वाग्मती प्रदेश स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण होस्
- भाद्र १७, २०८१
नेपालको तराई मजदुर र किसानहरूको क्षेत्र हो । त्यहाँका जनता सरकारबाट मात्र होइन स्थानीय शोषक, सामन्त, जमिनदार, जालीफटाहा, प्रतिक्रियावादी र पुँजीपतिहरूबाट पीडित छन् । तराईमा खोलिएका मधेसवादी भनिने राजनीतिक दलले तराईका शोषितपीडित जनतामाथि श्रम र आर्थिक शोषण गरिरहेका छन् । ती दलहरूको उद्देश्य तराईका श्रमजीवी जनताको हित र सेवा गर्न होइन आफ्नो जमिनदारी–प्रथा कायम राख्न जाली तमसुक बनाएर श्रमजीवी जनताको श्रममाथि रजाइँ चलाउनु रहेको छ ।
त्यही उद्देश्य पूरा गर्न तराईकेन्द्रित दलहरूले संविधानसभा निर्वाचनको बेला एक मधेस एक प्रदेशको नारा दिए । एक मधेस एक प्रदेशको माग पूरा नभए देशै नरहने, तराईको भाग अलग्ग गर्ने र काठमाडौँ उपत्यकालाई नाकाबन्दी गर्ने नारा तराईमा खोलेका दलका नेताहरूले गरेकै हुन् । तराईकेन्द्रित दल खोलेर साम्प्रदायिक भावना फैलाउन खोजियो भनी सर्वत्र विरोध भएपछि दलको नाम फरेका मधेसकेन्द्रित नेताहरू शरद्सिंह भण्डारी र महन्त ठाकुरहरू नै हुन् । उनीहरू तराईको छुट्टै प्रदेश बनाएर तराईमा राज चलाउन चाहन्छन् । तराईका ती नेताहरू तराईका शोषितपीडित जनताको पक्षमा भएका भए, उनीहरूको हित चाहेका भए वर्षौँदेखि जोत्दै आएका कृषकहरूलाई मोहियानी हकको व्यवस्था गरेर जोताहाको अधिकार दिनुपर्ने हो; पुस्तौँदेखि जोत्दै आएको जग्गामा मोहियानी हकको व्यवस्था गर्नुपर्ने हो । त्यहाँको कृषि उत्पादन बढाउन आवश्यक ज्ञान, सीप र सिंचाइको व्यवस्था गर्नुपर्ने हो; कृषि औजारहरू सस्तोमा सुलभ गर्नुपर्ने हो; स्वदेशमै रासायनिक मलको कारखाना खोलेर समयमै मलको उपलब्ध गराउनुपर्ने हो । तर, त्यतातर्फ न शासकहरूको ध्यान गयो न त तराईकेन्द्रित दलका नेताहरूको चासो रह्यो । तराईमा खोलेका दलका नेताहरूले तराईका शोषितपीडित जनताको पक्षमा कहिल्यै आन्दोलन गरेका छैनन्, कहिल्यै बोलेका छैनन् । उनीहरूको स्वार्थ भनेको सरकारमा जाने, मन्त्री हुने र श्रमजीवी जनतामाथि सधैँ राज गरिरहनु नै हो । जमिनदार, जालीफटाहा, प्रतिक्रियावादी, सामन्तहरू तराईका शोषितपीडित जनताका शत्रु हुन् । उनीहरू श्रमजीवी जनताको वास्ता गर्दैनन् ।
Leave a Reply