भर्खरै :

टुङ्गिँदै युक्रेन युद्ध

टुङ्गिँदै युक्रेन युद्ध

सेप्टेम्बर ९ मा ‘द इकोनोमिस्ट’ पत्रिकामा एउटा गजबको खबर छापियो । शीर्षक थियो – ‘युक्रेनको हत्या कार्यक्रम ः त्यसका एजेन्टहरू क्रुर बदला लिनमा उस्ताद बनिसकेका छन्’ ।
युक्रेनको गुप्तचर निकाय ‘एसबीयू’ पाँचौँ विशेष कारबाही दल ‘एसएसओ’ ले कसरी युक्रेनभरि नै हत्या कार्यक्रम चलाइरहेको छ भनी सो लेखमा प्रकाश पारिएको थियो । यी हत्या कारबाही खासगरी रूसको कब्जामा परेका, रूसमा समाहित भएका र रूसभित्र चलाइँदै छ । केही ‘एसबीयू’ एजेन्टहरूले यो कार्यक्रम नियन्त्रणबाहिर गइसकेको महसुस गरिरहेको पनि ‘द इकोनोमिस्ट’ को लेखमा उल्लेख गरिएको थियो ।
‘एसबीयू’ का एक अज्ञात गुप्तचर अधिकारीको हवाला दिँदै लेखमा ‘एसबीयू’ ले रूस सरकारनिकट रहेका ‘सामान्य मानिसहरू’ लाई तारो बनाएर राष्ट्रपतिलाई खुसी पार्नमा समय बर्बाद पारेको उल्लेख छ । यसरी विजयको दिन नजिक नआउने उनको ती गुप्तचरको गुनासो थियो । यसले आफू असहज बनेको उनले बताए ।
तिनै अधिकारीले भने अनुसार युक्रेनको हत्या अभियान ‘तर्कमा भन्दा पनि भावनामा बहकिएको’ छ । साथै ‘रूसभित्र युक्रेनले घुसपैठ गरेको कुरा केही हदसम्म खुल्ने गरी अभियान चलाउने जोखिम रहेको’ उनको दाबी थियो । उनले थपे, “हाम्रो गुप्तचर निकायले सक्छु भन्दैमा जे पनि गर्नु ठिक छैन ।”
यी भनाइबाट संरा अमेरिकी करदाताहरूको अनुदानलाई अनियन्त्रित हत्या कार्यक्रम सञ्चालनमा लगाएको कुरा खुल्छ । अमेरिकी जनताको पैसालाई क्रूर हत्याहिंसामा प्रयोग गरिएको यो जल्दोबल्दो प्रमाण हो ।
इतिहासमा अमेरिकी गुप्तचर निकाय सीआइएले भियतनाममा पनि यस्तै ‘फिनिक्स कार्यक्रम’ चलाएको थियो । त्यो एउटा हत्या कारबाही थियो । राष्ट्रिय मुक्तिमोर्चा (एनएलएफ) का समर्थन भियतनाम सरकारका कर्मचारीहरूको हत्या गर्नु त्यो कार्यक्रमको उद्देश्य थियो । त्यो कारबाही पनि अनियन्त्रित बन्न पुगेको थियो । गुप्तचरहरूले आफ्ना निजी शत्रुता साँध्न त्यस कार्यक्रमलाई उपयोग गरेका थिए ।
‘द इकोनोमिस्ट’ पत्रिकाले सीआइएको सन्दर्भ उप्काउने कुरै भएन । तर हामीलाई भासिली प्रोजोरोभले बताए अनुसार सन् २०१४ देखि नै सीआइएले ‘एसबीयू’ लाई सरसल्लाह दिँदै आएको छ । भासिली पहिले ‘एसबीयू’ मै कार्यरत थिए । पछि उनले सो गुप्तचर निकाय त्यागेर रूस पुगेका थिए । उनले बताएअनुसार सीआइएका कर्मचारीहरू गुप्त कारबाहीहरूको योजना बनाउन एसबीयूको केन्द्रीय कार्यालय नै आएका छन् ।
मिरोत्भोरेत्स वेबसाइटमा युक्रेनले आफूले मारेका र मार्नुपर्ने व्यक्तिहरूको हत्यासूची प्रकाशित हुँदै आएको छ । सो वेबसाइटले आफूलाई सीआइएको परियोजना बताउने गर्छ र उसले आफ्नो मुख्यालय संरा अमेरिकाको भर्जिनियास्थित लाङ्लेमा रहेको प्रचार गर्छ । वास्तवमा भर्जिनियाको लाङ्लेमा सीआइएको मुख्यालय छ । मिरोत्भोरेत्स वेबसाइट सन् २०१४ को मैदान विद्रोहलगत्तै स्थापना गरिएको थियो । त्यो विद्रोहमा संरा अमेरिकाको ठूलो हात थियो ।
पूर्व ‘एसबीयू’ निर्देशक भ्यालेन्टिन नालिभैचेन्कोले रूसका शङ्कास्पद सहयोगीहरूलाई बन्दी बनाउने युक्रेनी नेतृत्वको नीति कुनै बेला असरदार नभएको बताए । उनले भने, “(त्यो नीतिबाट) यथेस्ट प्रतिफल प्राप्त भएन । जेलखानाहरू कैदीले भरिभराउ थिए । तर, थोरै मात्र कसुरदार भेटिए । त्यसैले हामी नचाहेरै पनि आतङ्ककारीहरूलाई सफाया गर्नुपर्ने निर्णयमा पुग्यौँ ।” सन् २०२२ को एक अध्ययनअनुसार युक्रेनमा कसैलाई आतङ्ककारी भन्ने नै हो भने पनि युक्रेनी सेना र उसका सहायक लडाकु दस्ताहरूलाई भन्नुपर्छ । किनभने, संयुक्त राष्ट्रसङ्घले नै रूसको विशेष सैन्य कारबाहीपछि हालसम्म सर्वसाधारणहरूमाथि गरिएको ८० प्रतिशत गोलाबारी उनीहरूकै पक्षबाट भएको बताएको छ ।
भ्यालेन्टिनले भनेका यीमध्ये धेरै ‘आतङ्ककारीहरू’ खासमा देशभक्तहरू थिए । तिनीहरूले भिक्टर यानुकोभिच (२०१०–२०१४) को वैध र निर्वाचित सरकारलाई समर्थन गरेका थिए । स्तेपान बान्देराजस्ता नाजी पक्षधरहरूलाई ढोग्ने अति दक्षिणपन्थी राष्ट्रवादीहरूले अवैध सत्ताविद्रोहमार्फत यानुकोभिचको सरकार ढालेका थिए ।
उनीहरूले रूससँगको गहिरो राजनीतिक–आर्थिक र सांस्कृतिक सम्बन्धलाई पनि बढावा दिएका थिए । (यो सम्बन्ध पुस्तौँ पुरानो हो ।) सन् २०१४ मा अवैध सत्ता विद्रोह भएपछि त्यसविरुद्ध धेरै मानिसहरू शान्तिपूर्ण प्रदर्शनमा उत्रेका थिए । तिनलाई क्रूरतापूर्वक दबाइएको थियो । ती व्यक्तिहरूले वैध राजनीतिक दलहरूलाई समर्थन गरेका थिए । पछि ती दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो । यिनै व्यक्ति अहिले ‘एसबीयू’ को निसानामा परिरहेका छन् ।
पूर्वी युक्रेनमा ती ‘आतङ्ककारीहरू’ ले विद्रोही दोनेत्स्क र गुहान्स्क जनगणतन्त्रहरूको पक्ष लिएका छन् । खासमा जनमत सङ्ग्रहमा त्यहाँका जनताले युक्रेनबाट स्वायत्त हुने पक्षमा मत जाहेर गरेपछि ती जनगणतन्त्रको स्थापना भएको थियो । तिनले त्यसरी मतदान गर्नु जायज थियो किनभने उनीहरूलाई मैदान विद्रोह स्वीकार थिएन । आफ्नो संस्कृतिमाथि ठाडै प्रहार हुने भयावह भाषा नीति युक्रेनको संसद्बाट पारित भएपछि उनीहरू आक्रोशित हुनु अस्वाभाविक थिएन ।
दोनेत्स्क र लुहान्स्कका जनताको अधिकार मिन्स्क शान्ति समझदारीबाट अनुमोदन भएको थियो । त्यस समझदारीमा दोनेत्स्क र लुहान्स्क जनगणतन्त्रका प्रतिनिधिहरूको हस्ताक्षर थियो । त्यसमा रूसको पनि समर्थन थियो । तर, युक्रेनले युद्ध गर्नका निम्ति आफ्नो सैन्य सामथ्र्य बढाउन समय चाहिएकोले त्यस समझदारीलाई छलको रूपमा प्रयोग गरेको रहेछ । यो कुरा पूर्व जर्मन चान्स्लर एँगेला मर्केलले खुलासा गरिने । २०१८ अगस्ट ३१ मा दोनेत्स्क जनगणतन्त्रका प्रमुख अलेक्सान्दर जखार्चेन्कोको हत्या भयो । खाना खाँदै गर्दा एउटा क्याफेमा उनको हत्या भएको थियो । हत्यारा गिरोहले पहिले नै त्यहाँ बम फिट गरेको ‘द इकोनोमिस्ट’ मा लेखिएको छ । त्यो विष्फोटमा परेर जखार्चेन्कोका अङ्गरक्षकको मृत्यु भयो भने अन्य १२ जना नराम्ररी घाइते भएका थिए ।
जखार्चेन्को पहिले खानीमा विद्युत मिस्त्री थिए । उनी मिन्स्क समझदारीका दृढ समर्थक थिए । डोनबास क्षेत्रले विद्रोह गर्दा उनी एक मध्यस्थकर्ता बने । विद्रोह गर्नेहरू वामपन्थी र युक्रेनको नयाँ सरकारविरोधी थिए । अर्कोतिर अलि अनुदार र पुँजीवादी शक्ति थियो । उनीहरूलाई रूस सरकारको समर्थन थियो । यी दुवै पक्षबिच जखार्चेन्कोले पुलको काम गरेका थिए ।
जखार्चेन्कोको हत्यासँगै रूसको समर्थनप्राप्त डोनबासका केही कमान्डरहरूको पनि हत्या भयो । आफ्नो कार्यालयमा काम गरिरहेको अवस्थामा आगो फालेर मिखाइल तोल्सतोयको हत्या भयो । सन् २०१६ मा अर्को कमान्डर आर्सेन पाभ्लोभको हत्या बम विष्फोटबाट गराइयो । पश्चिमा मिडियाले सो हत्याको दोष रूसमाथि लगायो । पूर्वी युक्रेनले पाभ्लोभलाई उच्च सम्मान दियो । पाभ्लोभलाई उनी बसिरहेको भवनको एलिभेटरमा बम राखेर हत्या गरिएको थियो । युक्रेनको हत्या अभियानमा पर्ने अर्का नेता अलेक्सेइ मोजगोभोइ हुन् । उनी भूत बटालियनका अराजकतावादी टोली नेता थिए । उनको नेतृत्वमा सो बटालियनले अलचेभ्स्क नगर मुक्त गरेको थियो । यो नगर कागजमा लुहान्स्क जनगणन्त्रमा पर्छ । उनी चढेको गाडीमा आगो लगाएर उनको हत्या गरिएको थियो ।
येभहेन युनाकोभ भेलिकी बर्लुक नगरका मेयर थिए । यो नगर खार्कोभ क्षेत्रमा पर्छ । ‘एसबीयू’ ले गराएको कार बम विष्फोटमा परेर उनको मृत्यु भयो । युनाकोभबारे ‘द इकोनोमिस्ट’ लेख्छ – युनाकोभ हत्या कारबाहीमा तारो बनाइएका एक दर्जन व्यक्तिमध्ये एक त्यस्ता व्यक्ति थिए जसको हत्या गोली हानेर, बम विष्फोट गराएर, झुन्ड्याएर र डाक्टरहरूमार्फत विष खुवाएर गराइएको थियो ।
युक्रेनी जनरल किरिलो बुदानोभलाई उद्धृत गर्दै ‘द इकोनोमिस्ट’ लेख्छ – तपाईँले मोस्सादको स्थापना गर्नुपर्ने विषयमा सोध्नुभएको हो भने, हामीलाई त्यसको खाँचो छैन । हामीकहाँ त्यो पहिले नै छ । (मोस्साद इजरायलको गुप्तचर निकाय हो जो गुप्त हत्या गर्नमा कुख्यात छ ।)
यो भनाइबाट युक्रेनले बनाउन खोजेको उसको ‘बेदाग’ छविलाई माटोमा मिलाइदिन्छ किनभने मोस्सादको क्रूर र कुख्यात छवि कसैबाट लुकेको छैन । मोस्सादले पश्चिमी देशका सबै गुप्तचर निकायहरूले भन्दा बढी मानिसहरूको गुप्त हत्या गरेको छ । सीआइएले गर्ने ड्रोन हमला र चलाउने यातनागृह मात्र उसको दाँजोमा आउँछ । युक्रेन र इजरायलबिच एउटा समानता के छ भने यी दुवै देशले अवैध कर्तुत गरे पनि आफू बच्ने ठान्छन् किनभने यिनीहरूलाई संरा अमेरिकाले सैन्य सहयोग प्राप्त छ । अर्को समानता के छ भने यी दुवै देशलाई विश्वका राजनीतिकरूपले सचेत नागरिकहरूले बहिस्कार गर्नुपर्ने देशका रूपमा हेर्दै छन् । खासगरी यी दुवै देशले काला कुकर्मको सहारा लिन थालेपछि विश्वका जनता ब्युँझिँदै छन् ।

अमेरिकी गुप्तचर अधिकारीले पुटिनविरुद्ध कालो दुष्प्रचार अभियान चलाएको स्वीकारे
युक्रेनको वसन्त–गृष्मकालीन आक्रमण विफल भएपछि युक्रेनको हत्या कार्यक्रमको चर्चा मूल मिडियाहरूमा आएको हो । यसबाट युक्रेनी सेनाको मनोबल गिरेको छ ।
विश्वप्रसिद्ध खोजपत्रकार सेमुर हर्सले हालै एक गुप्तचर अधिकारीसँग अन्तर्वार्ता लिएका थिए । ती अधिकारीलाई ताजा गुप्तचरी सूचनामा पहुँच छ । गुप्तचरीमा थप प्रगति भएको दाबीबारे सोधिएको प्रश्नमा उनले भने, “सबै झूटो हो ।” त्यसमा थप्दै उनले भने, “युद्ध टुङ्गिएको छ । रूसले जितेको छ । अब युक्रेनले हमला गर्न सक्नेछैन । तर, ह्वाइट हाउस र अमेरिकी मिडियाहरूले झूटो दाबी गरिरहनुपरेको छ ।”
उनै गुप्तचर अधिकारीले भ्लादिमिर पुटिनले युद्ध थाल्ने निर्णय लिनु आफूलाई ‘मूर्खतापूर्ण’ लागे पनि त्यसको प्रतिक्रियामा छद्म युद्ध थाल्ने निर्णय गर्नु बाइडेन सरकारको ‘अर्को मूर्खता’ थियो भने । उनले भने, “त्यसैले आफ्नो गल्ती ढाकछोप गर्न अहिले मिडियाको सहारामा हामीले उनलाई
(पुटिनलाई) कालो देखाउनुपरेको हो ।”
यस भनाइबाट पुटिनविरुद्ध सीआइएले कालो दुष्प्रचार अभियान चलाइरहेको प्रमाणित हुन्छ । पश्चिमा मिडियासँगसँगै बेलायती गुप्तचर निकाय पनि यसमा संलग्न छ ।
हाम्रो ‘कोभर्ट एक्सन म्यागेजिन’ ले यसअघि पनि यो दुष्प्रचार अभियानबारे रिपोर्ट प्रकाशित गरेको थियो । फिडेल क्यास्त्रो, मुअमर गद्दाफी, सद्दाम हुसेन, निकोलस माडुरो, डेनियल ओर्टेगा र अन्य धेरै ‘शत्रुहरू’ लाई दानवीकरण गर्न संरा अमेरिकाले यही शैलीको हत्कण्डा अपनाएको थियो । ती नेताहरूको योगदानलाई दुष्प्रचारको डङ्गुरमा पुर्ने काम भयो र तिनलाई दुस्ट राक्षसको रूपमा चित्रण गरियो । पुटिन पनि यस्तै नेतामा पर्छन् । उनले रूसी अर्थतन्त्रलाई विदेशी शोषणको युगबाट निकाले । उनीअघि बोरिस यल्सिनको शासनकालमा रूसमा विदेशीहरूले लुटपाट मच्चाइरहेका थिए । पुटिनले एक योग्य नेताको रूपमा रूसमा सरकारको पकड बढाए र देशबाहिर पनि रूसको शक्ति स्थापित गरे । उनले युक्रेनी सेनाले हमला गरिरहेका पूर्वी युक्रेनका जनताको प्रतिरोधमा सहयोगी हात बढाए । संरा अमेरिका र बेलायतले सन् २०१४ को युक्रेनी सत्ताविद्रोहको मञ्चन गरेका थिए र त्यसयता युक्रेनले पूर्वी युक्रेनका आफ्नै जनतामाथि हमला सुरु गरेको थियो । यी सबै घटनामा एक राजनेताको भूमिका खेलेको हुनाले पुटिन संरा अमेरिकाको आँखाको कसिङ्गगर बने । मैले पुटिनविरुद्ध अमेरिकी कालो दुष्प्रचार अभियानलाई प्रथम विश्वयुद्धताका जर्मन राजा काइजरसँग तुलना गरेको छु । त्यतिबेला काइजरको छविमाथि कालो पोतेर अमेरिकी जनतामा युद्धउन्माद भरिएको थियो । यसले गर्दा महायुद्धमा अमेरिकाले हस्तक्षेप गर्नुलाई जायज ठह¥याउँदै ठूलो जनमत पैदा भएको थियो । तर, त्यसले गर्दा झन्डै १ लाख अमेरिकी सैनिकहरूको मृत्यु भएको थियो ।
पुटिनविरुद्ध अहिले चलिरहेको दुष्प्रचार अभियान कति सफल छ भने आफूलाई वामपन्थी भन्ने धेरैले त्यसलाई काखी च्यापेका छन् । उनीहरू अमेरिकाले युक्रेनमा हतियार आपूर्ति गर्नु र त्यहाँ गुप्त सैन्य हस्तक्षेप गर्नु सही हो भन्दै छन् । यद्यपि, उसको दुष्प्रचार अभियान र युक्रेनमा अमेरिकी नीतिको वास्तविकता खुल्दै छ । युक्रेन युद्ध भियतनाम युद्धकै अर्को संस्करण बन्दै छ । भियतनाम युद्धताका अमेरिकाले चलाएको फिनिक्स शैलीको आतङ्ककारी कारबाहीले युक्रेनी सत्ताको सक्कली अनुहार बाहिर आउँदै छ । हामीले बिर्सनु हुन्न, युक्रेनको उज्यालो र अँध्यारो पक्ष दुवैको निर्माणमा संरा अमेरिकाको हात रहेको खुल्दै छ । यससँगै धेरैभन्दा धेरै मानिसहरूको आँखाबाट भ्रमको पर्दा च्यातिँदै छ ।
(लेखक कुजमारोभ कोभर्ट एक्सन म्यागेजिनका प्रबन्ध सम्पादक हुन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *