अमेरिकी विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
- आश्विन ३०, २०८३
इजरायलको नाम आउनेबित्तिकै विश्व राजनीतिमा चासो राख्नेहरूको दिमागमा एउटा पक्ष उनको गुप्तचर संस्था मोसादको नाम आइहाल्छ । मोसादकै कारण आकारमा सानो भएर पनि इजरायलले समग्र अरब मुलुकसामु दह्रोसँग टिकिरहन सकेको छ । हुन पनि प्राचीनकालदेखि अहिलेको आधुनिक संसारमा गुप्तचर संस्था कमजोर भयो भने आर्थिक वा सैनिकरूपमा बलियो भए पनि त्यसले समग्र राष्ट्रको सुरक्षा गर्न असमर्थ हुन्छ । गुप्तचर भनेको देशको प्रारम्भिक चेतावनी प्रणालीजस्तै हो । यसले सम्भावित खतराहरूको बारेमा जानकारी प्रदान गर्दछ । राष्ट्रलाई तयारी गर्न र प्रभावकारीरूपमा प्रतिक्रिया दिन सचेत गर्छ । त्यसैले देशको रक्षाका लागि छरितो गुप्तचर अति अत्यावश्यक हुन्छ । यसले उनीहरूलाई आफ्ना शत्रुहरूले के योजना बनाएका छन् र कसरी आफ्नो सुरक्षा गर्ने भनेर जान्न मद्दत गर्छ । सरल शब्दमा भन्नुपर्दा, गोप्य जानकारी सङ्कलन गर्ने, गोप्य अपरेसनहरू सञ्चालन गर्ने र शत्रु राष्ट्रहरूबाट उत्पन्न हुने बाह्य खतराविरुद्ध लड्नु नै गुप्तचर निकायको काम हुन्छ ।
यही सन्दर्भलाई जोडेर मानिसहरू इजरायली गुप्तचर संस्था मोसादको धेरै प्रशंसा गर्ने गर्छन् । इतिहासमा इजरायलको विपक्षविरुद्ध मोसादले गरेका थुप्रै कार्यहरूले गर्दा यस संस्थाको नाम गुप्तचरको क्षेत्रमा चर्चित छ । १९७२ म्युनिख ओलम्पिकमा प्यालेस्टिनी समूह ब्ल्याक सेप्टेम्बरका सदस्यहरूले ११ इजरायली खेलाडीहरूलाई मारेका थिए । मोसादले आक्रमणका लागि जिम्मेवार विदेशमा लुकेर बसेका ब्ल्याक सेप्टेम्बरका धेरै सदस्यहरूको लुकेर बसेकै देशमा गएर हत्या गरेका थिए । सबैभन्दा बढी चर्चित १९७६ मा इजरायली सैनिकहरूले युगान्डामा बन्धकहरूलाई उद्धार गर्दाको अपरेसन थन्डरबोल्ट थियो । युगान्डा सरकारलाई थाहै नदिई प्यालेस्टिनीहरूले बन्धक बनाएका यहुदीहरूलाई सफतापूर्वक इजरायल ल्याएका थिए । स्मरणरहोस् उक्त अपरेसनमा प्रमुख अहिलेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका दाइको यही अपरेशनमा मृत्यु भएको थियो । यही दाइको विरासतको कारणले पनि नेतान्याहुलाई राजनीति गर्न सजिलो भएको मानिन्छ ।
यस्तो चर्चित गुप्तचर संस्था मोसादले हमास लडाकुहरूले इजरायलमाथि ५ हजार मिसाइलले हमला गर्दा पनि केही झनकसमेत पाउन नसक्दा यसको प्रतिष्ठामा प्रश्न उठेको छ । युगान्डाबाट सयौँ मान्छेलाई सुरक्षित इजरायलमा अवतरण गराउन सक्ने मोसादले आफ्नै नाकमुनिबाट हमासले अपहरण गरेको बन्धकीहरूबारे २० दिन भइसक्दा पनि कुनै छेउटुपो थाहा नपाउँदा मोसादको चुस्ततामाथि प्रश्न उठेको छ । यस घटनाले मोसादको इजरायलभित्रैबाट आलोचना खेप्नुपरेको छ । इजरायली सेना स्थलबाट गाजापट्टी घुस्न सकेको छैन ।
मोसाद र इजरायली सेनामा कमजोरी कसरी आयो ?
विश्व राजनीतिक र आर्थिक परिस्थिति ५०/६० वर्षअघि निकै फरक भएको छ । त्यतिबेलाको कुरा गर्ने हो भने प्यालेस्टिनी मुस्लिमहरूमात्रै बसोबास गरेको भूमि थिएन । त्यहाँ क्रिश्चियन मेरोनाइट, अल्वाइट र अन्य धर्मावलम्बीहरू पनि बस्ने गर्थे । अहिले पनि प्यालेस्टिनीमा ती धर्मावलम्बीहरू अटेकै छन् । प्यालेस्टिनी मुक्ति सङ्गठनका नेताहरूमा गैरमुसलमानहरू पनि थिए । अर्को कुरा, भनिन्छ प्यालेस्टिनीहरूमा अन्य मुसलमानजस्तो धार्मिक कट्टरता पनि छैनन् । त्यसैले कट्टरपन्थी अरबहरूले प्यालेस्टिनीहरूलाई मनैदेखि सहयोग गरेको देखिँदैन । त्यसैले होला, अहिले पनि साउदी अरब प्यालेस्टिनीहरूप्रति उदासीन छ । विगतमा सोभियत सङ्घको अस्तित्व रहँदासम्म विश्व वैचारिक आधारमा दुई ध्रुवमा विभक्त थियो । प्यालेस्टिनी लिवरेसन अर्गनाइजेसन कम्युनिज्मप्रति आस्थावान सङ्गठन थिएन । तसर्थ, पीएलओले सोभियत सङ्घबाट सहयोग पाइरहे पनि पर्याप्त मात्रामा पाउन सकेको थिएन । त्यसबेला चीन आर्थिकरूपमा आफै कमजोर थियो । अर्कोतिर अमेरिका र पश्चिमी युरोपले भने इजरायललाई पर्याप्त सहयोग गरिरहे । अरब देशहरू पनि अहिलेजस्तो धनी र शक्तिशाली थिएन । त्यस क्षेत्रका दुईवटा शक्तिशाली मुस्लिम राष्ट्रहरू टर्की र इरान अमेरिकी खेमामा थिए । उतिबेला इरानका राजा अमेरिकाको कठपुतलीजस्तै थिए । त्यसैले इरानले प्यालेस्टाइनलाई सहयोग गर्ने त कुरै भएन । यही कारणले पनि सन् १९६७ र १९७३ को युद्धमा इजरायलले अरब राष्ट्रहरूलाई सजिलै परास्त गर्न सके ।
तर अहिलेको अवस्था बिलकुल फरक छ । अमेरिकी शक्तिको ओरालो यात्रा सुरु भएको छ भने अर्कोतिर चीन आर्थिक महाशक्तिको रूपमा उदाइरहेको छ । रुसमा कम्युनिस्ट वैचारिक कट्टरपन्थी हावी छैन । अरब देशहरू पनि ६० वर्ष अघिको तुलनामा निकै धनी भइसकेको छ । तिनीहरू शक्तिशाली भएर अगाडि आइरहेका छन् । अर्को महत्वपूर्ण पक्ष इरान रहेको छ । सन् १९७९मा इरानबाट राजा हटाइएको इस्लामिक क्रान्तिपछि अमेरिका र इरानको शत्रुता सुरु भएको हो । त्यसैले अहिले इरानले हमासलगायत हेजबुल्लालाई आर्थिक र सैनिक सहयोग गरिरहेको छ । गाजापट्टीमा नरसंहार जारी राखे इजारायलमाथि हमला गर्ने खुलमखुला इरानले धम्की दिइरहेको छ ।
युक्रेनबाट अमेरिकी चासो मोड्न पनि रुस यो द्वन्द्वमा प्रत्यक्ष संलग्न हुन सक्छ । द्वन्द्व बढ्दै गए अमेरिकाको दबाबबाट गाजापट्टीका प्यालेस्टाइनीहरूलाई बचाउन रुसले सिरियाको तार्तुसमा तैनाथ आफ्नो जलसेनालाई सक्रिय पार्न सक्छ भने अर्कोतिर यस क्षेत्रमा तनाव बढ्दै गएपछि चीनको जनमुक्ति सेना (पीएलए) ले मध्यपूर्वमा ६ वटा युद्धपोत तैनाथ गरेको समाचार आएको छ । त्यसैले अहिलेको अवस्थामा मोसादले ५०÷६० वर्षअगाडिको जस्तै चुस्तता देखाउन नसकेको हुनसक्छ ।
इजरायलद्वारा गाजापट्टीमा बसोबास गर्ने प्यालेस्टाइनीहरूको कत्लेआममाथि सहमति जनाउँदै अमेरिकाले आफ्नो नौसैनिक जहाज पूर्वी भूमध्यसागरीय तटतर्फ पठाएको छ । गाजाको तीनतर्फ इजरायलले बलजफ्ती भूभाग कब्जा गरेर बलियो काँडेतार लगाएको छ । पश्चिमतर्फ भूमध्यसागर पर्दछ । तीन तिरबाट इजरायलले आक्रमण गर्ने र समुद्रीमार्गबाट उम्केर जान खोजे अमेरिकी जलसेनाले पकड्ने तिनीहरूको योजना छ । भारतमा धार्मिक अतिवादीहरूले मुसलमानको विरोध गर्ने नाममा इजरायलाई समर्थन गरिरहेको कार्यलाई सिको गर्दै नेपालमा पनि धार्मिक अतिवादीहरूले प्यालेस्टाइनको विरोध गरिरहेको सामाजिक सञ्जालमा देखिन्छ । धर्मभन्दा पनि मानवीयताको हिसाबले हामीले आफ्नो व्यवहार देखाउनुपर्छ । गाजापट्टीमा बसोबास गर्ने २२ लाखभन्दा बढी प्यालेस्टाइनीहरूका विरुद्ध इजारायल र अमेरिकाको अमानविय कार्यको विरोध गर्न मुसलमान नै हुनुपर्छ भने छैन । सबैले आ–आफ्नो ठाउँबाट प्यालेस्टिनहरूको समर्थन गर्नुपर्छ ।
Leave a Reply