भर्खरै :

इजरायलले गरेको युद्ध अपराधविरुद्ध विश्वका जनता उठ्दै छन्

इजरायलले गरेको युद्ध अपराधविरुद्ध विश्वका जनता उठ्दै छन्

२०२३ अक्टोबर ७ (२०८० असोज २०) को शनिबार बिहानैदेखि प्यालेस्टाइनीहरूको राजनीतिक र सैनिक सङ्गठन हमासका लडाकुहरू आफ्नो भूमि फिर्ता गर्न इजरायलसँग प्रतिरोधमा उत्रे । हमासका नेता मोहम्मद डेफले ‘अपरेसन अल–अक्सा स्टर्म’ नाम दिएर २० मिनेटको अवधिमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेको बताए । प्यालेस्टाइनीहरूलाई इजरायलीको अत्याचारबाट मुक्त गर्न लड्दै आएको हुँदा अन्तर्राष्ट्रिय समुदायबाट आफ्नो भूमिकालाई समर्थन हुनपर्नेमा हमासले जोड दिँदै छ । हमासका प्रवक्ता खालिद कदोमीले यसलाई दशकौँदेखिको प्यालेस्टाइनीविरुद्ध इजरायलीहरूको अत्याचारको जवाफ भएको बताए । हमासको प्रतिरोधलगत्तै इजरायली फौजले पनि आफ्नो लडाकु विमानमार्फत ‘अप्रेसन आइरन सोर्ड’ को नाममा गाजा क्षेत्रमा हमला गरेर अहिले प्यालेस्टाइनीहरूको सफाया गर्दै छ । इजरायलले गाजा क्षेत्रमा खाद्यान्न, इन्धन र स्वास्थ्य सामग्रीको आपूर्तिसमेत बन्द गरेर मानवताविरोधी काम गरेको छ । संरा अमेरिका र पश्चिमा मुलुकको आडभरोसा पाएको इजरायलले प्यालेस्टाइनमा नरसंहार मच्चाउँदै छ ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २६ अक्टोबर (कार्तिक ९ गते) बिहीबारसम्ममा इजरायली हमलाबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ७ हजार नाघ्यो । विश्व स्वास्थ्य सङ्गठनले अक्टोबर ७ मा इजरायल र हमासबिचको युद्धमा प्यालेस्टिनीहरूविरुद्ध गाजाका स्वास्थ्य केन्द्रहरूमा झण्डै ११५ आक्रमण भयो । इजरायली आक्रमणको कारण गाजाका चिकित्सकीय पूर्वाधार सुधार्न नसकिने गरी नष्ट भयो ।
इजरायली मिसाइल आक्रमणबाट बच्न करिब तीन हजार प्यालेस्टिनीहरू अल अहली अल अरबी बाप्टिस्ट अस्पतालमा आश्रय लिन पुगे । तर, इजरायलले असोज ३० गते मङ्गलबार राति साढे सात बजे सो अस्पतालमा पनि रकेट आक्रमण ग¥यो । जसमा परेर ५ सय जनाको मृत्यु भयो । सो घटनालगत्तै इजरायली प्रधानमन्त्रीका डिजिटल सहयोगी हनान्या नेफ्तालीले एक ट्विट गर्दै “इजरायली हवाई फौजले गाजाको अस्पतालबाट सञ्चालित हमासको आधारमा बमबारी गरेको” उल्लेख गरेकी थिइन् । अस्पतालमा इजरायली आक्रमणको विरोध विश्वव्यापी भएपछि केही समयपश्चात् सो ट्विट हटाइएको थियो ।
२२ अक्टोबरको दिन इजरायली प्रतिरक्षा फौजले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमला ग¥यो । बिहीबार १९ अक्टोबरको दिन गाजा सहरस्थित ग्रिक अर्थोडक्स सेन्ट पोरफाइरस चर्च परिसरमा आक्रमण भयो । उक्त चर्चमा गाजाबाट विस्थापित भएकाहरूले आश्रय लिएर बसेका थिए । इजरायलबाट भएको यो हमलामा थुपै्रको मृत्यु हुनुका साथै सयौँ घाइते भए ।
इजरायल हमलाको कारण गाजा क्षेत्रका बाबु आमाहरूले आफ्ना छोराछोरीको मृत्यु भएमा शव चिन्न सकियोस् भनेर हात र खुट्टामा नाम लेखिदिन थालेको समाचार प्रकाशित भयो । बीबीसीका अनुसार युद्धका कारण एक परिवारले आफ्नो बच्चालाई बैजनी र कालो रङ्गको ब्रासलेट लगाइदिएको र त्यसमा बच्चाको नाम लेखिएको छ ।
इजरायल र प्यालेस्टाइनीबिच भएको यो विनाशकारी युद्धमा संरा अमेरिका र केही पश्चिमा मुलुकले इजरायलको पक्ष लिइरहेका छन् भने विश्वका धेरै देश प्यालेस्टाइनको पक्ष तथा इजरायली आक्रमणको विरोधमा देखिएका छन् ।
हमासको प्रतिरोधपछि इजरायली प्रधानमन्त्री बेन्जामिन न्यतान्याहु र अमेरिकी राष्ट्रपति बाइडेनबिच फोन वार्ता भयो । इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यअनुसार बाइडेनले आफूहरू इजरायलको पक्षमा अटलरूपमा उभिएको र इजरायलको आत्मरक्षा अधिकारको पूर्ण समर्थन रहेको दोहो¥याए । अमेरिकी रक्षामन्त्री लोयड् अस्टिनले इजरायलको सुरक्षा प्रत्याभूत गर्ने आश्वासन दिए । अमेरिकाले उसको बलियो मध्यपूर्वी साझेदार इजरायललाई बर्सेनि ३.८ अर्ब अमेरिकी डलरको निः सर्त सैन्य अनुदान दिँदै आएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्तिक ८ गते ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा गाजामा इजरायली आक्रमणबाट ६५०० भन्दा बढी मानिसको मृत्यु भएको र त्यसमा २७०० भन्दा बढी बालबालिका रहेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई आफूलाई विश्वास नभएको जवाफ दिए । बाइडेनको उक्त टिप्पणीमाथि ‘काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसन’ (सीएआईआर) ले असन्तुष्टि व्यक्त गर्दै ‘विचलित बनाएको’ भन्दै बाइडेनले माफी माग्नुपर्ने बतायो ।
इरानले भने प्यालेस्टाइनी मुक्ति सङ्गठन हमासको कदमलाई समर्थन ग¥यो । इरानका सर्वोच्च नेता अली खामेनीका सल्लाहकारले प्यालेस्टाइनी लडाकुलाई बधाई दिए ।
इजरायललाई शत्रु ठान्ने छिमेकी लेबनानमा सक्रिय हेजबुल्ला समूहले एक वक्तव्य जारी गर्दै गाजामा भइरहेको घटनाप्रति नजिकबाट अवलोकन गरिरहेको जनायो । लेबनानमा इरान समर्थित हेजबुल्लाहको आह्वानमा इजरायली आक्रमणविरुद्ध हजारौँ मानिस सडकमा उत्रिए । यमनको सानामा पनि इजरायली आक्रमणविरुद्ध प्यालेस्टाइन समर्थकको ठूलो प्रदर्शन भयो ।
इजिप्टको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा पछिल्लो तनावले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिँदै अधिकतम संयमता अपनाउन र आम नागरिकलाई जोखिममा पर्नबाट जोगिन आह्वान ग¥यो । जनसङ्ख्याको आधारमा ठूलो अरबी मुलुक मानिने इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायली विस्फोटको कडा शब्दमा निन्दा गरे ।
टर्कीको इस्तानाबुलअगाडिको इजरायली वाणिज्य दूतावासअगाडि इजरायली आक्रमणविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयव एर्डोगानले टर्कीको संसदमा सम्बोधन गर्दै हमास आफ्नो भूमि रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताउँदै आफूले इजरायल भ्र्रमण गर्ने योजना रद्द गरेको बताए । उनले अस्पतालमा मारिएका प्यालेस्टिनीको सम्झनामा तीनदिने शोकको घोषणा गरे ।
कतारले पछिल्लो तनावको लागि इजरायल जिम्मेवार भएको भन्दै कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यो घटनालाई गाजाका प्यालेस्टाइनी जनताविरुद्ध क्षति पु¥याउने आक्रमणको बहाना बनाउनबाट रोक्न आह्वान ग¥यो । कतार सरकारले यो कदमलाई ‘क्रुर नरसंहार’ को संज्ञा दिएर निन्दा गरेको छ ।
सन् २०२० मा इजरायललाई मान्यता दिएको अफ्रिकामा अवस्थित अरबी देश मोरक्कोले पनि आक्रमणमा इजरायल दोषी भएको आरोप लगायो । साउदी अरबले इजरायली र प्यालेस्टाइनीबिच जारी हिंसा तत्काल रोक्न आह्वान ग¥यो ।
अरब मुलुकका कैयौँ सहरमा घटनाको विरोध गर्दै विशाल ¥यालीहरू निस्किए । अल्जेरियाले अस्पतालमा भएको आक्रमणलाई ‘अतिक्रमणकारी इजरायली सेनाले गरेको बर्बर कार्य’ को रूपमा निन्दा ग¥यो । ट्युनिसियामा हजारौँ प्रदर्शनकारीले फ्रान्सेली दूतावासअगाडि जुलुस निकालेर इजरायलप्रतिको निःसर्त पश्चिमी समर्थकको निन्दा गरे । लिबियाको त्रिपोलीमा अवस्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले अस्पतालमा भएको विस्फोटलाई ‘घृणित अपराध’ भनेर इजरायल आक्रमणको विरोध ग¥यो ।
इजरायलसँग सीमा जोडिएको जोर्डनमा करिब १० हजार नागरिक इजरायली दूतावास अगाडि भेला भएर इजरायलको कूटनीतिक नियोगको निष्कासनको माग गरे । जोर्डनका विदेशमन्त्री आयमन सफादीले आक्रमणमा इजरायल जिम्मेवार भएको बताए । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अरब देशका नेताहरूको जोर्डनमा हुने भनिएको वार्ता पनि रद्द भएको जानकारी दिए ।
इराकले गाजा हमला रोक्नको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट ‘तत्काल सङ्कल्प’ माग गरेको छ ।
सिरियाको राजधानी दमास्कसमा प्यालेस्टिनी झन्डा बोकेका मानिसहरू संसद नजिक भेला भए । राष्ट्रपति बसर अल–असदको फोटो अङ्कित टिसर्ट लगाएको भिडले ‘सहादत या विजय’ को ब्यानर लिएर इजरायलविरुद्ध प्रदर्शन गरे ।
अर्गनाइजेसन अफ द इस्लामिक कन्फेरेन्सले इजरायलको कदमलाई ‘युद्ध अपराध, मानवताविरुद्धको अपराध र सङ्गठित राज्य आतङ्कवाद’ को संज्ञा दिए । खाडी सहयोग परिषद्का महासचिव जासेम मोहम्मद अल्बुदाइवीले पछिल्लो अस्पताल आक्रमणमा ‘इजरायली अतिक्रमणकारी सेनाले गरेको गम्भीर उल्लङ्घनको स्पष्ट प्रमाण’ भएको बताए ।
अक्टोबर ७ मा हमासले इजरायलमाथि चालेको कदमको आलोचना गर्ने सन् २०२० मा इजरायलसँग अब्राहम सम्झौताअन्तर्गत सम्बन्ध स्थापित अरबी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनले पनि अस्पतालमा बम विस्फोट भएपछि इजरायलको आलोचना गर्न थालेका छन् । साउदी अरबले आक्रमणलाई बर्बरताको संज्ञा दिँदै यसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको जनायो ।
अस्ट्रेलियाका विभिन्न सहरहरूमा इजरायली आक्रमणको विरोधमा जुलुस भयो । सिडनीमा दसौँ हजार मानिस भेला भएर सबभन्दा ठूलो प्रदर्शन गरे ।
जर्मनीको डसेलफोर्डमा लगभग ६ हजार मानिसहरू जम्मा भएर इजरायली आक्रमणको विरोध गरे । जर्मनी प्रहरीले जुलुसलाई निषेध गरे पनि विभिन्न ठाउँमा प्रदर्शन भइरहेकै छ ।
बेलायतको लण्डनमा करिब १ लाख मानिसले प्रधानमन्त्री ऋषि सुनकको डाउनिङ स्ट्रिटमा रहेको निवास वरपर ‘प्यालेस्टाइनको लागि स्वतन्त्रता’ र ‘युद्ध रोक’ जस्ता सन्देशसहित झन्डा र ब्यानर बोकेर प्रदर्शन गरे ।
संरा अमेरिकाको शिकागो, वासिङ्टनलगायतका सहरहरूमा पनि ठूल्ठूला विरोध प्रदर्शन भइरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहबे्रयसले भने, “डब्लुएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्य उपचारको माग गर्दछौँ ।”
मानव अधिकारका लागि राष्ट्र सङ्घ उच्च आयुक्तकी प्रवक्ता रविना श्याम दासनीले उत्तरी गाजाबाट दक्षिणतर्फ स्थानान्तरणका लागि इजरायली सेनाले दिएको निर्देशनले मानव अधिकारको कानुन उल्लङ्घन भएको बताइन् ।
इजरायल–गाजा युद्धबारे छलफल गर्न मङ्गलबार राति न्युयोर्कमा बसेको सुरक्षा परिषद् बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले प्यालेस्टाइनी नागरिकलाई सजाय दिनुको औचित्य पुष्टि नहुने बताए । गुटेरेसले हमासको आक्रमण ‘खाली ठाउँमा’ नभएको भन्दै इजरायलले ५६ वर्षदेखि कब्जा गरिराखेका प्यालेस्टाइनीहरूको जमिनमा भएको बताए । त्यसपछि इजरायली अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घका पदाधिकारीलाई भिसा नदिने धम्की दिए ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका कार्यक्रम निर्देशक सारी बाशीले “गाजामा सहायता दिन अस्वीकार गर्नु युद्ध अपराध हो” भन्नुभयो ।
नेपालले संयुक्त राष्ट्रसङ्घीय महासभामा शुक्रबार भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरूले जस्तै गरी इजरायल–हमास द्वन्द्वको क्रममा तत्काल मानवीय युद्धविरामको पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घीय प्रस्ताव ‘नागरिकको संरक्षण र कानुनी तथा मानवीय प्रतिबद्धता कार्यान्वयन’ को पक्षमा १२० मुलुकले समर्थन गरेका छन् भने १४ मुलुक यसविपरीत गएका छन् । ४५ वटा मुलुक अनुपस्थित रहे । जोर्डनले मस्यौदा गरेको उक्त प्रस्तावको पक्षमा भारत अनुपस्थित थियो भने अफगानिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानलगायतका १२० मुलुकले राष्ट्रसङ्घीय महासभाको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *