भर्खरै :

अफ्रिकाको स्थिति – स्वाधीनताको पचास वर्षको इतिहास (२)

अफ्रिकाको स्थिति – स्वाधीनताको पचास वर्षको इतिहास (२)

पुस्तकको तेस्रो भागमा यही ‘अधोगति’ को चित्रण छ । इथियोपियाको अनिकाल, इथियोपिया– इरिट्रिया युद्ध, सुडान र चाडमा धार्मिक र जातीय अन्तरसङ्घर्ष, एड्सको महामारी र अफ्रिकाको आर्थिक अवस्थामा गिरावटहरूलाई यो भागमा वर्णन गरिएको छ । इथियोपियाको उत्तरी भेग ओल्लो (Wollo) र टिग्रे (Tigray) मा प्रत्येक दस वर्ष सानो ठूलै अनिकाल पथ्र्याे । तर, सन् १९८४ को वर्षमा अनिकाल ठूलो लाग्यो । त्यहाँका जनतालाई राहत खाद्यान्न पु¥याउनुपर्ने भयो । तर, त्यसको लागि अप्ठेरो अर्कै थियो । इथियोपियाबाट छुट्टिएर स्वतन्त्र राज्य बनाउन इरिट्रियालीहरू युद्ध गर्दै थिए । त्यो विद्रोह टिग्रे र ओलो क्षेत्रमा केन्द्रित थियो । इथियोपियाली सरकारले राहतमा दिइने अन्नलाई युद्धको ज्यावलको रूपमा प्रयोग ग¥यो । विद्रोहीहरूको पकड भएको स्थानमा खाद्यान्न पुग्न सकेन । फलतः अवस्था निकै नाजुक बन्यो । बाँकी विश्वले धेरै पछि थाहा पायो र अनिकालको अवस्था सामान्यतिर आइसक्दा झन्डै १० लाख मानिसले ज्यान गुमाइसकेको थियो ।
चाड र सुडानको समस्या धार्मिक थियो । दुवै देशको उत्तरमा अरबी मूलका मुसलमानहरू थिए भने दक्षिणमा अफ्रिकी मूलका इसाई र रैथाने धर्म मान्नेहरू । यी दुई जातिहरूको सङ्घर्ष र लडाइँ अहिलेसम्म चालू छ र यसैले गर्दा त्यहाँ स्थिरता आउन सकेको छैन । सुडानको डार्फरमा भड्किरहेको हिंसा त्यसैको निरन्तरता हो ।
अफ्रिकाको प्रतिकूल परिस्थितिमा अर्को सङ्कट देखाप¥यो । एड्सको महामारी फैलियो र अफ्रिकाको श्रम शक्तिको ठूलो सङ्ख्या एड्सबाट ग्रस्त भए । कति अफ्रिकी सरकारहरू एड्सविरुद्ध जनचेतना जगाउने कार्यको महत्वबारे अनभिज्ञ थिए, कति सरकारले उदासिनता देखाए । फलतः यसले ठूलो रूप लिँदै गयो । सन् १९८० को दशकमा एड्सले ठूलो मात्रामा अफ्रिकी जनताको मृत्यु भयो । अफ्रिकाका धेरै राष्ट्रहरूमा अहिले श्रम शक्तिको कमी छ । १५–४५ वर्षका धेरै एड्सका सिकार भएपछि उत्पादनशील जनशक्तिमा आएको ¥हासको पूर्ति अझ भएको छैन ।

भूमिसुधार गर्ने जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे

साथै दक्षिण अफ्रिकामा रङ्गभेदविरोधी विद्रोह सफल भएको वर्णन पनि तेस्रो खण्डमै छ । २७ वर्ष जेलमा बिताएका दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला अफ्रिकी नायक बने । गोराहरूको हातबाट सत्ता बहुसङ्ख्यक कालाहरूको हातमा पुग्यो । मण्डेलाले देश विकासको लागि सबै मिलेर जाने नीति अपनाए । धेरै आरोह–अवरोहपछि दक्षिण अफ्रिका समृद्धिको बाटोमा अग्रसर हुँदै गयो ।
तर, बाँकी अफ्रिकामा स्थिति राम्रो थिएन । जातीय युद्ध, क्षेत्रीय प्रतिद्वन्द्वी, धार्मिक कलह र युद्ध सरदारहरूले अफ्रिकालाई जर्जर बनाएका थिए । अफ्रिकाका प्रायः जसो देशहरूमा स्वेच्छाचारीतन्त्र वा सैन्य शासन थियो र यसले अर्थतन्त्रलाई ध्वस्त बनाउँदै थियो । सन् १९८० को दशकपछिको सङ्कट, युद्ध र आशाहरूलाई चौथो भागमा चित्रण गरिएको छ ।
उत्तर अफ्रिकामा बलियो हुँदै गएको इस्लामिक अतिवादबारे लेखेका छन् मेरेडिथले । मिश्र अल्जेरियामा धार्मिक अतिवादीहरू र अरूहरूबिचको भिडन्तको राम्रो उल्लेख छ ।
सोमालियाको कथा भने बेग्लै छ । सोमाली जनता सोमालिया, जिबुटी, इथियोपिया र केन्यामा थिए । सोमाली जातिका मानिसको बहुमत भएको ठाउँ सोमालियामा गाभ्नुपर्छ भनेर सोमालियाले केन्या, जिबुटो र इथियोपियाका भू–भागहरूमा हमला ग¥यो । यसबेलासम्म सोमालीहरूको बिचमा रहेको असमझदारी सुषुप्त अवस्थामै थियो । देशको भूभाग बढाउने युद्धमा सोमालियाको हारपछि त्यहाँ फरक मत देखापर्न थाल्यो ।
त्यसपछि चर्किएको द्वन्द्वले गृहयुद्धको रूप लियो । युद्ध सरदारहरू यस युद्धलाई चालू नै राखे । यो अवस्थामा संरा सङ्घको खोलमा त्यहाँ प्रभुत्व जमाउन पसेको संरा अमेरिका आफ्नो भूमिका बढाउन थाल्यो । युद्धविराम तोडेको निहुँमा दुईमध्ये एक युद्ध सरदारको अड्डामा गएर उनीहरूलाई पक्राउ गर्ने अमेरिकी अपरेसनले नराम्ररी माथ खायो । दुई घण्टामा सिधिन्छ भनी क्याम्पबाट हिँडेका अमेरिकी सैनिकहरू १८ घण्टा मोगादिशु (सोमालियाको राजधानी) मा सोमालीहरूसँग लड्न बाध्य भए । १९ जना सैनिकको मृत्यु भएर ‘अपरेसन’ असफल भएपछि अमेरिका अफ्रिकामा हात हाल्न तस्र्याे ।
अमेरिकी असफलतापछि संरा सङ्घले ठाडै र तत्काल हस्तक्षेप नगर्ने नीति बनायो । यसले गर्दा अफ्रिकामा शताब्दीकै ठूलो नरसंहार भयो – रुवान्डाको जातीय नरसंहार । रुवान्डामा वर्षौंदेखि बसोबास गर्दै आएका मानिसहरू दुई जातिमा विभक्त थिए – हुटु र तुत्सी । बहुसङ्ख्यक हुटुहरू भए पनि अल्पसङ्ख्यक तुत्सीहरू अलि विकसित थिए । रुवान्डाका सैनिक स्वेच्छाचारी हाब्यारीमानाको वरिपरि बस्ने शासकवर्गले आफ्नो भ्रष्टाचारी र स्वेच्छाचारी शासनको विरोध मत्थर पार्न जातीय द्वेष फैलायो । गरिब हुटुहरूको दुःखका लागि तुत्सीहरू जिम्मेवार भएको, तुत्सीहरूको उद्गम उत्तर पूर्वी अफ्रिका भएकोले उनीहरूलाई रुवान्डामा नराख्ने र यहाँ जिउँदै नराख्ने भनी प्रचार गरियो । सरकारी पक्षबाटै यसलाई बढावा दिइँदै गर्दा त्यहाँ रहेको संरा सङ्घको कार्यालयले जातीय सफाइ हुनसक्ने र संरा सङ्घको सैन्य उपस्थिति र अधिकार बढाउनुपर्ने कुरा गरे पनि संरा सङ्घले तदारुकता देखाएन । सोमालियामा अमेरिकाले बेहोरेको असफलता र रुवान्डाका शासक हाब्यारीमाना संरा सङ्घका तत्कालीन महासचिव बुत्रोस बुत्रोस घालीका मित्र भएकाले त्यहाँ संरा सङ्घ निष्क्रिय भयो । १९९० अप्रिलमा रुवान्डाका राष्ट्रपति चढेको जहाजमा बम प्रहार भयो र उनी मारिए । त्यसपछि त्यहाँ चर्किएको जातीय नरसंहारलाई यसमा जीवन्त उतारिएको छ । १०० दिनमा ८ लाखभन्दा बढी तुत्सीहरू मारिए, लाखौँ शरणार्थी भए । यता रुवान्डाका पहाडहरूमा सशस्त्र सङ्घर्ष गरिरहेको तुत्सी बाहुल्य रहेको विद्रोही सेनाले विस्तारै रुवान्डा कब्जा गर्दै गयो र हुटुहरूको पनि नरसंहार भयो । अफ्रिकामा आफ्नो उपस्थिति जनाउन आतुर फ्रान्सले त्यहाँ खेल्न थाल्यो । हाब्यारीमानालाई आँखा चिम्लेर सहयोग गरेको फ्रान्सले किगालीमा दङ्गा भड्केको बेला आफ्ना नागरिकलाई लिन आएको फ्रान्सेली सेनाले हाब्यारीमानाका विधवा र त्यो नरसंहारका सूत्रधार हुटु नेताहरूलाई पेरिसमा लग्यो राजकीय सम्मानका साथ । फ्रान्सेली सेना किगालीमा तैनाथ भएको धेरैपछि मात्र उनीहरूले आफूलाई धोका भएको बुझे । बाहिरी विश्वमा आएको हल्ला र तथ्य बिलकुल फरक थियो । विद्रोही सेना राजधानीतर्फ बढ्दै आएपछि सरकारले तयार पारेका अर्धसैनिक हत्याराहरूले हुटुहरूलाई लाखौँको सङ्ख्यामा कङ्गो (जायर) मा लगे । बाहिरी विश्वले यो विशाल ‘शरणार्थी’ लाई देख्यो र हुटुमाथि अन्याय भएको ठम्यायो । कङ्गोका शरणार्थी शिविरमा विदेशी सहयोगको वर्षा भयो । यो पैसा फेरि जातीय दङ्गा फैलाउन प्रयोग हुन थाल्यो ।

सन् १९६० मा कंगोका अपदस्थ प्रधानमन्त्री प्याट्रिस लुमुम्बालाई कर्णेल मोबुटोको फौजको बन्दी अवस्थामा ।

यसरी सत्ताधारी मुट्ठीभरका व्यक्तिहरूको सत्ता टिकाउने चालबाजीले गर्दा १० लाख जति मानिसले ज्यान गुमाउनुप¥यो । संरा सङ्घको रुवान्डा मिसन नपुंसक साबित भयो । संरा सङ्घका सैनिकहरू पनि मारिए, उनीहरूकै अगाडि निहत्था तुत्सीहरूको दिनदहाडै हत्या भयो । सो हत्या गर्न शिक्षक, चिकित्सक र पादरीहरूसम्म सामेल भए । शिक्षकले विद्यार्थी, चिकित्सकले बिरामी र नवजात शिशु र गिर्जाघरमा शरण लिन आएका तुत्सीहरूलाई हुटु पादरीहरूकै मिलेमतोमा सामूहिक हत्या गरियो ।
रुवान्डाको वर्णन पढ्दा आङसिरिङ हुन्छ । कसरी आफ्नो स्वार्थका लागि साधारण जनतालाई बलि चढाउन शासकवर्गले षड्यन्त्र गर्छ – रुवान्डा त्यसको प्रत्यक्ष उदाहरण हो ।
रुवान्डाकै युद्धले गर्दा पछि कङ्गोमा युद्ध भयो । कङ्गोको गृहयुद्ध हालसम्म चलिरहेको छ । कङ्गोका प्राकृतिक स्रोतहरूमा रुवान्डा, युगान्डा र अरु युद्ध सरदारहरूको कब्जा छ, देश लथालिङ्ग छ ।
त्यस्तै, लाइबेरियामा युद्ध सरदारहरूको लडाइँले सियरा लियोन ध्वस्त भयो । लाइबेरियाका युद्ध सरदारहरूको सियरा लियोनको हिरा खानी प्रयोग गर्दै गए – आफ्नो आर्थिक व्यवस्थाका लागि । यही हिराले लाइबेरिया र सियरा लियोन एक दशकभन्दा बढी समयसम्म युद्धमा पिल्सिनुप¥यो ।
सुडानमा इस्लामिक सरकारले अफ्रिकी जातिका मानिसमाथि गरेको अत्याचार र जातीय हत्या रुवान्डापछि अर्को नरसंहार थियो । इस्लामिक समूहहरूलाई सरकारले हतियार दिएर अफ्रिकी जातिमाथि अत्याचार र हत्या गर्न पठायो । यो युद्धले सुडानको डार्फर क्षेत्र अझ आक्रान्त छ ।
साथै जिम्बावेको अहिलेको स्थिति र दक्षिण अफ्रिकाको हाल आर्थिक प्रगतितिरको यात्रा देखाउँदै पुस्तक टुङ्ग्याइएको छ ।
यसरी यो पुस्तकमा अफ्रिकाको ५० वर्षको इतिहासलाई सरसरती केलाइएको छ । अफ्रिकाको पीडा वर्णन गरिएको छ । पूर्णरूपमा नभए पनि यसले अफ्रिकाबारे विस्तृत जानकारी दिन्छ ।
प्रचुर सम्भावना हुँदाहुँदै पनि विभिन्न कारण अफ्रिका ओरालो लाग्दै छ । उपनिवेश हुँदाको शोषण, स्वेच्छाचारीतन्त्र, देशको ढुकुटीको हाकाहाकी लुट, संस्थागत भ्रष्टाचार, जातीय, क्षेत्रीय, धार्मिक युद्ध यसका कारण हुन् । सत्तामा पुगेपछि देशलाई लुट्ने क्रम अफ्रिका स्वतन्त्र भएदेखि चलिआएको छ । त्यसमाथि पनि अफ्रिकी देशहरू आफैँ एक अर्कामाथि षड्यन्त्र गर्छन् । छिमेकी देशमा सरकारविरोधी पक्षलाई सहयोग गर्ने, त्यहाँ प्रभुत्व जमाउन खोज्ने काम अफ्रिकी देशहरूमा पनि भएका छन् । त्यसमाथि विकासको लागि भनी दिएको सहयोगमा भ्रष्टाचार हुन्छ भन्ने थाहा हुँदाहुँदै पश्चिमी विश्व करोडौँ डलर त्यहाँ खन्याउँदै छन् । त्यहाँको मध्यमवर्ग र शासकवर्गलाई पैसाको लत लगाइदिएका छन् । अफ्रिकाको इतिहासमा उपनिवेशको युगपछि पनि पश्चिमी राष्ट्रहरूको हस्तक्षेप कहिल्यै रोकिएन । शीत युद्धको बेला त अफ्रिकाका धेरै देशहरू त्यसमा तानिए । पछि अमेरिकाको प्रभाव बढ्दै गयो । आफ्नो स्वार्थ अनुकूल काम गरेमा पश्चिमी विश्वले स्वेच्छाचारीहरूलाई आँखा चिम्लेर समर्थन गर्यो । कङ्गोका मोबुटु, रुवान्डाका हाब्यारीमाना, मध्य अफ्रिकी गणतन्त्रको बोकासा, युगान्डाका इदि अमिन आदि यसका उदाहरण हुन् ।
अफ्रिकाको प्रमुख निर्यात कृषिजन्य उत्पादन भए पनि त्यसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सकेन । निकै ठूलो मात्रामा सरकारी सहुलियत पाएका युरोपेली, अमेरिकी र चिनियाँ उत्पादनका सामु तिनीहरू महँगा साबित भए । अक्सफाम (Oxfam) ले गरेको एक सर्वेक्षणअनुसार पश्चिम अफ्रिकाका र मुख्य कपास उत्पादक राष्ट्रहरूले अमेरिकाको सरकारी सहुलियतको कपाससँग प्रतिस्पर्धा गर्दा हुने व्यापार घाटा अमेरिकाबाट प्राप्त सहयोगभन्दा बढी छ ।

सन् १९६५ मा चे ग्वेभारा कंगोमा

त्यहाँको प्राकृतिक स्रोतलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न पनि पश्चिमी विश्व त्यहाँ स्थायित्व चाहँदैन । यो कुरालाई भने मेरेडिथले बेवास्ता गरेका छन् । पुस्तक राम्रो भए पनि त्यसमा केही कमजोरी पक्कै छन् । प्रश्न पनि उठ्छन् मनमा । जस्तै प्रत्येक अफ्रिकी देशमा भ्रष्टाचारले जरा गाडेको छ । स्वेच्छाचारीहरू जन्मेका छन् । किन यस्तो भयो ? के अफ्रिकी जनता नै त्यस्ता हुन् कि त्यसमा पश्चिमीहरूको पनि हात छ ? त्यसको विश्लेषण छैन ।
त्यस्तै, एउटा उदाहरण लिऊँ । नाइजेरियामा चुनाव हुँदा त्यहाँका विभिन्न जातिहरूले आफ्नो बहुमत देखाउन जनसङ्ख्या लिँदा निकै बढी सङ्ख्या देखाएका थिए । अरु ठाउँको पनि उदाहरण दिएका छन् लेखकले । यसरी आफ्नो स्वार्थको लागि बङ्ग्याइएको तथ्याङ्कहरूलाई पत्याउन सकिन्न । लेखकले पुस्तकमा उल्लेख गरेका तथ्याङ्कहरूमध्ये त्यस्ता केही नपरेको भन्न सकिन्न ।
अर्को कुरा लेखकले राजनैतिकरूपमा तटस्थ बसेर लेख्न खोजेको भनिए तापनि अफ्रिकी नेताहरूको जीवनका बारे लेख्दा उनीहरूका गुण, दोष सबै केलाउन खोजेको भने तापनि गोरामा अहङ्कारवाद देखापर्छ । एनक्रुमा, मिश्रका नासेर, सेनेगलका सेङ्गोर, आतेरी कोस्टका होउफोए, तान्जानियाका नेरेरे, कङ्गोका लुमुम्बा, मोबुटु, इथियोपियाका सेलासी, मेन्गिस्तु, युगान्डाका इदि अमिन, दक्षिण अफ्रिकाका मण्डेला र अरु धेरै अफ्रिकी शासकहरूको बारे लेखकले मध्यमार्गमा बसेर लेख्ने प्रयास गरेको देखाएको भए पनि उनले ठाउँ–ठाउँमा आफ्नो वर्ग देखाएका छन् । कम्युनिस्ट विचारलाई तानाशाही र प्रतिगमनकारी भनेर उल्लेख गर्नुका साथै स्तालिन, उत्तर कोरियाका किम इल सङ, क्युवाका क्यास्ट्रोलाई तानाशाह भनी उल्लेख गरेका छन् ।
अफ्रिकाको अहिलेको आर्थिक अवस्थालाई उपनिवेशको बेलासँग तुलना गरेर लेखकले उपनिवेश नै ठीक भन्ने जस्तो भान दिन खोजेका छन् । अफ्रिकाको भविष्य निकै अँध्यारो देखाउन खोजेका छन् । तर, लेखक आफैँले अफ्रिकाको स्वास्थ्य, शिक्षा र पूर्वाधारमा निकै सुधार आएको कुरा लेखेका छन् । कालो बादलमा चाँदीको घेरा हुन्छ – अफ्रिकी कालरात्रिबाट बाहिर आउँदै छ । अफ्रिकी जनतामा भएको आशाको ज्योति जस्तो पनि कठिनाइसँग जुझेर समृद्धितिर जान उनीहरूलाई सङ्घर्षको प्रेरणा दिन्छ भन्ने कुरा लेखकले भन्न चाहेनन् ।
७५० पृष्ठको यो पुस्तकमा केही कमी कमजोरी भए तापनि पढ्नु उपयोगी छ । जातीयता र क्षेत्रीयताको अनावश्यक बहस र हावा चलिरहेको हाम्रो देशले अफ्रिकाको भयावह इतिहासबाट पाठ सिक्नुपर्छ । जसको लागि यो पुस्तक राम्रो माध्यम बन्नसक्छ । अफ्रिकाबारे जान्न चाहनेलाई यो एक गतिलो र उपयोगी सामग्री हुन्छ ।

समाप्त
प्रस्तुतिः सुवेग

Leave a Reply

Your email address will not be published. Required fields are marked *