यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
आशिस प्रजापति
शुक्रबार भक्तपुरको कथित वामगठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा एमाले नेता महेश बस्नेतले ‘समाजवाद’ को कुरा गरेछन् । गुण्डागर्दीको छवि निल्नु न ओकल्नु भएका बस्नेतले कम्तीमा अगलबगल बसेका माओवादी केन्द्रका नेता–कार्यकर्ताहरुभन्दा आफू केही जानेबुझेको भन्ने छवि बनाउन पनि समाजवाद, अझ साम्यवादको कुरा समेत गर्न भ्याए । चुनावको मुखमा अनेक स्वार्थ पालेर एमालेभित्र पसेका व्यक्तिहरुलाई कम्तीमा अरु पार्टीले समाजवादको कुरा गर्दा ‘कुन चरीको नाम हो’ भन्न नपरोस् भन्नका लागि पनि बस्नेतले आफ्नो भाषणलाई अलि सैद्धान्तिक फ्लेबर दिनुपर्ने बाध्यता हो ।
तर उनलाई पनि ज्ञात भएको कुरा के हो भने एमालेमा टिका थापेर प्रवेश गरेका ‘महानुभावहरु’ समाजवाद ल्याउन एमालेमा प्रवेश गरेका होइनन् । तिनलाई समाजवाद भन्दा पनि एमालेको सत्ताको न्यानोसँगको सम्बन्ध बढी महत्वपूर्ण हो ।
बस्नेतले एमालेले चाहेको ‘समाजवाद’ उत्तर कोरियाको जस्तो नभई चीनको जस्तो भएको पनि बताए ।
प्रथमतः वैज्ञानिक समाजवाद दर्शनमा आधारित राजनीतिक बन्दोबस्त हो । समाजवाद निर्माणको पृष्ठभूमि, जनताको आन्दोलन र जनताको चेतनास्तरमा समाजवादको विकास निर्भर रहने गर्दछ । तर वैज्ञानिक समाजवादको मूल दर्शन भने एउटै हो । चीन र उत्तर कोरियाको पृष्ठभूमि र राजनीतिक आन्दोलनको विकास फरक फरक भएका कारण त्यहाँ विकास भएको समाजवादको रुप फरक फरक भए पनि तिनको दर्शन भने एउटै हो । व्यापक कामदार जनताको हित नै समाजवादको सार हो ।
चीन र उत्तर कोरियामा भिन्नभिन्न परिस्थितिमा समाजवादी आन्दोलन भएको परिप्रेक्ष्यमा त्यहाँका जनताले फरक फरक नाम दिए तापनि ती दुवैको सार त्यहाँका श्रमजीवी जनताको हित हो । उपनिवेशवाद, साम्राज्यवाद र पूँजीवादविरोधी संघर्षको नतिजा नै चीन र उत्तर कोरियाको समाजवाद हो । के महेशजीको पार्टी एमाले र एमालेले गठबन्धन गरेको पार्टी माओवादी केन्द्र त्यो पृष्ठभूमिमा बनेका पार्टीहरु हुन् ? तसर्थ महेशजीले चीन र उत्तर कोरियाको समाजवादको तुलना गरेर आफ्नो अल्पज्ञानता मात्र प्रदर्शन गरेका छन् ।
चीनको आर्थिक समृद्धि र प्रगतिलाई देखाएर एमालेतिर आकर्षित बनाउने अभिप्रायले उनले त्यस्तो बताएका होलान् । तर आजको चीनको ऐतिहासिक जगबारे उनले केही पनि बोल्न चाहेनन् । आजको चीनको अवस्था एकै रातमा फलेको फल होइन । सन् १९४९ मा नौलो जनवादी क्रान्तिकै जगमा आजको चीन उभेको हो । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीले सामना गर्नुपरेका हजारौं चुनौतीका बाटालाई उपेक्षा गर्दै आजको चीनलाई मात्र देख्नु बौद्धिक अल्पज्ञान हो ।
सन् १९५२ पछि सोभियत संघको नेतृत्वमा आएको खु्रश्चेभ संशोधनवादसँगको चीनको सैद्धान्तिक संघर्षबारे बस्नेतजीलाई पक्कै थाहा हुनुपर्दछ । त्यो संघर्ष संशोधनवादविरोधी संघर्ष थियो । कदाचित तात्कालीन चिनियाँ नेतृत्वले संशोधनवादविरोधी त्यो संघर्ष नगरेको भए आजको चीन बन्ने सम्भावना कदापि हुन सक्दैन्थ्यो । त्यो कष्टसाध्य संघर्षमा चिनियाँ नेतृत्वले थोरै मात्र पनि सम्झौता गरेको भए चीन पनि आजको रुसजस्तै भत्ताभुङ बन्नेमा कुनै सन्देह नै छैन । युगोस्लाभिया र सोभियत संघजस्तै टुक्राटुक्रामा चीन पनि विभाजित हुने थियो । अनि आजको सन्दर्भमा संशोधनवादी लाइनको नेतृत्व एमालेले गरिरहेको छ ।
उत्तर कोरिया आज पनि युद्धरत देश हो । सन् १९५३ जुलाई २६ मा संरा अमेरिकासँग भएको युद्धविराम अझै शान्ति सम्झौतामा बद्लिसकेको छैन । आज पनि उत्तर कोरियामा कुनै पनि बेला युद्ध चर्किन सक्छ । उत्तर कोरियाली जनता आज पनि आफ्नो देशमा कुनै पनि बेला चर्किनसक्ने लडाईप्रति सजग छन्, रहनुपर्दछ । कुनै पनि लडाईमा होमिएको देश अरु सामान्य अवस्थाको देशभन्दा कडा हुनु स्वभाविक हो । दोस्रो विश्वयुद्धताका संरा अमेरिका र युरोपेली देशहरुको सुरक्षा कानुन आजको जस्तो थिएन । माओवादी द्वन्द्वकालमा नेपालको सुरक्षा कानुन आजको भन्दा त भिन्नै थियो । अर्थात् आज उत्तर कोरिया असामान्य अवस्थामा छ । जुन दिन संरा अमेरिका र युरोपेली देशहरु उत्तर कोरियामाथि हमला र युद्धधम्कीको कुरा सदाको लागि बन्द हुने सुनिश्चित हुन्छ, उत्तर कोरियाको अवस्था आजभन्दा फरक हुने पक्का हो ।
उत्तर कोरिया गरीब हो वा होइन भन्ने कुरा महेशजीले अरु धेरै टाढा जानुभन्दा आफ्नै पार्टीका नेताहरुसँग सोधखोज गर्न जरुरी छ । उत्तर कोरिया पुग्ने धेरै नेपाली नेताहरुमध्ये अधिकांश एमालेबाटै छन् । केही महिनाअघि मात्र एमालेका नेता माधव नेपाल उत्तर कोरियमा गएका थिए । महेशजीका पोलिटिकल गडफादर केपी ओलीेले पनि उत्तर कोरियाको भात त खाएकै हुनुपर्दछ । अनि उत्तर कोरियाबारे बीबीसी र सीएनएनका भाषा बोल्ने मानिसले समाजवादबारे बोलेका कुरा कति जगमा उभिएका होला, सहजै अनुमान गर्न सक्छौं ।
सबभन्दा आश्चर्य र लाजमर्दो कुरा त महेशजीले विश्व साम्राज्यवादको पूँजीमा बाँचेको संयुक्त अरब इमिरेट्सको राजधानी जाँदा प्रहरी नदेख्नुलाई समाजवाद र साम्यवादको अवस्थासँग जोडेका छन् । पूँजीवादी केन्द्रमा समाजवाद देख्नु र समाजवादी निर्माणलाई गलत देख्नु महेशजीको अल्पज्ञान र हचुवा तर्कबाजीको आधार हो । अबुधावीमा समाजवाद देख्ने बस्नेतजीले प्योङयाङमा कुन्नि के देखे । उनका यस्ता तर्क दिएर आफ्नो भाषणलाई सैद्धान्तिक फ्लेबर दिने प्रयास ध्वाँस बनेको छ ।
रमाइलो कुरा त, महेशजीले यी सबै कुरा बोल्दै गर्दा नजिक बसेका माओवादी केन्द्रका नेताहरु ‘वाम’ एकताको मुख मिठ्याएरहेका थिए । कठै बस्नेतजीको समाजवादको मुख मिठास र माओवादी केन्द्रका नेताहरुको सत्ताप्राप्तिको लालचमा भोग्नुपरेको लाचारी।
Leave a Reply