भर्खरै :

सहकारी श्रमजीवी जनताको हित र उत्थानको लागि हुनुपर्छ

सहकारी श्रमजीवी जनताको हित र उत्थानको लागि हुनुपर्छ

भक्तपुर, २५ कार्तिक । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारणसभाको उद्घाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शनिबार एक समारोहबिच गर्नुभयो ।
सो अवसरमा उपप्रमुख जोशीले सहकारी संस्थाहरू सहकारीको सिद्धान्त र मूल्यमान्यताअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै सहकारी बहुसङ्ख्यक श्रमजीवी जनताको हित र उत्थानको लागि हुनुपर्छ भन्नुभयो ।
उहाँले भक्तपुरलाई कला र संस्कृतिको केन्द्रका साथै ज्ञान र विज्ञानको गन्तव्य बनाउन भक्तपुर नगरपालिका नेमकिपाको निर्वाचन घोषणा पत्रअनुसार लागिरहेको बताउँदै भनपाले विश्वविद्यालय स्तरका कलेजहरू सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
ख्वप विश्वविद्यालय स्थापना हुन नदिन सङ्घीय र प्रदेश सरकारले भनपामा सम्भव नै नहुने प्रावधानहरू राखेर शिक्षा ऐन संशोधन गरेको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले नयाँ पुस्तालाई हाम्रो कला, संस्कृति र सम्पदाबारे जानकारी दिनुपर्ने बताउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन सकिने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सहकारीले आर्थिक लेनदेनमात्र नगरी देशको राजनीतिक, आर्थिक र सामाजिक विषयहरूबारे सदस्यहरूलाई सचेत बनाउनुपर्छ भन्नुभयो ।
भक्तपुरको आर्थिक विकास विगतको किसान आन्दोलन र सङ्घर्षको प्रतिफल भएको बताउँदै उहाँले देशको नीति सही नभएसम्म जनताको आर्थिक, शैक्षिक, सामाजिकलगायत विकास हुन नसक्ने चर्चा गर्नुभयो ।
उहाँले भारतीय र अमेरिकी हस्तक्षेप तथा नेपालका शासक दलहरूको आत्मसमर्पणका कारण देशको सार्वभौमिकता र अस्तित्व नै गुम्ने खतरा रहेको बताउँदै जनता देशभक्त भएमात्र देश बाँकी रहने नभए प्यालेस्टिनीहरूले झैँ आफ्नै भूमि र देश गुमाउनुपर्ने अवस्था आउनसक्नेमा सचेत पार्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले इमानदारिता, पारदर्शिता, न्याय र समानता, आन्तरिक प्रजातन्त्र, समुदायमा आधारितलगायत सहकारीका आधारभूत गुण नभएका सहकारी वास्तविक सहकारी नहुने र अहिले त्यस्तै सहकारीहरू बचतकर्ता र निक्षेपकर्ताको रकम लिएर भागेका छन् भन्नुभयो ।
कार्यक्रममा संस्थाका असल बचतकर्ता र ऋणीहरूलाई कदरपत्रका साथ सम्मान गरिएको थियो भने संस्थाले सञ्चालन गरेको तीनमहिने मादल प्रशिक्षणबाट दीक्षितहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष बिकुलाल सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष गोविन्दराम त्वानाबासुले स्वागत मन्तव्य, सचिव जयराम लागेजूले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद लागेले आर्थिक प्रतिवेदन र लेखा परीक्षण समितिका संयोजक सुरेन्द्रप्रसाद दुवालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा क्रियटिभ इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थीहरूबाट नृत्यहरू प्रस्तुत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *