ, न त धुलो हिलो हुन्छ । खेत खेत र बारी बगैँचामा अनि घर–घरको गमलामा सयपत्री फूल फुलेको हुन्छ । यही बेला जनताको माझमा स्थापित भइसकेको नेपालभाषा साहित्य तः मुंज्या हुन्छ । तः मुंज्यामा बस्दा र कुरा सुन्दा एउटा राम्रो खुला विश्वविद्यालयमा पसेको जस्तो हुन्छ । चुम्बकले फलाम तानेझैँ तः मुंज्याले हामीलाई तानिरहेको अनुभूति हुन्छ । त्यही कारण तः मुंज्या हामी सबैलाई हेर्न जान्नैपर्ने, सुन्नैपर्ने र पुग्नैपर्ने मञ्च बनेको छ । जनताको निम्ति जनताले तय गरेको, जनताको आवाज बुलन्द गर्ने तः मुंज्यामा नगई सुखै छैन । हुन पनि जनताले पत्याएको तः मुंज्यामा गएन भने के तः मुंज्या आयोजकले हामीलाई धिक्कार्दैन ? भाषा र साहित्यको उत्थान गर्ने, नाटक, गीत र ख्याल देखाएर जनताको पीडा उजागर गर्ने, दर्शन, सिद्धान्त र विचार पोखेर जनतालाई राजनीतिक, सैद्धान्तिक चेतना दिने दबु हो, तः मुंज्या ।
माक्र्सवादी दर्शन र समाजवादी चिन्तनले भिजेको विचार, कथा, कविता, निबन्ध वाचन गर्ने, गीत गाउने, नाच्ने, ख्याल, नाटक देखाउने  तः मुंज्यामा टोल र गाउँबस्तीका दाजुभाइ, दिदीबहिनी पुगेनन् भने, साहित्यकार र कलाकार पुगेनन् भने के आयोजक समितिका साथीहरूको  मनमा चिसो पर्दैन ? घर खेत, परिवार एक छेउमा राखेर खानपिन नभनी दिनरात दौड्ने समाजसेवीको श्रम र मानको कदर गर्न पनि तः मुंज्यामा जानुपर्छ । जनताको साथमा जनताको चन्दाबाट जनताको रगत पसिना भिजेको यो दबु त्यसै तः मुंज्या भएको होइन ।
नेता, राजनीतिज्ञ, विज्ञहरूको कुरा सुन्दा, कथाकार, कवि, निबन्धकारहरूको साहित्य सुन्दा हामी सबैको कानमा गुञ्जिरहेको हुन्छ, यस्तो तः मुंज्या भक्तपुरमा झैँ देशभरि भए कति जाती हुन्थ्यो । तर के गर्ने ? सत्तारुढ दलका नेता र मन्त्रीहरू गतिला छैनन् । सरकारको नेतृत्व गर्ने नेताहरू नै फुस्रो बखान गर्छन्† बेकम्फुसे हुन्छन् । अनि उनीहरूलाई इज्जत र प्रतिष्ठा नभएको नालायक नभनी के भने ¤ कुनै देशमा राजा, राष्ट्रपति या प्रधानमन्त्रीको बन्दोबस्त भए पनि सबैको नाउँ चल्दैन । बाँचुञ्जेल उनीहरूको नाउँ लिन सक्ला । तर, बितेपछि कुनै टेरपुच्छर हुँदैन । किन ? उनीहरूले देश र जनताको सेवा गरेका हुँदैनन् । जनता सुखी हुने सत्मार्ग देखाएका हुँदैनन् । बरु उनीहरूले जनताको रगत पसिनामा नाचे† राज्यको आम्दानीमा आँखा गाडे अनि हसुर्दै खाएर मोज गरे । अनि कसरी प्रजातन्त्र जीवनपद्धतिको रूपमा विकास हुन्छ ?
माक्र्स, लेनिन, एङ्गेल्स, माओ त्सेतुङ, फिडेल क्यास्ट्रो, किम इल सङ, हयुगो चाभेज आदि संसारमा नाउँ चलेका नेताहरू हुन् । संसारका शोषित पीडित जनताको सेवाको निम्ति लड्ने, ज्यानको बाजी  राखेर बाटो देखाउने, बाटो देखाउन दर्शन, सिद्धान्त र विचार जनतामाझ पु¥याएर सुसूचित र सङ्गठित गर्ने असल नेताहरूको नाउँ नलिए कसको लिने ? बोली बचनमा ठेगान नभएको र सिद्धान्त र विचार बन्धक राखेर भागबन्डाको राजनीति गर्ने नेताहरूलाई कसरी विश्वास गर्ने ? नेपाली भूमि मिचे पनि टुलुटुलु हेरेर बस्ने सरकारी नेता, मन्त्रीहरूलाई कसरी विश्वास गर्ने ? के उखान टुक्का बाँडेर, हँसाएर जनताको पेट भर्छ ? भने बेलामा सुशासन तर काम हुन्छ कुशासन ।
झूटा कुराको विरोध गर्ने, जनताको पक्षमा कुरा बताउने, जनताको साहित्य वाचन गर्ने, नाटक देखाउने, गीत गाउने दबु हो तः मुंज्या । तः मुंज्या परिचित दबु भइसकेको छ । तः मुंज्यामा नेता, राजनीतिज्ञ, संस्कृतिविद्, इतिहासविद्, जलस्रोतविद्, सीमाविद्हरूले आ–आफ्नो अनुभवको कुरा जनतासामु राख्छन् । डाक्टर, इन्जिनियर, प्राध्यापक, साहित्यकार र अन्य विज्ञहरूको कुरा सुनाएर जनतालाई सचेत पारिएको हुन्छ । त्यसकारण तः मुंज्या राजनीतिक, शैक्षिक र साहित्यिक प्रशिक्षणालयझैँ बनेको छ । यो मुंज्या ख्याल, नाटक देखाउने नाट्यशाला हो† गीत गाउने र नाच्ने सङ्गीतशाला हो† कलाकार र साहित्यकार तयार गर्ने दबु हो ।
  जनतालाई बाटो देखाउन, सचेत र सङ्गठित गर्न एक थरी नेता, कार्यकर्ता अघि बढिरहेका हुन्छन् भने अर्का थरी राजनीतिको नाउँमा पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउन र चाकुमा झिँगा भन्केझैँ ढुकुटीमा भन्किरहेका हुन्छन्† राजस्व स्वाहा पारिरहेका हुन्छन् । यसैले त सत्तासीन र ठूला दलाका नेताहरू निर्वाचनमा पैसा बाँड्छन् र जनताको मन बिगार्छन् ।
तः मुंज्या पालो लिने आयोजकको काम त्यति सजिलो पनि छैन । तः मुंज्या नसकुञ्जेल निद्रा लाग्दैन । सपनामा पनि तः मुंज्या सफल पार्ने कुरा भइरहेको हुन्छ । हुन पनि तः मुंज्या नसकुञ्जेल फुर्सद हुँदैन । आयोजक समिति गठन गर्न भेला गर्नुपर्छ । अतिथि, साहित्यकार, बुद्धिजीवीहरूलाई निमन्त्रणापत्र वितरण गर्नुपर्छ । समिति उपसमिति गठन गर्नुपर्छ । निमन्त्रणा कार्ड छाप्नुपर्छ र सर्वसाधारण जनतामाझ पु¥याउनुपर्छ । चन्दा उठाउनुपर्छ । चन्दा उठाउन स्कूल, कलेज, उद्योग, कलकारखानामा पुग्नुपर्छ । चन्दा उठाउन जानेबित्तिकै कतिले चन्दा दिँदैन । चन्दा उठाउन बारम्बार पुग्नुपर्छ । कलाकार खोज्नुपर्छ । ख्याल, नाटक, देखाउन र व्यवस्थापन गर्न लाग्नुपर्छ । मञ्च बनाउनुपर्छ । मञ्चका सामान जुटाउनुपर्छ । अतिथि सत्कार गर्नुपर्छ । अतिथि सत्कारको लागि ठाउँ र चियापानको व्यवस्था गर्नुपर्छ । स्वयम्सेवक तयार गर्नुपर्छ । यसबाहेक नदेख्ने काम त कति हुन्छ कति । कार्यक्रम सकेपछि फेरि मञ्च बिगार्ने काम गर्नुपर्छ । यसकारण, तः मुंज्या पालो लिने आयोजक समितिलाई धन्यवाद दिन कञ्जुस्याइँ गर्नु हुँदैन ।
देशमा कम्युनिस्ट भनिने पार्टीको नेतृत्वमा सरकार छ भनिन्छ । तर, कम्युनिस्ट सिद्धान्त र विचारअनुसार कुनै काम भइरहेको छैन । शासकहरूलाई भ्रष्टाचारी, बलात्कारी, कालाबजारी र मानव तस्करहरूले घेरिरहेका हुन्छन् । सरकारी नेता र मन्त्रीहरूले यहाँ कम्युनिस्टको सरकार छ, यहाँ संसारकै सबभन्दा राम्रो संविधान बनेको छ भन्दा हामीलाई गर्व लाग्छ । तर, गर्व लागेर के गर्ने ? त्यो गर्व त कर्कलोको पातको पानीझैँ हुन्छ । सरकारको यस्तै चालामालाले त देश सुकेको ? देश परनिर्भर भएको । त्यसैले देश विकास भएन । झूटको खेती गरेर के जनताले खान लाउन पाउँछन् ? सत्तामा भुलेर दलको सिद्धान्त र विचार बन्धक राख्ने दल कहिल्यै सच्चा कम्युनिस्ट हुन्छ ? प्रजातन्त्रको भजन कीर्तन गरेर प्रजातन्त्रकै घाँटी रेट्ने, कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचारमा लात मार्ने , कम्युनिस्टको बदनाम गर्ने दल के कहिल्यै सच्चा कम्युनिस्ट हुन्छ ? जति भने पनि नसुन्ने, लाज नमान्ने, गैडाको छालाभन्दा बाक्लो छाला भएका सरकारी नेता, मन्त्रीहरूलाई खबरदारी गर्न नै यस्तो तः मुंज्या जरुरी छ । बाँकी रहेका सामन्तका अवशेषहरू फाल्न पुँजीपतिवर्गको व्यवस्था र सरकार पल्टाउन जनतालाई बुझाउन तः मुंज्याजस्तो मञ्च चाहिन्छ । जनता सचेत र सङ्गठित नभइकन परिवर्तन सम्भव छैन । परिवर्तन नभइकन माक्र्सको दर्शन पूरा हुँदैन । श्रमजीवी वर्गको शासन आउँदैन । अतः तः मुंज्या चाहिन्छ, तः मुंज्या हेर्न जानुपर्छ । तः मुंज्यालाई सफल बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *