विश्व अशान्त हुनुको मुख्य कारण संरा अमेरिका
- आश्विन ३०, २०८३
नेपालको स्वाधीनता र सार्वभौमसत्तामा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको खतरा छ । दक्षिणपूर्वी एसियामा अमेरिकी साम्राज्यवादले जरा गाड्दै छ । उसले विभिन्न देशमा अर्बौँ डलरका अस्त्रहरू राखेको छ । संयुक्त राज्य अमेरिकाले व्यापार युद्धको नाउँमा निहुँ खोजिरहेको छ । अमेरिका अन्य देशलाई युद्धमा फसाएर आनन्दले निदाउन चाहन्छ । अरू देशलाई जुधाएर, आन्तरिक द्वन्द्व चर्काएर सधैँ पहिलो देश बन्न चाहने अमेरिका आक्रामक देश हो; शान्ति बिथोल्ने देश हो; आफ्नो विचारभन्दा भिन्न देशलाई नाकाबन्दी गरेर सङ्कट निम्त्याउने देश हो; अरू स्वाधीन र सार्वभौम देशमा राष्ट्र प्रमुखहरूलाई धम्की दिने, देश निकाला गराउन दबाब दिने र हत्या गराउन षड्यन्त्र गर्ने देश हो । यसरी संसारलाई तर्साइरहेको देश संरा अमेरिका अमेरिकी लगानीलाई आर्थिक अनुदानको लोभ देखाएर नेपाल पस्दै छ । एमसीसी सम्झौता र सैनिक प्रशिक्षणको बखान गरेर अमेरिकी सेना र अमेरिकी गुप्तचरहरू नेपाल पस्दै छन् । यो देशको लागि खतरा हो ।
नेपाललाई युद्धको मैदान बनाउने अमेरिकी कुचालको नेपाल मजदुर किसान पार्टीले सुरुदेखि विरोध गर्दै आएको हो । यसले क्युवाली क्रान्ति र क्युवाली जनताको अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षलाई समर्थन गर्दै आएको हो । इराक, लिबिया, सिरिया र भेनेजुयाली जनताको अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षको नेमकिपाले समर्थन गर्दै आएको हो । लगानीलाई अनुदान भनेर झूटको खेती गर्दै विकासको नाममा सहयोग गर्ने संरा अमेरिका चीनले नेपालको विकासमा गरेको सहयोग मनपराउँदैन । विगतमा झैँ अहिले बनेको सरकार पनि साम्राज्यवादी अमेरिकाको षड्यन्त्रमा फस्दै छ । नेपालका शासकहरूको कमजोरीको मौकामा विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाले फाइदा लिइरहेका छन् । भारत र अमेरिकाको गोटीचालमा नेपाल सरकार फस्दै गएमा नेपाल र नेपाली जनतामा दूरगामी असर पर्नेमा शङ्का छैन । सत्तासीन दलका नेताहरूमा देशभक्तिको भावना नभएकोले र उनीहरू देश र जनताप्रति जिम्मेवार नहुँदा यो समस्या देखिएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारलाई बिनासूचना नेपाली भूमिमा पसे । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा प्रवेश गर्नु नेपालमाथिको हस्तक्षेप हो । यसको नेका सम्मिलित माओवादीको नेतृत्वमा बनेको सरकारले अहिलेसम्म बोलेको छैन । यी भूमि नेपालको भनी दाबी गर्ने सत्तासीन दलका नेता र मन्त्रीहरूले विनासूचना भारतीय प्रम मोदी प्रवेश गरे पनि मौन रहनुको अर्थ के विदेशीसामु झुक्नु होइन ? कि थाहा भएर पनि डराएर नेपाल सरकार मौन बसेको हो ? सत्तासीन नेताहरूले नेपालमा अमेरिकी सेना र अमेरिकी विमान नछिर्ने विश्वास नेपाली जनतालाई दिलाएका थिए । तर, त्यो विश्वासको स्वर सेलाउन नपाउँदै अमेरिकी सेना नेपाल पसे । यसरी भारत र अमेरिकाले नेपाली भूमिलाई खेल खेल्ने मैदान बनाइरहे । नेपाल कुन दिन सङ्ग्रामको भूमि हुने हो, निश्चित छैन ।
नेपाली जनताले गणतन्त्र त ल्याए । तर, वर्तमान शासक दलहरूको कार्यशैलीले जनतामा गणतन्त्रप्रति नै अनास्था बढ्यो । गणतन्त्रमा जनताको अपनत्व हुने विश्वास थियो । तर, त्यो हात्ती आयो फुस्साजस्तै भयो । पुँजीपतिवर्गको सरकारले पुँजीपतिवर्गकै सेवा ग¥यो । नेपाल सरकारले नेपाल र नेपाली जनतालाई भन्दा विस्तारवाद र साम्राज्यवादको प्रतिनिधित्व गर्ने सरकारको सेवा ग¥यो । यसकारण, स्वाभिमानी नेपाली जनताले विस्तारवाद र साम्राज्यवादको विरोध गर्नु जरुरी छ । विदेशी हस्तक्षेप, विदेशी आक्रमण र अतिक्रमणको विरोध गर्नुपर्छ ।
Leave a Reply