यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
पर्यटकीय आकर्षणको हिसाबले राराको निकै सम्भावना भए पनि नेपाल आउने पर्यटकहरूबिच यसको चर्चा थोरै भएजस्तो लाग्छ । रारालाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके त्यहाँका जनताको जीवनस्तरमा सकारात्मक सुधार आउनेछ । तर, आन्तरिक र बाह्य पर्यटक भित्याउन यहाँ थुप्रै काम गर्न बाँकी छ । त्यहाँ पुग्ने नियमित जहाज, बस्ने, खाने राम्रो व्यवस्था र त्यस क्षेत्रमा सरसफाइमा ध्यान दिने हो भने यो गा¥हो काम भने अवश्य होइन ।
एकदमै छोटो तयारीमा मुगुको यात्रामा जानुपर्ने भयो । त्यही दिनको राति बसबाट हामी चारजनाको टोली काठमाडौँबाट सुर्खेततिर लाग्यौँ । नयाँ ठाउँ घुम्न पाइने साथै आफ्नो कार्यानुभव पनि बढ्ने भएकोले सो प्रस्ताव मैले स्वीकारेको थिएँ । सुर्खेत पुगेपछि थाहा पाइयो मुगु जाने हवाईजहाजको टिकट पाउन मुस्किल रहेछ । अझ भनौँ त्यहाँ जाने यात्रुवाहक जहाज कम रहेछ । पहिलो गाँसमै ढुङ्गा । पाँच दिनसम्म बिनाकाम सुर्खेतमा बस्नु प¥यो । त्यसबिचमा मुगुका लागि मालवाहक जहाज त उडे तर यात्रुवाहक जहाज उडेनन् । छैटौँ दिन बल्लबल्ल मालवाहक जहाजमै भए पनि हामी उड्न पायौँ । ३८ मिनेटको उडानपछि ९ यात्रु बोकेको जहाज मुगुको ताल्चा विमानस्थलमा उत्रियो । निकै छोटो धानवमार्ग भएको ताल्चा विमानस्थल निर्माणाधीन थियो । विमानस्थलका कुनै पनि भवन थिएनन् । धावनमार्गबिच बाट मानिसहरू हिँड्थे । सुरक्षा जाँच, यात्रु प्रतीक्षालय सबै धावनमार्गनिर खुला आकाशमुनि हुन्थ्यो । ताल्चा विमानस्थलबाट सदरमुकाम गमगढी नजिकै देखिए पनि झण्डै डेढ घण्टाको पैदल दुरीमा रहेछ । सिमसिम पानी परेको र झर्ने बाटो ठाडो ओरालो भएकोले दुई घण्टा लगाएर गमगढी बजारमा हामी पुग्यौँ ।
हामी पुग्नुपर्ने स्थान किम्री गाउँ गमगढीबाट दुुई दिन टाढा पर्दथ्यो । एकरात गमगढीमै बिताएर शनिबार बिहान किम्रीबाट आएका स्थानीय पाँच सहयोगीहरूसँगै हामी किम्रीतिर हिड्यौँ । मुगु कर्णालीको तिरैतिर उकालो–ओरालो गर्दै बाटो उत्तर पूर्वतिर लाग्दथ्यो । बिहानको खाना लुम्सामा खाएर हामीले पुनः यात्रा थाल्यौँ । वर्षामा उर्लेको कर्णाली र छातामा परेको वर्षाको आवाजबाहेक अरू केही आवाज सुनिएको थिएन । नदी किनारको बाटो पहिरोले बिगारेका कारण एक ठाउँमा डाँडामाथिको गाउँ पुगेर फेरि ओरालो झर्नु पर्दथ्यो । ठाडो उकालो चढेर मांग्री गाउँ पुग्दा झमक्क साँझ परिसकेथ्यो । त्यसैले, त्यो दिनको यात्रा मांग्रीमै पुगी सिद्धियो । स्थानीय गुम्बाका लामाको घरमा त्यस रात हामी बास बस्यौँ । भोलिपल्ट बिहान पैदल यात्रा पुनः सुरु ग¥यौँ । बाटोका दुबैतिर झ्याम्म हुर्केका जङ्गली गाँजा र सिस्नुका हाँगाहरू पन्छाउँदै खानाको लागि पुलुमा रोकियौँ । अघिल्लो दिनको भन्दा हाम्रो हिँडाइ मन्द थियो । एकछिनको विश्रामपछि गन्तव्यतिर अघि बढ्यौँ । घाम डुब्ने बेलासम्मका हामी नाम्लाङ र मुगुको दोभानमा आइपुग्यौँ । किम्री जाने बाटो यहीँबाट छुट्टिन्थ्यो । तर, मुगु खोला माथिको पुल वर्षात्को भेलले बगाएको थियो । पारि तर्न एक घण्टा माथिको पुलसम्म पुग्नुपर्ने भयो । किम्री जाने बाटो खोलापारि देखिन्थ्यो तर त्यहाँ पुग्न दुई घण्टा जतिको बाटो लम्बिएको थियो । टिस्टुप भन्ने स्थानमा रहेको पुल पार गरी किम्रीतिर उकालो लाग्दा हामी फतक्क गलेका थियौँ । हिँड्दा–हिँड्दै साँझ प¥यो तर गाउँ आइपुगेन । मैले सानो बेला सुनेको ‘शिशिर वसन्त’ को कथा सम्झिएँ । टाढा आगो बलेको देखेर आगोतिर हिँडेका शिशिर जति अगाडि बढ्थे आगो उति पर प्रतीत हुन्थ्यो रे । मलाई किम्री गाउँ पनि त्यस्तै लागेको थियो । दुई दिनको हिँडाइ र उकालोले थाकेका हाम्रो अगाडि किम्री गाउँ एक्कासि देखाप¥यो । बल्ल गन्तव्य आइपुगेको थियो– मुगु जिल्लाको किम्री गाउँ !

तिब्बती मूलका भोटे जातिका मानिसहरूको बसोबास गर्ने किम्रीमा ३० घर जति छन् । मुख्यतः प्रमुख पेसा खेतीपाती भए पनि उनीहरूको प्रमुख आयस्रोत यार्सागुम्बा हो । वसन्त ऋतुका दुई महिना लेकतिर गएर यार्सागुम्बा टिप्ने र त्यसको बिक्रीबाट उठेको रकमले वर्षभर चलाउने गरिन्छ । सोझा–सीधा भोटेहरूको पुस्तौँदेखिको जीवन पद्धतिमा खासै परिवर्तन आएको देखिँदैन । तर, सरकारले बाँड्ने खाद्यान्न र गैरसरकारी संस्थाहरूले गर्दा उनीहरूलाई बिस्तारै परनिर्भरतातर्फ लाँदै गरेको हो कि भन्ने अनुभव भयो हामीलाई । दुर्गम क्षेत्रका बासिन्दालाई सरकारले सहयोग स्वरूप खाद्यान्नमात्र नबाँडी उनीहरूको जीवनस्तर उकास्ने कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्दथ्यो । विदेशी सहयोगमा आएको अन्न बाँडेर ती पिछडिएका नागरिकहरूप्रतिको आफ्नो दायित्व पूरा भएको सोच राज्यको छ । गरिब, निमुखा जनतालाई देखाएर टाठा–बाठाले धन कुम्ल्याउने गैरसरकारी संस्थाहरूको त के कुरा गर्नु ? गमगढीका घरैपिच्छे जस्तै गैससका बोर्डहरू देखिन्थे । दुर्गम गाउँमा सहयोग भनेर पैसा दिएपछि त्यसबाट राम्ररी काम भएको छ कि छैन भनी हेर्ने फुर्सद सायद ती संस्थाहरूलाई थिएन । किम्री गाउँमै बाख्रापालन, चर्पी निर्माण भनेर कार्यक्रम चलाइयो तर ती कार्यक्रमहरू कुन अवस्थामा छन् सम्बन्धित गैससहरू निरीक्षण गर्न आएका छैनन् । चर्पी बनाउन प्रत्येक घरलाई दिएको पैसाको सदुपयोग भएको छैन । मात्र एक–दुई वटा चर्पी बनेको छ तर त्यसलाई दाउरा थुपार्ने प्रयोग गरिएको छ । चर्पी बनाउने कार्यक्रम ल्याएपछि चर्पी निर्माण भइञ्जेल निरीक्षण गर्ने र चर्पी प्रयोग गर्ने चेतना विकास गराउनुपथ्र्यो त्यहाँका जनतालाई । त्यहाँका बासिन्दा दिसापिसाब गर्न जङ्गलतिर जान्छन्, चर्पी प्रयोग गर्दैनन् । चर्पी बनाउन पैसा दिने तर सो प्रयोग गर्न उत्साहित नगर्ने नीति पो थियो कि ती संस्थाहरूको । बाख्रापालनको लागि पनि गाउँमा पैसा दिइएको थियो । गाउँमा बाख्रा त के बाख्राको रौँ पनि देखिएन । बाख्रापालन कार्यक्रमको पनि निरीक्षण भएन । गैससहरूले गर्दा गाउँले कति परनिर्भर भएका छन् भने आफ्नो गाउँमा आउने पुल बगाएको महिनौँ हुँदा पनि सो निर्माणको पहल भएन । बरु दुई घण्टा बढी लगाएर हिँडेर आउँछन् तर पुल बनाउन कुनै संस्थालाई कुरेर बस्छन् । तीन दिन लाएर बल्ल गाउँका युवा क्लवका युवाहरू मिलेर एउटा सानु साँघुसम्म तयार गरेका थिए । गाउँमा अस्पताल बनाइदिएको छ रे कुनै एक संस्थाले । तर अस्पतालको भवन छ कुनै स्वास्थ्यकर्मी, कर्मचारी, ओखती–मूलो केही छैन । अस्पतालको भवन बनायो गैससले । त्यसलाई विदेशीसँग मागी खाने भाँडो बनायो र त्यसलाई बिर्सिदियो । गाउँमा एउटा प्रा.वि. छ । शिक्षक तराईका छन् । तीन महिना जति गाउँमा बस्छन् । दसैँअगावै घर गएपछि छठपछि आउँछन् । अनि हिमपात भएपछि फेरि फर्कन्छन् । चैततिर आएर अन्तिम परीक्षा लिन्छन्, सबै विद्यार्थीलाई पास गर्छन् । (सरकारी नियमअनुसार ५ कक्षामुनिका विद्यार्थीहरूलाई अनुत्तीर्ण गर्न पाइन्न) र वैशाखमा फर्कन्छन् । वैशाख–जेठ ‘कीरा’ (यार्सागुम्बा) टिप्ने सिजन भएकोले विद्यार्थी सब लेकतिर लाग्छन्, शिक्षक घरतिर । विद्यालयका शिक्षक वर्षायाम सिद्धिएपछिमात्र गाउँमा आउँछन् । यस्तो वार्षिक शैक्षिक तालिका हेर्दै बुझ्न सकिन्छ – त्यहाँको पढाइको स्तर कस्तो होला ! गाउँका कति युवाहरू काठमाडौँको बौद्धमा बस्छन्, लामा विद्या पढ्छन्, कोरिया, जापान, मलेसिया पुगेर आएका छन्, नयाँ–नयाँ मोबाइल सेट फेर्नमा सौख राख्छन् तर गाउँमा चर्पी बनाउनुपर्छ, सरसफाइ गर्नुपर्छ भन्ने हेक्का राख्दैनन् । हामी गाउँमै रहँदा काठमाडौँमा पढेका एक युवा लामा गाउँमा आएका थिए । किम्री गाउँकै उनी बौद्धमा लामा पढेर कोरिया पनि बसेर आएका थिए । गाउँमा नाचगान गराएर जिन्स पाइन्ट र सर्टमा सजिएका युवक–लामा भिडियो खिच्दै थिए । १२ वर्षको लागि अमेरिका जान लागेका उनी गाउँमा बिदा लिन आएका रहेछन् । बौद्ध समाजमा लामालाई निकै उच्च स्थान दिइँदो रहेछ । उनलाई गाउँका केटाकेटी, युवा, बुढाबुढी सबैले ढोग्दा रहेछन् । लामाका कुरा देववचनझैँ हुने गर्छ । तर, यी आधुनिक लामाले सामाजिक चेतनाका एक शब्द बोलेनन् । सरसफाइ पढाइबारे उनले राम्रा कुरा गरेर, यी अत्यावश्यक कुरा हुन् मात्र भनिदिए पनि गाउँलेहरूले सो कुरा मान्दथे । वर्षौँ विदेशमा बसेर आएका उनले गाउँलेलाई चर्पी प्रयोग गर्नुपर्छ सम्म भनेनन् बरु आफैँ जङ्गलतिर लागे । एकवर्ष अगाडि त्यहाँ एक अवतारी लामा हेलिकप्टर चढेर आएका थिए रे ! गाउँलेहरूसित भेटी स्वरूप धेरै पैसा लिएर गए तर गाउँलेको चेतना बढाउन सिन्कोसम्म भाँचेनन् रे ¤ धर्मका नाममा फाइदा उठाउने यी धर्मभीरु लामाहरू र गरिब गाउँलेको तस्बिर देखाएर धन सोहर्ने गैससहरूमा तात्विकरूपमा के भिन्नता रह्यो र ? दुर्गम भेगको विकासको लागि पैसामात्र नबाँडी त्यहाँका जनतालाई सामाजिकरूपमा र सरसफाइ, स्वास्थ्यजस्ता कुरामा सचेत बनाई आत्मनिर्भरताका कार्यक्रमहरू चलाउनुपर्ने आवश्यकता हामी देख्छौँ ।

झण्डै २० दिनको भौगर्भिक अध्ययन सिध्याई हामी गमगढीतिर फक्र्याँै । त्यहाँको जनस्तर उकास्न अझ धेरै गर्न बाँकी छ भन्ने सोच्दै हामीले किम्री गाउँ छोड्यौँ । यसपालिको वर्षाले दसैँको मुखसम्म थामिने नाम लिएको थिएन । घाम र पानीको लुकामारीबिच पैदल हिँड्दै हामी गमगढी बिहानतिर आइपुग्यौँ । गमगढीमा दसैँ अगाडिको चहलपहल व्यापक थियो । सडक सामान ओसार्ने खच्चरहरूले भरिएको थियो । खाद्य संस्थानको गोदाममा खाद्यान्न लिनका लागि मानिसहरूको लाम थियो । बैङ्कमा पैसा झिक्न सरकारी र गैर–सरकारी कर्मचारीहरूको भिड थियो । मुगुबाट तल झर्न ताल्चा विमानस्थलमा डेढ–दुई सय मानिसहरू जहाज कुर्दै छन् भन्ने हामीले सुन्यौँ । गमगढीबाट ताल्चातिर चढ्दा जहाजहरू ओहोरदोहोर गर्दै गरेको देख्यौँ । यति धेरै जहाजहरूको आवतजावतले घर फर्कन धेरै गा¥हो होला भन्ने हामीले चिताएका पनि थिएनौँ । भोलिपल्ट शनिबार रारा ताल घुम्ने हाम्रो योजना थियो र आइतबारको जहाजमा सुर्खेततिर झर्ने । ताल्चा पुगेपछि थाहा पाइयो टिकट पाउन त महाभारत नै हुँदो रहेछ । भोलिपल्ट बिहान टिकट पक्का गरेर रारा जाने सोच बनाएर हामी त्यस रात थकाइ मार्न निश्चिन्त भएर सुत्यौँ । शनिबार बिहानभर खोज्दा बुझ्दा पनि हामीले टिकट एजेन्टहरू चिन्न सकेनौँ । गोमा एयरका एजेन्टहरूले त ठाडै झूटो बोलेर हामी होइनौँ भने । ती व्यक्तिहरू नै एजेन्ट हुन् भनी हामीले दोस्रो दिनमात्र थाहा पायौँ । एयरलाइन्सका अफिसहरू बन्द थिए, एजेन्टहरूको अत्तोपत्तो थिएन । थियो त केवल जहाज पर्खन र टिकट लिन जम्मा भएका यात्रुहरूको हुल । मुगु उडान भर्ने यात्रुवाहक तारा एयरले यात्रुको चाप हुने दसैको बेला आफ्नो जहाज पूर्वतिर लगेको थियो । उता पूर्वी सेक्टरमा डलर तिर्ने विदेशीहरूलाई बोक्न छोडेर घर फिर्न चाहने नेपालीलाई बोक्न किन पो आउँथ्यो र ?! परिणामतः मालवाहक जहाजहरू नै यात्रु बोक्ने बने । बढीमा ६ जना यात्रु बोकेर उड्ने ती जहाजहरूले यति धेरै यात्रुहरूलाई कहिले सम्ममा उड्ने पालो पु¥याउला ? यात्रुवाहक नेपाल वायुसेवाको जहाजको कुरा नगर्दा नै वेश ¤ एक त थोरै जहाज अर्को लथालिङ्ग व्यवस्थापनले गर्दा मुगु उडानको ठेगान थिएन । यस दिन उडानको ठेगान नभएपछि हामी पूर्वयोजना मुताबिक रारा तालतिर लाग्यौँ । झण्डै २७०० मिटर उचाइमा रहेको ताल्चाबाट करिब २ घण्टाको सल्लेरी बनको यात्रापछि २९९० मि. रहेको रारा ताल पुगिन्छ । नेपालको सबभन्दा ठूलो (करिब ११ वर्ग कि. मि.) रारा तालको कञ्चन पानी र प्राकृतिक सुन्दरताले त्यहाँ पुग्दाको सबै थकान भुलाउने गर्छ । पर्यटकीय आकर्षणको हिसाबले राराको निकै सम्भावना भए पनि नेपाल आउने पर्यटकहरूबिच यसको चर्चा थोरै भएजस्तो लाग्छ । रारालाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके त्यहाँका जनताको जीवनस्तरमा सकारात्मक सुधार आउनेछ । तर, आन्तरिक र बाह्य पर्यटक भित्याउन यहाँ थुप्रै काम गर्न बाँकी छ । त्यहाँ पुग्ने नियमित जहाज, बस्ने, खाने राम्रो व्यवस्था र त्यस क्षेत्रमा सरसफाइमा ध्यान दिने हो भने यो गा¥हो काम भने अवश्य होइन ।
Leave a Reply