भर्खरै :

गुरू गणेशको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

गुरू गणेशको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २५ कार्तिक । गुरू गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ साधारणसभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले जातजाति–भाषाभाषीको नाउँमा समाजमा विभाजन ल्याउन नहुने र त्यसलाई राज्यको सम्पत्तिको रूपमा ग्रहण गरी संरक्षण गर्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले जातीय द्वन्द्वमा परी अफ्रिकी देश रूवान्डामा १ वर्षमा १० लाख मानिसको ज्यान गएबाट सत्तामा बस्ने राजनीतिक दलहरूले शिक्षा लिनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारी सदस्यहरूले सधैँ नाफा नोक्सानको मात्र कुरा गर्ने हो भने बैङ्क तथा वित्तीय संस्थाभन्दा कुनै फरक हुनेछैन । हरेक सदस्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नुपर्छ ।”
उहाँले सामुदायिक विकास कोषको रकम समाज सेवाको लागि नै खर्च हुने र स्वास्थ्य उपचारमा खर्च गर्दा जनताको हित हुने बताउनुभयो ।
सहकारीहरू जनताको पैसा लिएर भाग्ने क्रम जारी रहेको हुँदा प्रत्येक सदस्य सचेत हुुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “हामीले बारम्बार सचेत गराउँदा पनि अलिकति बढी ब्याजको लोभ गर्दा धरै जनाको पैसा फसेको छ ।”
भनपा वडा नं. ९ नं का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वास्थ्य अन्यन्त संवेदनशील विषय भएको हुँदा सबै स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका राजकुमार लघु, सल्लाहकार कृष्णभक्त लवजु, रामकृष्ण प्रजापति, भक्तपुर साकोसका बलराम प्रजापति, सिद्धि गणेश साकोसका जयराम गोर्खालीले शुभकामना मन्तव्य दिनुभयो । कार्यक्रममा सचिव सत्यराम ज्ञामरूले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल्सीकेशरी प्रजापतिले आर्थिक प्रतिवेदन, उपाध्यक्ष श्रीप्रसाद प्रजापतिले स्वागत तथा सञ्चालन राजुसिं बजिको र सीतालक्ष्मी कोजूले गर्नुभएको थियो । प्रमुख प्रजापतिले विभिन्न सङ्घ संस्थामा बसेर समाज र देशको सेवा गर्ने व्यक्ति, असल बचतकर्ता, असल ऋणी र ज्येष्ठहरूलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *